नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठूलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्याउँदै आएको देन अविस्मरणीय छ । ‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरुप्रति सर्मपित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् ।
यहाँ प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटाहरू खोतल्ने प्रयास गरेका छौँ । साथसाथै तत्कालीन बाधा, अडचन, उत्पीडन, अन्योल, बेथिती र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरु माझ पस्कदै आएका छौँ । ‘प्रथम नेपाली महिला’ शृङ्खलाको १५ औं एपिसोड रानी जगदम्बाकुमारी देवीका सम्बन्धमा छ । नेपाली भाषा र साहित्यको उत्थानका निम्ति क्रियाशील मदन पुरस्कार गुठी उनकै विशिष्ट देन हो ।
नेपालमा पुरस्कार स्थापना गर्ने प्रथम नेपाली महिला रानी जगदम्बाकुमारी देवी हुन् । ‘नेपाली भाषामा उच्चकोटिका ग्रन्थहरूको सिर्जना भई भाषा भण्डार उत्तरोत्तर बढ्दै जावस्, त्यसका लागि लेखक वर्गलाई प्रोत्साहन मिलोस् र अर्थाभावले उपरोक्त किसिमका पुस्तक छपाउन नसक्ने विद्वान्हरूको कृतिको समादर हवस् भन्ने उद्देश्यसाथ’ मदन पुरस्कार स्थापना भएको मानिन्छ ।
आफ्ना स्वर्गीय पति लेफ्टिनेन्ट जर्नेल मदन शमशेर जङ्गबहादुर राणाको स्मृति चिरस्थायी गराउने भावनाले अभिप्रेरित भई ३४ वर्षीया रानी जगदम्बाद्वारा स्थापना गरिएको ‘मदन पुुरस्कार’ नेपाली भाषा, साहित्यको क्षेत्रमा अत्यन्तै गरिमामयी पुरस्कार हो ।
२०१२ असोज १० गते मदन पुरस्कार स्थापना हुने घोषणा गरिएको थियो ।
२०१२ मङ्सिर २८ गते मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भई विधिवत् स्थापना भयो ।
२०२५ सालसम्म बर्सेनि चार/चार हजार रुपियाँका चारवटा पुरस्कार दिनसक्ने व्यवस्था थियो ।
२०२६ सालपछि दश/दश हजार रूपियाँका दुईवटा पुरस्कार दिने व्यवस्था भयो ।
२०३३ सालदेखि एक सर्वोत्कृष्ट कृतिलाई रु. २५ हजार दिइयो ।
२०४० सालदेखि रु. ३० हजार, २०४२ सालमा रु. ४० हजार, २०४३ सालदेखि रु. ५० हजारको पुरस्कार दिइयो ।
२०५१ सालदेखि एकलाख रूपियाँ बनाइएको पुरस्कारको राशि २०६१ सालदेखि रु. दुई लाखको भयो ।
२०७५ सालदेखि मदन पुरस्कार तथा जगदम्बा श्री पुरस्कारको राशि चार/चार लाख रुपियाँ रहेको छ ।
वि.सं. २०१३ सालमा घोषणा भई २०१४ सालमा पहिलोपल्ट मदन पुरस्कार वितरण गरिंदा गद्यतर्फ सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिक विभव स्थिर विद्युत् उत्पादक’ कृतिलाई प्रदान गरिएको थियो ।
२०८० को ‘जगदम्बा श्री’ पुरस्कार योगेन्द्रप्रसाद यादवलाई दिइएको छ ।
‘मदन पुरस्कार– २०८०’ पाउने कृति चाहिं मोहन मैनालीको ‘मुकाम रणमैदान’ बनेको छ ।
नेपाल तथा नेपालबाहिर नेपाली भाषामा छापिएका र उक्त गुठीमा प्राप्त पुस्तकमध्ये एक पुस्तकलाई ‘मदन पुरस्कार’ दिने गरिएको छ ।
विभिन्न माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति वा संस्थालाई चाहिं ‘जगदम्बा श्री’ पुरस्कार दिने गरिएको छ ।
हाल ‘एकपटक मदन पुरस्कार पाइसकेका व्यक्तिलाई साधारणतः अर्को पटक मदन पुरस्कार नदिइने’ कार्यप्रणाली अँगालिएको छ ।
१९७६ मङ्सिर महिनामा जन्मिएका जनरल मदन शमशेर जङ्गबहादुर राणाको २०१० असारमा वनारसमा स्वर्गवास भयो ।
उनी स्वर्गीय भएको दुई महिनापछि रानी जगदम्बा नेपाल फर्किइन् ।
त्यसपछि, समाज सेवामा तल्लीन जगदम्बा रानीका योगदानबाट राष्ट्रका विभिन्न क्षेत्र लाभान्वित भएका छन् ।
मोहनशमशेर ‘श्री ३’ भएपछि असन्तुष्ट भई मदनशमशेर त्यतिबेलै नेपाल छाडी भारत जाँदा उनी पनि पतिसँगै त्यता लागेकी हुन् ।
जगदम्बाकुमारी देवीको चर्चित नाम रानी जगदम्बा हो ।
उनले नेपाली भाषा र साहित्यको अभ्युत्थानका निम्ति मात्रै होइन, स्वास्थ्य, धर्म, संस्कृति, समाज सुधार लगायत विभिन्न पक्षमा पुर्याएको योगदान महत्वपूर्ण छ ।
उनको समाज सेवाका केही कार्य सरसर्ती यहाँ सम्झनु प्रासङ्गिक हुनेछ ।
२०११ सालमा पुल्चोक, ललितपुरमा मदन मेमोरियल गल्र्स हाईस्कुल (हालको मदन स्मारक माध्यमिक विद्यालय) स्थापना गरिएको थियो ।
उनकी सासू श्री ३ कान्छी बडामहारानी बालकुमारीद्वारा बद्रीनाथ, केदारनाथ, हरिद्वारमा धर्मशाला स्थापना गरिएका थिए ।
रानी जगदम्बाले २०११ सालमा ती धर्मशालालाई जीर्णोद्धार गर्नुका साथै आर्थिक अनुदान समेत दिएकी थिइन् ।
२०१२ सालमा ‘मदन पुरस्कार गुठी’ स्थापना गरियो ।
२०१३ मा ‘मदन पुरस्कार पुस्तकालय’ स्थापनाका लागि अनुदानको व्यवस्था भयो ।
सोही वर्ष ‘जगदम्बा प्रकाशन’ को स्थापना गरियो ।
२०१५ देखि २०२० सालसम्मको बीचमा पूर्व पल्लोकिराँत, आठराई, संक्रान्तिमा मदनधारा, जगदम्बा दातव्य औषधालय, जगदम्बा अतिथि भवन र चौतारा निर्माण गरिए ।
२०१६ सालमा भारतको रामेश्वरम तथा बनारसमा नेपाली धर्मशाला स्थापना गरिए ।
सोही साल कोलकाताको मेडिकल कलेजहरूलाई अनुदान दिइयो ।
र, दुई जना नेपालीका लागि आरक्षणको पनि व्यवस्था गरियो ।
यस व्यवस्थाबाट अहिलेसम्म अनेक नेपालीले एमबीबीएस ‘डाक्टर’ बन्ने सौभाग्य प्राप्त गरेका छन् ।
२०१७ सालमा ‘कृषि कलेज तथा अनुसन्धान केन्द्र’ स्थापनाका लागि आफ्नो श्रीमहल घरजग्गा तत्कालीन श्री ५ को सरकारलाई हस्तान्तरण गरियो ।
त्यहाँ कलेज चाहिं स्थापना हुनसकेन ।
तर स्थानीय विकासका कार्य सञ्चालनमा रह्यो ।
सोही वर्ष पाटन कलेजका लागि पुल्चोकमा १५ रोपनी जग्गा अनुदान रूपमा दिइयो ।
२०१८ सालमा पूर्व–पश्चिम राजमार्ग निर्माणका लागि आर्थिक सहयोग पुर्याइयो ।
२०२०/२१ मा साझा केन्द्रलाई ५० रोपनी र साझा यातायातलाई २२ रोपनी पुल्चोकको जग्गा अनुदानस्वरूप दिइयो ।
रानी जगदम्बाका योगदानको चिरकालीन स्मृतिका लागि हाल साझा यातायात परिसरमा उनको अद्र्धकदको प्रतिमा राखिएको छ ।
२०२१ सालमा बनारसमा सासू तथा ससुरा बालकुमारी र श्री ३ चन्द्र शमशेरका नाममा दानदातव्य तथा बालचन्द्र ट्रष्टको स्थापना गरिएको छ ।
यसबाट भारतीय नेपालीका कल्याण तथा मदन स्मारक व्याख्यानमाला आदि काम सञ्चालन हुँदै आएका छन् ।
२०२२ सालमा आफ्ना परोपकारी कामलाई विभिन्न फन्ड, जगदम्बा गुठी आदिलाई जिम्मा दिई सक्रिय सेवाकार्यबाट रानी जगदम्बा अलग भएकी हुन् ।
२०२० सालदेखि पछिसम्म राजसभाको सदस्य मनोनीत रानी जगदम्बाको ‘समाजसेवा’ इतिहासका निम्ति लेखनको विषय मात्रै होइन, वर्तमान तथा भविष्यका लागि पनि सह्राहना एवं अनुकरणको पक्ष बनेको छ ।
धन हुँदैमा सबैको मन पनि हुन्छ भन्ने देखिँदैन, धन भएर पनि मन हुनु भनेको रानी जगदम्बाको जस्तो होभन्दा फरक परोइन ।
समाजसेवाको कार्यबाट प्रभावित भई श्री ५ महेन्द्रबाट २०१८ सालमा रानी जगदम्बालाई ‘तिमीले साह्रै देशसेवा गरेकी छौ, म साह्रै खुसी छु । तिम्रो खलक, तिमीसमान कसैले नगरेको तिमीले गरेकी छौ । म तिम्रो कदर गर्छु’ हुकुम हुँदा रानी जगदम्बा अत्यन्तै प्रसन्न भएकी थिइन् ।
१९७५ श्रावण गुरूपूर्णिमाका दिन खगाइजोत, बलरामपुर, गोन्डा, भारतमा जन्मिएकी रानी जगदम्बाकी माता चन्द्रप्रभा सिंह र पिता ठाकुर चन्द्रपाल सिंह हुन् । वि.सं. १९९३ सालमा उनको विवाह हुँदा दुलाहा जर्नेल मदन शमशेरको उमेर १६ वर्षको थियो । तत्कालीन ‘महाराज’ श्री ३ चन्द्रशमशेरकी कान्छी महारानी बालकुमारीका छोरा मदनको खेलकुदमा अधिक रुचि थियो । २००४ सालमा फुटबल समितिका अध्यक्ष भएका मदनलाई नेपाली ‘क्रिकेटको पिता’ समेत भनिएको पाइन्छ । अल्पायुका रहेछन्, ३४ वर्षकै उमेरमा उनी यो संसार छाडेर गए ।
रानी जगदम्बाको दाम्पत्य जीवन सुखद रहेन ।
अनेक सौताका दाउपेचले गर्दा उनले सधैँ पतिवियोग सहनुपरेको थियो ।
उनले पतिको अङ्कशायिनीसम्म हुन नपाएको बताइन्छ ।
विवाह गरेर ल्याइएपछि उनी कहिल्यै माइतीघर पुगिनन् ।
भेट्नपरे माइतीखलक आउने तर बुहारी माइत नजाने राणाहरूको चलनले गर्दा जस्तासुकै पिरलोमा पनि उनी यहीँ चित्त बुझाएर बसेकी थिइन् ।
रानी जगदम्बालाई नेपाली भाषाको ज्ञान साहित्यकार कमल दीक्षितका पिता केदारमणि दीक्षितले गराएका हुन् ।
पारिवारिक कलहका कारण धेरै समय रानी नेपाल बसिनन् ।
विवाह भएको दश वर्षमै वनारसतिर लागिन् ।
पतिको निधनपछि आग्रह गरिएकाले उनी नेपाल फर्किएकी हुन् ।
२०४५ साउन २९ गते ७१ वर्षको उमेरमा उनको इहलीला समाप्त भयो ।
नेपाली भाषा तथा साहित्यका अथक साधक कमल दीक्षितबाट प्राप्त थप जानकारी अनुसार रानी जगदम्बाको स्वर्गवास भएपछि २०४५ असोज एक गते मदन पुरस्कार गुठीले आफ्नै स्रोतबाट मदन पुरस्कारसरहकै राशि भएको ‘जगदम्बा श्री’ पुरस्कार स्थापना गर्यो ।
यस पुरस्कारका लागि नेपाली भाषाको सेवालाई एक मात्र आधार मानिएको छ ।
साहित्यकार दीक्षित रानी जगदम्बासँग अति नजिक परेका व्यक्तित्व थिए ।
मदन पुरस्कार गुठीको स्थापनाकालदेखि २०४९ सम्म सदस्य सचिवका रूपमा रहेका कमल दीक्षितले गुठीको अध्यक्षताको भूमिका आजीवन पूरा गरे ।
रानी जगदम्बाका समाजसेवाको योगदानलाई सतत उचाइमा पुर्याउन क्रियाशील रहँदै आएको बताएका दीक्षितको ८७ वर्षको उमेरमा २०७३ पुस १४ गते निधन भयो ।
यतिखेर मदन पुरस्कार गुठीको अध्यक्षमा उनकै छोरा कुन्द दीक्षित रहेका छन् ।
२०६१ मङ्सिर २८ देखि २०६२ मङ्सिर २७ गतेसम्म विभिन्न कार्यक्रम गरी मदन पुरस्कार गुठीको स्वर्णवर्ष मनाइएको थियो ।
रानी जगदम्बाका कार्यलाई चिरस्थायी बनाउन मदन पुरस्कार गुठी स्वर्णवर्ष २०६१ स्मारिका सिक्का (असर्फी) निष्काशन गरिएको छ ।
हुलाक टिकट पनि प्रकाशित भयो ।
उनका सम्बन्धमा ‘जगदम्ब महाकाव्य’ समेत प्रकाशित छ, यसका महाकाव्यकार हुन्– माधव वियोगी ।
पति तथा सासूबाट अपहेलित जगदम्बाले वैधव्य जीवन पनि चाँडै बेहोर्नपर्यो । अपहेलना, वियोग तथा शोक जे जस्ता रहे तापनि तिनै पति तथा सासूका नाममा उनले भाषा, साहित्य, शिक्षा, स्वास्थ्य लगायत विविध क्षेत्रमा सेवाकार्य गरेकी छिन् । यिनै कार्यले उनलाई अमरता प्रदान गरेकोे छ । रानी जगदम्बाको धन र मनद्वारा स्थापित ‘मदन पुरस्कार गुठी’ को निरन्तर क्रियाशीलताले नेपाली वाङ्मयको विकासमा अतुलनीय भूमिका निर्वाह हुँदै आएको निर्विवाद सत्य रहेको छ ।
प्रतिक्रिया