थियटर फेस्टिभलभित्र ‘इन्स्टलेसन आर्ट’

भर्खरै (मार्च १ देखि ५ सम्म) काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘इन्टरनेसनल पिपुल्स थिएटर फेस्टिभल– २०२५’ सम्पन्न भयो । फेस्टिभलमा विभिन्न लघु नाटक र लामा नाटक मञ्चन मात्रै भएनन् र तीमाथि छलफल र बहस समेत भए । नाटकका विविध विषयका वर्कसप चले । नाटक मञ्चन, नाटक कार्यशाला, नाटकमाथि छलफल र बहस हुँदा यस नाटक महोत्सव निकै चाखलाग्दो बनेको थियो ।
यो कार्यक्रम काठमाडौँमै मात्र सीमित भएन, काठमाडौँबाहिर इटहरी हुँदै धनकुटासम्म पुग्यो । यस ‘फेस्टिभल’मा नाटकसँग सम्बन्धित गतिविधि मात्रै देखिएनन्, एउटा ‘इन्स्टलेसन आर्ट’ले पनि प्रवेश पायो । जसले ‘फेस्टिभल’कै शोभा बढाएको थियो ।
- एभलिना लाइङको सोलो इन्स्टलेसन
सर्वनाम थिएटरमा एउटा अलग्ग कला ग्यालरी छ । बेलाबेला त्यहाँ कलाका प्रदर्शनी भइरहन्छन् । सोही ग्यालरीमा फेस्टिभलकै एक गतिविधिका रूपमा हङकङकी कलाकार एभलिना लाइङको अत्याधुनिक काम प्रदर्शन गरियो । बगुन्द्रो वस्तुहरूले सिङ्गै कोठा ढाक्दा थुप्रै जनाको काम हो कि भन्ने भ्रम परेको थियो तर उनको एउटै काम रहेछ । थुप्रै वस्तुहरू तर एउटै कलाका रूपमा देखिँदा यो काम अनौठो लाग्थ्यो । सामान्यतया एकैजसो काम सिरिजमा प्रस्तुत गर्ने अभ्यास आधुनिक कलामा हुने गर्छन् तर थुप्रै काम र कला एउटै हुनु उत्तरआधुनिक कलाको विशेषता हो । जेहोस्, उनको यो सोलो इन्स्टलेसन आर्ट अद्भुत र अलौकिक ढंगले दृश्यावलोकन भएको थियो ।
उनको यो कला केही ठुलो आकारको भएकाले अलि टाढाबाट अवलोकन गर्न नमिल्ने खालको थियो । कलालाई समग्रमा अवलोकन गर्न कलाभित्रै प्रवेश गर्नुपथ्र्यो । कलाको विविध मोटिफले भुइँ–भित्ता टम्मै भरिएका थिए । त्यसो हुँदा कलामाथि टेकेर वा नाघेर कक्षभित्र ओहोर–दोहोर गर्न मिल्थ्यो ।
विदेशतिर यस्ता इन्स्टलेसन कला विशाल रूपमा देखिने गर्छन् । हामीकहाँ पनि यो कला विशाल रूपमा देखिँदै आएका छन् । सानो आकारमा बनाइँदा यसलाई कक्षभित्रबाटै पनि अलग्ग भएर अवलोकन गर्न सकिन्छ । कलामाथि चढिरहनुपर्दैन, भित्र पसिरहनुपर्दैन ।
सर्वनामको चारपाटे कक्षमा उनको काम बिच्छाइएको, झुन्ड्याइएको र भित्तामा टाँगिएको अवस्थामा देखिएको थियो । विशेषतः चारैतिर नेपाली ढाका कपडाले ढाकिएको देखिन्थ्यो । केही युनिक बुट्टा भएका कपडा उनले जापानबाटै ल्याएकी रहिछिन् । भुइँमा कपडालाई बेर्दै गोलो पारेर तीन–चार लहरमा कपडा राखिएका थिए ।
मन्डलाको अवधारणामा बनेको यो उनको कामको उद्देश्य भावकलाई शान्तिसँग जोड्दै स्वप्न संसारको अनुभूति गराउनु थियो । गोलाकार आकारको प्रयोग गरिनुले सुरुदेखि अन्त्यसम्मको सम्पूर्णताको अर्थ दिने उनको भनाइ थियो । ‘जहाँ एकता र अखण्डता भरपूर रूपमा रहेको हुन्छ,‘ उनी भन्छिन्, ‘यस कलाले स्वतन्त्रता र शान्तिको पक्षपोषण गर्छ । अनि यो मानवताको परिकल्पना पनि हो ।’
जब हामी बिच भागमा झुन्ड्याइएको कपडा मुन्तिर पुग्यौँ, उनले हामीलाई त्यहीँ थचक्क बस्न लगाइन् । त्यसपछि उनले केही भन्न थालिन । उनको विशेष भनाइ थियो, ‘यो स्थान नै स्वर्ग हो ।’ त्यहाँ राखिएको साना–ठुला दुईवटा ‘सिङगिङ बोउल’लाई आफूले बजाउँदै र भावकलाई बजाउन दिई आनन्दको अनुभव गराइन् ।
कलात्मक प्रक्रिया पनि अनौठो खालको थियो । कलाको अवलोकन गर्नुअघि हलबाहिर नै कलाकारसँग भेट र छलफल हुन्थ्यो । कलाकार आफैँले केहीबेर हामीलाई बाहिरै रोकिराखेकी थिइन् । भित्र मिलाउनुपर्ने सामान मिलाएपछि मात्र उनी स्वयंले हामीलाई भित्र लिएर गइन् । प्रदर्शन कक्षभित्र जाँदै गर्दा उनले हिँड्दै नाच्दै गरेकी थिइन्, हामीलाई पनि सँगसँगै नाच्न आग्रह गरिन् । कलाको अवलोकन गर्दै कलाकारसँग संवाद गर्दा हामीलाई पनि रमाइलो अनुभव भयो । कलालाई नाघ्दै घुम्नुपर्ने अनौठो कलात्मक संरचना बनेको रहेछ । सम्भवतः यो कलाको विशेषता यही हुनुपर्छ । भावकलाई स्वयंमा अनुभूत गराउने यो अनौठो तरिका नेपालका लागि नयाँ नै हो ।
जब हामी बिच भागमा झुन्ड्याइएको कपडा मुन्तिर पुग्यौँ, उनले हामीलाई त्यहीँ थचक्क बस्न लगाइन् । त्यसपछि उनले केही भन्न थालिन । उनको विशेष भनाइ थियो, ‘यो स्थान नै स्वर्ग हो ।’ त्यहाँ राखिएको साना–ठुला दुईवटा ‘सिङगिङ बोउल’लाई आफूले बजाउँदै र भावकलाई बजाउन दिई आनन्दको अनुभव गराइन् । यसरी मधुर ध्वनि गुञ्जायमान भएपछि भावकले अनन्त गहिराइमा हराएजस्तो वा ध्यानमग्न भएजस्तो आनन्दानुभूति गर्थे । यसरी कलाकार स्वयंले हामी (भावक)लाई हिँडाउँदै र नचाउँदै यस ठाउँमा ल्याइपुर्याउँदा रोमाञ्चक अनुभूति भएको थियो ।
मण्डला वा गोलाकार रूपमा देखिएको उनको कला भुलभुलैयाको प्रतीक जस्तो पनि लाग्थ्यो, त्यसमा ध्यान समावेश गरी शान्तिपूर्ण बगैँचा बनाएको पनि आभास हुन्थ्यो । एक ढंगले उनको यो काम रहस्यमय स्वर्गद्वारझैँ लाग्थ्यो ।
एउटै काम (कला)मा इन्स्टलेसन आर्ट (जड भएर बसेको कलागत संयोजन) र पर्फर्मेन्स आर्ट (कलाको अवलोकनसहित भावक र सर्जकबिच संवाद) एकैचोटि देखिएका थिए ।
उनी स्वयं नै यस कलाको क्युरेटर थिइन् । कलाकारको अवधारणा, भन्न र देखाउन खोजेका कुरा भनेर व्याख्या गर्नुभन्दा गरेरै वा गर्न लगाएरै बुझाउन खोज्नु यो कलाको विशेषता थियो । दर्शकलाई कलाभित्रै समाहित गराउने उनको योजना रहेछ । कलाभित्रै भावक र सर्जक मिलेर विविध गतिविधि गर्नुपर्ने भएकाले यो कला फरक लाग्थ्यो । कोही दर्शक कलाभित्र पसेका बेला त्यहाँ अर्को दर्शक हुँदैनथ्यो, वा उसलाई बाहिर राखिएको हुन्थ्यो । जसले यसलाई अवलोकन गथ्र्यो, उही व्यक्तिलाई कलाको भागकै रूपमा संलग्न गराइन्थ्यो । यो एउटा अनौठो कलागत प्रक्रिया भए पनि सुन्दा वा संलग्न हुँदा अस्वाभाविक जस्तो हुँदो रहेछ । दर्शक र कलाकार दुवैले सँगै अवलोकन गर्ने भएकाले यो कला विशेष लाग्थ्यो, यसैमा कलाकारको मौलिकता झल्कन्थ्यो । भावकलाई पहिलेदेखि नै थोरै कुतूहल बनाउनु पनि कलाकारको सोच रहेछ । समग्रमा भन्दा यो शक्तिशाली अवधारणामा बनेको कला कन्सेप्चुयल आर्टको राम्रो नमुना पनि हो ।
- कलाको नामको अर्थ
उसो त यो कलाको नामै ‘शान्तिको बगैँचा’ (गार्डेन अफ पिस) राखिएको थियो । यो मूल नाम भयो, यसैसँग जोडेर अरु दुईवटा उपनाम दिइएको थियो— ‘साओरी आर्ट एन्ड टेक्स्टाइल इन्स्टलेसन’ र ‘वाबी– साबी’ । जापानी भाषा र परम्परामा यी सबैको अलग–अलग अर्थ रहेछन् । जापानिज परम्परा, संस्कृति र संस्कारलाई शान्तिसँग जोड्दै आजका कुरा भन्ने निश्चित ध्येयसहित उनले यस कलाको निर्माण गरेकी रहिछन् ।
मूल नाम (गार्डेन अफ् पिस) बारे थोरै चर्चा गरौँ । बगैँचामा फूलहरूले सुन्दर बनाएझैँ कक्षभित्र पनि तल–माथि कपडा बिच्छ्याएर बगैँचा बनाउन खोजेको देखिन्थ्यो । उनको उद्देश्य बुझिन्थ्यो— जहाँ थोरै रमाइलो अनि शान्तिको अनुभव होस्, जहाँ घुम्दै गर्दा मनलाई आनन्द र घतलाग्दो अवस्थाको अनुभूत होस् ।
विश्वमा धेरै अघिदेखि युद्ध हुँदै आएका छन् । जापान स्वयंले पनि युद्धहरु भोग्यो । युद्धलाई बिर्साउने ध्येयले कुनै शान्ति क्षेत्रको कल्पना उनको कलामा आएको बुझिन्थ्यो । इन्स्टलेसन र पर्फर्मेन्स आर्टको संयुक्त रूपमा उनको काम आएको थियो, जसले नाटकको पनि आभास गराउँथ्यो ।
वस्तुहरूलाई संगठित गरी इन्स्टल गरिसकेपछि यस कलालाई पूर्णता दिन कलाकारले नृत्य, धर्म अनि झुलभुलैयाको अवधारणा घुसाएकी थिइन् । यसले कतै न कतै हामी भुलभुलैयामा अलमलिएका प्राणी त हौँ भन्ने सन्देश जाँदो रहेछ । थोरै नाचे जस्तो, धर्ममा अल्झेजस्तो हुँदै अन्योलमा रुमलिँदै जाँदै छौँ जस्तो पनि उनका कलामा देखिँदो रहेछ । अन्ततः भुलझलैयामा अल्झाउँदै भावकलाई स्वर्गमा पुर्याउनु अनि शान्तिको अनुभव गराउने उनको मूल ध्येय रहेछ । नितान्त नयाँ स्वरूपमा इन्स्टलेसन आर्ट र भावकको संलग्नतामा पर्फमेन्स आर्टको प्रयोग हुँदा उनको काम ‘कोल्याबोरेटिभ आर्टको स्वरूपमा देखिन्थ्यो ।
उनी भन्छिन्, ‘साओरी ओइभिङ भन्ने छ, जो एक प्रकारको ध्यान हो, जहाँ वर्तमानका सोच–विचार समाहित हुन्छन् । वास्तवमा साओरीले बुनाइको अर्थ दिन्छ । जापानमा उहिलेदेखि आफ्नै मौलिकतासहित प्रयोगमा आएको साओरीले स्त्रीत्वलाई बुझाउँछ । यसले बुनाइ मात्रको नभई बालुवाको बुनाइ भन्ने पनि अर्थ दिन्छ । वाबी साबी भनेको चाहिँ प्राचीन जापानी एउटा दर्शन हो, जसले मानवलाई प्रकृतिमा रहेको सौन्दर्यतालाई प्राप्त गर्न प्रोत्साहन गर्छ ।’
वाबी–साबी कला भनेको शान्ति स्थापना गर्ने एउटा प्रक्रिया रहेछ । यसरी जापानिज परम्परामा आधारित बुनाइको काम, आध्यात्मिक ध्यान र शान्तिलाई उनको यस कलाले बोकेको रहेछ ।
एभलिनाले यो काम ‘कम्युनिटी आर्टिस्ट’का रूपमा गरेकी रहिछन् । कम्युनिटी आर्टिस्टले समुदायमै गएर समुदायलाई संलग्न गराएर कला गर्छ । यस्तो कला कम्युनिटी (समुदाय)कै मुद्दामा केन्द्रित हुन्छन् । एभलिनाका अनुसार यो कम्युनिटी कला एक विशेषताका साथ स्थापित भएसकेको रहेछ । पचासौँ यस्तायस्तै इन्स्टलेसन काम गरिसकेकी उनले यसपालि बन्द कोठाभित्र सिर्जना गरेकी रहिछन् ।
- इन्स्टलेसन आर्ट
विश्व कला बजारमा अचेल इन्स्टलेसन कला चलनचल्तीमा छ । उत्तरआधुनिक कलाको नितान्त नौलो प्रवृत्तिगत स्वभाव बोकेको यो कला सन् ६० को उत्तराद्र्धदेखि देखापरेको हो । अचेल यस्ता प्रवृत्तिका कला संसारभरि नै देखिन्छन् ।
हामीकहाँ इन्स्टलेसन कला सन् २००० को उत्तरकालमा भित्रिएको हो । त्यतिबेला आन्दोलनका रूपमा देखापरेको त्यो कला आजका अधिकांश युवा कलाकारको मन पर्ने कला भएको छ ।
युवा तथा नवयुवा कलाकार हिजोआज यस्तै कला बनाउन बढी उत्साहित देखिन्छन् । यसर्थ आज नेपालमै पनि यस्तायस्तै कला प्रशस्तै बन्ने गरेका छन् । इन्स्टलेसन आर्टमा विभिन्न उपयोगी वस्तुलाई अस्थायी रूपमा कुनै एक ठाउँमा (कोठाभित्र वा बाहिर जहाँसुकै) ‘इन्स्टल’ गरिन्छ । इन्स्टल गरी निर्माण गरिएकाले यसलाई इन्स्टलेसन आर्ट भनिएको हो । केही दिन वा क्षणका लागि मात्रै निर्माण गरिने यो कला समय र ठाउँ अनुसार अलग–अलग रूपमा देखिन्छन् ।
यो कला जहाँ बन्छ, त्यस वरिपरिको सम्पूर्ण स्पेसलाई कलाकै अभिन्न भाग मानिन्छ । यस्तै हेर्ने दर्शक पनि त्यस कलाको एक भाग हुने गर्छन् । एउटै कला पनि अर्कै ठाउँमा कलाको रूपमा पुनस्र्थापना हुँदा अलग्ग देखिन्छ । एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा पनि यसको आन्तरिक तत्त्व, भाव र सन्देश फरक भने हुँदैन ।
यस्ता कला निश्चित ठाउँमा अस्थायी रूपमा बनाइने हुँदा प्रदर्शन गरिसकेपछि यसलाई भत्काएर लग्ने गरिन्छ । भत्केपछि यसमा समायोजन गरिएका हरेक वस्तु कला नभई सामान्य वस्तुको रूप धारण गर्छन् । तिनलाई पुनः पसलमा बेच्न वा प्रयोग गर्न सकिन्छ । तिनै सामग्रीलाई पुनः अन्त कतै जोडजाड गर्दा अर्को कुनै कलाको रूप धारण गर्छ । पहिलोपल्ट (साठी वा सत्तरीको दशकतिर) देखिँदा आम मान्छे यसलाई कला मान्न तयार भएका थिएनन् ।
पछिल्लो समय हामीकहाँ समसामयिक कलाको मुख्य विधाका रूपमा इन्स्टलेसन कला देखिन्छ । थुप्रै विदेशी कलाकारले समेत हामीकहाँ यस्तो कला प्रदर्शन गर्ने गरेका छन् । अहिले पनि कति ग्यालरीमा यस्तायस्तै काम भइरहेका छन् ।
यो कला विश्वको कुनै पनि कुनामा त्यति धेरै फरक देखिन्न । आजसम्म हामीकहाँ देखिएका इन्स्टलेसन आर्टको प्रवृत्तिभन्दा इभिलेनाको यो कला खासै फरक होइन, यद्यपि कलाका विभिन्न गतिविधि जोडिएकाले उनको कला केही नयाँपनका साथ देखापरेको थियो ।
यस्ता कला निश्चित ठाउँमै गएर अस्थायी रूपमा बनाइने हुँदा प्रदर्शन गरिसकेपछि यसलाई भत्काएर लग्ने गरिन्छ । भत्केपछि यसमा समायोजन गरिएका हरेक वस्तु कला नभई सामान्य वस्तुका रूप धारण गर्छन् । रमाइलो कुरा त यी वस्तु उपयोगी वस्तुका रूपमा पुनः पसलमा बेच्न लगिन्छ । तर यही सामग्रीलाई पुनः अन्त कतै जोडजाड गर्दा भने यसले पुनः कलाको रूप धारण गर्छ । साठी वा सत्तरीको दशकतिर यस्ता कला पहिलोपल्ट देखिँदा आम मान्छे पनि यसलाई कला मान्न तयार भएका थिएनन् । अहिले यसले नेपालमै पनि कलाको रूप लिइसकेको छ ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)