सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

सुस्ताएको हैदराबाद र लयमा देखिएको गुजरात आपसमा भिड्दै

आइतबार, २४ चैत २०८१, १० : २१
आइतबार, २४ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबार सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । 

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो १९औँ खेल हो । यो सिजन हैदराबाद र गुजरात पहिलो पटक आपसमा भिड्न लागेका हुन् । हैदराबादले आफ्नो पाँचौँ र गुजरातले आफ्नो चौथो खेल खेल्न लागेको हो । 

सनराइजर्स हैदराबादले हालसम्म एकपटक आईपीएलको उपाधि जितेको छ । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि चुमेको थियो । त्यतिबेला हैदराबादले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराएको थियो । 

हैदराबाद सन् २०१८ मा पनि आईपीएलको फाइनलमा पुगेको थियो । त्यतिबेला हैदराबादलाई फाइनलमा चेन्नई सुपर किङ्सले हराएको थियो । हैदराबाद साबिक उपविजेता पनि हो । अघिल्लो संस्करणको फाइनलमा हैदराबादको टोली कोलकाता नाइट राइडर्ससँग हारेको थियो ।

गुजरात टाइटन्सले पनि हालसम्म एकपटक आईपीएलको उपाधि चुमेको छ । गुजरातले सन् २०२२ मा उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा गुजरात टाइटन्सले फाइनलमा राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो । 

  • हैदराबादको पाँचौँ र गुजरातको चौथो खेल

जारी सिजनको आईपीएलमा सनराइजर्स हैदराबादले आफ्नो पाँचौँ खेल खेल्न लागेको हो । यो सिजन हैदराबादको प्रदर्शन निराशाजनक देखिएको छ । हालसम्म खेलिएको चारमध्ये एक खेलमा विजयी भएको हैदराबाद तीन खेलमा भने पराजित भएको छ । 

हैदराबादले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले हराएको थियो । हैदराबादको टोली लखनउ सुपर जायन्ट्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्ससँग भने पराजित भएको थियो । दुई अंकसहित हैदराबाद तालिकामा सबैभन्दा तल अर्थात १०औँ स्थानमा छ ।

गुजरात टाइटन्सले भने आफ्नो चौथो खेल खेल्न लागेको हो । गुजरात हालसम्म खेलेको तीनमध्ये दुई खेलमा विजयी र एक खेलमा पराजित भएको छ । गुजरात आफ्नो पहिलो खेलमा पञ्जाब किङ्ससँग ११ रनले हारेको थियो ।

गुजरातले आफ्नो दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गरेको थियो । गुजरात टाइटन्सले आफ्नो तेस्रो खेलमा भने रोयल च्यालेन्जर्स बेंगलुरुलाई आठ विकेटले पराजित गरेको थियो । चार अंकसहित गुजरात तालिकाको तेस्रो स्थानमा आसिन छ । 

  • हेड टु हेडमा गुजरात अगाडि 

इन्डियन प्रिमियर लिगमा हालसम्म सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबिच कुल पाँच खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा गुजरातले हैदराबादलाई हराएको छ । हैदराबादले भने एक खेलमा मात्र गुजरातलाई पराजित गरेको छ । 

यी दुई टोलीबिचको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । यी दुई टोलीबिच खेलिएको पछिल्ला तीन खेलमा भने लगातार गुजरात विजयी हुँदै आएको छ । यी दुई टोली राजीव गान्धी स्टेडियममा दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । अघिल्लो खेल वर्षाका कारण रद्द भएको थियो ।

  • हैदराबादको सर्वाधिक रन ट्राभिस हेडको नाममा

जारी सिजनको आईपीएलमा सनराइजर्स हैदराबादका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान ट्राभिस हेड हुन् । उनले हालसम्म खेलिएको चार खेलमा कुल एक सय ४० रन बनाइसकेका छन् । पहिलो खेलमा उनले हैदराबादका लागि केवल ३१ बलमा ६७ रन बनाएका थिए । 

अनिकेत वर्माले पनि दिल्ली क्यापिटल्सविरुद्धको खेलमा ७४ रन बनाएका थिए । जारी संस्करणमा हैदराबादका लागि सर्वाधिक विकेट लिने बलर हर्षल पटेल र जिशन अन्सारी हुन् । यी दुबै बलरले चार–चार विकेट लिएका छन् । 

  • लयमा छन् गुजरातका साई 

आईपीएलको १८औँ संस्करणमा गुजरात टाइटन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान साई सुदर्शन हुन् । उनले यसअघि खेलिएको तीन खेलमा कुल एक सय ८६ रन बनाइसकेका छन् । उनले हालसम्म दुई अर्धशतक प्रहार गरेका छन् । 

उनले पञ्जाब किङ्सविरुद्ध ७४ रन र मुम्बई इन्डियन्सविरुद्ध ६३ रन बनाएका थिए । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा जस बट्लर हुन् । उनले तीन खेलमा कुल एक सय ६६ रन बनाएका छन् । 

बट्लरले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध केवल ३९ बलमा ७३ रन बनाएका थिए । त्यसअघिको खेलमा पनि उनले ५४ रन बनाएका थिए । गुजरातका लागि सर्वाधिक विकेट लिने बलर साई किशोर हुन् । उनले तीन खेलमा ६ विकेट लिइसकेका छन् । 

  • ब्याट्सम्यानलाई सहयोग पुर्‍याउने पिच

गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबिच आइतबारको खेल हुने राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियमको पिच ब्याट्सम्यानलाई सहयोग पु¥याउने प्रकृतिको रहेको छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रुपमा बढी नै रन बन्ने गरेको छ । 

यो स्टेडियममा हालसम्म आईपीएलको कुल ७९ खेलिएको छ । त्यसमध्ये ३५ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जित हासिल गरेका छन् । ४४ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर ६ विकेट गुमाएर दुई सय ८६ रन हो । उक्त स्कोर यसै वर्ष हैदराबादले राजस्थान रोयल्सविरुद्ध बनाएको थियो ।

  • छैन वर्षाको सम्भावना

सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबिच खेल हुने दिन आइतबार हैदराबादमा वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार हैदराबादमा दिनभर घाम लाग्नेछ र चर्को गर्मी हुने बताइएको छ । तापक्रम २३ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।

  • सम्भावित टोली

गुजरात टाइटन्स-ः शुभमन गिल (कप्तान), साई सदुर्शन, जस बट्लर, शाहरुख खान, राहुल तेवतिया, अरशद खान, राशिद खान, साई किशोर, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, ईशान्त शर्मा र शरफन रदरफोर्ड । 

सनराइजर्स हैदराबाद-ः प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, ईशान किशन, नितिश कुमार रेड्डी, हेनरिच क्लासन, अनिकेत वर्मा, कामिन्दु मेन्डिस, सिमरजित सिंह, जिशन अन्सारी, हर्षल पटेल, मोहम्मद शामी र ट्राभिस हेड ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप