ओली शासनले निम्त्याएको मुठभेड

चैत १५ गते काठमाडौँमा दुई छुट्टाछुट्टै प्रदर्शन भए– एउटा समाजवादी मोर्चाको र अर्काे राजावादीको । समाजवादी मोर्चाको कार्यक्रम उपस्थिति, अनुशासन र सहभागिताको दृष्टिले भव्य, सभ्य र शानदार रह्यो भने अर्काे कार्यक्रम भने अराजकता, उदण्डता र आततायीको पराकाष्टाको उत्कर्ष बन्न पुग्यो ।
पछिल्लो उदण्डताको नायक ज्ञानेन्द्र शाह थिए भने त्यसको नेतृत्व दुर्गा प्रसाईंले गरेका थिए । यो कार्यक्रमस्थल कोटेश्वरको तीनकुने क्षेत्र एकैछिनमा रणभूमि बन्यो र कैयौँ व्यक्तिका निजी निवास र सार्वजनिक भवनहरू तोडफोड र आगजनी गरी लाखौँको क्षति गरियो । पत्रकारलाई जिउँदै जलाइयो र पार्टी कार्यालयहरूमा आगजनी गरियो । आधा दर्जन जति सरकारी गाडी खरानी बनाइयो ।
माथिका घटना प्रतिनिधिमुलक मात्र हुन् । फिल्मशैलीमा लुटपाट, तोडफोड र सार्वजनिक सम्पत्तिको नोक्सानी क्षणभरमै गरियो । कहीँकतै राज्यको बलियो उपस्थिति देखिएन, न त सरकारको तर्फबाट कुनै सुरक्षा तयारी नै थियो । प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो दिनसम्म खिसीट्युरीको भाषा प्रयोग गर्दै थिए । २/४ हजारको जुलुस त सधैँ भइरहन्छ र त्यसले हामीलाई केही फरक पार्दैन भन्दै आफ्ना साइबर सेनालाई परिआएमा बाघ झैँ झम्टन भन्दै थिए । त्यही खिसीट्युरीको कारण सरकारले राजावादीको आन्दोलनलाई कम आकलन ग¥यो र तयारीका साथै आवश्यक सतर्कता अपाउन जरुरी ठानेन । सर्वसाधारणका घरमा आगो लाग्दा, तोडफोड हुँदा, गाडी जल्दा न त्यहाँ प्रशासन थियो, न त अघिल्लो दिन प्रधानमन्त्रीले बाघ झैँ झम्टन भन्दै कासन गरेका साइबर सेना । जसका कारण निहत्था, निर्दाेष सर्वसाधारण कथित राजावादीका सिकार हुन पुगे । कथित कमान्डर भनिएको दुर्गा प्रसाईं आफँैले गाडी चलाएर बेरोकतोक निषेधित क्षेत्र तोड्दै बानेश्वरतर्फ हुइँकिदा समेत प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिन चाहेन वा आदेश थिएन÷दिइएन । सरकार यो कुराबाट पनि शंकाको घेरामा परेको छ ।
संविधानको रक्षा, प्रयोग र विकासमा माओवादीको योगदानबाट आत्तिएर नै ओली–देउवा गठजोड बन्न पुगेको यथार्थता अहिले नेपाली जनताले राम्रोसँग बुझ्ने मौका पाएका छन् । एकपछि अर्काे निर्णय दलाल र बिचौलियाहरूको पक्षमा हुँदै गएपछि सरकारप्रति पूर्णरूपमा विश्वास घट्नु स्वाभाविक हो । अहिले यो सरकार पूर्णरूपमा जनविश्वास गुमाएको तर केवल केही संख्याले मात्र अस्तित्वमा रहन पुगेको देखिन्छ । ओली सरकार पूरै झाल सुकेर छानोमा अडिएको फर्सीजस्तै बन्न पुगेको छ तर पनि एमाले र कांग्रेसजनहरू बिचौलिया र दलालहरूले दिएको सत्ताको स्वादमा रमाइरहेका छन् ।
अहिलेको सरकार दुई तिहाइको दम्भ, अहंकार र निरंकुश कार्यशैली बोकेर समाजवादमा जाने झुट र बेइमानीपूर्ण बकवास गरिरहेको छ ।
एमाले कांग्रेस न त पूर्णरूपमा गणतन्त्रवादी हुन् न यिनीहरूको समाजवादप्रति कुनै बलियो प्रतिबद्धता नै छ । शाही कालमा संवैधानिक राजतन्त्रभित्र यिनले आलोपालो शासन गरे । जब माओवादी जनयुद्धले शाही सत्ता कमजोर बन्दै गयो, अनिमात्र १२ बुँदे समझदारीमा हस्ताक्षर गर्न आइपुगेको कुरा सबैलाई थाहा नै छ । त्यसमा पनि ओलीजी त ‘बयलगाडाबाट अमेरिका पुग्न नसकेजस्तै यो आन्दोलनबाट पनि गणतन्त्रमा पुग्न सकिँदैन’ भन्ने दह्रो अडानमा थिए । त्यतिबेला माधव नेपाल एमालेको नेतृत्वमा थिए र मात्र यो सम्भव भएको थियो । त्यसैले पनि अहिले ओली नेतृत्वको एमाले र कांग्रेस बाध्यताबस गणतन्त्रमा आइपुगेका हुन् ।
अहिले हिन्दु राज्य घोषणा हुने गरी जुन बहस सतहमा आएको छ, त्यसको पछाडि अहिलेको गठबन्धनभित्रबाटै कोही कसैको भित्री समर्थन रहेको सहजै बुझ्न सकिन्छ । कांग्रेसभित्र बेला मौकामा हिन्दु राज्य बनाउनेबारे बहस उठ्नु र एमालेभित्रको ‘ओलीटिक्स’ अर्थात् ओलीलाई कुनै पनि आलोचना गर्न नपाइने प्रवृत्तिको विकास हुनुले एमाले पनि सामन्तवादकै पक्षमा रहेको अड्कल गर्न सकिन्छ । पार्टीभित्र प्रश्न उठाउन नपाइने र नेतालाई भगवान सरह पुज्न खोज्नु ठ्याक्कै यो शैली हिन्दुवादसँग मेल खान्छ ।
यो प्रवृत्ति सबै दलमा देखिन्छ तर सिङ्गो दललाई त्यही प्रवृत्तिमा लैजान खोज्नु हिन्दुइज्मको नयाँ प्रयोग हो । अहिले एमाले नेताप्रतिको भक्ति भावमा रमाएर सही र गलत छुट्याउन नसक्ने मोडमा उभिएको छ । यो प्रवृत्तिले सही र गलत छुट्ट्याउँदैन, केवल नेताप्रतिको भक्तिभाव चाहन्छ, सम्मान होइन । एमाले र कांग्रेस अहिले यही प्रवृत्तिको प्रयोगमा छन् । त्यसैले कांग्रेस–एमालेबाट त्यसमा पनि ओलीबाट गणतन्त्र र संविधानको पूर्ण रक्षा हुन्छ भन्ने ठान्नु आफैँमा भ्रम पाल्नुमात्र हो ।
बरु अहिलेको दुई तिहाई संविधान संशोधनको नाममा धर्मनिरपेक्षता संविधानबाट हटाएर भए पनि कुशासन टिकाइराख्न प्रयत्न गर्ने खतरा छ ।
छिमेकी देशको चाहना अनुरुप काम गर्न पाए त्यो अभिलाषा पनि पूरा हुने देखेरै ओली छट्पटाइरहेका छन् र पटकपटक मोदीसँग भेट्न परराष्ट्रमन्त्री मार्फत हारगुहारको निवेदन पठाइरहेका छन् । अहिलेसम्म ओलीले भारत भ्रमणको औपचारिक निमन्त्रणा पाउन सकेका छैनन् । बिमस्टेकको बैठकमा भएको भेट औपचारिकभन्दा बाध्यताले गराएको भेट थियो । मोदीले ओलीलाई आत्मसमर्पणको मौका दिने हो भने यो सरकारले आत्मस्वाभिमान बन्धक राखेर भए पनि आफ्नो कुशासनको अनुमोदन गरायो भने पनि अचम्म मान्नुपर्ने छैन ।
अहिले जनमानसमा एमाले, कांग्रेस र माओवादीमा कुनै फरक छैन भन्ने भ्रम परेको छ । त्यसकारण जनतामा कथित राजाको लोकप्रियता देखेर होइन, दलहरूको भ्रष्टीकरणले पैदा गरेको निराशा र घृणाको परिणाम स्वरूप पनि जनताले विकल्प खोजिरहेका हुन् भन्ने तथ्य भुल्नु हुँदैन । हुन पनि विकृति र विसंगतिको डङ्गुरमा उभिएर गणतन्त्रको रक्षा, प्रयोग र विकास सम्भव छैन । गणतन्त्र, संघीयता र समाजवादको बदनाम गरेर बेलगाम कुदेको कुशासनलाई रोक्ने हो भने राजनैतिक दलहरू सबैभन्दा बढी सच्चिन जरुरी छ । समावेशी, समानुपातिक तथा विशेष अधिकारको चरम दुरुपयोग गरी परिवार, आफन्तलाई नियुक्ति बाँड्दै हिँड्ने र सुशासन कायम गर्नेका विरुद्ध राज्य आतंक नै खडा गरेपछि कथित राजावादीहरू जनताको त्यही असन्तुष्टिमा टेकेर आततायी हर्कतमा उत्रेका हुन् ।
प्रतिगमनको चरित्र पनि यस्तै हुन्छ । यो स्थितिमा एकातिर ओली कुशासनका बिरुद्ध र अर्काेतिर कुशासनले निम्त्याएको दरबारिया आततायी हर्कतहरू निस्तेज गर्नु सच्चा गणतन्त्रवादीहरूको कर्तव्य बन्न पुगेको छ । मुलुकको राष्ट्रिय सङ्कट देखाएर आफ्नो समर्थनमा माओवादीलाई पनि सरकारमा समर्थन खोज्ने, शान्ति प्रक्रिया देखाएर आफ्नो आलोचना कम गर्ने लगायतका षड्यन्त्रको जालोमा फसाउने कुनियतको पनि भण्डाफोर गर्न सक्नु पर्दछ ।
चैत १५को समाजवादी मोर्चाको जनप्रदर्शन कुशासनका विरुद्ध र प्रतिगामीहरूको षड्यन्त्र चकनाचुर बनाउने उद्देश्यमा केन्द्रित थियो । गणतन्त्रको रक्षा, प्रयोग र विकासमा माओवादीका कुनै सर्त हुँदैनन् ।
तर त्यसका लागि माओवादीले विगतमा गरेका कमजोरीहरू सच्याउने र माओवादी हदैसम्म रुपान्तरण हुन सक्नु पर्दछ । माओवादीभित्रका ढोंगी चरित्र भएका, गैरसर्वहारा वर्गीय चरित्र बोकेर समाजवादको वकालत गर्ने, खराब आचरण र जीवनशैली बोकेर अरुलाई सतचरित्रको प्रवचन दिने, व्यक्तिगत दम्भ र अहंकारले जन्माएका गुट बोकेर पार्टीलाई आफ्नो प्रयोगशाला बनाउने विचार र प्रवृत्तिबाट गणतन्त्र र समाजवाद बलियो हुँदैन । विधि, प्रक्रिया र प्रणालीलाई अस्वीकार गर्ने र आफ्नो सोचलाई मात्र सही र अन्तिम सत्य ठान्ने प्रवृत्ति अन्त्य नगरी गन्तव्यमा पुग्न सकिँदैन । त्यसैले गणतन्त्रको नाममा आफैँ राजा बन्न खोज्ने विचार, प्रवृत्ति छाडेरमात्र कथित राजावादीहरूको षड्यन्त्र निस्तेज हुनेछ । ओलीको कुशासनको भण्डाफोर गरेरमात्र कुशासनले निम्त्याएको मुठभेड रोक्न सकिने छ । अन्यथा कुशासनको बाढीले सच्चा गणतन्त्रवादीहरूलाई समेत बढार्ने पक्का छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ
-
दोब्बरले बढ्यो भैरवस्थान मन्दिरको भेटी
-
अस्ट्रेलियाले मानेन ट्रम्प ट्यारिफविरुद्ध हात मिलाउने चीनको प्रस्ताव
-
२०८१ मा बढी कमाउने ४ फिल्म, कमाई कति ?
-
पछिल्लो २४ घण्टामा चट्याङबाट ५ जनाको मृत्यु
-
कर्णालीका मुख्यमन्त्रीद्वारा एक वर्षे उपलब्धि सार्वजनिक (विवरणसहित)