सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय
पहिलो प्रस्रव

कथाकार अनिता तुलाधर भन्छिन् : मोटरसाइकल चलाउन सिकेको भए कहाँ कहाँ पुग्थेँ होला !

शनिबार, २३ चैत २०८१, १८ : ००
शनिबार, २३ चैत २०८१

‘साहित्यमा लाग्न आमाबाहेक कसैको प्रेरणा वा प्रोत्साहन पाइनँ,’ कथाकार अनिता तुलाधर आफ्नो प्रेरणाको स्रोतका रूपमा आफ्नी आमालाई सम्झन्छिन्, ‘आमाले मलाई हरहमेसा साथ दिनुहुन्थ्यो । हरेक साहित्यिक कार्यक्रममा म आमालाई नै साथ लिएर पुग्थेँ । बिहेपछि पनि कैयौँ वर्ष मैले आमालाई नै साथी लिएर साहित्यिक कार्यक्रममा जान्थेँ ।’ 

अनिता तुलाधर (जन्म : २००७ वैशाख १७) का हालसम्म चारवटा कथासङ्ग्रह प्रकाशित छन् । आईए पढ्दै गर्दा १७ वर्षको उमेर (वि.सं. २०२४)मा पद्मकन्या क्याम्पसको वार्षिक मुखपत्र ‘कस्तुरी’मा उनको पहिलो कथा छापिएको थियो, ‘मेरो मनको धोको’ शीर्षकको । त्यसको १० वर्षपछि (२०३४ मा) उनको पहिलो कथासङ्ग्रह आयो, फूलु । यो छोटा कथा अर्थात् लघुकथाको सङ्ग्रह हो, जसमा १५ वटा लघुकथा छन्, जसलाई ‘बान्किला कथा’ भनिएको छ । 

यस सङ्ग्रहको भूमिकामा हरिभक्त कटुवालले लेखेका छन्, ‘अनिताले धेरै कथा लेखिसकेकी छन् । उनका कथा के कस्ता छन्— त्यो खुट्याउने काम समालोचकहरूमा थन्क्याएर म यति मात्र भन्छु— लेख अनिता ! भोलिले तिमीलाई पर्खिरहेछ । आजको यो सुन्दर समय भाग्न लागिरहेछ । त्यसलाई समात ! ...त्यही लेख, जुन कुरा लेख्दा तिम्रो मन हलुङ्गो हुन्छ । 

यो त लघुकथा सङ्ग्रह भयो । उनको पहिलो कथासङ्ग्रह भने ‘रित्तो सहर’ हो, जुन २०३५ सालमा साझा प्रकाशनबाट प्रकाशित भएको थियो । 

अनिताले ८–९ कक्षामा पढ्दादेखि नै मनका भावहरूलाई कविताका रूपमा कापीमा पोख्थिन् तर ती कविता कतै प्रकाशित भएनन् । उनी भन्छिन्, ‘सुरुआती दिनमा कविता लेखिएका कापीहरू कहाँ पुगे, कता हराए थाहा छैन ।’

यतिखेर ७४ औँ वसन्तमा हिँड्दै गरेकी अनिता कविता सङ्ग्रह ‘सारङ्गीका धुनहरू’ प्रकाशन गर्ने ध्याउन्नमा छिन् । 

विराटनगरमा जन्मेकी अनिता ५–६ वर्षको उमेरदेखि काठमाडौँमा बस्न थालेकी हुन् । उनका बुवा नेपाल बैंकमा जागिरे थिए । एक काका तीर्थराज तुलाधार राजदूत समेत भए । तीर्थराजले अनिताका केही कथा अङ्ग्रेजीमा अनुवाद गरिदिएका छन्, जुन ‘द एन्डलेस नट’ कृतिको रूपमा प्रकाशित छ । 

परिवारमा बुवाहरू पढे–लेखेको भएकाले लेख्ने–पढ्ने माहोल थियो नै । उनी साहित्यमा लागेको उनका बुवालाई त्यति मन परेको थिएन । छोरीले राम्रो पढोस्, जागिर गरोस् भन्ने उनको बुवाको सोच देखिन्थ्यो । यद्यपि साहित्यमा लाग्न अनितालाई घरबाट खासै अवरोध भएन । 

रचनाहरू कृतिका रूपमा नआइसकेको तर लेखन कर्म चलिरहेकै बेला उनको बिहे भयो, असनका पन्नाकाजी तुलाधरसँग, २०३० सालमा । बिहेअघि उनी मानवशास्त्रसँग सम्बन्धित केही अनुसन्धानमा सहभागी भएकी थिइन् । तर जागिर खाने मौका जुरेको थिएन । बिहेपछिको नयाँ घर वा नयाँ परिवार सम्हाल्ने जिम्मेवारी उनको काँधमा आयो, जागिर खानेतिर उनले सोच्नै भ्याइनन् । 

लेख्ने हुटहुटी भएकाले साहित्य कर्मलाई भने उनले निरन्तरता दिइरहिन् । घरधन्दाको सबै काम सकेर राति मात्र उनलाई लेख्ने फुर्सद मिल्थ्यो । ‘गाह्रो त निकै थियो, तर पनि लेखिन्थ्यो । बिहेपछिका करिब १६ वर्ष उनी लेखनमा निकै सक्रिय रहिन् । ‘मैले धेरै कथा लेखेको त्यति बेलै हो । लेख्नका लागि समय निकाल्न मुस्किल हुन्थ्यो,’ उनी भन्छिन्, ‘समय भए पनि नभए पनि कम सुतेरै भए पनि समय निकाल्थेँ लेख्नका लागि ।’ 

‘पहिले पनि अहिले पनि, महिलाको दुःख र व्यथा उही हुन् । बिहे गर्नैपर्‍यो, बच्चा पाउनैपर्‍यो, हुर्काउनैपर्‍यो । हुन त मान्छेलाई आफ्नै दुःख ठुलो हुन्छ । आफ्ना दिन सम्झेर ल्याउँदा अहिलेको नयाँ पुस्ताका महिला साहित्यकारको अवस्था हेर्दा उनीहरूलाई केही सहज छ कि जस्तो मान्छु ।’

श्रीमान्ले भने उनलाई लेख्न निकै प्रेरित गरिरहन्थे । ‘मैले कथा लेखिदिए उहाँलाई पुग्थ्यो,’ उनी भन्छिन्, ‘मैले नभ्याएका बेला उहाँले नै मेरा कथा–कविता छाप्नका लागि पठाइदिनुहुन्थ्यो ।’ 

पहिलो कथासङ्ग्रह ‘रित्तो सहर’ प्रकाशन गर्न उनका श्रीमान्को विशेष भूमिका छ । अनिताका प्रकाशित कथाहरू जम्मा पारेर उनले साझा प्रकाशनमा बुझाइदिए । तर यसरी कथा बुझाएको दुई वर्षपछि मात्रै साझाले प्रकाशन गरिदियो । त्यसैले कृतिका हिसाबले ‘रित्तो सहर’ पहिलो कृति हुन पाएन । किनभने यही बिचमा हरिभक्त कटुवालको बान्किलो प्रकाशनबाट उनको लघुकथा सङ्ग्रह ‘फूलु’ प्रकाशित भयो । हरिभक्तले साहित्यिक पत्रिका ‘बान्की’ निकाल्थे, त्यसमा अनिताका थुप्रै कथा छापिएका छन् । 

एकपटकको भेटमा अनिताले हरिभक्तसँग सोधेकी थिइन्, ‘बान्कीमा हाम्रो लेख–रचना पनि छापिन्छ ?’

हरिभक्तले छापिन्छ मात्रै भनेनन्, के लेख्नुहुन्छ भनेर समेत सोधे । कथा लेख्छु भनेपछि बान्कीको दोस्रो अंंकदेखि अनिताका कथा छापिन थालेका थिए । 

एक जमाना हरेक शनिबारजसो उनका कथा छापिएका हुन्थे । गोरखापत्र, मधुपर्क, हिमानी, रूपरेखा, गरिमा, रत्नश्री लगायत चल्तीका पत्रिकामा फ्याट्टफुट्ट उनका कथा छापिइरहन्थे । यसरी बिस्तारै साहित्यिक वृत्तमा उनको नाम बन्दै गयो । 

कथा छापिएबापत उनले पारिश्रमिक पनि पाउँथिन् । उनको कथा सङ्ग्रह रित्तो सहरको मूल्य नै तीन रुपैयाँ थियो तर गोरखापत्रले एउटा कथाबापत ५० रुपैयाँ दिन्थ्यो । लेख–रचनाबाट आएको पारिश्रमिकबाट उनले पुस्तकहरू किन्थिन् । 

उनको तेस्रो कथासङ्ग्रह ‘सूर्य ग्रहण’ (२०४०) पनि साझाबाटै प्रकाशित भयो भने चौथो कथासङ्ग्रह ‘विडम्बना’ (२०४६) प्रज्ञा प्रतिष्ठानबाट छापियो । कथाहरू कृतिको रूपमा आउँदासम्म उनी लेखनमा निकै सक्रिय थिइन् । काठमाडौँमा हुने कथा प्रतियोगितामा समेत उनले भाग लिन्थिन् । २०२८ सालमा पाटन कलेजले आयोजना गरेको अन्तर कलेज कथा प्रतियोगितामा उनी प्रथम भएकी थिइन् । 

बिहेअघि नै बीए पास गरेकी उनले बिहेपछि सन्तान जन्माउने, हुर्काउने र घरधन्दामै बढी समय दिनुपर्‍यो र उनको पढाइ अघि बढ्न पाएन ।

सन्तान जन्माउन, उनीहरूको स्याहार–सुसार गर्न र घरधन्दामा लाग्नुपर्दा चाहेर पनि साहित्य सिर्जनामा समय नहुने उनी बताउँछिन् । ‘पहिले पनि अहिले पनि, महिलाको दुःख र व्यथा उही हुन् । बिहे गर्नैपर्‍यो, बच्चा पाउनैपर्‍यो, हुर्काउनैपर्‍यो । हुन त मान्छेलाई आफ्नै दुःख ठुलो हुन्छ,’ उनी भन्छिन्, ‘आफ्ना दिन सम्झेर ल्याउँदा अहिलेको नयाँ पुस्ताका महिला साहित्यकारको अवस्था हेर्दा उनीहरूलाई केही सहज छ कि जस्तो मान्छु ।’ 

जे–जस्ता बाध्यता आइपरे पनि उनले लेख्न भने चटक्कै छाडिनन्, केही न केही लेखिरहिन्, पत्रपत्रिकामा बेला बेला कथा–कविता छपाइरहिन् । कृतिहरू निस्किरहेकै बेला असनको मूल घर छाडेर अनिताको परिवार त्रिपुरेश्वरमा सर्नुपर्‍यो । नयाँ ठाउँमा घर बनाएर सर्ने अनि छोराछोरी हुुर्काउनेजस्ता दायित्वका कारण लेखनमा केही बाधा पुगेको उनी बताउँछिन् । 

२०३४ सालमा ‘तरंगित तालहरू’ कथाका लागि तत्कालीन बडामहारानीबाट ‘रत्नश्री’ स्वर्ण पदक प्राप्त गरिन् । यसले उनलाई लेखनमा थप ऊर्जा दियो । 

लेखनमा सक्रिय रहेका वर्षहरूमा भन्दा पछिल्लो समय आएर उनले पुरस्कार र सम्मान पाएको देखिन्छ । साहित्यिक पत्रकार संघले २०५६ सालको ‘लोकप्रिया पुरस्कार’बाट उनलाई २०५७ सालमा सम्मानित गर्‍यो । साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत उनले नेपाल सरकारद्वारा २०६७ मा क्षत्रीय प्रतिभा पुरस्कार पाएकी छन् । यस्तै उनले नइ रेखा पुरस्कार (२०६८), विश्वनारी नेपाली साहित्य पदक (२०७१), सत्यमोहन जोशी शताब्दी पदक (२०७२), बानीरा पुरस्कार (२०८०) लगायत सम्मान तथा पुरस्कार पाएकी छन् । 

बिहेअघि नै बीए पास गरेकी उनले बिहेपछि सन्तान जन्माउने, हुर्काउने र घरधन्दामै बढी समय दिनुपर्‍यो र उनको पढाइ अघि बढ्न पाएन । बिहे गरेको १२ वर्षपछि (२०४२ सालतिर) उनी टीयुमा एमएमा भर्ना भइन्, पास भए पनि थेसिस लेख्न नसकेकाले उनको एमए गर्ने धोको पूरा हुन सकेन । 

‘एमए पूरा नगरेकामा पछुतो छ कि दिदी !’ मैले सोधेकी थिएँ । उनको जवाफ सहज थियो, ‘मेरो रहर–इच्छा पढ्ने मात्रै थियो, प्रमाणपत्र लिएर जागिर खानु थिएन । जति समय म विश्वविद्यालय गएँ, त्यो समयमा कोर्समा रहेका सबै कुरा राम्ररी पढेँ, बुझेँ । मैले लिन सक्ने जति ज्ञान लिएँ । त्यसैले एमए नगरेकामा खासै पछुतो छैन ।’

अहिले उनको स्वास्थ्य (आँखा) ले त्यति साथ दिएको छैन । त्यसैले लेखन कार्य ठप्पजस्तै छ । पुराना कृतिको पुनः प्रकाशन गर्ने, नछापिएका कथालाई पनि कृतिको रूप दिने उनको योजना छ । 

‘लेखन मेरो हुटहुटी थियो । सक्दासम्म जसरी जे गरेर भए पनि लेखेँ । नलेखेकामा पहिला अलिअलि पछुतो लाग्थ्यो । आफूभित्रको लेखकले पनि चिमोटिरहन्थ्यो तर अहिले मलाई यसमा कुनै पछुतो छैन,’ उनी भन्छिन्, ‘तिमीले भनेजस्तै यो नयाँ प्रविधिको युग हो । बोलेकै भरमा लेखिदिने प्रविधि आइसकेको छ । मभित्रको लेखकत्व अझै जीवित छ । भविष्यमा कुनै दिन मलाई भित्रबाटै यसले झकझकायो वा मुड आयो भने लेख्न पनि सक्छु ।’

जीवनमा कम्प्युटर चलाउन र स्कुटी चलाउन नसिकेकामा उनलाई पछुतो रहेछ । ‘अहिले पनि लाग्छ, उतिबेलै कम्प्युटर चलाउन किन सिकिनँ ! यो भन्दा बढी पछुतो त मोटरसाइकल चलाउन नसिकेमा छ,’ उनी हाँस्दै भन्छिन्, ‘जहाँ जाँदा पनि प्रायः म बसमै जान्छु । फुर्सद भएका बेला छोरा–बुहारीले पुर्‍याइदिन्छन् । म कतै निस्केकी छु भने लिन आउनका लागि छोराबुहारीले फोन गरिरहन्छन् । मैले मोटरसाइकल सिकेको भए त आफँै चलाएर जान्थेँ । अझ कहाँ कहाँ जान्थे होला ! कसैमाथि भर नै पर्नुपर्दैनथ्र्यो ।’ 

(‘पहिलो प्रस्रव’ रातोपाटीको यस्तो स्तम्भ हो, जसमा मूलतः महिला लेखकले पहिलो कृति जन्माउन गरेको संघर्ष वा कोसिसको कथा आउँछ । –प्रधानसम्पादक ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप