सङ्घीयता गम्भीर अभिशाप हो, खारेज गरौँ : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले आइतबारदेखि ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं,सङ्घीयता खारेज गरौं’ भन्ने नारा सहित राजधानी केन्द्रित आन्दोलनको आयोजना गरेको छ । जनमोर्चाको उक्त आन्दोलन यही चैत्र ३० गतेसम्म सञ्चालन हुने छ । सङ्घीयता खारेजीको अभियान सहित आन्दोलनमा होमिएको जनमोर्चाले सङ्घीयता अभिषाप भएको ठहर गरेको छ ।
कमजोर देशका लागि सङ्घीयता देश र जनताको हितमा नभएको कुरा दिनको उज्यालो झैं छर्लङ्ग रहेको समेत जनमोर्चाको भनाई छ । सङ्घीयताको प्रधान पक्ष त्यसको प्रादेशिक संरचना भएको बताउँदै त्यो खारेज हुनुपर्नेमा जनमोर्चाको जोड छ ।
जनमोर्चा पार्टीद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,‘सङ्घीयता नेपालको लागि गम्भीर अभिषापको रूपमा देखापरेको छ । नेपालको लामो राजनीतिक आन्दोलनको इतिहासमा नेपाली जनता वा देशका कुनै पनि राजनीतिक पार्टीहरूले कहिल्यै पनि सङ्घीयताको माग गरेका थिएनन् । नेपाल जस्तो सानो, पिछडिएको, आर्थिक दृष्टिकोणले धेरै नै कमजोर देशका लागि सङ्घीयता देश र जनताको हितमा नभएको कुरा दिनको उज्यालो झैं छर्लङ्ग छ । तैपनि विदेशी साम्राज्यवादीहरूको निहित स्वार्थ पूरा गर्नका लागि उनीहरूको दबाबमा नै नेपालका विभिन्न राजनीतिक पार्टीहरूले सङ्घीयतालाई नेपालमाथि लादेका हुन् । त्यसले देशलाई राष्ट्रिय विखण्डन, क्षेत्रीय विभाजनको स्थितिको सृजना गर्नुका साथै देशको विकासलाई पनि कुण्ठित गर्ने कुरा प्रस्ट छ । त्यसका साथै सङ्घीयताका कारणले देशमा जातीय बिग्रह पैदा हुने र देश टुक्राटुक्रा हुँदै जाने खतरातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।’
सङ्घीयताको प्रादेशिक संरचनामा लाग्ने अनावश्यक आर्थिक व्ययभारका कारणले देश धराशायी हुँदै जाने कुरा निश्चित रहेको उल्लेख गर्दै अहिले दिनानुदिन धराशायी हुँदै गइरहेको जारी प्रेस विज्ञप्तिमा भनिएको छ । स्थानीय निकायहरूलाई थप सुदृढ र अधिकारसम्पन्न बनाउनुपर्ने आवश्यकतामा जनमोर्चा पार्टीले जोड दिएको छ ।
देशको राष्ट्रियतामाथि विदेशी साम्राज्यवादी शक्तिहरूले लगातार हमला गरिरहेको समेत राष्ट्रिय जनमोर्चाद्धारा जारी विज्ञप्तिमा भनिएको छ । नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरूलाई पुनश्चः प्रतिगामी दिशामा लैजानका लागि प्रतिगामी शक्तिहरूले बारम्बार प्रयत्न गरिरहेको समेत जनमोर्चाको भनाई छ ।
प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर विश्वको र नेपालको पनि इतिहासले गलत सिद्ध गरेको राजतन्त्रको पुनर्स्थापनाका लागि पछिल्लो समय मुलुकमा प्रयत्न भइरहेको भन्दै त्यस प्रकारको प्रतिरोधको सामना गर्न राष्ट्रिय र ऐतिहासिक आवश्यकताको खाँचो रहेको जनमोर्चाको भनाई छ ।
गणतन्त्र, राष्ट्रियताको रक्षा र सङ्घीयतालाई खारेज गर्नका लागि व्यापक रूपले एकतावद्ध हुन र सङ्घर्षमा उत्रन जनमोर्चाको सम्पूर्णमा आग्रह समेत गरेको छ ।