शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

बेसहारालाई प्रदेश सरकारले उपचार गर्छः मन्त्री थापा

शनिबार, २३ चैत २०८१, २० : ५१
शनिबार, २३ चैत २०८१

भक्तपुर । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले आफ्ना कोही नभएर विभिन्न आश्रममा पुगेका अनाथ, असहाय नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी प्रदेश सरकारले लिने बताएका छन् ।
सडकमा अलपत्र परेका, अनाथ, असहाय तथा बेवारिसे सडकमा जीवन विताइरहेकाहरुका लागि भवन निर्माणको सहयोगार्थ मानव कल्याण समाज भक्तपुरले मध्यपुरथिमिको राधेराधेमा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान, विज्ञान महायज्ञमा आज उनले बेसहाराका लागि आश्रम बनाउने जग्गा खोज्न आग्रह गर्दै भवन प्रदेश सरकारले बनाउने उल्लेख गरे ।
बागमती प्रदेशभित्रका विभिन्न आश्रममा रहेका अनाथ, असहाय नागरिकलाई प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमासँग जोडेर उपचारको व्यवस्था गर्ने मन्त्री थापाले बताए । उनले भने, ‘विभिन्न आश्रममा रहेका अनाथ, असहाय नागरिकले समयमा उचित उपचार नपाएर अब ज्यान गुमाउनुपर्ने अवस्थाको हामी अन्त्य गर्दैछौँ । आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बिमासँग जोडेर यस्ता नागरिकको परीक्षण र उपचार निःशुल्क गर्ने व्यवस्था गर्नेछौँ ।’
मानव कल्याण समाजले २०७४ मा भक्तपुरमा सडकमा रहेका विभिन्न किसिमका रोगी तथा मनोरोगी, अनाथ, असहाय नागरिकको उद्धार गरी लालनपालन गर्दै आएको स्मरण गर्दै उनले जग्गाको व्यवस्थापन भएमा भवन प्रदेश सरकारले बनाउने प्रतिबद्धता व्यक्त गरे । 
मन्त्री थापाले भने, ‘जसका कोही छैनन्, जो सडकमा बसेर कष्टकर जीवन बिताइरहेका छन्, उनीहरूलाई समाजले सहयोग गर्दै आएको छ । सडक मानवमुक्त गर्ने परिकल्पना लिएर अघि बढेको यो संस्थाले जग्गा व्यवस्थापन गरेमा भवन निर्माणको जिम्मा प्रदेश सरकारले लिने बताए । जारी महायज्ञमा उन एक लाख ११ हजार १११ दानसमेत गरे । 
समाजका अध्यक्ष सुमी मानवको नेतृत्वमा २०७४ सालदेखि भक्तपुरका सडक मानव, मनोरोगी, बलात्कारमा परेकी बालिका, जन्मने वित्तिकै सडकमा फ्यालिएकी शिशु, घरबाट निकालिएर सडकमा आएका अनाथ बालबालिकको उद्धार, उपचार, आश्रय, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्दै आएको छ । 
महायज्ञको आज तेस्रो दिनसम्म २० लाखभन्दा बढी रकम सङ्कलन भएको छभने महायज्ञमा संस्थाकी संस्थापक अध्यक्षसमेत रहेकी सुमी मानवले कथा वाचन गरिरहेकी छिन् । महायज्ञमा दुई करोड सङ्कलन गर्ने लक्ष्य रहेको महायज्ञ आयोजना समितिका संयोजक गोपी न्यौपानेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप