शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. गिरीले के-के गरे काम ?

आइतबार, २४ चैत २०८१, १९ : १०
आइतबार, २४ चैत २०८१

काठमाडौं । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आफ्नो कार्यकालमा प्रतिष्ठानले प्राप्त गरेका उपलब्धीहरु सार्वजनिक गरेका छन् । उनी २०७६ चैत्र २७ गते प्रतिष्ठानमा उपकुलपति नियुक्त भएका थिए ।

नियुक्ती हुनुअघि देखि नै आर्थिक समस्या खेप्दै आएको प्रतिष्ठानमा व्यापक सुधार आएको उनले बताएका छन् । 

गिरीको नियुक्ति लगत्तै कोरोना भाइरसको महामारीले प्रतिष्ठानको सामान्य सेवाहरु समेत कैंयौ दिनसम्म बन्द गर्नु परेकोले प्रतिष्ठान थप आर्थिक भारको मारमा परेको थियो ।

त्यस्तो परिस्थितीमा समेत उपकुलपति गिरीले प्रतिष्ठानका सम्पूर्ण कर्मचारी एवं चिकित्सकहरुलाई समयमै तलब दिएर उनीहरुको मनोबल उच्च राखेर सफलता पूर्वक रेफेरल सेन्टरको रुपमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति प्रवक्ता प्रा.डा.अञ्जु प्रधानद्धारा जारी उपलब्धी विवरणमा उल्लेख छ । उनले लामो समय देखि ठप्प भएको शिक्षक कर्मचारीहरुको आन्तरिक बढुवा प्रकृयालाई अगाडी बढाई सम्पन्न गरेका थिए । 

त्यसैगरी, विगत ८ वर्ष देखि हुन नसकेको दीक्षान्त समारोह पनि २०८१ कात्र्तिक २६ गते उनकै नेतृत्वमा प्रतिष्ठानको १३ औं दीक्षान्त समारोह सम्पन्न भएको थियो । आइसियू बेडको संख्या ३२ बाट थप ४२ बेड गरी जम्मा ७४ बेड बनाइएको छ भने डायलाइसिस सेवाका लागि थप २० बेड पनि सञ्चालमा ल्याइएको छ । उनकै नेतृत्वमा इमर्जेन्सी सेवा स्तरोन्नती गर्न थप ४० वटा जेनेरल बेड तथा ८ वटा आइसियू ,एचडियू बेड स्थापना पनि गरिएको छ । 

यस्तै विभिन्न पुराना थन्किएका मेशिन उपकरणहरुको मर्मत सम्भार गर्ने कार्य संगै नयाँ नयाँ उपकरणहरुको समेत खरिद गरिएको उपकुलपति गिरीले आफ्नो उपलब्धीमा समेटेका छन् । 

नेपालकै दोश्रो र उपत्यका बाहिर पहिलो अत्याधुनिक प्रविधिको २ सय ५६ स्लाइसको सिटी स्क्यान मेसिन पनि खरिद गरि जडान गरिएको छ । यस्तै कोरोना कालमै बीस हजार लिटरको लिक्विड अक्सिजन टयांक जडान भई हालसम्म सञ्चालनमा रहेको छ । 

प्रतिष्ठानको कलेज अफ डेन्टल सर्जरी अन्तर्गतको ओरल मेडिसिन एण्ड रेडियोलोजी विभागमा लामो समय देखि एक्सरे मेसिन बिग्रिएर बन्न नसक्ने अवस्था भए पश्चात गिरीको प्रयासले २०८१ श्रावण २१ गते अत्याधुनिक नयाँ मेसिन जडान गरिएको थियो ।  

प्रतिष्ठानलाई पेपरलेस गर्ने उदेश्यले आवश्यक पहलको थालनी देखि लिएर प्रतिष्ठानलाई वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्तरोन्नती गर्ने उदेश्यले प्रकृया अघि सारिएको छ ।

अन्तर्राष्ट्रिय स्तरको विभिन्न उत्कृष्ट केन्द्रहरुसंग द्धिपक्षीयसम्झौता गर्ने प्रकृया समेत अघि बढाइएको छ ।  नेपाल सरकारको स्वास्थ्य नीति अनुरुप प्रतिष्ठानले औषधी बिक्री वितरणका लागि छुट्टै भवन २०८१ माघ १० गते उदघाटन भई फार्मेसी सेवा सुचारु गरिसकिएको छ भने सोही भवनको पहिलो तल्लाबाट पूर्ण रुपले क्यान्सर उपचार सम्बन्धी सेवा र दोश्रो तल्लाबाट जलेर आउने विरामीहरुको उपचार सेवा हाल आंशिक रुपले प्रदान गर्दै आइएको छ । 

गिरीले जिम्मेवारी सम्हालेको शुरुका दिन देखि नै निर्माण कार्य स्थगन गरिएको मातृ शिशु भवनको निर्माण कार्यको पुनः थालनी गरी ८ वर्ष पश्चात हाल निर्माण कार्य लगभग सम्पन्न अवस्थामा पुगेको छ । यथाशिघ्र सो भवनबाट स्त्री तथा प्रसुती रोग बिभागको  बहिरंग सेवा सञ्चालनमा ल्याउने कार्य योजना रहेको छ । 

देशभरका स्वास्थ्य संस्थाहरुले त्यहाँ उपचार गराउन आउने विरामीहलाई सहज तथा गुणस्तरिय सेवा प्रदान गरोस भन्ने उद्धेश्यले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष देशभरिको सबै स्वास्थ्य संस्थाहरुमा गई एमएसएस मापन गर्ने गरेको छ । 

उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकालमा प्रतिष्ठानको एमएसएस स्कोर ५३ देखि बढेर ७५ प्रतिशत सम्म पुगेको छ । तसर्थ सेवामा पनि क्रमशः स्तरोन्नती भएको स्पष्ट देखिन्छ ।

 यहि चैत्र २६ गते उपकुलपति गिरीको कार्यकाल पुरा हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप