ट्रम्प नीतिविरुद्ध यसरी सुरु भयो अमेरिकाभर ‘ह्यान्डस अफ’ आन्दोलन

वासिङ्टन डिसी । शनिबारदेखि अमेरिकाको धेरै ठाउँमा मानिसहरू सडकमा निस्किएका छन् । उनीहरू डोनाल्ड ट्रम्पले लिएका आर्थिक तथा अन्य नीतिहरू विरुद्ध विरोधमा निस्किएका हुन । वाम विचार राख्ने संगठनहरुले डोनाल्ड ट्रम्पका नीतिलाई 'अर्बपतिहरुको समर्थनमा आएको अधिनायकवादी अतिक्रमण' भनिरहेका छन् ।
आन्दोलनकारीहरूका अनुसार अमेरिकी राजधानी वासिङ्टन डी.सी तथा फ्लोरिडा लगायत अन्य सहरमा गरेर करिब पाँच लाख भन्दा धेरै मानिसहरू प्रदर्शनमा उत्रिएका छन् ।
शनिबार न्यु हेम्पसायर तथा पेन्सिल्भेनिया लगायत टाढा टाढाबाट समेत आएका ट्रम्प-विरोधी प्रदर्शनकारीहरू वासिङ्टन स्मारकको छेउमा भेला भएका थिए ।
बादल लागेर धुम्मिएको दिनमा प्रदर्शनकारीहरू ट्रम्प विरोधी प्ले-कार्ड तथा युक्रेनको झण्डासमेत बोकेर आएका थिए । उनीहरू ट्रम्पले युक्रेनमा आक्रमण गरिरहेको रुससँग सम्बन्ध सुधार गर्न खोजेको विषयमा पनि आक्रोशित देखिन्थे ।
हिजोको विरोध कार्यक्रम ट्रम्पले दोस्रो कार्यकालमा राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेपछि वासिङ्टन डिसीमा भएको पहिलो सामूहिक प्रदर्शन हो । आन्दोलनकारीहरूले यस्ता कार्यक्रमबाट अन्य अमेरिकीहरूलाई पनि आफ्नो विरोध प्रदर्शन गर्न प्रेरित गर्ने आशा गरेका छन् । नागरिक समाज संस्था न्यू ह्याम्पसायर फरवार्डका १०० जना सदस्य साथीहरूसहित न्यू ह्याम्पसायरबाट आन्दोलनकै लागि भनेर आएकी ६३ वर्षीया डायन कोलिफ्राथले भनिन 'यो प्रदर्शनको उद्देश्य भनेकै मानिसहरूलाई झक्झकाउनु हो' ।
उनी थप्छिन् 'ट्रम्पले आफ्ना विरुद्ध उभिनेहरू विरुद्ध आक्रामक र हिंसात्मक रवैया लिएका कारण धेरै मानिसहरू उनको विरोध गर्न डराएका थिए । यो आन्दोलनको उद्देश्य भनेकै चुपचाप बस्न विवश अमेरिकीहरूलाई हामी उठ्यौँ भनेर देखाउनु हो । आशा छ जब उनीहरू हाम्रो शक्ति देख्छन् । त्यसले उनीहरूलाई पनि उठ्न हिम्मत दिनेछ ।'
यी प्रदर्शनहरूलाई 'ह्याण्ड्स अफ' भन्ने नाम दिइएको छ । यो प्रदर्शनमा संलग्न संगठनहरु मध्ये एक 'मुभ अन' ले यस्तो नाम दिएको हो । श्रमिक संगठन, वातावरण सम्बन्धी अधिकारकर्मी तथा प्रगतिशील समूहहरु संलग्न यस्ता प्रदर्शन राजधानी वासिङ्टन डी.सी लगायत अमेरिकाको १ हजार भन्दा धेरै ठाउँमा भएका छन् ।
आन्दोलनमा सक्रिय 'इन्डिभिजिवल नामको संस्थाको कार्यकारी निर्देशक लिच ग्रीनबर्ग भन्छिन् ' हामी ट्रम्पसामु जानाजान घुँडा टेकिरहेका व्यक्ति र संस्थालाई स्पष्ट देखाउन चाहन्छौ की त्यस्तो हुनबाट रोक्नका लागी अमेरिकामा ठुलो आन्दोलनको आँधी उठ्न तयार छ'।
उनी थप्छिन् ' यदि हाम्रा राजनीतिक नेताहरू ट्रम्पको हर्कत विरुद्ध उभिन्छन् भने हामी दृढ समर्थन गर्नेछौँ । हामी उनीहरू लोकतन्त्रका मूल्य मान्यता जोगाउन उभिउन् भन्ने चाहन्छौँ । साथै हामी यसका लागी दृढतासाथ उभिएका मानिसहरू सडकमा छन् है भनेर देखाउन पनि चाहन्छौँ । यो प्रदर्शनको उद्देश्य नै त्यो सन्देश दिनु हो ।'
सबैभन्दा ठुलो प्रदर्शन वासिङ्टन डी.सी को 'नेशनल मल' मा भयो । त्यहाँ दसौँ हजार मानिसहरू भेला भएका थिए । उक्त प्रदर्शनलाई डेमोक्र्याटिक पार्टीका जेमी रस्किन, म्याक्सवेल फ्रष्ट तथा इल्हान ओमर जस्ता नेताहरूले पनि सम्बोधन गरेका थिए ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी सदनको न्यायिक समितिको सदस्य समेत रहेका मेरिल्याण्ड प्रान्तको तर्फबाट डेमोक्र्याटिक पार्टीका प्रतिनिधि रस्किनले भने ' तिनीहरू लोकतन्त्र सकियो भन्ने ठान्छन् । उनीहरू हाम्रो भुक्तानी प्रणाली कब्जा गर्न खोज्दैछन् । यसो गरे पछि मात्रै उनीहरू व्यवस्था फेर्न सकिन्छ भनेर लागेका छन् '।
'उनीहरूले लोकतन्त्रको आधार नै समाप्त गर्दैछु भन्ने ठानेका होलान् तर उनीहरूलाई आफू कोसँग व्यवहार गर्दैछु भन्ने थाहा छैन जस्तो छ' उनले थपे ।
प्रदर्शनमा सहभागी ह्युमन राइट्स क्याम्पेन नामको समूहकी प्रमुख केलि रोबिन्सन ट्रम्पले 'एलजीबीटीक्यु प्लस' लगायत लैंगिक अल्पसङ्ख्यकहरू प्रति गरेको व्यवहारको आलोचना गर्छिन् । 'हामी विविध खाले आक्रमण देखिरहेका छौँ । ती केवल राजनीतिक मात्रै छैनन् । व्यक्तिगत पनि छन् ।...उनीहरू हाम्रा पुस्तकमाथि प्रतिबन्ध लगाउन खोज्दैछन् । एचआईभीबाट सुरक्षा दिने खोप घटाउँदैछन् । हाम्रा डाक्टर, शिक्षक, परिवार र हामी आफैलाई अपराधी करार गर्दैछन् ...हामीलाई यस्तो अमेरिका चाहिएको छैन। हामी हाम्रो अमेरिका खोज्दैछौँ । जहाँ आत्मसम्मान, सुरक्षा र स्वतन्त्रता केवल हामी केहीलाई मात्रै नभएर हामी सबैलाई प्राप्त हुन्छ '।
ट्रम्पको निवास मार-आ-लागोबाट करिब एक घण्टाको दूरीमा रहेको फ्लोरिडा, हलिउडको दृश्य अझ जीवन्त थियो । उनीहरू ह्वाइट हाउसको सल्लाहकार बनेका खर्बपति एलन मस्क र उनको खर्च कटौतीलाई लिएर नारा लगाइरहेका थिए । प्रदर्शनमा गोरा नागरिकहरूको प्रधानता थियो । उनीहरू ' हे हे हो हो ! ट्रम्प एन्ड मस्क ह्याब गो टु गो !' भनेर ठुलो स्वरमा गाइरहेका थिए ।
एलन मस्कको कार उद्योगमा बनेका टेसला साइबरट्रकका ड्राइभरहरूलाई जिस्काइरहेका देखिन्थे । भेटेसम्म त्यस्ता ट्रकहरूमा रङ्गिन प्लेकार्डहरू टाँसिरहेका थिए ।
हिटलरको शासनकालको नाममा सम्झिने गरिएको 'थर्ड राइख'लाई व्यङ्ग्यात्मक रूपमा भनिने 'टर्ड राइख' लाई उल्लेख गर्दै प्रदर्शनकारीहरूले टेस्लाका साइबरट्रकमा 'टर्ड राइखलाई मुद्दा चलाऊ र जेल हाल' भनेर लेखेका थिए । केही आन्दोलनकारीको रिस विश्वका सर्वाधिक धनी एलन मस्क माथि थियो । उनीहरूले 'हामीले एलन मस्कलाई चुनावमा छानेको होइन' लेखे । केही प्रदर्शनकारीहरू अमेरिकामा लोकतन्त्रको भविष्यबारे चिन्तित देखिन्थे । एउटा प्लेकार्डमा ' ह्यान्डस अफ डेमोक्रेसी' अर्थात् ' लोकतन्त्रलाई नचलाऊ' लेखिएको थियो । अर्को प्लेकार्डमा ' पुटिनको प्यादा नबन' लेखिएको थियो ।
प्रदर्शनको छेउबाट यात्रा गरिरहेका सवारी साधनहरूले प्रदर्शनको पक्षमा हर्न बजाएर सघाएको तथा ऐक्यबद्धताको भावमा आफ्नो बुढी औँलाले 'थम्ब्स अप' गरेको देखिन्थ्यो । फ्लोरिडाको बोवार्ड नामको यो काउन्टी गएको नोभेम्बरमा भएको निर्वाचनमा कमला ह्यारिसलाई मत दिएका छ वटा काउन्टी मध्ये एउटा हो । त्यहाँ ह्यारिसले ट्रम्पलाई १६ अंकले पछि पारेकी थिइन् । यो ठाउँ अमेरिकामा लैंगिक अल्पसङ्ख्यकहरूको असाध्यै क्रियाशील समुदाय रहने ठाउँ पनि हो ।
'यो हाम्रो लोकतन्त्र, अर्थतन्त्र र नागरिक अधिकार माथिको हमला हो' प्रदर्शनमा सहभागी ६४ वर्षीय जेनिफर हेइट भन्छिन् । उनको हातमा भएको पर्चामा 'अमेरिका: हामीलाई राजा वा अल्पतन्त्र चाहिएको छैन' लेखिएको थियो । 'यहाँ हरेक कुरा यसरी खराब हुँदै गएको छ, मलाई लाग्छ हामी चुपचाप बसेर हुँदैन । हामीले जे गर्न सक्छौँ त्यो गर्नै पर्छ । हामीले गर्ने यस्तो हल्लाखल्लाले धेरैलाई झस्काउने छ' उनी भन्छिन् ।
हेइट हालैका दिनमा फोर्ट लाउडरडेलमा टेस्लाको डिल अगाडि भएको विरोध प्रदर्शनमा पनि सामेल भएकी थिइन । ट्रम्प प्रशासनले कानुनको शासनमाथि गरिरहेको आक्रमण र खास गरी निष्पक्ष कानुनी प्रक्रिया बेगर नै मानिसहरूलाई देश निकाला गरेको लगायत गतिविधिले उनी क्रोधित छिन । 'हाम्रो देश कानुनको आधारमा चल्नुपर्छ' उनले भनिन।
६२ वर्षीया जनस्वास्थ्य अनुसन्धानकर्ता डोना ग्रीन फ्रान्सको राज्यक्रान्तिको समयमा जिलोटिनले काटिएकी महारानी मेरी एन्टोनेटको पोसाकमा प्लेकार्ड बोकेर आएकी थिइन् । जसमा लेखिएको थियो: 'मस्क र ट्रम्प भन्छन् उनीहरूलाई केक खान देऊ' । यो वाक्यांश फ्रान्सकी महारानी मेरी एन्टोनेटले गरिब जनताहरू रोटी खान नपाएर तड्पिएका छन् भन्दा 'उनीहरूलाई केक खान देऊ ' भनेकी थिइन् भन्ने कहानीमा आधारित छ । यसलाई धनाड्य वा शासकहरूले आम मान्छेको अवस्था बुझ्न नसकेको बारे उदाहरणको रूपमा प्रयोग गर्ने गरिन्छ ।
डोना ग्रिनका पिता दोस्रो विश्वयुद्धमा सैन्य सेवामा थिए । उनी आफ्ना पिताले अमेरिकाको लागी भाग लिएका ६५ सैन्य अभियानबारे गर्व गर्छिन् । तर उनलाई डोनाल्ड ट्रम्पको उदय हुँदै गरेको आजको अमेरिका उनका पिताले युद्ध लडेको समयको जस्तो नभएकोमा गुनासो छ ।
'मेरो बुवा जे कुराको लागी लड्नुभयो तथा तथा ती हरेक कुरा जसलाई हामी असाध्यै राम्रो मान्थ्यौँ । ती सबै आज ध्वस्त हुँदैछन् । ...कति छिटो हाम्रो मुलुकका संस्थाहरू धमाधम खत्तम हुँदैछन् भनेर मैले सोच्न समेत सकेको छैन । सत्तामा भएका कुनै रिपब्लिकनहरू पनि यसलाई रोक्न लागेका छैनन् ।' डोनाले भनिन ।
उता क्यालिफोर्नियाको भेन्चुरा भन्ने ठाउँमा स्यान्डी फ्रेडम्यान आफ्नी आठ वर्षे नातिनी ह्यारोल्ड रोज रेगालाई लिएर प्रदर्शनमा आएकी छन् । उनी आफूलाई सामाजिक सुरक्षाको चिन्ता भएको बताउँछिन् । 'मैले र मेरो श्रीमानले जीवनभर काम गरेका छौँ । मलाई अहिले आएर ट्रम्पले यो सबै खोस्छन् भन्ने डर लागेको छ' ।
अर्का आन्दोलनकारी हार्लो 'मेरो भविष्य जोगाइदेऊ' भन्ने प्लेकार्ड बोकेर उभिएका थिए ।
अप्रिल १ मा ट्रम्पले नयाँ भन्सार महसुलहरूको घोषणा गरे पछि पुँजी बजारमा ठुलो पहिरो गयो । त्यस पछि मानिसहरू प्रदर्शनमा निस्किएका छन् । आर्थिक क्षतिका बाबजुद ट्रम्पको बोली भने अझ कठोर हुँदै छ । उनले शुक्रबार ' मेरा नीतिहरू अब फेरिँदैनन्' भनेर आफ्नो अडान राखेका छन् ।
सञ्चार माध्यम रोयटर्सले गरेको सर्वेक्षण अनुसार ट्रम्पको 'एप्रुभल रेटिङ' घटेर ४३ प्रतिशतमा आइपुगेको छ । यो उनले कार्यभार ग्रहण गरेको समय देखिकै न्यून बिन्दु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर