बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने

शनिबार, २३ चैत २०८१, २२ : ४६
शनिबार, २३ चैत २०८१

ओखलढुङ्गा ।  ग्रामीण पर्यटन प्रवर्द्धनका लागि ओखलढुङ्गाको थोलेदेम्बा डाँडामा ‘गल्फ महोत्सव’ हुने भएको छ । तीन हजार ३५० मिटर उचाइमा रहेको जिल्लाकै अग्लो भाग देम्बाडाँडामा यसक्षेत्रको पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीले भाग लिनेगरी गल्फ महोत्सव आयोजना गर्न लागिएको हो ।  

खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले नयाँ वर्षको अवसरमा वैशाख १ र २ गते देम्बाडाँडा र समग्र जिल्लाको पर्यटन विकाससँग जोडेर गाउँपलिकाले महोत्सव आयोजना गर्न लागेको बताए । उनका अनुसार महोत्सवमा अमेरिका, बेलायत, क्यानडा, कोरिया र भुटानलगायत ६ देशका खेलाडी सहभागी हुनेछन् । 

नेपालका विभिन्न जिल्लाबाट खेलाडीको सहभागिता रहने अध्यक्ष शेर्पाले जानकारी दिए । ‘पालिकाको समग्र विकासका लागि विभिन्न सम्भावना खोजी गर्दा खिजीदेम्बाको पर्यटन विकासबाट आर्थिक रूपमा सहयोग पुग्ने निचोडमा पुग्यौँ । सोहीअनुसार पालिकाले गल्फका लागि पूर्वाधार विकास गरेर प्रतियोगितासहितको महोत्सव आयोजना गरेको हो । अब हरेक वर्ष यसलाई  निरन्तरता दिनेछौँ’, उनले भने ।

पालिकाले केही समयअघि गल्फ प्रतियोगिता सञ्चालनका लागि विज्ञद्वारा सम्भाव्यता अध्ययनसमेत गरेको थियो । गाउँपालिकामा पर्यटन प्रवर्द्धनका लागि एक महिनाअघि तीनदिने जातीय पहिचानसहितको सास्कृतिक महोत्सव आयोजना गरिएको थियो । 

अध्यक्ष शेर्पाले विभिन्न चार वटा पर्यटन रुट निर्माण, ट्रेक एण्ड गल्फ अवधारणा, अल्ट्रा रेस म्याराथन, साइक्लिङ प्रतियोगिता आयोजना र रक क्लाइम्बिङसमेतका लागि पूर्वाधार विकास गरिएको बताए । साहसिक खेलका लागि पूर्वाधार विकासपछि प्रतियोगिता आयोजना गर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने पालिकाको योजना रहेको उनको भनाइ छ ।  

एकै ठाउँबाट हिमश्रङ्खलाको मनोरम दृश्यावलोकन गर्दै विभिन्न प्रजातिका गुराँस र फूलको सुगन्धमा रम्न पाइने देम्बाडाँडा पर्यटकको रोजाइमा पर्ने गरेको छ । यो डाँडा महत्वपूर्ण एक सय गन्तव्यको सूचीमा रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप