मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

आइसीपीकै कारण सास्ती खेप्दै व्यवसायी, भारतको बदमासी

बिहीबार, २४ जेठ २०७५, १४ : १६
बिहीबार, २४ जेठ २०७५

वीरगन्ज–एकीकृत जाँच चौकी (इन्टिग्रेटेड चेक पोष्ट— आइसीपी) सञ्चालनमा आएयता नेपाली व्यापारीले सस्ती खेप्नु परेको छ । 

दिनहुँ ५ सय कन्टेनर पास हुने रक्सौल वीरगंज नाकाबाट अहिले आइसिपी लागू भएदेखि दैनिक डेढ सय कन्टेनर नेपाल भित्रन समेत हम्मे हम्मे परेको व्यवसायीले बताएका छन् । आइसीपी लागू हुनेवित्तिकै उद्योग व्यवसायीका लागि महत्वपूर्ण उपहार भनिएकोमा अहिले तिनै व्यवसायीलाई  आइसीपी टाउको दुखाईको विषय बनेको छ । 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले उद्योगी व्यवसायीको कन्टेनर १०/१२ दिनसम्म पनि आइसीपिका लागि जाममा बस्ने गरेको बताए । 

शर्माले भारतीय पक्षको कारण अहिले रक्सौल नाका भएर सामान ल्याउने उद्योगी व्यवसायी मारमा परेको उल्लेख गरे । यसले गर्दा लागत समेत उत्तीकै बढेको छ । ‘एकदिनको पार्किङ शुल्क भारु ४ सय ७४ रुपैयाँ पर्छ, जति दिन लम्बियो त्यतिकै दरमा हरेक दिन शुल्क थपिदै जान्छ,’ उनले भने । उनका अनुसार अहिले भारतले एउटा मात्र गेट खोलिदिएकाले कन्टेनरको लाइन बढेको हो । 

शर्मा भन्छन्, ‘हामीले अति भएपछि अर्थमन्त्रीसँग समय मागेका छौं, सम्भवत आगामी आइतबार भेट होला, त्यसपछि यी समस्या अवगत गराउँछौ ।’ उनले भारतीय विदेश मन्त्रीलाई पनि यो समस्या राख्ने बताए । 

पर्साको अलौ सिर्सियामा भारत सरकारद्धारा एकीकृत जाँच चौकी निर्माण गरिएको हो । सबै काम एकीकृत रुपमा एकै ठाउँबाट गर्ने उद्देश्यले स्थापना गरिएको जाँच चौकीले  छिटो काम गर्न नसक्दा उद्योगी व्यवसायीले सास्ती खेप्नु परेको हो । 

अर्का व्यवसायी राजेन्द्र श्रेष्ठ आफ्नो कन्टेनर भारतीय भूमिमै ९ दिनदेखि आइसीपीको लागि जाममा बसेको बताउँछन् । ‘भारतीय पक्षको बदमासीले आम नेपाली व्यवसायीले दुख पाउनु परेको छ,’ उनले गुनासो पोखे, ‘पहिला बाटोमै पार्किङ गर्न पाइन्थ्यो त्यस्तो चार्ज लाग्दैन थियो  । तर अहिले पार्किङ शुल्कमै हजारौ हजार खर्च गर्नुपर्ने अवस्था छ ।  यहाँ ल्याएर सामान बेच्दा बढी पैसा लियो भन्छन् ।’ 

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ओलीले दिल्लीबाट आइसीपीको संयूक्त रुपमा उद्घाटन गरेका थिए ।

 सन २०११ देखि आइसीपीको निर्माण शुरु भएको थियो । भारत सरकारले नेपालका लागि वीरगंजको अलौ सिर्सियामा १ अर्ब ३९ करोड रुपैयाँको लागतमा जाँच चौकी निर्माण गरिदिएको हो ।  जसको औपचारिक उद्घाटन पछिल्लो पटक ओलीको भारत भ्रमणको समयमा भएको हो । भारततर्फको आइसीपी भने एक वर्षअघि नै सञ्चालनमा आइसकेको थियो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप