तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुँदै, प्रथमलाई ५१ हजार पुरस्कार

तरहरा । सुनसरीको तरहरामा हुन लागेको राष्ट्रिय कविता प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
२०८२ वैशाख १२ गते शुक्रवार इटहरीको तरहरामा एक भव्य समारोहबिच प्रतियोगिता हुन थालेको आयोजक संस्था श्रीजनसहयोग २०५० समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए । कवि नारायण पौडेलको स्मृतिमा आयोजित तरहरा राष्ट्रव्यापी खुला कविता प्रतियोगिता–२०८२’ का लागि कविहरूले धमाधम कविता पठाइरहेका छन् ।
श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिने समूहका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार दुई जनालाई क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय प्रदान गरिनेछ । यसैगरी छनोट भएमध्ये अन्य पाँच जनालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरिने अध्यक्ष श्रेष्ठले बताए ।
कवि र कवितालाई समाजमा अझ परिचित बनाउने र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागिएकाले उनको भनाइ छ ।
कविता २०८१ चैत मसान्तम्म पठाउन सकिनेछ ।
सार्वजनिक सूचनाअनुसार कविता समसामयिक विषयमा, नेपाली भाषामा लेखिएको हुनुपर्ने, गद्य वा पद्यमा रचित बढीमा तीन सय शब्दसम्म हुनुपर्ने, मौलिक र अप्रकाशित र अप्रसारित हुनुपर्ने, प्रतियोगी कविहरूले हालसालै खिचेको एक प्रति रङ्गीन फोटो, सम्पर्क ठेगाना र मोबाइल नम्बर कवितासँगै अनिवार्य पठाउनुपर्ने कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेले बताए ।
उनका अनुसार प्रतियोगिताका निम्ति प्राप्त भएका कविताहरूलाई विज्ञहरूको तीन चरणको मूल्याङ्कन पद्धतिबाट छनोट गरी उत्कृष्ट १० कविलाई २०८२ वैशाख १२ गते तरहरामा आयोजना हुने कार्यक्रममा वाचनपश्चात् पुरस्कृत गरिने जनाइएको छ ।
छानिएका उत्कृष्ट १० कविहरू सशरीर उपस्थित भएर कविता वाचन गर्नुपर्ने छ ।
नेपाली भाषा, कला, संस्कृति, धर्म र स्थानीय जीवनपद्धतिलाई प्रवर्द्धन गर्दै व्यापक बनाउने इमानदार उद्देश्यले स्थानीय सरकार, संघ संस्था र व्यक्तित्वहरूको सक्रिय सहभागितामा तरहरामा पहिलोपटक ‘राष्ट्रिय कविता प्रतियोगिता–२०८२’ आयोजना गर्न लागिएको हो ।
देश तथा विदेशबाट नेपाली भाषामा लेखिएर सहभागी भई छानिएका उत्कृष्ट १० कविता वाचन गरिने तय भएको घिमिरेको भनाइ छ । यस कार्यक्रममा स्थानीय लब्ध प्रतिष्ठित र राष्ट्रिय रूपमासमेत असल कर्मको कारणले चिनिएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिने आयोजकले तयारी गरेका छन् ।
खासगरी यो प्रतियोगिता कम्तीमा पाँच वर्ष निरन्तर आयोजना गरिने र आवश्यक तयारीसहित सुरु हुने साहित्यिक–सांस्कृतिक भेला नेपालकै सबैभन्दा ठुलो पुरस्कार राशिसहित हुने आयोजकको दाबी छ ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ ।