रुँदै परदेसिए भुइँमान्छे तर सत्यको हार हुने छैन

परदेशको दु:ख–कष्ट, ठेला उठेका हात, कठोर घाम पसिनाले लिथ्नो भएकाे शरीर । तैपनि तीनवर्ष अगाडि अरब खाडीबाट देश फर्कंदा छुट्टै सपना साँचेर आएका थिए, भुइँमान्छे । आशा बोकेर आएका थिए ।
छोरीलाई अंकमाल गर्ने, परिवारसँग रमाउने र आफ्नै घरमा आफ्नै माटो खनीखाेस्री बाँकी जिन्दगी बिताउने !
तर, फर्किएपछि पाए– जीवनमै नसोचेको ठूलाे बज्रपात ।
घरमा पाइला राख्न नपाउँदै देखे/सुनेका कुराले भुइँमान्छेको संसार भत्कियो । आफ्नी श्रीमतीसँग अर्कै परपुरुष । छाेरीलाई छात्रावासमा राखिएकाे । अनि थाहा भयो — आफ्नै श्रीमतीको जीवनमा बसेको त्यो पुरुष कोही सामान्य व्यक्ति होइन — माओवादी पार्टीकै नेता । गजधम्म राजकीय पद ओगटेर बसेकाे मान्छे ।
अब कहाँ जाउँ ? के गरूँ ?
प्रहरी कहाँ पुग्दा राजनीति ठोक्कियो । अदालत पुग्दा पहुँचको पर्खाल देखियो । आफ्नो न्याय आफैँ लड्नुपर्ने !
अन्ततः भुइँमान्छे पुगे — त्यही माओवादी पार्टीको बागमती प्रदेश कार्यालयमा । जहाँ निरन्तर शब्द गुन्जिन्थ्यो — "हामी भुइँमान्छेहरूकाे पार्टी हाे, माओवादी गरीव जनताको आवाज हो।"
तर, त्यो आवाज कहाँ थियो ? त्यो न्याय कहाँ, कसको लागि थियो ? अहँ भुइँमान्छेले महसुस नै गर्न पाएनन् ।
पार्टीको ढोका ढकढक्याउन पुगेका भुइँमान्छेको हातमा परदेशमा थोपाथोपा गरी बचत गरेको सम्पत्ति र परिवार साथसाथै गुमाएको फेहरिस्त थियो । मुटुमा पीडा थियो । आँखामा आँसु थिए । अपमान थियो ।
भित्र रहेका नेताहरूले उनलाई हेरे — तर चिनेजस्तो गरेनन् । सुने — तर नसुने झैँ गरे । ठूला पदमा बसेकाहरूका लागि त्यो मान्छेको पीडा एउटा सस्तो समाचार जस्तो थियो — जसले तिनलाई कुनै फरक पारेन ।
भुइँमान्छेले गुहारे— "मेरो छोरीको सुरक्षाको ग्यारेन्टी दिनुहोस् । मेरो जीवन जोगाइदिनुहोस् । मेरो घर सम्पत्ति फिर्ता गराइदिनुहोस् । मेरो परिवारका बारेमा स्पष्ट गर्नुहाेस् । मेरो सपना कब्जा गर्ने अपराधीलाई कार्वाही गर्नुहाेस् !"
तर, प्रतिउत्तर आयो— "कानुनी प्रक्रिया पुर्याऊ ।"
सिधासिधै देखे/भोगेको अत्याचार छ, प्रक्रियाको औपचारिकता खोज्ने कि पार्टीले न्याय दिने ? कहाँ छ प्रक्रिया ? कस्तो हुन्छ प्रक्रिया ? त्यो बाटो कसले देखाउँछ ? जबकि प्रहरी र अदालत नै सत्ता र पहुँचको बन्धक बनेका छन् ।
दवावका सामु पार्टीले एउटा छानबिन समिति त बनायाे । तर, त्याे फगत अल्मल्याउने, प्रमाण मेटाउने मेलो मात्रै सावित भयाे । अपराधकर्ममा जाेडिएकासँग साँठगाँठ गर्न, भुइँमान्छेकाे बुझाइमा हुनसक्छ उसलाई थप दवाव दिएर थप रकम असुल्ने माध्यम पो बन्यो कि त्यो छानबिन !!
अन्ततः निराश भुइँमान्छेले भावुक भएर भने- "शायद यो पार्टी, यो देश मेरो होइन । शायद यो परिवेश हाम्रा लागि होइन । शायद यो माओवादी अब हामी जस्ता गरिबका लागि होइन !"
र, फेरि तयारी थाले — अर्को देश(गन्तव्य)को, अर्को परदेशको — जहाँ कमसेकम मेहनतले जिन्दगी बाँच्न पाइन्छ, अपमानले होइन । यस परिवेशबाट उम्किएर भारत हुँदै तेस्रो देश लाग्दै गर्दा मलाई अंकमाल गर्दै उनी साँच्चीकै भक्कानिए । भने- "दाइ यसपटक हामी हार्यौं!"
यो कथा व्यक्ति भुइँमान्छेको मात्र होइन — यो कथा हजारौँ भुइँमान्छेका सपना भत्किएको कथा हो ।
यो कथा सत्ताका ढोका अगाडि रोएका आशाहीन नेपालीको आँसु हो ।
र, शायद, यो कथाले फेरि पनि हामीलाई सम्झाइरहेको छ —
नेपाल अझै पनि भुइँमान्छेहरूको देश बन्न बाँकी छ ।
कम्युनिस्ट आन्दोलन सैद्धान्तिक रूपमा भुइँमान्छेको सपना बोकेर अगाडि बढेको आन्दोलन हो । गरिब, श्रमिक, सीमान्तकृत वर्गका आवाज बन्न थालेका नेता नै तिनका वास्तविक प्रतिनिधि हुन् । तर, समयसँगै इतिहासले देखायो — आधारभूत जनताका प्रतिनिधि मानिने कतिपय नेता आफैं शासक प्रवृत्तिमा रूपान्तरण भए ।
हरिहरपुरगढी गाउँपालिका, सिन्धुलीका अध्यक्षले पार्टी र राजकीय सत्ताको आडमा भुइँमान्छेमाथि गरेको अत्याचारको कथा त्यही विडम्बनाको एउटा उदाहरण हो ।
भुइँमान्छे जस्ताकै त्याग, वलिदान र संघर्षबाट निर्माण भएकाे शक्तिका कारण पालिका जितेका अध्यक्षले सत्ताको नशामा आफूलाई सर्वेसर्वा ठान्ने तर पार्टी भने मुकदर्शक बन्ने- अहो कस्तो विडम्बना ! लाग्छ, गरिब र विपन्न नागरिकमाथिको अत्याचार अब सामान्य हाे । प्रतिवादको प्रतिक्रियामा उल्टो धम्की, हेला र अपमान अब सामान्य हो ।
कम्युनिस्ट दर्शनको मूल्य यही हो कि सधैं उत्पीडित, गरिब, भुइँमान्छेकै पक्षमा उभिनुपर्छ । राज्य होस् वा पार्टी — सत्ताको आवरण सुन्दरता भजाएर भुइँमान्छेको दुःखलाई अदृश्य बनाउने फासीवादी संस्कार जुनसुकै भेषमा देखा पर्न सक्छ ।
तर, आन्दोलनमा हामी पनि छौं । असत्यले दिनहरू जति फराकिलो बनाओस्, सत्यको हार पक्कै हुन दिने छैनौं ।