नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीयः सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय रहेको बताएका छन् । उज्वेकिस्तानको ताशकन्दमा अन्तर–व्यवस्थापिका सङ्घको १५०औँ सभालाई सम्बोधन गर्दै सभामुखले नेपालले राजनीतिक द्वन्द्वलाई मौलिक सम्झौतामार्फत अन्त्य गर्दै एकात्मक राज्य व्यवस्थाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको सफल यात्रा तय गरेको उल्लेख गरे ।
नेपालको संविधानले सामाजिक न्याय, समानता र समावेशिताको पूर्ण सुनिश्चितता गरेको उल्लेख गर्दै सभामुख घिमिरेले राष्ट्रका उच्च पदहरूदेखि नीति निर्माण तहसम्म लैङ्गिक तथा जातीय समावेशिताको ‘ग्यारेन्टी’ गरिएको तथ्य प्रस्तुत गरेको सचिवालयले जनाएको छ । विशेषगरी राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायबाट चयन गर्नुपर्ने संवैधानिक प्रावधान र संसद्का दुवै सदनको नेतृत्व फरक लिङ्ग तथा राजनीतिक दलबाट हुने व्यवस्था उदाहरणीय भएको उनको भनाइ थियो ।
‘सामाजिक विकास र न्यायका लागि संसदीय कार्य’ शीर्षकमा नेपालका तर्फबाट धारणा राख्दै सभामुख घिमिरेले संसद्लाई सामाजिक परिवर्तनको प्रमुख माध्यमका रूपमा प्रस्तुत गरे । ‘संसदहरूले नीति निर्माण, बजेट विनियोजन, कानुन निर्माण र कार्यान्वयनको निगरानीमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन्’, सभामुखको भनाइ थियो ।
संसदीय कूटनीतिको प्रयोगमार्फत अन्तरराष्ट्रिय सहयोग विस्तार गर्दै, गरिबी, द्वन्द्व र जलवायु परिवर्तनजस्ता सामाजिक प्रगतिका प्रमुख अवरोधहरूको सामना गर्न सकिने सभामुख घिमिरले विश्वास व्यक्त गरे । उनले संसद्मार्फत महिला, युवा, आदिवासी, जनजाति तथा पछाडि पारिएका वर्गहरूको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्नाका साथै संसदीय खुलापन प्रवर्द्धन गर्ने अभ्यासलाई नेपालको एक महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे । नेपालको १६औँ पञ्चवर्षीय योजनाको चर्चा गर्दै सभामुख घिमिरेले स्वास्थ्य, शिक्षा, रोजगारी र आवासमा नागरिकहरूको समान पहुँच सुनिश्चित गर्न सरकारले विशेष प्राथमिकता दिएको बताए ।
उनले जलवायु परिवर्तनलाई नेपालका लागि सबैभन्दा गम्भीर चुनौतीका रूपमा रहेको बताउँदै प्राकृतिक विपत्तिहरूले वार्षिक लाखौँ नागरिकको जीवन प्रभावित भइरहेको उल्लेख गरे । यस्तो अवस्थामा जलवायु न्याय सुनिश्चित गर्न हरित ऊर्जा प्रवर्द्धन, जलवायु अनुकूलन नीतिहरू र अन्तरराष्ट्रिय सहकार्य विस्तारमा नेपालले खेलेको भूमिकाबारे स्मरण गराए । सभामुख घिमिरेले आगामी मे १६–१८ मा नेपालमा ‘सगरमाथा संवाद’ आयोजना हुने जानकारी दिँदै पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तरराष्ट्रिय बहस अघि बढाउने तयारी भइरहेकोसमेत दिए ।
उनले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका आदर्शहरूलाई आत्मसात् गर्दै साझा भविष्य निर्माणमा नेपाल अग्रसर रहेको सन्देश अन्तरराष्ट्रिय समुदायलाई दिएका छन् । ‘संसदीय नेतृत्वसँगै हामीले न्यायसङ्गत, दिगो तथा समावेशी विश्व निर्माणमा योगदान दिनु आवश्यक छ’, सभामुख घिमिरेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह
-
ऐन जारी हुने विश्वासिलो आधार भए मात्रै शिक्षकहरू वार्तामा बस्ने
-
शिक्षक आन्दोलनमा प्याब्सन र एन प्याब्सनले जनाए ऐक्यवद्धता
-
कर्णालीको राजधानीमा खानेपानी सङ्कट बढ्यो, ९६ घण्टाको अन्तरालमा सीमित वितरण
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला