शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय
राजनीति

राजनीतिक र नीतिगत स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा विज्ञहरुको जोड

शनिबार, २३ चैत २०८१, २१ : ४९
शनिबार, २३ चैत २०८१

काठमाडौँ । राजनीतिक दलका नेता एवं विज्ञहरुले राजनीतिक र नीतिगत स्थायीत्वका निम्ति देशले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अपनाउनु पर्ने  सुझाव  दिएका छन् । 

नेसपा (नयाँशक्ति) विज्ञ परिषद्ले आयोजना गरेको सुशासन र समृद्धि एवं राजनीतिक स्थायित्वका निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली विषयक अन्तरकृयाका सहभागीले सो सुझाव दिएका हुन । कार्यक्रममा धारणा राख्दै पूर्वप्रधानमन्त्री एवं  नेसपा (नयाँशक्ति) का अध्यक्ष  डा. बाबुराम भट्टराईले राजनीतिक संरचना र अर्थ राजनीतिक जग भएकोले अर्थ राजनीतिक  व्यवस्था नसुध्रिएसम्म अन्य पक्षमा सुधार हुननसक्ने बताए । उनले अर्थतन्त्रमा सुधारका निम्ति देशमा राजनीतिक र नीतिगत स्थायीत्व हुनुपर्नेमा जोड दिँदै  प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणली अपनाउन सके देशमा राजनीतिक र नीतिगत स्थायित्व हुने विचार व्यक्त गरे । 

उनले शासन चलाउने व्यक्ति आम जनताले मत दिएर चुन्दा बढी प्रजातान्त्रिक हुने बताउँदै राष्ट्रपतीय प्रणलीमा तानाशाह जन्मन्छन् कि भनेर नकरात्मक सोच राख्न नहुने बरु त्यसलाई एउटा व्यक्ति यति पटक हुन पाउने भनि कार्यकाल तोक्नसक्ने, जाती र लिङ्गको आधारमा आलोपालो राख्नसक्ने जस्ता विषयमा छलफल गर्न सकिने बताए । उनले लोकप्रिय भएर राष्ट्रपति पद्धतिको कुरा उठाएको नभई स्थायित्व र राष्ट्रिय एकता निम्ति उठाएको बताए । तानाशाह संसदीय व्यस्थाबाटै पनि जन्मनसक्ने बताउँदै  हिटलर संसदीय प्रणालीबाट नै आएको बताए । उनले  ६० लाख दलित एकजुट भएर उठ्ने हो भने सरकारले थेग्न नसक्ने दलितका अधिकार प्राप्त हुने पनि बताए । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनेर राप्रपाले टाउकोमा राजा ल्याउन खोजेको समेत उनको तर्क थियो । 

कार्यक्रममा नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले  प्रत्यक्ष निर्वाचित राष्ट्रपति स्थायित्वको अचुक औषधी हुन नसक्ने बरु निरंकुश हुनसक्ने खतरा भएको औल्याए । उनले अहिले नीतिभन्दा नाता, नाताभन्दा दाता, त्यो नभए भाता खोजेर समानुपातिक प्रणालीको मर्म विपरित काम गरेको समेत बताए । व्यक्तिहरु जुन पार्टीबाट नियुक्ति पाइन्छ त्यतै लाग्ने प्रवृत्ति हावी भएको अनुभव सुनाउँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग गर्नेलाई आफू लोकप्रिय छु भन्ने भ्रम भएको पनि जिकिर गरे । नेपाली कांग्रेस र एमालेको मिलीजुली सरकार भएकोले बहुमत छ, तर जनतामा स्थिरता छ, भन्ने नभएको  र प्रसन्नता पनि नभएको सांसद खतिवडाको भनाई थियो ।  

कार्यक्रममा नेकपा, एमालेकी सचेतक सुनिता बरालले प्रणालीमामात्र केन्द्रित भएर पुग्दैन, प्रवृत्तिलाई पनि ध्यान दिनुपर्ने बताइन् । उनले प्रणालीलाई दोष दिनुभन्दा अभ्यासमा भएका कमजोरी हटाउनु पर्ने विचार राखिन् । अभ्यासमा भएका कमजोरी नहटाएसम्म प्रणालीले मात्र केही गर्दैन त्यसैले निर्वाचन प्रणालीमा भएका कमजोरी हटाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् ।राजनीतिक साक्षरता पुगेको छैन, जनताले संसदबाट नीति कस्तो बन्यो भनेर सोध्दैन विकास के गर्यो भनेर सोध्दछन यो कुरामा सुधार गर्नुपर्ने उनको भनाइ थियो । 

नेकपा माओवादीका नेता एव वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले आफुले १५ वर्षअघि नै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका विषयमा पुस्तक नै लेखेको बताउँदै  राजनीतिक स्थायित्वको निम्ति राष्ट्रपतीय प्रणाली हुनुपर्नेमा जोड दिए । उनले संविधान लेखनका समयमा  राजनीतिक अस्थिरताको अन्त्य गर्न सुरुको दुई वर्षसम्म र अन्तिमको एक वर्षमा संसद विघटन गर्न र अविस्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था राखिएको बताउँदै  त्यो  सुधारिएको संसदीय व्यवस्था भएको बताए । २०औं शताब्दी परोक्ष लोकतन्त्र  र  २१औं शताब्दी प्रत्यक्ष लोकतन्त्रको युग भएको उनको दावी थियो । अधिनायकवादी राष्ट्रपति हुनसक्छ भन्ने त्रास हटाउन प्रत्याह्वान र महाभियोगको व्यवस्था राखी उसलाई अधिनायकवादी हुनबाट जोगाउन सकिने धारणा राख्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली रियल डेमोक्रेसी हुने र ५१ प्रतिशतले विजयी गराउने व्यवस्था हुने बताए । 

सोही कार्यक्रममा रास्वपा सांसद सन्तोष परियारले धर्म र संस्कारले दिएका गलत अभ्यास ठूलो अभिसाप भएको धारणा राख्दै हामी लोकतान्त्रिक छैनौं, व्यक्ति र परिवार लोकतान्त्रिक छैनौं, तर बाहिर अरुबाट लोकतन्त्र खोज्छौं यो सोचाईमा सुधार गर्नु पर्ने बताए । संस्कारका कारण राजनीतिक अस्थिरता भएको उनको धारणा थियो । आफु राष्ट्रपति प्रणालीमा जाने पक्षको समर्थक भएको बताए ।

जनता समाजवादी पार्टी सांसद प्रकाश अधिकारीले राष्ट्रपति प्रणालीमा जाने पक्षको समर्थन गर्दै प्रणाली र नीति सही चाहिने धारणा राखेका थिए । उनले  संस्कार राम्रो भएर मात्र पुग्दैन, प्रणालीले असर गर्दोरहेछ भन्दै पञ्चायती व्यवस्था र राणा शासनलाई हेर्न अनुरोध गरे । खर्चिलो निर्वाचन प्रणालीमा सुधार नगरी, शासकीय स्वरुपमा सुधार नगरी स्थायित्व नहुने उनको तर्क थियो । मन्त्री खान तँछाड मछाँडले स्यायित्व कसरी हुन्छ भन्ने प्रश्न गर्दै  पूर्ण समानुपातिक निर्वाचन प्रणाली र  राष्ट्रपतीय प्रणालीमा जानुपर्ने उनको भनाइ थियो । 

विश्लेषक सृष्टिले राष्ट्रपतीय प्रणालीमा अधिनायकवादी हुने त्रास भएको  धारणा राख्दै चुनाव र  संसदीय व्यवस्था खर्चिलो भएको बताए । स्वतन्त्र बुद्धिजीवी डा. मित्र परियारले मेरो राष्ट्र नै दलित रहेछ, मागेर खाने, टालेर लुगा लगाउने भन्दै बाहुनको साटो अरु किन कोही नियुक्तिमा पर्दैन भन्दै प्रश्न गरेका थिए । उनले आफु प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा भएको स्पष्ट पारे । 

राजनीनितिक विश्लेषक इन्द्र अधिकारीले सरकारको स्थायित्व कि प्रणालीको स्थायित्व त्यसमा प्रष्ट हुनुपर्ने धारणा राख्दै अहिले प्रणाली भन्दा सरकार अस्थिर भएको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप