बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

चैत १५ गते गणतन्त्र रक्षाका लागि सडकमा जाँदा...

आइतबार, २४ चैत २०८१, १९ : १४
आइतबार, २४ चैत २०८१

आजभन्दा एक हप्ताअगाडि २०८१ चैत १५ गते समाजवादी मोर्चाको आह्वानमा गणतन्त्र रक्षाका लागि सडकमा गइयो । करिब एक लाख मानिसको उपस्थिति थियो । धेरै समयपछि हामी उत्साहित भएर सडकमा पुगेका थियौँ । आन्दोलनमा सहभागी गणतन्त्रवादीले वर्तमान व्यवस्थाको रक्षा र समाजवाद हासिलका निम्ति एक स्वरमा प्रतिबद्धता जनाएको कुरा सर्वविदिदै छ । 

त्यही दिन, कथित राजावादी अराजक समूहले हाम्रो निर्धारित कार्यक्रमलाई अवरोध खडा गर्न तीनकुनेमा कार्यक्रम गर्‍यो । नेपाल सरकारको कमजोर सुरक्षा व्यवस्थापनका कारण अराजकतावादीले व्यापक भौतिक संरचनाहरूमाथि आगो लगाए । जडीबुटी कारखाना, नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय र जिल्ला कमिटी काठमाडौँको कार्यालयमा आजगनी गरे । 

भाटभटेनीमा चोरी गरे, लुटपाट मच्चाउनुका साथै दुईजना निर्दाेष मानिसको विभत्स हत्या गरे । कैयौँ मानिस घाइते भएका छन् । यो घटनाको जिम्मेवारी र जवाफदेहिता सरकारले लिनुपर्छ । आज नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आम नेपालीको गम्भीर ध्यानाकर्षण भएको सहज अनुमान गर्न सकिन्छ । 

तीनकुनेको कार्यक्रमबाट वितण्डा मच्चाउन सुरु गरेका राजावादी अराजक जत्थाले खासगरी समाजवादीको मुख्यालयमाथि आगजनी गरे । जसको जति भत्र्सना र विरोध गरे पनि कम हुन्छ । क्रान्तिकारी आस्था, विचार र सिद्धान्त बोकेर सामाजिक न्यायसहितको समाजवादी व्यवस्था हासिलका निम्ति तय गरिएका महत्त्वपूर्ण दस्ताबेज नष्ट भएका छन् । 
उक्त दिन हामी भृकुटीमण्डपस्थित कार्यक्रमको मैदानमा थियौँ । हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री कमरेड माधव नेपालले व्यापक उत्साहका साथ आमसभालाई सम्बोधन गरी सक्नुभएको थियो । कार्यक्रमको अन्त्यतिर थियो, कमरेड प्रचण्डले बोलिरहनुभएको थियो । हाम्रो जिम्मेवारीमा रहेको कार्यक्रमस्थल सफा गर्न म स्वयंसेवक साथीहरूलाई खबर गर्दै थिएँ । 

तीनकुनेको कार्यक्रमबाट वितण्डा मच्चाउन सुरु गरेका राजावादी अराजक जत्थाले खासगरी समाजवादीको मुख्यालयमाथि आगजनी गरे । जसको जति भत्र्सना र विरोध गरे पनि कम हुन्छ ।

करिब ३ः३० बजेतिर युवा संघ नेपालका इन्चार्ज साथै स्वयंसेवक परिचालन कमिटीका प्रमुख कमरेड लक्षण केसीले सम्पूर्ण स्यंमसेवक फोर्सलाई पार्टी कार्यालय आलोकनगर केन्द्रित गर्न निर्देशन गर्नुभयो । सो बमोजिम साथीहरूलाई आकस्मिक सर्कुलर गरियो । यातायात अस्तव्यस्त भएका कारण कार्यक्रम स्थलबाट पार्टी कार्यालय तुरुन्त पुग्न गाह्रो थियो । कोही पैदल हिँडेर त केही विभिन्न साधनमार्फत आलोकनगर पुगियो । जेहोस् समयमै दमकल पुगेर कार्यालय ध्वस्त हुनबाट बच्यो । कार्यालयमा होलटाइमर सेवा गरिरहनुभएका केही नेताहरूलाई कार्यालयमै थुनेर आगो लगाउनेजस्तो गम्भीर आतंक मच्चाउने हुल्लडबाजलाई केही समय अबेर प्रहरीले लखेटेको सूचना पाइयो ।

नेपाली जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाउँदै राजतन्त्र फर्काउने अराजकहरूको नाङ्गो चित्र देखिएको छ । कथित राजावादीको मार्सीको खोले खाने र घिउ पचाउने दिवास्वप्न मात्रै हो । कार्यक्रम र सभा गर्ने, खुला रूपमा बोल्ने, अधिकारको कुरा गर्ने, आलोचना गर्ने आदि स्वतन्त्रता गणतन्त्रले मात्र भएको हो । तर यो व्यवस्थामा सामाजिक सद्भाव खलबल्याउन, चोर्न, लुट्न, अराजकता सिर्जना गर्न र मान्छे मार्न पाइन्न । यस्ता प्रकारका अराजकता कुनै पनि व्यवस्थामा किमार्थ छुट हुन्न ।

  • अब युवा संघ नेपालले के गर्ने ? 

हिजो गणतन्त्र प्राप्तिका लागि जुन भूमिका खेलेका थिए, आज पनि त्यसैगरी गणतन्त्रको रक्षाका लागि खटिनु परिवर्तनगामी युवाको मुख्य कार्यभार हो । आज व्यवस्थामाथि त्यत्तिकै खतरा बढ्दो छ । यसको मूल कारण के हो ? त्यसको पहिचान गरेर युवाहरू अघि बढ्नुपर्छ । गणतन्त्रवादी दलका नेताकार्यकर्ताबाट भए–गरेका कमजोरीलाई सच्याउँदै अग्रगामी पथमा नेपाली समाजलाई हिँडाउनु युवा संघको अर्काे महत्त्वपूर्ण काम हो ।   

सत्ताधारी पार्टीमा कुनै गम्भीरता देखिँदैन । गणतन्त्रको हिमायती पार्टी साथै समाजवादी क्रान्तिका लागि नेतृत्वदायी पार्टी भएका कारण हाम्रो पार्टीलाई चौतर्फी घेराबन्दी भइरहेको छ । यसको प्रतिवाद गर्दै षड्यन्त्रलाई निस्तेज पार्न सच्चा समाजवादी युवाले भूमिका खेल्नुपर्छ । हाम्रो पार्टी र नेतृत्वले सामन्तवादी राज्य व्यवस्थालाई परास्त गरेको गौरवपूर्ण विगत र दलाल नोकरशाही पुँजीवादसँग डटेर लडिरहेको वर्तमान छ ।  

नेपाली समाजको प्रधानशत्रु दलाल पुँजीवादका विरुद्ध पार्टीले विभिन्न अभियान सञ्चालन गरेको छन् । गत चैत १ गते मात्र सुशासन र रोजगारी, समाजवादको तयारी भन्ने नाराका साथ रोजगारी र सुशासनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । उक्त आन्दोलनलाई सफल तुल्याउन, क्रान्तिकारी युवाहरूलाई गोलबन्द गर्दै युवा संघ नेपालमा संगठित गर्नुपर्छ । नेपाली जनतामा आक्रोश र असन्तुष्टि चरम बढिरहेको छ । त्यसलाई अराजक लोकप्रियतावादीले दुरुपयोग गर्न प्रयत्न गरिरहेको अवस्थामा युवा संघ नेपालले निस्तेज पार्नुपर्छ । 

आउनुहोस् क्रान्तिकारी युवा साथीहरू हो, समाजवादी क्रान्तिका लागि युवा संघ नेपालमा गोलबद्ध र एकताबद्ध हुँदै हाम्रो समाजमा व्याप्त अराजकतावाद, चाप्लुसीवाद, लोकप्रियतावाद र दलाल पुँजीवादलाई परास्त गर्दै समाजवादको आधार तयार गरौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सन्दीप राई
सन्दीप राई
लेखकबाट थप