शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय
कथा

चिताभित्र सेलाएको लास

शनिबार, २३ चैत २०८१, १७ : ००
शनिबार, २३ चैत २०८१

आँखाहरूले जिन्दगीलाई धेरैचोटि नियालिसकेको छ । तर ग्राफ भने जहिले हेर्दा पनि अधुरो नै अनुभव भइरहने । यहाँका प्रत्येक क्षणहरूलाई एकनासले नियाल्छु तर ती पनि अधुरोझैँ नै लाग्छ । यो आजको रात पनि मेरो एकनासले एक्लो गइरहेछ । 

मेरा रातहरूमा कहिले पनि जूनले पाएर लुकामारी खेलेन । वसन्तहरू पनि यहाँ नचाएका होइनन्, तर मलाई वसन्तदेखि नै घृणा लागिरहन्छ । अनि म कहाँबाट पाउन सकूँ वसन्तको रमाइलो ? नियास्रो सिवाय केही छैन । केवल सल्किरहेछु स्मृतिपटमा आइरहने आला सम्झनाहरूमा बिना धुँवा, बिनाआगो । आफ्नो चिहान आफैँले सजाउँभन्दा पनि म मरिदिन सक्दिनँ । म कसको निमित्त बाँचिरहुँ यो पनि मलाई थाहा लाग्दैन । सायद अरू आउने धेरै युगसम्म मैले यस घरमा बाँचिरहनुपर्छ होला । कस्तो मसान जस्तो विरह लाग्ने घर । विरक्ति र विरह सिवाय केही छैन यहाँ । माया गर्नेहरू छैनन् । छन् भने, मात्र व्यथा र कहाली लाग्ने वातावरणहरू । मान्छेले माया गर्नुपर्छ भन्छन् तर म किन कसैको माया पाउन सक्दिनँ र कसैलाई माया दिन पनि सक्दिनँ ? ममा माया रित्तिसकेजस्तो ।

एकनासले पल्लो कोठामा नानी चिच्याइचिच्याइ रोइरहेछ । मलाई यो चिच्याहट रिङटा लागेर आउँछ । म आफूलाई सम्हाल्न असमर्थताको अनुभव गरिरहन्छु । नानी सधैँ नै यसरी नै रोएर मलाई पिरोलिरहन्छ । कहिले ऊदेखि निकै रिस उठ्छ त कहिले माया दया नलाग्ने पनि छैन । म उसकै आमा भएकी हुनाले बच्चालाई माया गर्न सक्नुपर्छ घृणा गर्नुभन्दा । तैपनि कताकता घृणा सलबलाउँछ । उसको आमा शब्दले मेरो मुटुमा सियोले बिझाउँछ र निसास्सिएर कहिले कहिले उसलाई निर्मम हातले पिट्न पुग्छु । मेरो पिटाइले बच्चा चर्काे स्वरसँग चिच्याउँछ र म झस्किन्छु, अनि वास्तविक दुनियाँमा म उसलाई फेरि सुमसुम्याउँछु एउटी ममतामयी आमाको हातले । एकछिनसम्म म उसलाई टोल्हाएर माया गरिरहन्छु ।

‘पहिलो सन्तान छोरो नै होस् !’ भित्ता भित्ताबाट कसैको आवाज प्रस्फुटित भएझैँ लाग्छ । म हडबडाएर चारैतिर आँखा दौडाउँछु — कोही कतै हुँदैन । बच्चा त्यहीँ छोडेर ढोकासम्म जान्छु — कोही हुँदैन । वातावरणमा आफू मात्र, आफू एक्लै उभिरहेकी हुन्छु । यो त भ्रम रहेछ । एउटा यस्तो भ्रम जो सत्य भएर पनि यथार्थमा परिणत हुन सकेन र सधैँ पिरोलिरहने भ्रम भएर रह्यो ।

देवीघाटको छेउछाउमा राम्रा राम्रा ढुङ्गाहरू खोज्दै घुमिरहेका थियौँ त्यो साँझ म अनि केशव । केशवले एकाएक टक्क रोकिएर मलाई रहस्यमय आँखाहरूले नियाल्दै भनेको थियो–

‘नीरा, अब हाम्रो विवाह हुँदै छ थाहा छ ? मेरो के इच्छा छ भने, हाम्रो पहिलो जन्मने सन्तान छोरो नै होस् ।’ यसरी भनिरहने केशव र सुनिरहने म नीराको भेट धेरै वर्षपहिले भएको थियो । दिनहरू त आँखा तरी भागी गए, तर सम्झना धमिलो भएर बिलाउनुको बदला आलो भएर रहिरहयो ।

‘तिमीले यही सोच कि केशव एक सिउँदो सिन्दूरको आर्जनको निमित्त तिमीदेखि टाढा रहेको छ ।’ उसले चिठीमा लेखेको थियो । त्यसपछि उसका दुईवटा अरू चिट्ठी आए अनि त्यो क्रम क्रमशः बन्द हुँदै गयो । चिट्ठी आउन छोड्यो । ऊ आउँदै आएन ।

उफ् ! म कहाँ पुगिसकेँ । म किन केशवलाई लिएर समय बिताइरहेछु । सायद मलाई पाप लाग्छ यदि केशवलाई सोचेको कसैले थाहा पायो भने । कस्तो यो पाप, कस्तो यो इज्जत, जसलाई मान्छेले बनायो ? त्यसैले फेरि मान्छेको जिन्दगीलाई एउटा खेलबाड सम्झेर बिगार्‍यो पनि । केशवका सम्झनाहरूलाई मैले केलाइरहनु सिवाय मूर्खता केही हुँदैन । आजभोलि त यी बच्चाहरू भविष्यलाई केलाएँ भने मात्र इज्जत रहन्छ र यही मेरो कर्तव्य पनि हुन आउँछ । सिन्दुरको लाज पनि यसैमा रहन्छ । सिउँदोभरि त मेरै लोग्नेले लगाइदिएको सिन्दुर छ । 

पल्लो कोठामा फेरि बच्चा रोएको आवाजले कल्पनाको शृङ्खला चुँडिन्छ तर म आज त्यस बच्चालाई माया गर्न, सुम्सुम्याउन जान कदापि सक्दिनँ । म सक्दिनँ ! म सक्दिन ! म आफू नै चिच्याइचिच्याइ रोउँझैँ लाग्छ तर यो पनि विवशता हुन आउँछ — म रुन पनि असमर्थ छु ।

एकदिन, त्यो दिनको सम्झना मलाई अझैसम्म छ । हृदयमा त्यस दिनको घटना चलचित्र भएर आजसम्म अंकित भएको छ । नियास्रो मुख लाउँदै मलाई भेट गर्न आएको थियो – ‘नीरा, म तिमीबाट टाढा जान लागिरहेछु । तिमी मलाई पर्खिबस्नु । म तिमीलाई लिन जरूर आउँछु ।’

‘कहाँ जाने ?’ मेरो प्रश्नको जवाफै नदिई ऊ गयो भोलिपल्ट बिहान । धेरै दिन बितिसकेको थियो, तर उसको केही खबर पाइनँ । हरपल म उसकै प्रतीक्षा गर्न थालेँ, तर ऊ आएन । निकै दिनपछि उसको चिट्ठी आएको थियो, त्यसभित्र म उसैलाई पाउन थालेँ । लेखेको थियो –

‘तिमीलाई सिँगार्न इन्द्रेनीको सातपाटे फरिया, हरियो वनको हरियाली पछ्यौरी, शिरमा कलकबन्दी हिमको सेतो टाकुरा, ओठमा प्रभातको लालीकिरण, निधारमा चन्द्रमाको टीको, मृगकोसे आँखामा गाजल, कोइली केशमा रजनीको सितारा झल्काउन, त्यही केशको चुल्ठोमा लाली गुरास लाइदिन, यो मेरो पवित्र आत्माले तिमीलाई डाकिरहेछ । के तिमी तिम्रो प्रियले जोरेको सिँगारका सर्दाममा सजिई एकदिन मात्र पनि दुलहीको रूपमा देखा पर्न आउँदिनौ ? आऊ तिमी आऊ, अग्निको ज्वालालाई नाघी, पर्वत पखेरा डाँडाकाँडा उक्ली, भालामा टेकी, सगर–नदी–नाला तरी, दुनियाँको तीतो वचनमा नआतिई, आँधी–हुरी–बतासले किन रोक्न नखोजोस् तैपनि तिमी आऊ ! म प्रतीक्षा गरिरहनेछु ।

अझै पनि यो आत्माले केशवकै प्रतीक्षा गरिरहेझैँ हुन्छ । केशवले ल्याएकै सिन्दूर मात्र रातो हुनेजस्तो, उसले ल्याउने पछ्यौरीविना लाजै नथाम्नेजस्तो, प्रभातमा लालीकिरण नै नउदाएजस्तो, लालीगुराँस सिउरिनेबित्तिकै ओइलिएजस्तो ।

जसरी हुन्छ, बाँच्ने उत्साह–उमङ्ग देऊ बस् मलाई त्यति भए पुग्छ । अरू धन दौलत केही चाहिँदैन तर तिमीलाई म लिन आउँदा सिउँदोमा लगाउने सिन्दूर किन्ने सामथ्र्य लिएर आउँछु । तिमीले यही सोच कि केशव एक सिउँदो सिन्दूरको आर्जनको निमित्त तिमीदेखि टाढा रहेको छ ।’

त्यसपछि उसका दुईवटा अरू चिट्ठी आए अनि त्यो क्रम क्रमशः बन्द हुँदै गयो । चिट्ठी आउन छोड्यो । ऊ आउँदै आएन । चार वर्ष बितिसक्छ ऊ फर्कंदैन । म रोएर, निस्सासिएर व्यथाहरूलाई निलेर एकदिन ऊ जरुर आाउँछ भन्ने आशा लिएर पर्खिरहेँ । एक मुठी रातो सिन्दूर केशवको हातबाट लाउने आकांक्षा लिएर पर्खिरहेँ । तर उसलाई मेरो सुस्केराले फर्काउन सकेन । मेरा रात कहालिएर बित्छन् । दिनको उज्यालोमा आफ्नो छाया हराइरहन्छन् ।

घरमा मेरो विवाहको निकै चर्चा हुन थाल्छ । सबैको विचार विवाह नै गरिदिने हुन्छ । मलाई मेरा व्यथाहरूले आगो भएर पोल्न थाल्छन् । उडिजाने पखेटा भए पनि उडिजान्थेँ, खोजी जाने बाटो भए पनि खोजिछोड्थेँ, तर हुन केही सकेन र जुन हुनुनपर्ने थियो त्यही भयो । मेरो विवाह भयो । तीन वर्ष बितिसक्यो विवाह भएको । यसैबिच मैले पहिलो सन्तान छोरो ने जन्माएँ । मेरो लोग्ने गोपालको छोरो । अहिले ऊ तोते बोली बोल्छ, तैपनि मलाई रमाइलै लाग्दैन ।

मेरो जिन्दगीमा कति हरियो पछ्यौरी ओढेँ, लालीगुरास सिउरिएँ, ओठमा लाली लगाएँ तर कुनै दिन पनि आत्मसन्तुष्टि भएन । सिउँदोभरि रातो सिन्दूर कति लगाएँ तर रातोजस्तो नै लाग्दैन । मेरो अन्तःस्करणको आवाज मेरो अन्तरात्माको आकांक्षा सधैँ अधुरो भइरहिरह्यो । अझै पनि यो आत्माले केशवकै प्रतीक्षा गरिरहेझैँ हुन्छ । केशवले ल्याएकै सिन्दूर मात्र रातो हुनेजस्तो, उसले ल्याउने पछ्यौरीविना लाजै नथाम्नेजस्तो, प्रभातमा लालीकिरण नै नउदाएजस्तो, लालीगुराँस सिउरिनेबित्तिकै ओइलिएजस्तो ।

तर निर्माेही आजसम्म फर्केकै छैन । दुनियाँमा ऊ छ वा छैन यो पनि जान्दिनँ । अब केवल एकचोटि उसलाई देख्ने चाहना छ । मलाई कसैले स्वास्नी भनेको पनि मन पर्दैन, आमा भनेको पनि मन पर्दैन । पल्लो कोठामा छोरो एकनासले चिच्याइरहेछ अहिले पनि ‘आमा ! आमा !! आमा !!!’

(हिमानीबाट– २०२८)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिता तुलाधर
अनिता तुलाधर
लेखकबाट थप