मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको रविको दाबीबारे के भन्छन् पूर्वमहामन्त्री ढकाल ?

आइतबार, २४ चैत २०८१, १३ : २१
आइतबार, २४ चैत २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा.मुकुल ढकालले रवि लामिछानेलाई प्रधानमन्त्री बन्न आएको प्रस्ताव अस्वीकार गरेको कुरा निराधार भएको बताएका छन् । शुक्रबार उच्च अदालत बुटवलले रविलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि पक्राउ गर्न राति नै प्रहरी उनको निवास पुगेको थिए ।

गिरफ्तारीको विषयलाई लिएर केहीबेर उनी र प्रहरी अधिकृतबिच सवाल जवाफ हुँदा आफूले प्रधानमन्त्री बन्न आएको प्रस्ताव अस्वीकार गरेको भन्दै रविले प्रहरी अधिकृतलाई फुली बढुवाको पछि नलागी देशको पक्षमा लाग्न सुझाव दिएका थिए । रविको यही अभिव्यक्तिलाई लक्षित गरी ढकालले आफ्नो धारणा आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डले कांग्रेस र माओवादी गठबन्धन बनाएपछि कांग्रेसबाट प्रधानमन्त्री बन्न रविलाई प्रस्ताव आएको र त्यसको चाँजोपाँजो मिलाउने जिम्मा आफूलाई दिएको ढकालले दाबी गरेका छन् । प्रजातान्त्रिक गठबन्धनबिच सरकार बनाएर जान हतारिएका रविले संविधानको धारा र प्रचण्डले खेल्न सक्ने सम्भावनाबारे अवगत गराएपछि उनी पछि हटेको उनले जिकिर गरेका छन् । 

‘काङ्ग्रेसबाट त्यसरी प्रस्ताव आएपछि, रवि दाइ प्रधानमन्त्री बन्न आतुर भइसकेका थिए । सरकार कसरी छोड्ने र काङ्ग्रेससँगको सहकार्यलाई कसरी प्राकृतिक देखाउने, त्यसका लागी रणनीति बनाउन मलाई सभापतिले निर्देशन दिनुभएको थियो । तर मकहाँ त्यो प्रस्ताव र निर्देशन आइसकेपछि, मैले रवि दाइलाई संविधानका धारा १०० (२) प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्नेछ । अनुसार जान पर्ने हुन्छ र तत्कालीन प्रधानमन्त्री प्रचण्डले ३० दिन समय पाउने कुरा बताए ।

त्यसरी प्रचण्डले ३० दिनमा आफैँ प्रधानमन्त्री बन्न ३० दिनभित्र अनेक तिकडम गर्न सक्ने, त्यो नि गर्न नसके शेरबहादुर देउवालाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनाउन सक्छन् भनेर निचोड निकालियो’, ढकालले लेखेका छन्, ‘नेपाली राजनीतिमा धोकाधडी अनेक हुने गरेको, काङ्ग्रेसबाट आएको उक्त प्रस्ताव १–२ दिनमा नै कार्यान्वयन हुन नसक्ने र ३० दिनसम्मको टाइमफ्रेममा काङ्ग्रेसले धोका दिए पार्टीलाई ठूलो क्षति हुन्छ भनेर विश्लेषण गरियो । काङ्ग्रेसलाई पत्याउन सक्ने दरिलो आधार थिएन । यसरी, रास्वपालाई झुक्क्याएर, छलेर देउवा नै प्रधानमन्त्री बन्ने छन् भनेर कानुन र संविधानका पाटाले देखाइसकेपछि बल्ल रवि दाइ प्रधानमन्त्री नबनिने रहेछ, यो त झुक्क्याइएको रहेछ भन्नेमा पुगे र त्यसपछि काङ्ग्रेसप्रति नै आक्रामक भएर प्रस्तुत भए ।’

उनले भनेका छन्– ‘यसर्थ, इतिहासको कुनै पनि समयमा रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने अवसर जुटेको थिएन । प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार छ । माथि उल्लेख गरिएका तथ्यको प्रमाणका लागि नेपालको संविधान पल्टाउन सक्नुहुन्छ ।

काङ्ग्रेसबाट आएको प्रस्तावका बारेमा त्यतिबेलाको आर्काइभ हेर्न सक्नुहुन्छ । डेमोक्रेटिक एलायन्समा पुग्ने संसद्को अङ्कगणित नाप्न सक्नु हुन्छ र रास्वपा नेतृत्वमा त्यो कति असम्भव थियो, त्यो पनि जोडजाड गर्न सक्नुहुन्छ । यसर्थ जनतालाई भ्रममा पार्ने गरी हौवा नपिटौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप