बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

करोड लगानी भएको बाटोमा आफ्नो जग्गा परेको भन्दै रातारात खनिदिए

शनिबार, २३ चैत २०८१, २१ : ३२
शनिबार, २३ चैत २०८१

विराटनगर । मोरङ बुढीगंगा गाउँपालिका–१ को पाथीभरा चोकबाट पूर्व लालिगुराँस चोक, सगरमाथा टोल हुँदै वडा कार्यालय जाने बाटो आफ्नो जग्गामा परेको भन्दै गणेशबहादुर थापाले रातारात खनिदिएपछि विवाद सिर्जना भएको छ । 

विगत ३० वर्ष अगाडि चलेको सो बाटोमा पटक–पटक गरेर एक करोड बढी लगानी भइसकेको छ । तीन पटक ग्राभेल भइसकेको बाटोे अब कालोपत्रे गर्न मात्रै बाँकी थियो । तर बाटोको जग्गा नम्बरी रहेको र आफ्नो भएको भन्दै थापाले डोजर चलाएर भत्काइदिएका थिए । 

विराटनगरको पुष्पलाल चोकबाट उत्तर पाथीभरा चोकबाट पूर्व जाने उक्त बाटो भएर स्कुलका गाडी ओहोरदोहोर गर्थे । अहिले भने गाडी आवतजावत बन्द भएको छ भने विद्यार्थी हिँडेरै स्कुल जान बाध्य रहेका स्थानीय पुष्कर नेपालले बताए । 

थापाले जबर्जस्ती गुण्डागर्दी गरेर बाटो खनिदिएको उनले आरोप लगाए । ‘यो गुण्डाराज भयो, बनेको सार्वजनिक बाटो बिगार्ने अधिकार थापालाई कसले दियो ?’ उनले भने । थापाले त्यहाँका ऐलानी जग्गाहरू हडप्ने, पालिकाले गाडेको ऐलानी जग्गाको किला फालिदिनेजस्ता काम गरेका टोल समितिका अध्यक्ष हिम पाठक बताउँछन् । थापाले ऐलानी जग्गालाई नम्बरीमा मिसाएर बिक्री गर्ने गरेका पाठकले आरोप लगाए । थापाले उक्त जग्गा गत असोजमा लिएका हुन् । त्यसअगाडि सो जग्गा दयावती यादवको नाममा थियो । स्थानीयले भने यादव परिवारसँग वडाध्यक्षको समेत रोहबरमा सहमति लिएर बाटो बनाइएको बताएका छन् । 

Ban (1)

थापाले केही दिन अगाडि डोजर लिएर बाटो खन्न थालेपछि स्थानीयले प्रहरी प्रशासनमा उजुरी गरेका थिए । उजुरीपछि वडा कार्यालयले प्रहरी बोलाएर डोजरलाई बाटो खन्न रोक लगाएको थियो । तर, पुनः राति आएर बाटो खनिएको पाठकले बताए । 

बुढीगंगा–१ का वडाध्यक्ष सोमराज काफ्लेले पनि राज्यले लाखौँ लगानी गरेर बनाएको बाटोमा थापाले अनावश्यक विवाद सिर्जना गरेको बताए । ‘३० औँ वर्षदेखि बनेको बाटो हो । त्यहाँ नेपाल सरकारले पनि लगानी गरेको छ । धेरै वर्षदेखि हिसाब गर्ने हो भने एक करोडभन्दा बढी लगानी भएको होला । गत वर्ष मात्रै ६० लाखको लगानीमा ग्राभेल गरिएको छ,’ काफ्लेले भने, ‘केही महिना अगाडि आफूले जग्गा लिएर यो बाटो मेरो जग्गामा छ भनिरहनुभएको छ । बाटो बनाउँदा तत्कालीन जग्गा धनीसँग सहमति गरेको हो ।’

थापाले जबर्जस्ती गरेको काफ्ले बताउँछन् । ‘उहाँले अलिक जबर्जस्ती गरेको देखिन्छ । कानुनी उपचारमा गएर मात्रै त्यसको छिनोफानो हुनुपर्छ । राज्यले नै दिन्छ भने हामीले रोकेर हुँदैन । बाटो भनेपछि हामीले सरकारी सम्पत्तिसरह सुरक्षा गर्नुपर्छ । स्थानीय सरकारले छुट्याएको ऐलानी जग्गाको किला पनि उहाँले उखेलेर फालिदिनुभएको छ,’ काफ्लेले भने, ‘पालिकाले नापेर छुट्याएको जग्गाको नापजाँचबारे चित्त नबुझे त्यसको निरुपण गर्न पनि कानुनी उपचारमा जान सकिन्छ । तर, बलजफ्ती आएर हटाउन पाइँदैन ।’ 

थापाले त्यहाँको ऐलानी जग्गामा रहेको सिमलको रूख पनि काटेको उजुरी वडा कार्यालयमा परेको छ । निवेदनमाथि छानबिन र कारबाही गर्ने निकाय वडा कार्यालय नभए पनि न्यायिक समितिमा पठाउने कि वनमा पठाउने भन्ने विषयमा पालिकाका कानुन व्यवसायीसँग परामर्श गरेर अघि बढाउने तयारीमा रहेको काफ्लेले बताए । ‘उहाँको ऐलानी जग्गा भएको नजिकै नम्बरी जग्गा किन्ने र ऐलानी जग्गा हडप्ने खालको शैली रहेछ । बोली पनि धाकधम्की गर्ने मात्रै रहेछ । मलाई पनि उहाँले धाकधम्की दिनुभयो,’ काफ्लेले भने । 

Ban (2)

जग्गाधनी थापाले जग्गा बिचबाट टुक्र्याएका कारण पूर्वपट्टि आफ्नै नम्बरी जग्गामा बाटो सारेको बताए । गत असोजमा तीन लाख रुपैयाँ प्रतिधुरले सो जग्गा किनेको थापाको दाबी छ । निजी जग्गामा बाटो निकाल्ने सहमतिसमेत नगरी जबर्जस्ती बाटो बनाएको उनले बताए । यद्यपि आफूले जग्गा किन्दा नक्सा मात्रै हेरेर किनेको र पछि आएर हेर्दा जग्गाको बिचमा बाटो रहेको पाइएको बताए । 

‘एक करोडको जग्गालाई मूल्यहीन बनाएको कारण मैले बाटो सारेको हुँ । आफ्नै जग्गामा बाटो सारेको छु । बाटो बन्द भएको छैन । यसअघि बाटो खोल्ने विषयमा सहमति गरेको कागज गरेको भए म अहिलेकै अवस्थाको बाटो छोडिदिन्छु,’ उनले भने । 

आफूले सिमलको रूख नकाटेको पनि थापाले बताए । ‘त्यहाँ खाल्डोमा माटो काट्ने क्रममा रूख आफैं ढलेको हो । मैले काटेको होइन,’ थापाले भने । डिभिजन वन कार्यालय मोरङका वन अधिकृत लाम लखन ठाकुरले सिमलको रूख काट्न वन कार्यालयको अनुमति चाहिने बताए । अनुमतिबेगर काटिएको उजुरी परे कारबाही हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप