आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : चलचित्रमा सेन्सर

नागरिकलाई सांसद छान्ने अधिकार छ, फिल्म छान्ने छैन

फिल्मले वेलावेलामा सेन्सरसिपको झमेला भोग्छ, पीडित बन्छ
आइतबार, २४ चैत २०८१, ०९ : ५५
आइतबार, २४ चैत २०८१

फिल्मको प्रभाव धेरै हुन्छ, सही र गलत मापन गर्नुपर्छ भन्ने एउटा भनाइ छ । यसैले सेन्सरको मान्यता स्थापित गरेको हो । लामो समयदेखि फिल्म क्षेत्रमा काम गरेको र गहिरो अध्ययनका हिसाबले म अहिले आएर के निष्कर्षमा पुगेँ भने– फिल्मले समाज बनाउने, बिगार्ने केही गर्दैन ।

फिल्मले बनाउने भए हाम्रो समाज आजसम्म स्वर्ग भइसक्थ्यो । बिगार्ने भए अहिलेसम्म समाज नर्क भइसक्थ्यो । त्यसैले फिल्मले समाज बनाउने र बिगार्ने केही होइन । 

फिल्म भयङ्कर ठुलो हो भन्ने बोझसमेत बोकाइएको छ । त्यो बोझबाट फिल्मलाई बाहिर निकाल्नुपर्छ । फिल्मले केहीलाई उत्प्रेरणा दिन सक्छ । फिल्मको मूल उद्देश्यभित्र जहिले पनि राम्रो कुराले नराम्रोलाई जित्छ । नराम्रो कुरोको परिणति नराम्रै हुन्छ । नराम्रो एक्सनको परिणाम नराम्रो हुन्छ भनेर देखाइन्छ । त्यस कारण मानिस सुध्रिनुपर्छ । 

मानिस समभावी हुनुपर्छ भनेर यसले हितकर कुरा गर्न प्रेरित गर्न सक्छ । तर मानिसलाई यही गर्नुपर्छ भनेर बाध्य बनाउन सक्दैन ।

राजनीति, अर्थतन्त्रलगायत समाज बन्ने, नबन्ने कुरोमा महत्त्वपूर्ण ठुला फ्याक्टरहरू अन्य छन् । फिल्म त सानो क्याटलिस्ट हो । फिल्मलाई ठुलो बोझ बोकाइएको छ । पहिले त फिल्म यसबाट मुक्त हुनुपर्छ । त्यो हुँदा मात्र फिल्म स्वतन्त्र ढंगबाट प्रज्वलित हुन सक्छ ।

फिल्मले वेला–वेलामा सेन्सरसिपको झमेला भोग्छ, पीडित बन्छ । त्यो समय मिडियाले लेख्छ–राज्य फिल्म कलासंस्कृतिसँग डरायो ।’ 

यो गलत न्यारेटिभ हो । राज्य फिल्म, कलासँग डराएर सेन्सरसिप लागेको होइन । राज्यले तर्साउन सेन्सर गरेको हो । डरायो भन्ने कुरो गलत हो । सेन्सरसिप फिल्मकर्मीलाई तर्साउने एउटा हतियार मात्र हो । छोरी कुटेर बुहारी तर्साउने भन्ने नेपालीको एउटा उखान छ । त्यस्तै ब्युरोकेसीले फिल्म सेन्सर गरेर समाजलाई तर्साएको हो । फिल्मसँग डराएर होइन ।

अहिले भर्खर हामी समस्या हो है भन्ने अवस्थामा पुगेका छौँ । संघर्ष गर्न बाँकी छ ।

पहिले म पनि त्यही सोच्थेँ– मेरो फिल्ममा पनि धेरै पटक सेन्सरका कैँची चलेका छन् । सेन्सर गर्नु भनेको राज्य डराएको हैन, झन् झन् बढी कन्फिडेन्ट भएको हो । डराएको फिल्म मेकर हुन् । हारेको फिल्म मेकर हुन् । 

आजको दिनसम्म सेन्सरको अवस्था नियाल्ने हो भने फिल्म मेकरहरू हारिरहेका, तर्सिरहेका अवस्था हो । मेरो बुझाइमा नेपालका फिल्ममेकहरू सेन्सरसिपबारे सिरियस नै छैनन् । अर्को पक्षको मूल्याङ्कन गर्नुभन्दा पहिले आफ्नो मूल्याङ्कन गरेर हेर्दा यस विषयमा फिल्ममेकर गम्भीर छैनन् । जो पर्छ, कराउँछ र केही समयपछि हराउँछन् । साँच्चिकै सेन्सरसिप समस्या हुँदो हो त आजसम्म सबै फिल्ममेकर एकताबद्ध भएर किन संघर्ष नगरेको ? किन हामी संघर्ष गर्न सकिरहेका छैनौँ ? समस्या हो भने समाधानका लागि संघर्ष गर्नुपर्थ्यो  । त्यो अहिलेसम्म भएको छैन । एउटा युनिफाइड संघर्ष भएको देखिन्न । यसको अर्थ के भने सेन्सरसिप नेपाली फिल्मका लागि ठुलो समस्या होइन । हो भने संघर्ष हुनुपर्छ । 

  • त्यसपछि तर्साउन छोड्छ 

अहिले भर्खर हामी समस्या हो है भन्ने अवस्थामा पुगेका छौँ । संघर्ष गर्न बाँकी छ । अब गर्ने हो भने सेन्सरसिपविरुद्ध सिने आन्दोलन हुनपर्छ । जसरी निरङ्कुशताविरुद्ध जनआन्दोलन भयो । त्यसरी नै निरङ्कुशताको प्रतिनिधि एलिमेन्ट हो, सेन्सरसिप । 

सेन्सरसिपको विषयमा मेरो अर्को एउटा दृष्टिकोण पनि छ । त्यो म आफैलाई पनि डरलाग्दो लागेको छ । हामी सेन्सरसिपको विषयमा विरोध गरिरहेका छौँ । यस विषयमा अलि गम्भीर भएर सोचौँ त । कतै हामी नै यसको प्रोमोटर त होइनौँ ? सेन्सरसिपका लागि राज्यलाई हाम्रो समाजले नै प्रश्रय दिएको त छैन ? हाम्रो समाजको चिन्तन सेन्सरसिपप्रधान नै छ । हामी हाम्रो जीवनमा फर्किएर हेरौँ एकपटक । 

हामी आफ्नो भन्दा फरक मत कतिको सम्मान गर्छौँ ? सेन्सरसिप भनेको कुनै पनि फरक अवधारणलाई दबाब दिएर त्यसलाई रोक्न खोज्नु हो । हाम्रा दैनिक जीवनमा, घरमा, छिमेकमा हामी फरक मतलाई स्थान दिन्छौँ त ? हामी पनि कुनै न कुनै किसिमको अवरोध सिर्जना गरेर दबाउन खोज्छौँ । त्यही मनोविज्ञान सेन्सरसिप हो । कतै हामीले सेन्सरसिपलाई सामाजिक रूपमा संस्कृति बनाइरहेका त छैनौँ ? भन्ने मेरो अर्को एउटा प्रश्न हो ।

यो सबै रूपान्तरण नभएसम्म सेन्सरसिपको अहिलेको समस्या पूर्ण समाधान हुन समय लाग्छ । यो मेरो अहिलेको ठम्याइ हो ।

जबजब हामीले फिल्ममार्फत अलिकति केही समस्या, सिर्जना गर्ने पक्षका कुरामा प्रश्न गर्छौँ । तब राज्यले सेन्सररूपी हतियार प्रयोग गर्दै हाम्रो अगाडि हिरो बन्न खोज्दैछौ ? भनेर प्रश्न गर्छ । हामीलाई एक किसिमले होच्याएको हो, तर्साएको हो । हामीले यसको प्रतिउत्तर कसरी गर्ने भन्ने कुरो हो । त्यस्तो वेलामा मात्र उसले हामीलाई तर्साउन छोड्छ, जब हामी अब कुनै पनि हालतमा तर्सिन्नौँ भन्ने तयारीमा हुन्छौँ । हामीले उसलाई पहिल्यै तिमीले तर्साउन पाउँदैनौ भन्नुपर्‍यो । हामीले त्यो कोसिस गर्नुपर्ने आवश्यकता छ । 

राज्यले श्रष्टालाई सेन्सरको तरबारमाथि अड्याएर फिल्म बनाऊ भनिरहेको छ । यो एकदमै डरलाग्दो वातावरण हो ।
  • सेन्सरसिप असंवैधानिक

सेन्सरसिपको अर्को एउटा मूल तत्व के भने– त्यो निकायले हामीले संविधानलाई संरक्षण गरिरहेका छौँ, संविधान जोगाउन सेन्सर गरेको भन्छ । जबकि संविधानले जनता सर्वोपरि, सार्वभौम हुन्छ भन्छ । राज्यले फिल्मको हकमा जनता सार्वभौम होइन, राज्य सार्वभौम भन्छ । सरकार सार्वभौम हो भनिरहेको छ । जनता सार्वभौम हो भने जनतालाई निर्णय गर्ने अधिकार दिनुपर्‍यो नि । जनताले कुन फिल्म सही छ, कुन गलत छ भनेर उसैले निर्णय गर्नुपर्‍यो । जनताको अगाडि जानुपूर्व नै राज्यको एउटा सानो निकायले तिम्रो लागि यो सही र यो र गलत, यो हेर्न हुँदैन र यो मात्र हेर भन्छ । यो देशको सांसद छान्ने अधिकार बालिग मताधिकार भएको व्यक्तिलाई छ । तर उसले कस्तो फिल्म हेर्ने भनेर छनोट गर्ने अधिकार छैन । नाबालकहरूलाई मानसिक स्वास्थ्यमा असर गर्छ भनेर कतिपय कुरामा वर्गीकरण गर्ने राज्यको दायित्वमा पर्छ । 

बालिग मताधिकार प्रयोग गर्ने व्यक्तिले सरकार कस्तो बनाउने भनेर छनोट गर्ने मानिसले कस्तो फिल्म हेर्ने ? कस्तो नहेर्ने ? भनेर छनोट गर्न सक्छ । सेन्सर प्रक्रियाले जनताको सार्वभौम छनोटको अधिकारमाथि हस्तक्षेप गरेको छ । त्यस कारण पनि यो सेन्सरसिप असंवैधानिक छ ।

सेन्सर बोर्डको एउटा टिमले फिल्म हेरेर हामीलाई प्रमाणपत्र दिने हो । सेन्सरसिप मुख्य कुरो सैद्धान्तिक मान्यता हो । जबसम्म सिद्धान्तमाथि प्रश्न हुँदैन, यसको सैद्धान्तिक आधार नै गलत छ भन्ने कुरो जबसम्म हामीले मूल बहसमा ल्याउन सक्दैनौँ, तबसम्म यो समस्याको समाधान हुँदैन । 

सेन्सर सैद्धान्तिक रूपमा स्रष्टाहरूको सिर्जनात्मक अधिकार संरक्षण गर्ने निकाय हुनुपर्थ्यो । राज्यले फिल्म निर्माण गर्ने, अभिव्यक्ति स्वतन्त्रताको अधिकार, मौलिक फिल्म बनाउने अधिकार दिएको छ । यसले त्यसमा सहयोग पुर्‍याउन सक्नुपर्थ्यो । कुनै एउटा फिल्ममेकरले फिल्म निर्माण गर्दैछ भने मेरो सिर्जनाको संरक्षण गर्ने निकाय छ है राज्यमा भनेर त्यो निर्भीकसाथ विकास हुनुपर्ने हो । फिल्ममेकरले फिल्म कल्पना गर्ने वेला उसको कल्पनाशीलताको शिरमाथि सेन्सररूपी तरबार झुण्डिराख्छ । 

  • कला–साहित्य पाँचौँ अंग

राज्यले श्रष्टालाई सेन्सरको तरबारमाथि अड्याएर फिल्म बनाऊ भनिरहेको छ । यो एकदमै डरलाग्दो वातावरण हो । यस्तो अवस्थामा फिल्म कस्तो बन्छ त ? यस्तो अवस्थामा राज्यले चाहेको जस्तो मात्र फिल्म बन्छ । जनताले प्रश्न नगरुन्, समस्या नदेखुन् भन्ने राज्यले चाहेको छ । फिल्म राम्रो बन्नुको कारण समस्या नै प्रमुख एलिमेन्ट हुन् । समस्या नै चाहिन्छ । समस्या कथाको मूल आधार हुने बित्तिकै समस्या सिर्जना गर्ने पक्ष, सिर्जना हुनुको कारण, त्यस्ता दर्शन, विचारधारामाथि प्रश्न उठ्ने नै भयो । 

राज्य समस्यालाई ढाकछोप गर्न खोजिरहेको छ । स्रष्टाहरूको आवश्यकता समस्याको जग हो । मूलभूत कुरामा सैद्धान्तिक रूपमा सेन्सरसिपले एकदमै ठुलो अवरोध गरिरहेको छ ।

हामीले टुक्रा–टुक्रामा समस्याको समाधान खोजिरहेका छौँ । तर समाधान तबमात्र हुन्छ, जब शासक, शासन, राज्य र राजनीतिले फिल्म, कलासाहित्यलाई यो सिर्जनात्मक उत्पादन हो भनेर सम्मान गर्छ । पत्रकारिता आज राज्यको लागि चौथो अंग भएको छ । अब राज्यले कलासाहित्यलाई देशको पाँचौँ अंग भनेर घोषणा गर्नुपर्छ । जबसम्म हामी पाँचौँ अंग बन्दैनौँ, तबसम्म नेपालको कलासाहित्य विकासमा धेरै अवरोध आइरहन्छ । म यो लेखमार्फत कलासाहित्यलाई राज्यको पाँचौँ अंगको रूपमा घोषणा गर्न र फिल्ममा भएको सेन्सरसिप हटाउन जोडदार माग गर्छु । 

(फिल्मकर्मी तथा समीक्षक मनोज पण्डितसँग गरिएको कुराकानीमा आधारित) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज पण्डित
मनोज पण्डित
लेखकबाट थप