घट्दो कोदो खेतीको अवस्थामा रक्सी ब्रान्डिङ कत्तिको सम्भव ?

काठमाडौँ । व्यवसायी, उत्पादक, जनप्रतिनिधि र व्यापक रूपमा आम सर्वसाधारणले माग गरेपछि सरकारले घरेलु रक्सीलाई ब्रान्डिङ गर्ने घोषणा गरेको थियो ।
चालु आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमार्फत यसको उत्पादन, ब्रान्डिङ, बजारीकरण र बिक्री गर्ने कानुनी व्यवस्थाको घोषणा गरिएको थियो । तर बजेट वक्तव्यमा उल्लेख भए पनि हालसम्म यसबारे कानुन बनाउन सरकारले पहल गरेको छैन ।
सरकारले पहल नगरेपछि सरोकारवालाले कोदोको रक्सी ब्रान्डिङ गर्नेबारे आवाज उठाउन थालेका छन् । कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री उषाकल राई र संघीय सरकारका पूर्वकानुनमन्त्री शेरबहादुर तामाङको संरक्षकत्वमा छिरिङ ग्याल्बु लामाको संयोजकत्वमा ३७ सदस्यीय राष्ट्रियस्तरको ‘नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति’ गठन गरिएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले आउँदो आर्थिक वर्षबाट नै कानुन बनाई कार्यान्वयन गरिनुपर्ने माग राखेको छ । साथै अहिले कोदो र मर्चा प्रयोगबाट बनाइएका परम्परागत घरेलु रक्सीको बिक्री वितरणमा समेत रोक नलगाउन समितिले अपिल गरेका छ ।
कोदोबाट बनेको रक्सीलाई नोक्सान नगर्न अनुरोध गर्दै अन्य अखाद्य वस्तुहरूको मिसावट गरी बनाइएका रक्सी भने तत्काल अनुगमन गरी उत्पादकलाई कारबाही गर्न सुझाइएको छ । साथै कोदोको रक्सी उद्योग स्थापना गर्न तत्काल सहुलियत ऋण व्यवस्था मिलाउन पनि सरकारसमक्ष समितिले माग गरेको छ ।
यसअघि कोशी प्रदेश सभाकी पूर्वसदस्य राईले लामो समयदेखि ‘घरेलु मदिरा ब्यान्ड (प्रतिबन्ध) होइन, ब्रान्ड बनाउनुपर्ने’ भन्दै अभियान नै चलाएकी थिइन् । राईले कोशी प्रदेशकी सामाजिक विकास मन्त्री हुँदा घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठनसमेत गरेकी थिइन् ।
अहिले गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्नेबारे पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बाग्लुङमा अध्ययन गरिरहेको छ । त्यस्तै, तेह्रथुमको छथर गाउँपालिका र खोटङको हलेसी तुवाचुङ नगरपालिकाले कोदोको लोकल रक्सीको बजारीकरणका लागि कानुन निर्माण गरेर ब्रान्डिङ थालेको छ ।
चौथो राष्ट्रिय जीवनस्तर सर्वेक्षण, २०७८ मा आधारित भई राष्ट्र बैंकले तयार पारेको उपभोग भार अनुसार कुल गार्हस्थ्य उत्पादनमा कोदोको योगदान ०.०९३६ प्रतिशत छ । करिब ५७ खर्बको अर्थतन्त्रअनुसार नेपालमा खपत हुने कोदोको मूल्य ५ अर्ब ३३ करोड ५२ लाख रुपैयाँ हुन आउँछ । नेपालमा खपत हुने कुल कोदोमध्ये २५ प्रतिशत बाहिरी मुलुकबाट आयात हुने गरेको छ भने ७५ प्रतिशत नेपालमा उत्पादित कोदो रहेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा ५५ करोड ५१ लाख रुपैयाँ बराबर कोदो आयात भएको छ । यस अवधिमा ११०९७.१३ मेट्रिक टन कोदो आयात भएको हो ।
उक्त परिमाणमा कोदो आयात हुँदा ४ करोड १७ लाख १ हजार रुपैयाँ राजस्व संकलन भएको छ । ठुलो परिमाणमा आयात भएको कोदो सानो परिमाणमा मात्रै निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । यसै अवधिमा ५२ लाख ६४ हजार रुपैयाँको ४७.४३ मेट्रिक टन कोदो निर्यात भएको छ ।
- यस्तो छ नेपालमा उत्पादित र आयातित कोदोको अवस्था
स्रोतः भन्सार विभाग/कृषि पशुपन्छी विकास मन्त्रालय
- वार्षिक ७० करोडभन्दा बढीको कोदो आयात
नेपालमा वार्षिक रूपमा ठुलो परिमाणमा कोदो बाहिरी मुलुकबाट आयात हुने गरेको विभागको तथ्यांकले देखाएको छ । यस्तै पछिल्लो समय कोदो आयात परिमाण घटेको देखिएता पनि मूल्य बढ्दो रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा ७५ करोड ४४ लाख २३ हजार रुपैयाँको १५ हजार २९८.१८ मेट्रिक टन कोदो आयात भएको छ । आर्थिक वर्ष २०७९/८० मा ७३ करोड २० लाख १३ हजार रुपैयाँको १८ हजार ४०३.४९ मेट्रिक टन कोदो आयात भएको छ । आर्थिक वर्ष २०७८/७९ मा ७० करोड २१ लाख ८२ हजार रुपैयाँको २० हजार ९१८.३४ मेट्रिक टन कोदो आयात भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा ७८ करोड ३७ लाख ३८ हजार रुपैयाँको २३ हजार ३९१.४६ मेट्रिक टन कोदो आयात भएको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा ५४ करोड ७८ लाख ९७ हजार रुपैयाँको १६ हजार ८३४.०५ मेट्रिक टन कोदो आयात भएको थियो ।
- कुन वर्ष कति फल्यो कोदो ?
आर्थिक वर्ष २०७६/०७७ मा २ लाख ६२ हजार ५४७ हेक्टर जमिनमा कोदो खेती गरिएको थियो। सो वर्ष ३ लाख २० हजार ९५३ मेट्रिक टन कोदो उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा २ लाख ६५ हजार ४०१ हेक्टर जमिनमा कोदो खेती भएको थियो। उक्त वर्ष ३ लाख २६ हजार ४४३ मेट्रिक टन कोदो उत्पादन भएको थियो ।
२०७८/७९ मा २ लाख ६७ हजार ७१ हेक्टर जमिनमा ३ लाख ३९ हजार ४६२ मेट्रिक कोदो उत्पादन भएको छ । यस्तै २०७९/८० मा २ लाख २७ हजार९३५ हेक्टर जमिनमा ३ लाख ४५ हजार ५७० मेट्रिक टन र २०८०/८१ मा ३ लाख ५८ हजार ४४७ मेट्रिक टन कोदो उत्पादन भएको कृषि पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्यांकले कोदो रोपाइँ क्षेत्र सामान्य घटे पनि उत्पादन भने बढ्दै गएको देखाएको छ ।
- ७.७ प्रतिशत जमिनमा कोदो खेती, कोदो रोप्ने जमिन घट्दो
तर कृषि गणना २०७८ अनुसार कोदो रोप्ने जमिन घट्दै गएको देखिन्छ । २०७८ को कृषि गणनाअनुसार नेपालमा कूल २२ लाख १८ हजार हेक्टर जमिनमा खेती हुन्छ । सो जमिनमध्ये ७.७ प्रतिशत हिस्सामा कोदो खेती हुन्छ ।
२०४८ सालको कृषि गणनाअनुसार ३ लाख १ हजार ५ सय हेक्टर जमिनमा १० लाख ६५ हजार कृषक परिवारले कोदो खेती गर्थे । २०५८ को गणनाअनुसार २ लाख ५० हजार ५ सय हेक्टरमा १० लाख ६० हजार कृषक परिवारले गरेका थिए ।
यस्तै २०६८ को गणनामा २ लाख ९ सय हेक्टर १० लाख ३६ हजार ७ सय कृषक परिवारले कोदो खेती गरेको तथ्यांक छ । २०७८ को कृषि गणनाले १ लाख २२ हजार १ सय हेक्टर जमिनमा ८ लाख ६८ हजार १ सय कृषक परिवारले कोदो खेती गरेको तथ्यांक छ ।
यसअनुसार २०६८ को तुलनामा २०७८ मा करिब १ लाख हेक्टरले कोदो रोप्ने जमिन घटेको देखिन्छ ।
घट्दो कोदो खेतीको अवस्थामा रक्सी ब्रान्डिङ कत्तिको सम्भव ?
पछिल्लो समय कोदो खेती घट्दो अवस्थामा छ । तर पनि कोदोको रक्सी ब्रान्डिङ सम्भव भएको ‘नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति’ का संरक्षक तथा संघीय सरकारका पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ बताउँछन् ।
‘नेपालको राष्ट्रिय पहिचान कोदोको रक्सी मर्चा प्रविधिबाट अर्ग्यानिक जडीबुटी प्रयोग गरेर बनाउने रक्सी हो । यसको ब्रान्डिङ सम्भव छ,’ उनले भने, ‘नेपालको लोकल बजार र अन्तर्राष्ट्रिय बजारमा पनि पठाउन सकिन्छ भन्ने हाम्रो अभियान हो । यहीँ बनाउन उद्योग मन्त्रालयमा पहल भइरहेको छ । अहिले उद्योग मन्त्रालयले होमवर्क गरिरहेको छ तर ढिला भएको छ ।’
अर्बौँको विदेशी रक्सी ल्याएर खाने तर आफ्नो उत्पादनलाई अवैध भनेर माटोमा गाड्नु जायज नभएको तर्क गर्दै उनले आफ्नो उत्पादनलाई वैधानिकीकरण गरिनुपर्ने बताए । साथै यसबाट अन्तःशुल्क उठाए देशको अर्थतन्त्र वृद्धि हुने उनको दाबी छ ।
कोदाको रक्सी ब्रान्डिङ अभियानले ग्रामीण भेगमा रोजगारी सिर्जना हुने भएकाले अभियान थालेको उनले बताए ।
‘देशव्यापी रूपमा सुरु भएको छ । यसले रोजगारी सिर्जना हुन्छ कमसेकम नजानिँदो तरिकाले १० देखि १५ लाख रोजगारी सिर्जना हुन्छ यो अभियानले । खाडी जाने श्रमिकलाई रोक्न सक्छौँ,’ उनले भने, ‘हाम्रो खेतबारी कुनै बाँझो हुने छैन । रक्सीलाई ब्रान्डिङ गर्ने भनेपछि व्यापक रूपमा कोदो लाउन थाल्नेछन् ।’
उनका अनुसार कोदो कम सिँचाइमा पनि हुने हुँदा पाखो जमिनमा लगाउन सकिन्छ । सम्भवतः नेपालकै उत्पादनले पुग्ने उनले बताए ।
रक्सी ब्रान्डिङ सुरु हुने बित्तिकै कोदो रोपाइँ बढ्ने अपेक्षा छ । साथै खाडी मुलुकमा जाने नेपाली युवाले देशमै रोजगारी पाउँछन् । महिनामा ५० हजारभन्दा बढी कमाउन सकिने तामाङ दाबी गर्छन् । यसले धेरै ठुलो परिवर्तन ल्याउने उनले बताए ।
रक्सी बनाउने अभियान सुरु भएपछि कोदो रोप्ने अभियान पनि सुरु हुन्छ । संघीय र स्थानीय सरकारले कोदो उत्पादन बढाउन विभिन्न कार्यक्रम गर्दै आएका छन् । उन्नत जातको कोदो लगाउने यसबारे थुप्रै कार्यक्रम गरी कोदो उत्पादनमा जोड दिइँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना किशोरी बलात्कृत
-
अध्यादेशमार्फत ऐन बनाउने सरकारले शिक्षकका मागलाई बेवास्ता गर्नु निन्दनीय : माओवादी केन्द्र
-
सञ्चालनमा आयो हेटौँडा सिमेन्ट उद्योग, मंगलबारबाट क्लिङ्कर उत्पादन थाल्ने
-
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
-
निलमलाई कायम मुकायम गभर्नरको जिम्मेवारी
-
सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई ब्यानर हस्तान्तरण