मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

वैज्ञानिकहरूले बनाए फ्लुबाट बच्ने चुइङगम

आइतबार, २४ चैत २०८१, १४ : २०
आइतबार, २४ चैत २०८१

काठमाडौँ । इन्फ्लुएन्जा (फ्लु) र हर्पेस भाइरसबाट प्रत्येक वर्ष लाखौँ मानिस सङ्क्रमित हुन्छन् र विश्वभर, मौसमी इन्फ्लुएन्जाले हरेक वर्ष लगभग एक अर्ब मानिसहरूलाई सङ्क्रमित गर्छ । यस क्रममा श्वासप्रश्वासको जटिलताका कारण लगभग साढे ६ लाखको मृत्यु हुने गरेको छ । ६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई गम्भीर फ्लु हुने र यसबाट मर्ने जोखिम बढी हुन्छ । त्यसैगरी हर्पेसबाट हरेक वर्ष लाखौँ मानिसहरू सङ्क्रमित भइरहेका छन् । 

तर वैज्ञानिकहरूले फ्लु र हर्पेसको सङ्क्रमण रोक्ने विशेष खालको चुइङगमको विकास गरेका छन् । अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयका अनुसन्धानकर्ताका टोलीले यस चुइङगमको परीक्षण गरेका छन् ।  परीक्षणका क्रममा चुइङगमले यी भाइरल सङ्क्रमणहरूको भार ९५ प्रतिशतसम्म कम गर्न सक्ने देखाएको छ । यसलाई वैज्ञानिकहरूको टोलीले ठुलै सफलताको रूपमा हेरेका छन् । 

सामान्य च्युइङगम जस्तै यो गम चपाएर सङ्क्रमणको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ । यो चुइङगम हर्पेस सिम्प्लेक्स भाइरस र इन्फ्लुएन्जा दुवैको भाइरल भार कम गर्न लाभदायक हुनसक्ने बताइएको छ । भाइरल सङ्क्रमणको जोखिम कम गर्न स्वास्थ्य विज्ञहरूले सबै मानिसलाई वार्षिक इन्फ्लुएन्जा खोप लगाउन सिफारिस गर्छन् । तर सीमित खोप कभरेजका कारण ठुलो सङ्ख्यामा मानिसहरू खोपबाट वञ्चित हुन्छन् । हर्पेस सङ्क्रमण रोक्नको लागि अहिलेसम्म कुनै खोप छैन ।

कसरी बन्यो यो चुइङगम ?

इन्फ्लुएन्जा मुख्यतया श्वासप्रश्वासको सङ्क्रमण हो भने हर्पेस सिम्प्लेक्स भाइरस सङ्क्रमित व्यक्तिको मुख र छालाको सम्पर्कबाट फैलिन्छ । भाइरस फैलिनबाट रोक्न वैज्ञानिकहरूको टोलीले दुवै भाइरस सबैभन्दा बढी फैलिएको क्षेत्रहरूका लागि उपाय खोज्नमा ध्यान केन्द्रित गर्‍यो ।

यस क्रममा वैज्ञानिकहरूले ल्याबल्याब बीन्स (ल्याबब्ल्याब पप्र्युरियस) प्रयोग गरेर चुइङगम बनाए । यसमा प्राकृतिक रूपमा फ्रिल नाम गरेको विशेष प्रोटिन हुन्छ । यो प्रोटिनले भाइरसलाई बढ्नबाट रोक्न र यसलाई निष्क्रिय पार्न मद्दत गर्न सक्छ ।

जब कसैले यो गम चपाउँछ यसबाट निरन्तर एन्टिभाइरल प्रोटिनहरू निस्कन्छ, जसले शरीरमा बढ्नु अघि भाइरसको असर कम गर्छ । प्रयोगशालामा, दुई ग्राम चुइङगम भाइरल सङ्क्रमणको जोखिम कम गर्न ९५ प्रतिशत प्रभावकारी पाइयो । यो मानव प्रयोगको लागि पूर्ण रूपमा सुरक्षित भएको दाबी अनुसन्धानकर्ताहरूले गरेका छन् ।

यसको नतिजा आशाजनक भएको पेन स्कुल अफ डेन्टल मेडिसिनका प्राध्यापक हेनरी डेनियलले भनेका छन् । प्रभावकारिता अझ राम्ररी मूल्याङ्कन गर्न सकियोस् भनेर मानवमा यसको व्यापक रूपमा परीक्षण गर्न बाँकी छ । चुइङगम कहिलेदेखि सर्वसाधारणलाई प्रयोगका लागि उपलब्ध हुनेछ भन्ने बारेमा भने कुनै जानकारी आएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप