आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय
बागमती प्रदेशसभा

संसदीय मर्यादा जोगाउन सकेनन् सभामुखले

संसदीय प्रक्रिया र मर्यादाका बारेमा गम्भीर छुः सभामुख पाठक
आइतबार, २४ चैत २०८१, १५ : ००
आइतबार, २४ चैत २०८१

मकवानपुर । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्तर्गत ५ वटा बैठकमात्र सञ्चालन भए । पाँच वटा बैठक बसेर प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ ।

चैत २० गते रातिदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको हो । विशेषगरी दलहरूबिच बजेटमाथिको विवादमा सहमति जुट्न नसक्दा प्रदेश सभाको अधिवेशन अन्त्य गर्नुपर्ने बाध्यात्मक स्थिति बनेको थियो ।

प्रदेश सभाको हिउँदे अधिवेशन संसदीय प्रक्रिया र मर्यादाका हिसाबले अत्यन्त कमजोर देखिन्छ । २ महिना चलेको उक्त अधिवेशनमा न सभामुखले संसदीय विधि र प्रक्रिया कायम गर्न सके, न सांसदहरूले मर्यादा पालन गर्न सके ।

गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत माघ २३ मा २, २४ मा एक र २६ मा २ वटा बैठक बसे । उक्त बैठकमा संसदीय मर्यादा विपरीतमा घटना भइरहे तर प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले न त्यसलाई रोक्न सके, न संसदीय विधि, प्रक्रिया अनुसार बैठक चलाउन सके ।

गत चैत १९ मा प्रदेश सभाको हिउँदे अधिवेशनको बैठक आह्वान भयो । संसद् चल्न सक्ने अवस्था नरहेपछि २ पटक बैठक सरियो । यद्यपि बैठक बस्न सकेन । त्यसपछि अधिवेशन अन्त्यको सूचना जारी भयो ।

परिदृश्य–१

प्रदेश सभा विशेषतः नीति निर्माणको थलो हो । नागरिकका माग र आवश्यकताबारे सरकारलाई ध्यानाकर्षण गराउने स्थानका रूपमा संसदलाई लिने गरिन्छ । त्यस विपरीत प्रदेश सभामा दलहरूले आफ्नो माग सम्बोधन तथा अनुमोदन गराउने थलोका रूपमा संसदमा बढी प्रयोग गर्न थालेको देखिन्छ ।

दलहरूको अनुकूलतामा प्रदेश सभाको बैठक सञ्चालन हुने, कुनै न कुनै बहानामा बैठकमा अवरोध गर्ने परिपाटी कायम देखिन्छ । सभामुख पाठकले बैठक सञ्चालनमा भएका अवरोध हटाउन खासै भूमिका निर्वाह गरेको देखिँदैन ।

प्रदेश सरकारको सिफारिसमा चैत २० गते राति ११ः५९ बजेबाट प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ । गत माघ १९ मा आह्वान गरिएको प्रदेश सभाको अधिवेशन बैठक सुरुवातमै दलहरूको स्वार्थपूर्तिको मैदानका रूपमा देखिएको थियो ।

विषयगत समितिमा छलफल भई प्रतिवेदन तयार भएका चार विधेयकलाई पारित गर्ने कार्यसूची अनुसार चैत १९ गते १ बजेका लागि बैठक बोलाइयो तर, बैठक बस्ने अवस्था बनेन ।

संसदीय प्रक्रिया अनुसार निर्धारित समयभन्दा २ घण्टासम्म संसद नचले सूचना टाँस गरेर बैठक स्थगित गर्नुपर्छ । सभामुख पाठकले चैत १९ गतेको बैठक स्थगित भएको सूचना निर्धारित समयभन्दा एक घण्टा ढिलोगरी टाँस गराएका थिए ।

१९ गते बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चलेको सर्वदलीय छलफलले कुनै निष्कर्ष निकाल्न नसकेपछि दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठक अपराह्न ४ बजे बोलाउने गरी ४ बजे नै सूचना गरिएको थियो । ४ बजे आह्वान गरेको बैठक साँझ ६ बजेसम्ममा सञ्चालन भइसक्नुपर्नेमा सभामुख पाठकले सर्वदलीय बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक एकै पटक सञ्चालन गरे ।

बैठकमा सहमति जुट्न नसकेपछि ४ बजे आह्वान गरेको बैठक ६ बजेसम्म पनि बस्न सकेन ।

सभामुख पाठकको नेतृत्वमा बसेको सर्वदलीय र कार्यव्यवस्था परामर्श समितिको बैठक ७ बजेसम्म चल्यो । सभामुख पाठकले साँझ ७ बजे बैठक स्थगितको सूचना जारी गरे । उक्त सूचनामा चैत २० गते दिउँसो १ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको थियो ।

दलहरू चैत २० गते बिहान ८ बजे नै प्रदेश सरकारले अधिवेशन अन्त्यको निर्णय गरेसँगै सभामुख पाठकले दिउँसो १ बजेका लागि बोलाएको बैठक राख्न सकेनन् । राति ११ बजेर ५९ मिनेटपछिमात्र अधिवेशन अन्य हुने भएकाले त्यसदिन दिउँसो सभामुखले चाहेको भए बैठक बस्न सक्थ्यो ।

परिदृश्य २

समितिमा पठाउन प्रक्रियामा रहेको विधेयकलाई सभामुख पाठकले सोझै पारित गरेका थिए । माघ २६ मा बसेको बैठकमा एक संशोधन विधेयकलाई उनले सोझै पारित गराएका हुन् ।

संशोधन प्रक्रियाका लागि विषयगत समितमा पाठाउने गरी स्वीकृति प्रदान गर्न प्रक्रिया अघि बढाइएको प्रदेश खेलकुद विकास संशोधन विधेयकलाई सभामुख पाठकले पारित गराएका थिए । सो विधेयकसँगै अन्य चार विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाउन बैठकले स्वीकृति प्रदान गरेको थियो ।

परिदृश्य ३

माघ १८ बाट आह्वान भएको प्रदेश सभा अधिवेशनमा पनि नियमावली विपरीत गतिविधि भएका थिए । अधिवेशन आह्वान गर्दा एक साताको अवधि निर्धारण गरी सांसदहरूलाई सूचना गर्नुपर्ने अभ्यास छ । तर प्रदेश सभा सचिवालयबाट गत माघ १८ को बैठकका लागि १५ गते मात्र सूचना गरिएको थियो ।

यस विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले व्यवस्थामाथिको हस्तक्षेप गरेर संसदीय अभ्यास विपरीत ३ दिनको समयमा संसद् अधिवेशन आह्वान गरिएको भन्दै आपत्ति जनाएका थिए ।

संसदीय अभ्यासमा एक साताको समय निर्धारण गरेर संसद् अधिवेशन आह्वान हुनुपर्नेमा तीन दिनमै बोलाउनु व्यवस्थामाथिको प्रहार भएको उनको टिप्पणी थियो ।

tirtha lama 1

परिदृश्य–४

माघ २३ गतेको बैठकमा विशेष समयको कार्यसूची नहुँदै सांसद तीर्थ लामाले आफ्ना धारणा राखेका थिए । सांसद लामाले बैठक सुरु हुनासाथ कार्यसूचीमा प्रवेश गर्नुअघि नै आकस्मिक समय मागेर धारणा राखेका थिए ।

संसदीय अभ्यासमा आकस्मिक समयमा आसनबाटै उठेर धारणा राख्ने गरिन्छ तर, सांसद लामालाई सभामुखले केही विशेष विषय भए राख्न अनुमति दिएलगत्तै उनले रोस्टममा चढेर आफ्ना धारणा राखेका थिए । सो क्रममा उनले १० मिनेट धारणा राखेका थिए ।

minkrishna maharjan

परिदृश्य–५

माघ २३ गतेको बैठकमा विधेयक पेस गरेर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रोस्टम चढेका मन्त्री ३ मिनेटसम्म सम्बोधन रोकेर उभिन बाध्य भए, जुन संसदीय अभ्यास विपरीत घटना हो ।

उक्त बैठकमा सभामुख पाठकले युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई प्रदेश खेलकुद परिषद् ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए ।

रोस्टममा पुगेका मन्त्री महर्जन सदन सुरु भएको १५ मिनेटसम्म पनि बैठक कक्षमा प्रवेश नगरेका कारण राप्रपाका सांसदहरूले आकस्मिक समय माग्दा केहीबेर होल्ड हुनपर्‍यो । संसदीय अभ्यासका क्रममा नियमापत्तिबाहेक अन्य विषयमा सांसदहरूले आकस्मिक समय लिने अभ्यास छैन तर, संसदीय दलको बैठक बसिरहँदा नपर्खिएको भन्दै मन्त्री बोल्दै गर्दा होल्ड गराइएको थियो ।

परिदृश्य–६

संसदको अनुसार माघ २३ गतेको बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस भएको थियो । सोही दिनको दोस्रो बैठकमा उक्त विधेयकमाथि छलफलको कार्यसूची थियो । कार्यसूचीअनुसार स्वास्थ्यमन्त्री किरण थापाले विधेयक पेस गरेका थिए । तर, विधेयकमाथिको छलफलका क्रममा भने मन्त्री थापा उपस्थित थिएनन् ।

दुई छोराको विवाह भएका कारण उनी संसद् बैठक छोडेर भक्तपुर हिँडिसकेका थिए । जसका कारण उनको मन्त्रालयको तर्फबाट विधेयकमाथिको छलफलमा प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनलाई जिम्मेवारी थमाइएको थियो ।

परिदृश्य–७

यता संसदीय अभ्यास विपरीत माघ २४ गतेको बैठकमा प्रस्तावरहित ढंगबाट विशेष समयको कार्यसूची निर्धारण गरिएको थियो । सभामुख पाठकले सो बैठकमा प्रस्ताव नै नराखी कार्यसूचीमा विशेष समय निर्धारण गरेका थिए ।

विशेष समयमा निर्वाचन क्षेत्रलक्षित सांसदहरूले धारणा राख्नुपर्ने सर्त थियो । उक्त विषयमा सांसदहरूले संसदीय अभ्यासविपरीत सभामुखले काम गरिरहेको आरोप लगाएका छन् ।

सभामुखले व्यवस्था र सांसदहरूको भूमिकालाई कमजोर पर्ने तथा सीमित घेरामा राख्ने गरी काम गरेको उनीहरूको गुनासो थियो । २४ गतेको बैठकमा धारणा राख्दै सांसद रामकुमार पहाडीले सांसदहरूको भूमिका खुम्च्याउन खोजेको आरोपसमेत लगाएका थिए ।

संसदीय प्रक्रिया र मर्यादाका बारेमा गम्भीर छुः सभामुख पाठक

प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभाको प्रक्रिया र मर्यादाका विषयका आफू गम्भीर रहेको बताएका छन् । पछिल्लो सयम सांसद र संसदलाई जिम्मेवार बनाएर चलाउने काममा आफू सचेत भएर अघि बढेको उनले बताए ।

चैत २० को घटनामा संसद चल्ने वातावरण नरहेपछि बैठक नबसेको उनको भनाइ थियो । सचिवालय पूर्ण रूपमा तयार रहे पनि सत्तापक्ष र प्रतिपक्ष दलबिच सहमति नबने पछि बैठक चल्न नसकेको उनको भनाइ छ ।

‘संसदमा सरकारको बहुमत हुन्छ । सरकारबाट कोही पनि सहभागी नहुने भएपछि बैठक चलाउने अवस्था पनि हुँदैन,’ उनले भने, ‘संसदका विषयमा सरकार पनि जिम्मेवार हुन्छ । सरकार र प्रतिपक्षसँगको समन्वयमा बैठकका विषयहरू अघि बढ्छन् ।’

आफूले स्वतन्त्र र तथष्ट भएर संसदका गतिविधिहरू सञ्चालन गरेको जिकिर गर्दै सभामुख पाठकले लगातार ११ घण्टासम्म छलफल गर्दा पनि प्रदेश सभा चलाउने विषयमा सहमति हुन नसकेको बताए ।

उनले भने, ‘प्रदेश सभामा सतापक्ष र प्रतिपक्षी दुवै गैरजिम्मेवार ढंगबाट प्रस्तुत भएको महसुस भएको छ ।’

विगतका केही घटनाहरूबाट सिकेर संसदको मर्यादा कायम गर्नेगरी अघि बढेको सभामुख पाठकले बताए । संसदमा हुने अमर्यादित घटना नियन्त्रण गर्न कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर विषयहरू अघि बढाउने काम भएको उनको भनाइ छ । केही अपवादका घटनाबाहेक अन्य विषयमा समस्या नरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप