ईश्वर पोखरेलको स्मृतिमा आमा : मेरी आमा कसैका आँखा बनेर जीवित हुनुहुन्छ !

एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेललाई आमाले बेलाबेला चम्किला ताराहरू औँल्याएर भन्थिन्, ‘हेर् बाबु ! यी ताराहरू राम्रो काम गरेका असल मान्छेका आत्मा हुन् । असल मानिसहरू मरेर पनि तारा भएर रहिरहन्छन् ।’
उनका यी भनाइभित्र अन्धविश्वास मात्रै होइन व्यञ्जना र बोध पनि अन्तर्निहित छन् । मानव सभ्यता र समाजले एउटा अलग्ग आकाश कल्पेको छ, जहाँ असल मानिसहरू इतिहास वा स्तुति नामको ‘तारा’ बनेर सजिन्छन्; जुन तारालाई सम्बन्धित सन्तान, समाज वा संसारले सम्झिरहन्छ । ईश्वरकी आमाले यस्तै अर्थतिर संकेत गरेकी हुँदी हुन् ।
आमासँग जोडिएका आफ्ना स्मरणलाई लिएर ईश्वरले आत्मकथा लेखेका छन्— ‘आमा, सपना र ताराहरू’ । जुन आत्मकथाको पुस्तकलाई तीन महिनाअघि ‘सांंग्रिला बुक्स’ले बजारमा ल्याएको छ । पुस्तकको शीर्षकलाई सार्थक तुल्याउन ईश्वरले आरम्भ वा ‘प्रस्तावना’को रूपमा एउटा अमूर्त कविता राखेका छन्—
थाकेको छैन
ताराहरू गन्ने मेरो अभियान
अझै जारी छ, आमाको सम्झनामा !!!
यसरी कविताबाट आरम्भ गरेर आमासँग सम्बन्धित स्मरणको सुरुङ हुँदै अन्त्यमा ‘आमा’ शीर्षकको कविताबाटै ईश्वरले पुस्तकको उपसंहार गरेका छन् । स्मरणको सुरुङ झन्डै सय वर्षको इतिहासको आवृत्तिमा घुम्छ । त्यो सुरुङभित्र प्रायः अँध्यारो छ तर जहाँ–जहाँ जति–जति गाढा अँध्यारो छ, त्यहाँ–त्यहाँ त्यस अँध्यारोले त्यति–त्यति नै चम्किला ताराहरूको आभास गराउँछ । यस्तो लाग्छ, कुनै ‘आशाको तारा’ उदाउने ‘आस’मा र एउटा अस्ताएको ‘तारा’ले आकाश पाओस् भन्ने ‘अन्धविश्वास’मा ईश्वरकी आमा बाँचिन् र अस्ताइन् ।
ईश्वरकी आमा ४८ वर्षको उमेरमा विधवा बनिन्; देखिने, छोइने र सुनिने उनका ‘तारा’ अर्थात् पति यस धर्तीदेखि अस्ताए । पति अस्ताउँदा उनको मनको आकाश अँधेरियो । यद्यपि ‘अस्ताएका तारा’ले एउटा ‘आकाश’ पाउन् भन्ने ‘अन्धविश्वास’ र आकांक्षामा उनले विभिन्न पीठमा पुगेर प्रार्थना गरिरहिन् ।
छोराछोरी हुर्काउन र बाटो देखाउन उनका दुःख साना छैनन् । उनले ४० वर्षको उमेरमा ईश्वरलाई जन्म दिएकी थिइन्, कान्छो सन्तानको रूपमा । पुत्र ईश्वर हुर्केर, बढेर र पढेर आफूलाई सुख देला भन्ने उनको अपेक्षा थियो, तर ईश्वर आमालाई मात्रै होइन सबैलाई सुख दिने सपना बोकेर भूमिगत राजनीतिमा लागे ।
ईश्वरकी आमा आज यस धर्तीमा छैनन्, ८६औँ वसन्त भोगेर २०५६ सालमा उनको प्राण उठ्यो । हिजो होस् वा आज, भौतिक रूपमा आमादेखि टाढा भए पनि भावनात्मक रूपमा ईश्वर आमाकै अगलबगलमा थिए र छन् । यस पुस्तकमा ईश्वरले आमालाई आफ्नो मनको आकाशमा ‘तारा’को स्थान दिएका छन् । पार्टी वा राजनीतिक जीवनमा आफूले गरेको संघर्षसँग जोडेर उनले आमालाई समेत इतिहास बनाउन चाहेका छन् ।
ईश्वरकी आमा (रामकुमारी)को जन्म भोजपुरको गोगनेमा भएको थियो, १९७० चैत ३० गते । रामकुमारीका पिता नरनाथ नेउपानेले राणाप्रधानमन्त्री चन्द्रशमशेरको हुकुमप्रमाङ्गीबाट जिम्मावाल पद पाएका थिए । आफ्नो क्षेत्रमा कहलिएका पण्डित तथा ज्योतिषी नरनाथले व्यक्तिको भाग्य र भविष्य किटेरै भनिदिन्थे । उनको भविष्यवाणी अकाट्य हुन्छ भन्ने चर्चा परपरसम्म चलेको थियो ।
‘एकपटक गाउँमा कसैले अशुभ लगनमा बिहे गर्दै रहेछ । नरनाथ हजुरबुवाले भविष्यवाणी गर्नुभएछ— लगन शुभ छैन, यो बिहे रोक । रोकेनौ भने एक साताभित्र बेहुलो मर्छ,’ ईश्वर आफ््ना मावली हजुरबाको गाथा सुनाउँछन्, ‘तय भइसकेको बिहे रोकिएन, नभन्दै बिहे गरेको ६ दिनमा बेहुलाको मृत्यु भएछ ।’
जीवनको अन्तिम घडीमा आमाले ईश्वरलाई भनेकी थिइन्, ‘म मर्नेबित्तिकै मेरो काम लाग्ने अंगहरू दान गरिदिनु ।’ आमाको आँखाको लेन्स निकालेपछि डा. रुइतले भनेका थिए, ‘आमाले आफ्नो आँखाको ज्योति अरुका लागि छाडेर जानुभो । आमा महान् हुनुहुन्छ ।’
ओखलढुंगाको माम्खाका प्रतिष्ठित पोखरेल परिवारका १४ वर्षीय शिवराजसँग ११ वर्षीया रामकुमारीको बिहे भयो । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानलाई समर्थन र सहयोग गरेबापत ईश्वरका पुर्खाले बिर्ता लगायत सहयोग पाएका थिए । यद्यपि ईश्वर जन्मदा त्यो बिर्ताको विरासत बाँकी थिएन ।
२० वर्षदेखि ४० वर्षको उमेरसम्म रामकुमारीले १२ सन्तानलाई जन्म दिइन् । तीमध्ये एक छोरा र एक छोरी बाल्यकालमै बिते; एउटा छोरो र एउटी छोरी हुर्किएर खसे । रामकुमारीको काखबाट वा उनको हात समाएर पाँचजनाले संसार छाडे । छोराछोरी हुर्काउन, बिरामी पतिको उपचार र स्याहार गर्नमै रामकुमारीको सिंगो बैँस बित्यो ।
ईश्वरका पिता शिवराजलाई दमको रोगले लग्यो, ५१ वर्षको उमेरमा । पतिको देहान्तपछिका केही वर्ष रामकुमारी एक ढंगले विक्षिप्त हुन पुगेकी थिइन्, सुरुवाती दिनमा उनले आँसु लुकाउने वा देखाउने एक मात्र आशा वा भरोसा थिए, ईश्वर । ईश्वरका तीनवटी दिदीहरूको बिहे भइसकेको थियो भने जेठादाइ जनकपुरमा बस्थे, माहिला झापामा । यी दुई दाइसँग ईश्वरका साइँलादाइ र कान्छीदिदी पनि गएका थिए । बुवा खसेपछि करिब दुई वर्ष पुख्र्यौली थलोमा आमासँग ईश्वर मात्र रहे । यही बेला आमाका दुःखसुख, साहस र संवेदनासँग ईश्वरको साक्षात्कार भयो । दिनभरि कामले फुर्सद नपाउने आमा प्रायः साँझमा भक्कानिन्थिन्— ‘हे भगवान् ! मैले कहिलेसम्म यसरी जिन्दगीको भारी बोक्नुपर्ने हो !’
ईश्वरका मावली हजुरबा नरनाथको देहान्त २०१६ सालमा भएको थियो, अर्थात् ज्वाइँको भन्दा दुई वर्षअघि । एकातिर पुस्तक पढ्दै जाँदा र अर्कोतिर ईश्वरका कुरा सुन्दै जाँदा लाग्छ— नरनाथ ठुला ज्योतिषी थिए भने उनले छोरीको दुःख र ज्वाइँको आयु किन देखेनन् ? कि उनलाई थाहा थियो, छोरीको भाग्य र भविष्य यही हो भन्ने !
ईश्वर करिब एक वर्षअगाडि रातोपाटीको कार्यालय बखुन्डोल आएका बेला हामीले आग्रह गरेका थियौँ— दाइ, तपाईंसँग आमा–संवाद गर्न चाहन्छौँ ।
‘अहो ! यो संवाद त धेरै सार्थक हुन्छ । मैले आमासँग जोडिएका स्मरणलाई लिएर एउटा पुस्तक लेखिसकेको छु, बजारमा आउन बाँकी छ, सो पुस्तक आएपछि सोही पुस्तकमाथि संवाद गरौँला !’ उनले वचन दिएका थिए, ‘मैले आमा संवाद तपाईंहरूसँँग नै गर्छु ।’
यसरी उनीसँग आमा–संवादको सन्दर्भ जुर्यो । आमासँग जोडिएका सबै स्मरणलाई उनले पुस्तकमा लेखेका छन् । पुस्तक पढ्दै जाँदा लाग्छ— आमा रामकुमारी यस्ती ‘बघिनी’ हुन्, जसका ‘डमरु’हरू हुर्केसँगै आफ्नो ‘ठाउँ’ खोज्न निस्के, उनी भने नङ्ग्रा र नाडीले भर दिँदासम्म आफ््नो कर्म थलोलाई पोसिरहिन् ।
१० वर्षको उमेरसम्म ईश्वर आमाकै काखमा रहे, त्यसपछि उनलाई आमाले बाटो देखाउने निर्णय लिइन् । २०२० सालको हिउँदमा एउटा भरियाको बन्दोबस्त गरी रामकुमारी जनकपुर झरिन्, ईश्वरलाई लिएर । उनका जेठा छोरा र साइँला छोराले जनकपुरस्थित ‘ज्ञानकूप संस्कृत पाठशाला’मा पढ्थे, पढाइसँगै जेठाले न्यून तहको सरकारी कर्मचारीको रूपमा काम गर्न थालेका थिए ।
बाको उपचार हुन वा गर्न नसकेकामा आमा दुःखी भएका ईश्वरले केटाकेटीदेखि नै देखेका थिए, आमाका दुःखका सुस्केरासँग उनी परिचित थिए ।
महिना दिनसम्मका लागि छिमेकीलाई वस्तुभाउ हेर्न लगाएर यी आमाछोरा मधेस झर्दै थिए ।
घर छाड्ने दिन आमा बिहानै उठिन्, पँधेराबाट पानी ल्याइन्, पोका पन्तुरा कसिन् । गाईवस्तुलाई घाँस–पानी दिएर केहीबेर सुमसुम्याइन् । हिँड्ने बेला घर र गाईको पूजा गरिन् । भरियालाई अगाडि लाएर यी आमाछोरा घरबाट निस्के र बाटो लागे । घरै रित्तो देखेर वा त्यस्तै कुनै भावना बुझेर हो— गाई ड्वाँड्वा कराउन थाल्यो । यी आमाछोरा फर्केर गाईलाई हेर्दै सँगसँगै रोए ।
यसअघि बा खस्दा ईश्वर आमासँगै रोएका थिए । त्यतिबेला आमाले डाँडो छाड्दै दुःखहरूलाई फलाकेकी थिइन्, ‘मलाई एक्लै छाडेर गयौ, म एक्लैले अब कसरी यो घर चलाउनु ! म किन पहिले मर्न सकिनँ !’
बाको उपचार हुन वा गर्न नसकेकामा आमा दुःखी भएका ईश्वरले केटाकेटीदेखि नै देखेका थिए, आमाका दुःखका सुस्केरासँग उनी परिचित थिए । कसो गर्दा आमाले सुखको श्वास फेर्न पाउँछिन् भन्नेमा ईश्वर सानैदेखि सजग थिए । त्यसैले आफूले सकेको घरको काम गरेर उनले आमालाई सघाउँथे ।
घर छाड्ने केही दिन अघिदेखि आमाले ईश्वरलाई सम्झाउन थालेकी थिइन्— बाबु ! बरु म एक्लै बस्छु, दुःख सहन्छु । तँ दाजु भएको ठाउँमा गएर पढ् । पढेर ठुलो मान्छे बन्नुपर्छ ।’
पाँच दिन हिँडेर उनीहरू जनकपुर पुगे । जनकपुरमा एक महिना बस्दा पनि आमाले ईश्वरलाई सम्झाइरहिन्— ‘राम्ररी पढ्नु, राम्ररी पढ्नु, तेरो राम्रो कुरा सुन्न पाउँ ।’
ईश्वरलाई जेठो छोराको जिम्मा लगाएर आमा घर फर्किन् । ईश्वरले आमालाई पछ्याए । आमाले रुन्चे स्वरमा भनिन्— फर्की बाबु ! म पछि आइहाल्छु नि, तेरै लागि हो... ।’
ईश्वर रुँदै रोकिए र आमा ओझेल नपर्दासम्म हेरिरहे ।
जनकपुरमै आईए उत्तीर्ण गरी उनी बीएड पढ्न काठमाडौँ आए । पञ्चायतकालीन परिस्थिति, घरको स्थिति आदिले उनलाई विद्रोही बन्न प्रेरित गरेको थियो । उनी १५ वर्षको हुँदा भारतले नेपालको अविछिन्न भूभाग (सुस्ता र महेशपुर)माथि अतिक्रमण गरेको थियो । त्यसवेला भारतको विस्तारवादी कार्यको देशव्यापी विरोध गरियो । जनकपुरमा भएको विरोध जुलुसमा ईश्वर पनि सहभागी हुन पुगेका थिए । त्यतिबेला अरुसँगै उनलाई पनि प्रहरीले पक्राउ गर्यो र दुई दिनमै छाडिदियो । त्यही बेलादेखि ईश्वरको मन–मस्तिष्कमा राजनीतिक चेत घुस्न खोजेको थियो । आईए पढ्दासम्म उनी कम्युनिस्ट भइसकेका थिए, जनकपुरका प्रतिष्ठित कम्युनिष्ट नेता लेखनाथ शर्मामार्फत कम्युनिस्ट पार्टीको सदस्यता लिएर ।
काठमाडौँमा संयोगले उनको भेट रत्नकुमार बान्तवासँग भयो । यिनीहरू मित्र बने, सँगै बसे, सँगै पढे, सँगै राजनीतिक बहस पनि गरे । यी दुवैले स्विट्जरल्यान्डको छात्रवृत्ति समेत पाएका थिए, तर दुवै राजनीतिक परिवर्तनमा लाग्ने दृढ संकल्प गरे ।
इलामका रत्नले पनि किशोरकालदेखि कम्युनिस्ट पार्टीप्रति झुकाव राख्थे । खासगरी झलनाथ खनालले अगुवा क्रान्तिकारी युवालाई लिएर २०२६ सालमै ‘इलाम जिल्ला कमिटी, नेकपा’को गठन गरेका थिए, त्यसले गर्ने क्रान्तिकारी गतिविधिले रत्नलाई प्रभावित गरेको थियो । पछि रत्नले सहादत प्राप्त गरे । उनको सम्झनामा ईश्वरले २०७२ मा पुस्तक लेखेका छन्— पूर्वको रातो तारा ।
बीएडको पढाइ सकेर २०३२ सालदेखि उनको ‘को–अर्डिनेसन केन्द्र’मा लागेर भूमिगत भए । यतिन्जेल आमाले पहाडको खेतीपाती अरुलाई जिम्मा दिएर छोराहरूसँग बस्न थालेकी थिइन्, कहिले जेठोसँग कहिले माहिलोसँग ।
पूर्णकालीन राजनीतिमा लाग्नुअघि ईश्वर एकपटक जनकपुर पुगे, त्यहाँ आमा पनि थिइन् । छोराले बीएड गरेर आएको देखेर आमा खुसी मात्रै भइनन्, शब्दमै व्यक्त गरिन्— पढाइ सकिछस्, अब तैँले काम गर्न थालेपछि त म तैँसँग बस्छु ।’
ईश्वरले भूमिगत राजनीतिमा लाग्ने संकल्प लिइसकेका थिए । एक साँझ ईश्वरले आमालाई भने— साथीले बोलाएको छ, म गएँ ।
छोरो राजनीतिक गतिविधिमा लागेको कुरा आमालाई कताकता थाहा थियो, त्यसैले होला उनले खोजीनिती गरिन्, छोरालाई रोक्न खोजिन् । तर साथीकहाँ जाने भनेर ईश्वर बाटो लागे ।
यही जनकपुरमा हो, ईश्वरले आमालाई पछ्याएका थिए, आमाले छाडेर गएकी थिइन्, ईश्वरकै भविष्यका लागि । यसपालि ईश्वरले आमालाई छाडेर जाँदै थिए, देशकै भविष्यका लागि । पहिले ईश्वर ‘डमरु’जस्तै थिए, आमालाई छाड्न सक्दैनथे, त्यतिबेला ईश्वर ‘बाघ’ भइसकेका थिए, सबै मोह त्याग्ने अठोट लिएका थिए ।
काठमाडौँ छाड्दा नै उनले आफ्नो नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र साथीभाइसँगका तस्बिर जलाएका थिए । ‘अग्नि ज्वालामा नागरिकताको प्रमाणपत्र समेत होमिदिएँ । उड्दै गरेको धुवाँमा मलाई आफ्ना सपनाहरू त्यसैत्यसै उड्दै गरेको र अनन्त आकाशमा बिलाउँदै गएको आभास भएको थियो,’ ईश्वरले ‘पूर्वको रातो तारा’ पुस्तकमा लेखेका छन्, ‘मसित भएका केही तस्बिरहरू आगोमा झोँस्न मलाई निकै कठिन भएको थियो । मैले यी सबै काम कुनै स्वार्थ र मायामोहमा नपरी क्रान्तिकारी बन्नका लागि, देश र जनताको निस्वार्थ सेवाका लागि, त्यसमा कुनै पनि निजी कारणहरू बाधा र विरोध नपरोस् भन्नका लागि गरेको थिएँ ।’
२०४६ को परिवर्तनसँगै ईश्वर खुला राजनीतिमा आए । योबिचमा थुप्रैपटक आमालाई भेटेका थिए । २०५१ सालमा एमालेको नौमहिना शासनमा ईश्वर प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार थिए । यो नौ महिनाको अवधिमा आमा ईश्वरसँगै बसिन् ।
आमालाई वास्तविकता नबताई भूमिगत राजनीतिमा लागेको सम्झँदा ईश्वरलाई लाग्छ— त्यहीँनेर आमाको चित्त दुखाएँ कि !
ईश्वरले अन्तर्जातीय (नेवार) विवाह गरे, एकपटक उनले आमालाई काठमाडौँ झिकाए, बुहारीसँग भेट गराउन ।
भेटमा बुहारीको ढोग स्विकार गरेर आमाले भनिन्, त्यो नाकमा सानु फुली लाए कति सुहाउँथ्यो होला !’
२०४६ को परिवर्तनसँगै ईश्वर खुला राजनीतिमा आए । योबिचमा थुप्रैपटक आमालाई भेटेका थिए । २०५१ सालमा एमालेको नौमहिना शासनमा ईश्वर प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार थिए । यो नौ महिनाको अवधिमा आमा ईश्वरसँगै बसिन् ।
२०५६ सालमा भएको उपनिर्वाचनमा ईश्वर काठमाडौँ ३ बाट निर्वाचित भए । त्यतिबेला चन्द्रगढीमा रहेकी आमा ईश्वरलाई भेट्न एक्लै जहाज चढेर काठमाडौँ आइन् । एयरपोर्टमा लिन जान ईश्वर केही ढिला भए । गेटकै मुखमा पर्खिरहेकी आमालाई देख्दा ईश्वरलाई आफैँसँग रिस उठ्यो । ईश्वरले देखेपछि आमाले यति मात्रै भनिन्, ‘आइस् बाबु ।’
जीवनको अन्तिम घडीमा आमाले ईश्वरलाई भनेकी थिइन्, ‘म मर्नेबित्तिकै मेरो काम लाग्ने अंगहरू दान गरिदिनु ।’
आमाको यो चाहना ईश्वरले डा. सन्दुक रुइतलाई सुनाए । ईश्वरकी आमाको निधन भएको खबर पाएर डा. रुइत टिमसहित आर्यघाट आइपुगे र आँखाको लेन्स निकाले ।
हिँड्ने बेला उनले भने, आमाले आफ्नो आँखाको ज्योति अरुका लागि छाडेर जानुभो । आमा महान् हुनुहुन्छ ।’
ईश्वरले श्रद्धा र भक्ति भावका साथ आमाको काजकिरिया गरे । विज्ञान र भौतिकवादमा विश्वास गर्ने ईश्वरले आमाको वार्षिक श्राद्ध गर्ने वा पिण्ड दिने गर्दैनन् ।
उनी भन्छन्, मलाई लाग्छ, मेरी आमा कसैका आँखा बनेर जीवित हुनुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारीको पदपूर्तिका प्रावधानमा व्यापक परिवर्तन
-
विपक्षी टोलीका प्रशिक्षकको नाक तानेपछि तीन खेलको प्रतिबन्धमा परे चर्चित प्रशिक्षक मोउरिन्हो
-
काभ्रे–कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै
-
ट्रम्पलाई बौलाहा भन्दै सडकमा उत्रिए अमेरिकी, अन्यत्र पनि प्रदर्शन
-
योगी आदित्यनाथलाई माधव नेपालको सुझाव : कृपया तपाईंले हस्तक्षेप नगर्नुस्, हात नहाल्नुस् !
-
एमाले रतुवामाईको अध्यक्षमा देवी दाहाल निर्वाचित