योगी आदित्यनाथलाई माधव नेपालको सुझाव : कृपया तपाईंले हस्तक्षेप नगर्नुस्, हात नहाल्नुस् !

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा राजावादीहरूको आन्दोलन भारतीय सरकार पक्षको इशारामा भइरहेको भन्नेमा आफूलाई विश्वास नलागेको बताएका छन् ।
भारतीय पक्षको इशारामा नेपालमा पछिल्लो समय राजावादीहरूले आन्दोलन गरिरहेको भन्ने कतिपयको भनाइ आइरहेका बेला पूर्वप्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् ।
‘भारतका राजनीतिक व्यक्तित्वहरू नेपालप्रति सद्भाव राख्छन्, नेपाली जनताको भलो होस् भन्छन्’, रातोपाटीसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘नेपालको हितमा काम गरुन् र गर्न सक्छन् भन्ने विश्वास पनि राख्ने भएकाले मलाई भारतको इशारा र योजनामा यी कुराहरू भएका होलान् भन्ने लाग्दैन ।’
नेपालले राजावादी आन्दोलनमा योगी आदित्यनाथको कुरा आएको र तस्बिर देखिएको भने स्वीकार गरे । ‘त्यो राम्रो होइन । म उहाँलाई सुझाव दिन चाहन्छु कि नेपालको मामिलामा कृपया तपाईंले हस्तक्षेप नगर्नुस्, हात नहाल्नुस् । तपाईंप्रति मानिसको जुन कदर छ, त्यो कदरमा असर गर्छ’, नेपालको सुझाव छ ।
प्रस्तुत छ– नेपालसँगको कुराकानीको सम्पादित अंश-
- राजनीतिक दलहरूले जनतालाई राम्रोसँग डेलिभरी गर्न नसकेर आक्रोश बढेको भनिन्छ । यसमा तपाईंहरूजस्ता पाको पुस्ताको नेतृत्वले चिन्तित भएर सोच्नुपर्ने बेला भएन ?
राजनीतिक दलहरूले जनतालाई डेलिभरी गर्न दिएनन् भन्ने कुरा सही होइन । कुनै राजनीतिक दलहरूले दिएनन् होला तर सबै एउटै ड्याङका मुला होइनन् । सबै एकै खालका होइनन् । जसरी मानिस एकै खालको हुँदैन, त्यसैगरी राजनीतिक पार्टी पनि फरकफरक खालका हुन्छन् । विचार र सिद्धान्तमा प्रस्ट भएका राजनीतिक दलहरू एक खालका हुन्छन् । दलहरू सही विचार बोकेका पनि हुन्छन् र कोही गलत विचार बोकेका पनि हुन्छन् । पार्टीभित्रका नेताहरूमा पनि कोही काबिल हुन्छन्, कोही अयोग्य हुन्छन्, कोही त्यागी हुन्छन् र कोही स्वार्थी हुन्छन् । त्यसो हुनाले व्यक्तिव्यक्तिलाई पनि छुट्ट्याएर हेर्नुपर्ने हुन्छ । पार्टी–पार्टीलाई पनि छुट्ट्याएर हेर्नुपर्छ । यसरी हेर्न सकिएन भने संसारमा सबै मानिसमात्र होइन, मानव जाति नै खराब भन्ने निश्कर्षमा पुगिन्छ । त्यसकारण मानव जाती खराब होइन भनेर बुझ्नपर्छ । त्यसैले मानव जातीमा असल, खराब, सज्जन र दुष्ट मानिसहरू पनि हुन्छन् भनेर बुझ्नुपर्छ ।
- गणतन्त्र स्थापनापछि गत चैत १५ सम्म आइपुग्दा तपाईंहरूकै पार्टी कार्यालयसमेत तोडफोड र आगजनी भयो । यो हेर्दा पुरातन शक्तिहरू उठे भन्ने त बुझिन्छ तर त्यो अवस्था आउनुमा पनि गणतन्त्रलाई चलाउने पार्टीकै भूमिका पनि त होला नि, हैन र ?
राजनीतिक दलहरूले कोसिस गर्नु एउटा कुरा भयो । जनताले फैसला गर्ने कुरा मुख्य विषय हो । जनतामा हामी पुग्न सकेका छैनौँ । जनतालाई बुझाउन र चेतना जागरण पैदा गर्न सकेका छैनौँ । सही र गलतलाई मूल्याङ्कन, विश्लेषण जनताले गरुन् र गर्न सकुन् भनेर त्यस रूपमा पुर्याउन सकेका छैनौँ भन्ने कुराको जिम्मेवारी घुमिफिरी नेताहरूले लिनुपर्ने हुन्छ । समाजको परिवर्तन रुपान्तरण गर्ने काम राजनीतिक दलका नेताहरूकै हो । समाजले बुझेको छैन भने बुझाउनुपर्यो । यसका लागि मेहनतका साथ लाग्नुपर्छ, कसरी त्यो काम गर्न सकिन्छ भनेर खोजी गर्नुपर्छ । कहिलेकाहीँ हुलले पनि फैसला गर्नेगर्छ तर हुलको फैसलाका आधारमा चल्नु हुँदैन ।
- चैत १५ गते जे–जे भयो, त्यो राजनीतिक हिसाबले नभएर हुलले गर्यो भन्ने तपाईंको भनाइ हो ?
चैत १५ गते दुई प्रकारका घटना भए । एउटा गणतन्त्रको पक्षमा अत्यन्तै शालिन र मर्यादित सभा समाजवादी मोर्चाका तर्फबाट भृकुटीमण्डमा भयो । यसको कारण के हो भने जनता त्यही कुरालाई मन पराउँछन्, जहाँ विशाल उपस्थिति पनि रह्यो । जनताको ठुलो हिस्सा अहिलेका काम र त्रुटिहरू सच्याउने पक्षमा छन् । त्यही दिन तीनकुनेमा भएको अर्को तोडफोड गरेर, हिंसात्मक रूप दिएर, कुनै पार्टी विशेषमाथि प्रहार, पार्टी अफिस र व्यक्तिका घर जलाउने, व्यावसायिक प्रतिष्ठानमा आगजनी, तोडफोड र लुटपाट या मिडिया हाउसमा आगो लगाउने, मनिसलाई नै आगो लगाएर मारिदिने नियोजित योजना देखिन्छ । किनभने त्यहाँ हातमा पेट्रोल ग्यास भरिएको छ । त्यो अचानक भएको देखिँदैन । पहिलादेखिकै ‘प्लान’ भएको देखिन्छ । त्यो दिनका दुई कार्यक्रमको कुन सही र गलत भनेर दुनियाँले तुलना गरिसके । कुन ठिक, कुन बेठिक ? राजनीतिक परिवर्तनका निम्ति को सही ? दक्षिणपन्थी यथास्थितिवादी प्रवृत्ति, भ्रष्टाचार र कुशासनका विरुद्धमा, देशको उत्पादनमा बृद्धि होस् भन्ने पक्षमा, जनता सुखी र समृद्ध बनुन् भन्ने पक्षमा, सरकारको अयोग्यता र नालायकीको विरुद्धमा आवाज मोर्चाले बुलन्द गरेको हो । त्यो पनि शालिन र लोकतान्त्रिक तरिकाले ।
तर अर्कोतिर सुरुदेखि नै बोलीमा, अभिव्यक्तिमा उदण्डता देखिएको छ । भनेपछि कस्तो संस्कार बोकेर हिँडेकाहरू रहेछन् ? राजाको नाम लिनेहरू गतिला छैनन् भन्ने कुरा व्यवहारले पुष्टि गर्यो ।
- तीन खाले शक्तिहरू आलोपालो सरकार चलाइरहने हो भने गणतन्त्र किन आवश्यक पर्यो भनेर नागरिकले प्रश्न गरेका छन् नि ?
हामीलाई स्वतन्त्रता किन आवस्यक पर्यो ? त्यसो हो भने दास भएर बसे भइगो नि ! योभन्दा राम्रो व्यवस्था के छ त ? सुनाउनु र देखाउनु पर्यो नि ! के एकतन्त्र राम्रो व्यवस्था हो ? तानाशाही राम्रो व्यवस्था हो ? के फासिज्म राम्रो व्यवस्था हो ? वंशाणुगत शासन व्यवस्था राम्रो हो ? चुन्ने व्यवस्था राम्रो कि मनोनयन गर्ने राम्रो हो ? जनताले फैसला गर्न पाउने व्यवस्था राम्रो कि कसैको हुकुमको भरमा चल्ने राम्रो हो ? यसमा त संसारमा धेरै लामो समयदेखि संघर्ष चल्दै आएको छ । मानव जातीको इतिहासमा पहिले जंगली युग थियो । जंंगलीपति दास युग थियो । दास मालिक थिए । के अब हामी दास मालिकको युगमा फर्कने ? त्यसपछि सामन्ती युग सुरु भयो । सामन्ती युगको विरुद्धमा लड्दै जाँदा पुँजीवादी युग सुरु भयो तर पुँजीको शासनले पनि जनतालाई स्वतन्त्र हुन दिएन । स्वाभिमानका साथ बाँच्न दिएन । श्रम र मेहनतको कदर भएन । शोषण र लुट शासन चल्न थाल्यो ।
त्यसपछि गणतन्त्र र समाजवादको कुरा आयो । गणतन्त्र भनेको जनतन्त्र जनताको तन्त्र हो । राजतन्त्र भनेको एउटा वंशको शासन हो । परिवारको शासन किन चाहियो ? के त्यस्तो त्याग र गौरव गर्ने काम गरेका छन्, देखाउनुपर्छ । शासन चाहिएको भए चुनावमा जानुपर्यो, जनतालाई ‘कन्भिन्स’ गुर्नपर्यो । जनताको मन र विश्वास जित्नुपर्यो । होइन, यत्तिकै कुर्सीमा बस्न खोजेको हो भने आफ्नै घरको कुर्सीमा बसे भइगो ।
जनताका छोराछोरी देशको राष्ट्रपति बन्ने व्यवस्था रोकेर एउटा परिवारको सदस्य योग्य होस् नहोस्, काबिल होस–नहोस्, तिनीहरूले मौका पाउनुपर्ने कारण के ? त्यसैले अब वंशको शासन युग समाप्त भइसक्यो र जनताको शासन व्यवस्था सुरु भइसकेको छ ।
- राजावादी या दक्षिणपन्थी शक्तिहरूको आन्दोलनमा दक्षिणतर्फको हावाको गन्ध पनि मानिसहरूले महसुस गरिरहेका छन्, तपाईंले चाहिँ कसरी हेर्नुभएको छ ?
देखिएको र सुनिएको योगी आदित्यनाथको कुरा आएको छ । त्यो राम्रो होइन । म उहाँलाई सुझाव दिन चाहन्छु कि नेपालको मामिलामा कृपया तपाईंले हस्तक्षेप नगर्नुस्, हात नहाल्नुस् । तपाईंप्रति मानिसको जुन कदर छ, त्यो कदरमा असर गर्छ । तपाईंप्रतिको श्रद्धा नघटाउनुस् । तपाईंको बेग्लै व्यक्तित्वलाई कायम राख्नुस् । नेपालमा के गर्नुपर्छ, के गर्नुहुँदैन, यो दुई देशको मामिला हो । भारतको मामिलामा भारतले प्रगति गरोस्, राम्रो गरोस् तर नेपालको हकमा तपाईंले पनि नेपाल र नेपाली जनताले नै फैसला गरुन् भन्नु बेस हुन्छ । अन्यथा भारतप्रतिको धारणा नकारात्मक बन्न पुग्छ ।
तपाईंहरूले भन्ने गर्नुहुन्छ– किन नेपालीहरूमा भारतविराधी भावना छ ? यस्तै व्यवहारले गर्दा हो । त्यसबाहेक भारत सरकारको केही भएजस्तो मलाई लाग्दैन । भारतले त्यस्तो गर्नुपर्ने आवश्यक पनि छैन । हामीले भारत सरकारका नेताहरूसँग व्यवहार गरेका छौँ । भारतका राजनीतिक व्यक्तित्वहरू नेपालप्रति सद्भाव राख्छन्, नेपाली जनताको भलो होस् भन्छन् । नेपालको हितमा काम गरुन् र गर्न सक्छन् भन्ने विश्वास पनि राख्ने भएकाले मलाई भारतको इशारा र योजनामा यी कुराहरू भएका होलान् भन्ने लाग्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली मंगलबार सिरहा आउँदै, हजारौँ जनमास उतार्ने तयारी
-
आगामी बजेटमा १३ प्रतिशत भ्याटलाई घटाएर १० प्रतिशत कायम गर्न माग
-
अघोषित लोडसेडिङको मारमा कर्णाली, विद्युत् प्रणालीमा बारम्बार अवरोध
-
वन डढेलोमा संलग्नलाई बागमती सरकारले कारबाही गर्ने
-
युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा : गगन थापा
-
बार निर्वाचन अपडेट : ११६० मत गणना हुँदा क-कसको अग्रता ? (सूचीसहित)