आइतबार, ३१ चैत २०८१
ताजालोकप्रिय

विपक्षी टोलीका प्रशिक्षकको नाक तानेपछि तीन खेलको प्रतिबन्धमा परे चर्चित प्रशिक्षक मोउरिन्हो

आइतबार, २४ चैत २०८१, १४ : ०९
आइतबार, २४ चैत २०८१

काठमाडौँ । टर्किस कप फुटबलमा खेल जितेपछि विपक्षी टोलीका प्रशिक्षकलाई नाकमा समाएर तानेको आरोपमा फेनरबाचका प्रशिक्षक होजे मोउरिन्होमाथि तीन खेलको प्रतिबन्ध लगाइएको छ । टर्की फुटबल महासङ्घले मोउरिन्होमाथि प्रतिबन्ध लगाउने निर्णय लिएको हो । 

टर्किस कप फुटबल प्रतियोगिताका क्रममा फेनरबाचका प्रशिक्षक होजे मोउरिन्होले गालातसोरेका प्रशिक्षक ओकान बुरुकलाई नाकमा समाएर तानेका थिए । त्यसपछि गालातसारेले आफ्ना प्रशिक्षकमाथि भौतिक आक्रमण भएको आरोप लगाएको थियो । 

उक्त ‘डर्बी’ भिडन्त बिहीबार शुक्रु साराकोग्लु स्टेडियममा खेलाइएको थियो । सो क्वार्टरफाइनल खेलमा गालातसारेले फेनरबाचमाथि २–१ गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो । खेल सकिएलगत्तै यो घटना भएको थियो । 

खेल सकिएपछि दुबै टोलीका प्रशिक्षक मैदानमा खेल अधिकारीहरूसँग कुराकानी गरिरहेका थिए । सोही क्रममा मोउरिन्होले पछाडिबाट गालातसारेका प्रशिक्षक ओकानको नाकमा समाएर तानेको थिए । उनले नाकमा समाएर तानेपछि ओकान हातले अनुहार छोपेर भुइँमा लडेका थिए । 

सोही घटनालाई लिएर प्रशिक्षक मोउरिन्हो तीन खेलको प्रतिबन्धमा परेका हुन् । महासङ्घले प्रशिक्षक मोउरिन्होमाथि सात हजार सात सय अमेरिकी डलरको जरिवाना पनि लगाएको छ । ‘मोउरिन्होमाथि तीन खेलको प्रतिबन्ध लगाइएको छ । यो अवधिमा उनी खेलका क्रममा बेन् र ड्रेसिङ रुममा पनि जान पाउने छैनन्,’ महासङ्घले भनेको छ । 

सन् २०२४ मा फेनरबाचमा आबद्ध भएयता प्रशिक्षक मोउरिन्हो दोस्रो पटक निलम्बनमा परेका हुन् । यसअघि गालातसारे विरुद्धकै खेलका क्रममा खेल अधिकारीको आलोचना गरेको आरोपमा उनी चार खेलको प्रतिबन्धमा परेका थिए । त्यतिबेला उनीमाथि ४२ हजार अमेरिकी डलर जरिवाना पनि लगाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप