तुलसी दिवसका तीन कविता

१) जिन्दगी र लुगा
जिन्दगी लुगा भए
फुकालेर झुन्ड्याउनु हुन्थ्यो—
कोठाको किलामा
र एकछिन हेरिरहन हुन्थ्यो—
आफू झुन्डिएको आफ्नै कोठाको किलामा !
जिन्दगी लुगा भए
मिलाएर बेलाअनुसार
सिउनु र सिलाउन हुन्थ्यो,
नमिले उधारेर पूरै जिन्दगी
धागो निकाल्दै सियोले
कैँची लिई आफ्नै हातमा
आफैँले काट्नु र छाँट्नु पनि हुन्थ्यो !
या सुचीकारकहाँ गएर जिन्दगी
केही समय फेरि लुगाकै खातमा
पट्टिई निदाउन पनि हुन्थ्यो !
जिन्दगी लुगा भए
फुकालेर झुन्ड्याउन हुन्थ्यो !
जिन्दगी लुगा भए
बुट्टा मिलाएर आफैँले
रङ्गिनु र रङ्गाउनु हुन्थ्यो;
ठाउँठाउँमा प्वाल परे पनि
टाल्न र टाल्न लगाउन हुन्थ्यो,
नमिले पूरै टालेर जिन्दगी
टाल्दाटाल्दै पुरानो छोपेर
नयाँ लाउन र लगाउन पनि हुन्थ्यो !
या रफुकारकहाँ गएर जिन्दगी
केही समय फेरि
जिन्दगीकै धागो निकालेर
मिल्दो रफु भर्न र भराउन पनि हुन्थ्यो !
जिन्दगी लुगा भए,
फुकालेर झुन्ड्याउन हुन्थ्यो !
जिन्दगी लुगा भए
मिलाएर मैलिएको बेला
धुन र धुलाउन हुन्थ्यो,
फुर्सद भए आफैँले साबुन लगाएर जिन्दगी
बाल्टिनमा सफा पानीले फेरि
सुकिलो पखाल्न पनि हुन्थ्यो !
या धोबीकहाँ गएर जिन्दगी
केही समय ढुङ्गेधाराको पानीले चोखिँदै
जाडो दुरैबाट पल्टिएर चहुरमा
दिनभरि न्यानो घाम ताप्न पनि हुन्थ्यो !
या डोरीमा झुन्डिएर चटकीजस्तै जिन्दगी
हावाले उल्टिन र पल्टिन पनि हुन्थ्यो !
खजमजिएर धेरै खुम्चिए जिन्दगी
टेबलमा राखेर पानी छर्कदै आफैँले
इस्त्री लाउन र लगाउन पनि हुन्थ्यो !
साह्रै भए जिन्दगी
एक हप्ताको पूरै छुट्टी लिई
ड्राइक्लिनमा गई फर्किन र फर्काउन पनि हुन्थ्यो !
जिन्दगी लुगा भए
फुकालेर झुन्ड्याउन हुन्थ्यो !
जिन्दगी लुगा भए
फुकालेर आफैँलाई केही समय
टाढाबाट हेर्न र हेराउन हुन्थ्यो,
इनारमा हाम फालेर त्यही जिन्दगी
गहिराइ आफैँले स्पर्श गर्न हुन्थ्यो,
या सपनाको हुस्सु फाटेर जिन्दगी
विपनाको आकाश खुल्न पनि हुन्थ्यो !
या टाउको छुट्टिएको
सपनाको आफ्नै गिँडजस्तो
टोपीमा केही समय फुकाल्न पनि हुन्थ्यो,
नपुगे फेरि दौरा, सुरुवाल र कोटमा
हात, खुट्टा र जिउसमेत फुकालेर
उन्मुक्त आफूलाई आफैँबाट छुटयाई
विपनामा पनि दिउसै सपना देख्न
र देखाउन पनि हुन्थ्यो !
जिन्दगी लुगा भए
फुकालेर झुन्ड्याउन हुन्थ्यो !
जिन्दगी लुगा भए
फुकालेर झुन्ड्याउन हुन्थ्यो—
कोठाको किलामा
र एकछिन हेरिरहन हुन्थ्यो—
आफू झुन्डिएको आफ्नै कोठाको किलामा !
किला ठोकेर आफैँले आफ्नै कोठाको किलामा !
२) हाट भर्ने धुनमा
(क)
घ्वाप्लाक्क !
मैलोमैलो तन्नाले सम्पूर्ण ढाड
छोपेर खाट स्याहारहीन रोगीको
करङकरङ पहाडको शरीरभरि
फैलिदिनु बादलले—
चोक्टा चोक्टी बादलले,
खुम्चिएर प्रसारमा दोब्रिँदै
टुक्रा–टुक्रा मात्र रोटीको फैलावटमा
सिरक खजमजिनु सिरक—
मान्छेको जिन्दगी केवल सिरक ।
(ख)
र ठोक्दै खप्पर निलो निलो पत्थरमा
एक–एक झोक्रिरहेको बाँसको रोगी दिनले,
टिबीको नङ्ग्राले
चिथोरी गर्भ तुहेको दिनले,
सेतो सेतो खोस्टा फेरिफेरि ठुँगेर
फुटिदिनु र्यालर्याल दिनको डिम्मा
आहाल–आहाल बिग्रेको चोइली रगतहरू
चुलिएर पहाड–पहाडभरिको अग्लाइ
कोप्रा–कोप्रा आकाशमा खोल्लिएको डिम्मा !
एक–एक साँझ खोल्लिएको डिम्मा !
(ग)
(अङ्गेरी खाएर पल्टेको लम्पसार मन,
घस्रनु गहुँगो पाउ
दम्को पसेको पाइताला,
हात्तीपाइले रोगी
केराको थामको पाइला !
टुक्रिएर बाँकी परिवेशभरि
घेरोले बाँधिएर पाइतालाभित्र
– लक्ष्मणको !
उफ् ! लक्ष्मणको !)
(घ)
फूलैफूल, फूल उठेको फूल
नानी–नानी छताछुल्ल
शरीर–शरीर अनन्त आँखाहरू
बुढिएर क्षितिजले खुम्चिदिने आफ्नो छाला
खुम्चिदिनु–बुढिएर क्षितिजले !—
बारिएको हाट मेलाभित्र बारीमा
उफ ! बुढिएर क्षितिजले !
(ङ)
(रोपेर आफूलाई कोठेबारीमा मोहरको
स्याउस्याउ झ्याउ—
असङ्ख्य कानेगुजी कानमा गुदीको
तरङ्गिरहनु जीवन आफ्नै बिटवरिपरि
पेट बोकेर बहरको पेट
शैवाल–सागरवृत्तमा आफ्नै वरिपरि !
हरे ! नखाएर मान्छेले रोटीलाई
रोटीले खायो किन मान्छेलाई ?—
थुनेर सन्दुसमा पैसाको भोटे साँचोले
उफ् ! रोटीले खायो किन मान्छेलाई ?)
(च)
घारी–घारी हल्लिने
सल्लेरी वनमा मान्छेको
अनन्त–अनन्त सुस्केराहरू—
सुसाउनु खोला एक कुरुक्षेत्रमा रगतको,
बगिदिनु खोला एक कर्मक्षेत्रमा आँसुको—
कुरुक्षेत्र ! कर्मक्षेत्र !
उफ् ! रगतको ! उफ् ! आँसुको !!
(छ)
र छोप्दै उर्लंंदो छालले एकोहोरो आवाजको
निलो–निलो समुद्रको कहालीभित्र गहिरो
आँखै–आँखा ठोस्सिएर फालिदिनु अभ्रक
ठोस जमेको पत्थरको जिन्दगीलाई,
हत्केलाभित्र कोरिएको रेखामा औँलालाई
थमाइदिएर रित्तो मनको झोला,
गाडिदिनू खाडलभित्र दुई आँखालाई
भीडभित्र ओइरेर चेपाचेपमा शून्यताको !
(ज)
अहा ! यस बेला... यस बेला... यस बेला
जङ्गल घरको बाटो हुँदै बिस्तार–बिस्तार
आफ्नै कोठाको भित्ताबाट भ्यात्त–भ्यात्त
अन्धकार मुछिएको आलो–आलो प्लास्टर
खस्दछ चोक्टा–चोक्टा रातहरू !—
आफ्नै आँखाको अगाडि, परेलाभित्र
चूर्ण–चूर्ण काँचका टुक्राहरू—
आफ्नै रगत सिन्दुरले सिँगारेर शिर
पर्सिएको मरणासन्न जिजीविषा
आफ्नै आँखाको अगाडि !
परेलाभित्र, आफ्नै आँखाको अगाडि !
३) हृदयको बालक
समयको गोरो अनुहारमा
रातले जब अँध्यारो हाँडीको मोसो पोल्छ,
आकाशको नीलो ढक्कीमा
जब फूल उठेका ताराहरू सजिन्छन्
मेरा थाकेका इन्द्रियहरू
आफूलाई हराउँछन्—
हराएको तेज खोजेर;
तर मेरो हृदयमा सुँकसुकाउँदै
निदाएको बालक बिम्झन्छ—
एकलो एकलकाँटे सिरेटोले छोएर ।
बगरको ढुङ्गाझैँ
चिसो भुइँमा नाङ्गै
आफूलाई लडाएको पाएर एकलै
उसको हात–खुट्टा अनुहार
अङ्ग–प्रत्यङ्ग बोल्छ—
म चिसो हिउँ भइसकेँ
म नीलो यू भइसकेँ
मलाई मुटुको मकलमा सेकाएको हातले
मायाको चिल्लो लाइदेऊ !
कलङ्कको कालो टीका मेट्न
टुकुचाको पुलमा अफालिएको बालकको झैँ
मेरो पनि नाभि काटिएको छैन,
कसैको पनि म हुन सक्छु
ए, स्वर्ग जानबाट वञ्चित अपुता हो !
म तिम्रो छोरा हुँ— बाँच्न जन्मेको मान्छे ।
मलाई स्नेहको थाङ्नामा बेरेर
मेरो निराशाको सर्दी हर्काइदेऊ !
मलाई आनन्दको छाया होइन
जीवनको माया देऊ !
जानी–नजानी सकी नसकी
श्रनायासे उसको आवाज फुट्छ— ‘मा !’
आँसु अनि अरस्तू भएर बोल्छ—
मानिस सामाजिक प्राणी हो
मलाई समाज चाहिन्छ ।
आत्मामा श्राकाश–वाणी हुन्छ—
हृदयको अँध्यारो मेट्न
हृदयकै उज्यालो चाहिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सातादेखि नागढुंगा सुरुङमार्गमा स्थानीयको अवरोध, निर्माण ठप्प
-
शिक्षकहरुको आन्दोलनमा माओवादी केन्द्र बागमती प्रदेशको ऐक्यबद्धता
-
तीनकुने घटनाको न्यायिक छानबिन गर्न माग
-
नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीयः सभामुख
-
चैत १५ गते गणतन्त्र रक्षाका लागि सडकमा जाँदा...
-
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. गिरीले के-के गरे काम ?