मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

यू–१९ यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटः अफगानिस्तानसँग एक रनले हार्‍यो नेपाल, अन्तिम खेलअगावै शृंखला पनि गुमायो

आइतबार, २४ चैत २०८१, १६ : ४५
आइतबार, २४ चैत २०८१

काठमाडौँ । यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार खेलिएको दोस्रो खेलमा पनि नेपाली यू–१९ टोली पराजित भएको छ । अफगानिस्तानको यू–१९ टोलीले दोस्रो खेलमा नेपालको यू–१९ टोलीमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो ।

जितसँगै भ्रमणकारी टोली अफगानिस्तानले एक खेलअगावै तीन खेलको शृंखला पनि २–० ले आफ्नो पक्षमा पारेको छ । यसअघि खेलिएको शृंखलाको पहिलो खेलमा अफगानिस्तानले नेपाललाई एक सय ३० रनले हराएको थियो । शृंखलाको तेस्रो खेल आगामी बुधबार खेलिने छ । 

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै एक सय ६८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ६७ रनमात्र बनाउन सक्यो । 

नेपाली टोलीका लागि ओपनर ब्याट्सम्यान साहिल पटेलले लामो समय क्रिजमा टिकेर ६४ रन बनाए ।  यस क्रममा उनले एक सय १९ बलको सामना गरी ६ चौका पनि हिर्काए । उनी ४१.२ ओभरमा पेभेलियन फर्किएका थिए ।

तर, उनको यो योगदान टोलीको जितका लागि अपर्याप्त बन्यो । अर्का ओपनर निरज कुमार यादव भने १५ रन बनाउँदै आउट भएका थिए । कप्तान नरेन भट्ट पनि १३ रनभन्दा अगाडि बढ्न सकेनन् । सिबरिन श्रेष्ठ दुई र विकेटकिपर ब्याट्सम्यान दिलसाद अली आठ रन बनाउँदै पेभेलियन फर्किए ।

त्यसपछि छैटौँ नम्बरमा क्रिज समाल्न आएका अभिषेक तिवारीले टोलीको खातामा महत्वपूर्ण २४ रन थपे । उनले २५ बलमा एक छक्का र चार चौका पनि प्रहार गरे । रोशन विश्वकर्माले नौ रन बनाए । सन्तोष यादव चार रनमै आउट भए । 

अपराजित पौडेलले खाता खोल्न सकेनन् । त्यसपछि धुर्व सोनार र विपिन शर्माले टोलीलाई जितसम्म पुर्‍याउने प्रयास गरेका थिए । आठौँ नम्बरमा क्रिज समाल्न आएका धुर्व अन्तिम समयमा २१ रन बनाउँदै रन आउट भएपछि नेपाली टोली जितबाट चुकेको थियो ।

उनले ३१ बलको सामना गरी तीन चौका हिर्काउँदै नेपाललाई जितसम्म पुर्‍याउने प्रयास गरेका थिए । तर, उनको प्रयास सफल हुन सकेन । विपिन शर्मा भने शून्य रनमा अविजित रहे । अफगानिस्तानका बलर वाहिदुल्लाह जदरान, जइतुल्लाह साहिन र हाफिज जदरानले दुई–दुई विकेट लिए ।

त्यसअघि, कप्तान महबुब खानवाहेक अफगानिस्तानका कुनै ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । चौथो नम्बरमा क्रिज समाल्न आएका महबुब खानले ५८ रन बनाए । उनले एक सय १४ बलको सामना गरी एक चौका पनि हिर्काए ।

ओपनर ब्याट्सम्यान उजइरुल्लाह निआजाई १९ र खालिद अहमदजाई १० रन बनाउँदै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका फैसल सिनोजादाले खातासम्म खोल्न सकेनन् । बर्कत ईब्राहिमजाई पनि शून्य रनमै आउट भए । 

नजिफुल्लाह अमिरीले टोलीको खातामा १६ रन थपे । खातिर स्टानिकजाईले ११ रन बनाउँदै पेभेलियन फर्किए । जैतुल्लाह साहिन दुई रनभन्दा अगाडि बढ्न सकेनन् । तल्लो क्रमका ब्याट्सम्यान रुहुल्लाह अरबले २७ रन बनाए ।
अफगानिस्तानले अतिरिक्त रुपमा पनि १२ रन पायो । नेपाली टोलीका बलर सन्तोष यादवले तीन विकेट लिए । सिबरिन श्रेष्ठ र विपिन शर्माले पनि दुई–दुई विकेट हात पारे । अपराजित पौडेल र अभिषेक तिवारीले पनि एक–एक विकेट कुम्ल्याए । 

नेपालमै आयोजना हुने आईसीसी यू–१९ विश्वकप छनोटको तयारीका क्रममा यो शृंखला खेलिएको हो । विश्वकप छनोट खेल पनि मुलपानी क्रिकेट मैदानमै हुनेछ । नेपाल र अफगानिस्तानबिचको शृंखलालाई यूथ एककदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप