एउटा टिकटक भिडियोले कुचीकारबाट मोडल बनिन् यी युवती

बैंकक । भनिन्छ, मानिसको भाग्य फेरिन समय लाग्दैन । यो कुरा ठ्याक्कै बैंकककी एक कुचीकारमाथि लागु भएको छ । बैंककको सडक सफा गर्दै हिँड्ने एक युवती रातारात भाइरल बनेर चर्चित ब्रान्डहरूको मोडल बन्न सफल भएकी छन् ।
परिकथा जस्तै लाग्ने यो घटना दुई सन्तानकी एकल आमा २८ वर्षीया नोपाजित ‘मिन’ सोमबुनसातेको हो । यो कथा एक महिना अघि सुरु हुन्छ ।
रुसका फोटोग्राफर सेमयोन रेजचिकोभले उनलाई सडक सफा गर्दै गरेको बेला फेला पार्छन् । नोपाजितले भने सेमयोनलाई वास्ता नै गरेकी हुँदिनन् । उनी आफ्नै काममा व्यस्त हुन्छिन् ।
यता, नोपाजितको प्राकृतिक सुन्दरताबाट मन्त्रमुग्ध बनेका सेमयोनले उनलाई थाहा नै नदिई टाढाबाट उनको तस्बिर खिच्न थाल्छन् । पछि, सेमयोन नोपाजितको छेउमा पुगेर आफूले खिचेको तस्बिर देखाउँदै उनको सुन्दरताको तारिफ गर्छन् ।
यो सबै कुराको भिडियो उनले आफ्नो माेबाइलमा रेकर्ड गरिरहेका हुन्छन् । पछि उनले यस भेटको भिडियोलाई टिकटकमा पोस्ट गरेपछि त्यो चाँडै नै भाइरल हुन्छ ।
@semyonrezchikov ♬ som original - 𝑳𝒆𝒕𝒊𝒄𝒊𝒂 🇧🇷
मानिसहरू नोपाजितको सुन्दरता देखेर अवाक् बन्छन् । उनीहरू उनको बारेमा थप जान्न इच्छुक हुन्छन् । त्यसपछि मिडिया र मोडलिङ एजेन्सीहरूले उनको खोजी गर्न थाल्छन् ।
थाइल्याण्डका विभिन्न मिडियाहरूसँगको कुराकानीमा उनले आफू एक वर्षदेखि कुचीकारको काम गर्दै आएको बताएकी थिइन् । आफ्नो कामबाट सन्तुष्ट रहेको उनको भनाई थियो ।
मानिसहरूलाई आफूबारे यति चासो भएको देखेर उनले आश्चर्य पनि व्यक्त गरेकी थिइन् । सेमयोनसँगको आकस्मिक भेटपछि आफ्नो यस्तो धेरै चर्चा हुन्छ भनेर उनले सोचेको पनि थिइनन् ।
तर, यो त सुरुवात मात्र थियो । उनी यति भाइरल बनिन्, चर्चित थाई मेकअप आर्टिस्ट चाटचाई पिएनफापिचार्ट (नोङ चाट) ले उनलाई निःशुल्क मेकओभरका लागि प्रस्ताव राख्छन् । उनले एउटा सामान्य कुचीकार युवतीलाई थाई चलचित्र आर्ट अफ डेभिल २ की पात्र पानोरको रूपमा परिवर्तन गरिदिन्छन् ।
नोङ चाटको फोटोले नोपाजितलाई पुनः एकपटक भाइरल बनाइदिन्छ । उनी एकाएक थाइल्याण्डमा सबैभन्दा चर्चा गरिएकी पात्र बन्छिन् ।
त्यसपछि उनले नोङ चाटको कस्मेटिक ब्रान्डका लागि मोडलिङ गरिन् । यसपछि त झन् अन्य ब्रान्ड र मार्केटिङ एजेन्सीले उनलाई सम्पर्क गर्न थालेका थिए ।
उनले हालै आफ्नो कुचीकारको काम छाडेर नयाँ करियरतर्फ ध्यान दिन लागेको घोषणा गरेकी छन् ।
यसरी कुनै व्यक्तिको रातारात भाग्य परिवर्तन भएको पहिलो अवसर भने होइन । यसअघि, नाइजेरियाका घरविहीन युवक अलि ओलाकुनमी फेसन मोडल बनेका थिए ।
त्यस्तै, भारतको झोपडपट्टीमा बस्ने मलिसा खारवा एक अमेरिकी अभिनेतालाई भेटेपछि चर्चाको शिखरमा पुगेकी थिइन् । उता, एउटा फोटो भाइरल भएपछि फिलिपिन्समा भिख माग्दै हिँड्ने रिता गाभिओला सफल मोडल बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए