बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

निरन्तर २५ वर्ष बिताएर बायर्न म्युनिखबाट अलग हुँदैछन् थोमस मुलर

आइतबार, २४ चैत २०८१, १४ : ४०
आइतबार, २४ चैत २०८१

काठमाडौँ । प्रभावशाली आक्रामक मिडफिल्डर थोमस मुलर आफूले निरन्तर २५ वर्ष बिताएको बाल्यकालको क्लब बायर्न म्युनिखबाट अलग हुने भएका छन् । उनले यही गृष्म ऋतुमा बायर्न म्युनिखसँगको आफ्नो ‘ऐतिहासिक र अविश्वासिलो’ यात्रालाई टुंग्याउन लागेका हुन् । 

जर्मन ‘पावर हाउस’  बायर्न म्युनिखसँग ३५ वर्षीय मुलरको सम्झौता यही सिजनमा समाप्त हुँदैछ । बायर्न म्युनिख र मुलरले आपसी छलफलपछि सम्झौता अवधि थप नगर्ने सहमति गरेका हुन् । मुलरले बाल्यकालको क्लबसँग अलग हुने सहमति गर्नु आफ्ना लागि निकै दुःखद क्षण भएको बताए । 

‘अर्को सिजनका लागि नयाँ सम्झौता प्रस्ताव नगर्ने बायर्नको निर्णयलाई म हृदयदेखि सम्मान गर्छु । तर, लामो सहयात्रा गरेको क्लबबाट टाढिनु पर्दा दुःख लागेको छ,’ मुलरले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत भनेका छन् ।  क्लबबाट अलग हुनु आफ्नो निर्णय नभएको पनि उनले स्पष्ट पारेका छन् । बायर्नले नयाँ सम्झौताका लागि प्रस्ताव नगर्ने भएपछि उनी क्लबबाट अलग हुन बाध्य भएका हुन् । मुलरले बायर्न म्युनिखलाई कीर्तिमानी रुपमा १२ पटक बुन्डेस लिगाको उपाधि चुमाएका थिए । 

यसका अतिरिक्त, उनले बायर्न म्युनिखलाई दुईपटक च्याम्पियन्स लिगको उपाधि दिलाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ‘कुनै एउटै क्लबमा २५ वर्ष बिताउनु सामान्य कुरा होइन । मेरा लागि यो ऐतिहासिक र अविश्वासिलो यात्रा हो । दुःखपूर्वक भन्नुपर्छ अबको केही समयपछि म मेरो बाल्यकालको क्लबबाट अलग हुँदैछु,’ मुलरले भनेका छन् । 

उनले बायर्न म्युनिखबाट कुल ३३ वटा ट्रफी चुमेका छन् । मुलरले सन् २००८ मा बायर्न म्युनिखको सिनियर टोलीबाट ‘डेब्यू’ गरेका थिए । त्यतिबेला क्लबको प्रमुख प्रशिक्षक योर्गेन क्लिन्सम्यान थिए । त्यसअघि उनी सन् २००० मा केवल १० वर्षको उमेरमा बायर्न म्युनिखको एकेडेमीमा आबद्ध भएका थिए ।

चर्चित जर्मनी फुटबलर मुलरले बायर्न म्युनिखका लागि कीर्तिमानी रुपमा सात सय ४३ खेल खेलेका छन् । उनले क्लबका लागि दुई सय ४७ गोल पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप