मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय
किताबका कुरा

‘मैले आफन्तलाई भनिदिएको छु : जसको घरमा पुस्तकालय छैन, म त्यो घरमा चिया पनि खान्नँ’

एउटा लेखकभित्र आधा समीक्षक आधा लेखक हुनुपर्छ : डा. गोविन्दराज भट्टराई
शनिबार, २३ चैत २०८१, १५ : ३०
शनिबार, २३ चैत २०८१

रातोपाटीको ‘किताबका कुरा’ स्तम्भको पहिलो शृंखलामा लेखक तथा समीक्षक डा. गोविन्दराज भट्टराईसँग रातोपाटीकर्मी रमा सुवेदीले पुस्तक, पठन संस्कृति र यसको महत्त्वबारे संवाद गरेकी छन् । 

  • अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ? 

फ्रान्सेली लेखिका  एनी आर्नोको ‘अ वुमन्ज स्टोरी’ पढिरहेको छु ।
 

  • नेपालको पठन–संस्कृति कस्तो पाउनुहुन्छ ? 

गम्भीर पठन अझै पनि कमै भएको देख्छु म । अहिलेको पुस्ता मात्रै होइन, बुढो पुस्तासामु पनि सामाजिक सञ्जाल, अनलाइन लगायत ‘डिस्ट्र्याक्सन’ धेरै छन् । केहीबेर मोबाइल समातेर बस्दा घन्टौँ बितेको पत्तै हुन्न । तर राम्रोसँग प्रयोग गर्नेका लागि यसमै पढ्ने चिजहरू पनि टन्नै छन् । 

अहिले अनलाइनले गर्दा पाठकलाई सजिलो भएको छ । कैयौँ पुस्तक अनलाइनमा भेटिन्छन् । इन्टरनेटका माध्यमबाटै पुस्तक प्रकाशन हुने र समीक्षा आउनदेखि साहित्य वा लेखनबारे गोष्ठी–सम्मेलन हुन थालेका छन् । नेपालमै एक वर्षमै झन्डै दुई हजार हाराहारी पुस्तक प्रकाशन भइरहेका छन् । तर त्यसको तुलनामा पाठकको गम्भीरता अलि कम्ती हो कि जस्तो भान हुन्छ कहिलेकाहीँ मलाई । जति पनि गम्भीर पाठक छन्, उनीहरूको पठनप्रतिको गम्भीरता भने घटेको छैन, बरु बढेको छ । 

  • ‘डिस्ट्र्याक्सन’को कुरा गर्नु भयो, स्तरीय पुस्तकको अभाव पनि हो कि ! 

पछिल्लो समय लेखन बन्नकै लागि लेख्ने होडबाजी पनि छ । शक्तिशाली लेखकमा विशेष प्रतिभा हुन्छ । यसमै ध्यान–साधना गरेर लाग्ने व्यक्ति पनि हुनुपर्‍यो । आफ्नै भाषाका अघिल्ला लेखकका कृति पनि पढेको हुनुपर्‍यो । अनि विश्व साहित्यको केही न केही ज्ञान पनि चाहियो । यी सबै भयो भने लेखक बलियो बन्छ । उसले स्तरीय लेख्न सक्छ । 

उपन्यास, कविता, नाटक लेख्ने सिद्धान्त पनि बुझेको हुनुपर्‍यो । समकालीन अवस्थामा कुन चेतना, विषयवस्तु लेख्नुपर्छ भन्ने थाहा हुनुपर्‍यो । त्यसैले एउटा लेखकभित्र आधा समीक्षक आधा लेखक हुनुपर्छ । निरन्तर प्रयत्न पनि चाहिन्छ । तर अहिले धैर्य टुटाउने, एकाग्रतामा खलल उत्पन्न गराउने कैयौँ प्रविधि आएका छन् । 

विश्वका अरु देशतिर हेर्ने हो भने बस, रेल, प्लेन, सार्वजनिक स्थान जताततै किताब पढिरहेका मान्छे देख्न पाइन्छ । बिजुलीको खम्बामुनि उभिएर किताब पढ्नेहरू पनि मैले देखेको छु । नयाँ पुस्तक, सेकेन्ड ह्यान्ड पुस्तकका पसल उत्तिकै चलिरहेका छन् । सभ्यता स्थिर भएको ठाउँमा पठन–संस्कृति निकै राम्रो भएर गएको छ । तर नयाँ प्रविधिसँगको अलिक उत्ताउलोपना र तमासाले हामीलाई तानिरहेको छ । 

कुनै पनि लेखकको जीवन सफल भयो कि भएन भन्ने आख्यानमा भर पर्छ । आख्यान लेख्दा धेरै कुरा जुटाउनुपर्छ । पहिला ठाउँ वा परिवेश खोज्नुपर्‍यो । त्यसपछि पात्र सिर्जना गर्नुपर्‍यो र पात्रलाई राम्ररी चिनाउनुपर्‍यो । यसका लागि घटना अर्थात् कथा–कथानक चाहियो अनि अन्त्य चाहियो । यी चिजलाई सँगसँगै बुनेर लैजान निकै मुस्किल पर्छ ।
  • तपाईंलाई मन परेका विदेशी पुस्तक ? 

मलाई अति नै मन परेका विदेशी किताब ५०–६० वटा होलान् । यीमध्ये पनि बेलायती लेखक जेम्स ज्वाइसको ‘युलिसिस’ उपन्यास सबैभन्दा बढी मन पर्छ ।

मैले यो पुस्तक निकै समय लगाएर पढेँ । यसमाथि लेखिएका समीक्षाहरू खोजेर पढेँ । यो किताब छिचाल्न मलाई निकै मुस्किल परेको थियो । यसमा पाठकलाई तान्ने कुरा खासै छैन तर लेखनशैली निकै राम्रो छ । यो उपन्यासमा एउटा विचित्रको प्रयोग छ । आख्यानमा भाषाको प्रयोग पनि हुन सक्छ भनेर यसले निकै राम्रोसँग देखाएको छ । केही सर्वेक्षणमा अंग्रेजी साहित्यको सबैभन्दा अप्ठेरो पुस्तक कुनभन्दा युलिसिसको नाम आएको थियो । सबैभन्दा स्तरीय पुस्तकको पङ्क्तिमा पनि यो पुस्तक पर्छ । 

साहित्यको स्तरीयता अप्ठेरो हुनुमा मात्रै हुन्न, बौद्धिक उचाइ पनि हुनुपर्छ । यो पुस्तकमा यी सबै कुरा पाइन्छन् । यस पुस्तकको अप्ठेरोभित्र पनि मोहनी छ, कठिनाइभित्र बौद्धिकता छ, कल्पना छ अनि कला छ । त्यसैले मलाई यो पुस्तक निकै मन परेको छ । 

  • यहाँलाई मनपरेका नेपाली लेखक र पुस्तक ?

फ्याट्टै नाम भन्न त अलिक गाह्रै छ । नेपाली साहित्यमा मलाई मन पर्ने कैयौँ पुस्तक छन् । समको पढेँ, ती पनि मन परेका छन् । देवकोटालाई पढेँ, केही त हाम्रै पाठ्यक्रममा पनि थिए, तिनमा पनि रहस्यपूर्ण आफ्नो समयका चित्र छन् । शंकर लामिछानेलाई पढ्दा त्यत्तिकै रमाइलो लाग्छ । यी सबैबाट म प्रभावित भएको छु । डाइमन्ड शमशेरका प्रायः उपन्यास पढेँ । यीमाथि लेखेको पनि छु । 

लीलबहादुर क्षेत्रीको सबै किताब पढेको छु, ती पनि स्तरीय छन् । त्यसैले एउटै मात्र लेखकको नाम लिन म सक्दिनँ । बीपीको हिटलर र यहुदी पढ्दा म छक्क परेको थिएँ । यात्रा पनि छ त्यसमा, सँगसँगै दोस्रो विश्वयुद्धको भयावह चित्र पनि छ । लैनसिंह बाङ्देल, मोदनाथ प्रश्रितलाई पनि पढेको छु । त्यसैले पर्टिकुलर यही किताब भन्ने छैन । लेखकले आ–आफ्नो तरिका र शैलीले लेख्छन् । त्यही दृष्टिले हेर्दा मलाई सबै पुस्तक राम्रा लाग्छन्, मन छुन्छन् । 

  • तपाईंले कुनै पुस्तक चोर्नुभएको छ जिन्दगीमा ? 

त्यस्तो चोर्ने काम त मैले गरिनँ । त्यस्तो गर्नुपर्ने स्थिति पनि आएन । कतै गरेको रहेछु भने पनि सायद भुलिसकेको छु । विद्यार्थी कालमा अभावका दिनमा चोरेँ पनि कि ! कसैलाई नसोधी झिकेँ पनि कि ! तर अहिले ठ्याक्कै यही भनेर भन्न सक्दिनँ । अहिले मलाई यकिन सम्झना छैन । 

  • आफ्नो पुस्तक हराएका वा चोरी भएका घटना छन् कि ? 

लगभग तीन प्रतिशत पुस्तक त हराउँछन् । हराउने यस अर्थमा कि मानिसहरू आउँछन्, पढेर फिर्ता दिन्छु भनेर लैजान्छन् तर दिएका पुस्तक फिर्ता आउँदैनन् । केही पुस्तक हराएरै पनि जान्छन् ।

  • आफूले खोजेको तर नभेटेको वा मुस्किलले भेटेको कुनै पुस्तक छन् कि ?

त्यस्तो मलाई खासै सम्झना छैन । पढ्ने चिजको खाँचो पनि छैन । विदेशको यात्रा गर्दा किताब खोज्छु, पाइन्छन् । अनलाइनमा पाइन्छन्, कति किताब समीक्षाका लागि पनि आउँछन्, जसरी होस् किताब पाइएकै छन् । यो पाइएन भन्ने छैन र एउटै किताबको त्यति साह्रो तृष्णाले म हुरुक्क भएको पनि छैन । 

  • तपाईंको सोचलाई नै बदलेको कुनै पुस्तक छ ? 

एसएलसी दिएपछिको फुर्सदको समयमा डेल कार्नेगीको ‘हाउ टु स्टप ओरिइङ एन्ड स्टार्ट लिभिङ’ पढेको थिएँ । यो पुस्तक हिन्दीमा पनि छ । नेपालीमा आएको थाहा छैन । मैले अंग्रेजी पढेको हुँ । यो पुस्तक पढ्न मलाई गुरुले पढ्न सुझाव दिनुभएको थियो । यो किताबले मलाई अझैसम्म शक्ति दिइरहेको छ । मैले यो पुस्तक पढेकै लगभग साठी वर्ष हुन लाग्यो । अहिले पनि यो पुस्तकभित्रको एउटा उद्धरण म गरिरहन्छुः ‘एभ्री डे इज र न्यु लाइफ टु अ वाइज म्यान’ अर्थात् एउटा बुद्धिमान मान्छेका लागि प्रत्येक दिन एउटा नयाँ जिन्दगी हो । हिजो वा भोलिको चिन्ता छाडिदेउ, आज दिनभरि एक थोपो समय निरर्थक नहोस् । हुरुक्क भएर आफ्नो लक्ष्यमा काम गर । प्रत्येक दिन नयाँ घाम उदाएजस्तै हरेक दिन जीवन पनि नयाँ उदाउँछ ।

  • यहाँले आख्यान र गैरआख्यान दुवै विधामा उत्तिकै कलम चलाउनुहुन्छ ? कुन धारका पुस्तक धेरै पढ्नुहुन्छ ? 

बढी पढ्नुपर्ने आख्यान नै हो, गैरआख्यान अलिक हलुको चिज हो । हलुका नै पनि नभनौँ । म आफैँले पनि चिठीपत्र संग्रह, निबन्ध, यात्रा–नियात्रा लेखेको छु । भर्खरै पनि ‘नयाँ भुटानको छायाचित्र’ भन्ने नियात्रा बजारमा आएको छ । तर तुलनात्मक रूपमा गैरआख्यान लेख्न सजिलो हुन्छ । यिनीहरू त्यति धेरै ओजनका कुरा हो जस्तो लाग्दैन । हामीकहाँ यात्रा, नियात्रा, आख्यान समाज पनि छन्; चिठीपत्र त हराइसके । गैरआख्यानकै पनि विविध पाटा छन् । 

आख्यान सबैभन्दा गम्भीर कुरा हो । कुनै पनि लेखकको जीवन सफल भयो कि भएन भन्ने आख्यानमा भर पर्छ । आख्यान लेख्दा धेरै कुरा जुटाउनुपर्छ । पहिला ठाउँ वा परिवेश खोज्नुपर्‍यो । त्यसपछि पात्र सिर्जना गर्नुपर्‍यो र पात्रलाई राम्ररी चिनाउनुपर्‍यो । यसका लागि घटना अर्थात् कथा–कथानक चाहियो अनि अन्त्य चाहियो । यी चिजलाई सँगसँगै बुनेर लैजान निकै मुस्किल पर्छ । सिर्जनामा सबैभन्दा माथि रहेको कुरा महाकाव्य होइन, आख्यान हो । प्रायः विश्व साहित्यमा पनि आख्यानले नै पुरस्कार धेरै पाउने गरेको देखिन्छ । त्यसैले म आख्यान नै धेरै पढ्छु । अरुलाई पनि आख्यान पढ्न भन्छु । 

  • हालसालै तपाईंको उपन्यास ‘नयाँ मुगलान’ आएको छ । ‘मुगलान’ लेखेको ५० वर्ष तपाईंले यो उपन्यास लेख्नुभयो । यसबारे केही भनिदिनुहुन्थ्यो कि ! 

आफ्नो बयान गर्न त्यति ठिक हुन्न । यसबारे बजारमा चर्चा, समीक्षा आइरहेका छन् । मैले २०३१ सालमा मुगलान लेखेँ । यसमा नेपालीहरू बाहिर खासगरी आसाम, मणिपुर, बर्मा जान्थे । मानिसहरू निरक्षर थिए, पढ्न–लेख्न पाउने अवस्था थिएन । देशमा बाटोघाटो पनि थिएन । सुखले जिउने कुनै उपाय थिएन । पान्थरबाट घिउ बेच्न जान्थे । नुन बोक्ने, भारी बोक्ने, चिराइतो बोक्ने काम गर्थे । यसबाट आएको पैसाले उताबाट घरायसी सामान ल्याउने गरिन्थ्यो । यसरी गएकाहरू कैयौँ त आसाम पुग्थे । तीन–चार वर्ष बस्थे । गाई गोठमा काम गर्थे, हलीको काम गर्थे । केहीलाई झुक्याएर भुटान पुर्‍याइयो । उनीहरूलाई बाटो खन्न लगाइन्थ्यो । केही त त्यहीँ मरे, केही भागेर आए । 

‘मुगलान’मा सुतार भन्ने पात्र थिए, उनी पछि बौलाए । त्यही पात्र ५० वर्षपछि ‘नयाँ मुगलान’मा गाउँघरमा फर्किए । अब उनको छोरा छन् । छोराले बीए पास गरेर पनि देशमा जागिर पाएनन् । त्यसपछि ऊ ‘नयाँ मुगलान’ जान्छ । युक्रेनको लडाइँमा गएका ती पात्रको उतै मृत्यु हुन्छ । नेपालीहरू जता पनि सकिने हो । चाहे युक्रेन होस्, चाहे खाडी मुलुक ! अन्यत्र सम्पन्न मुलुकमा पनि उनीहरूले दुःखकष्ट गर्नुपरिरहेको छ । अहिले नयाँ–नयाँ मुगलानका ढोका खुलेका छन् । यसकै विवरण छन् ।

  • आजका पाठकलाई के सुझाव दिन चाहनुहुन्छ ? 

पाठकलाई मेरो एउटै मात्र सुझाव छ, त्यो हो पढ्नुपर्छ । पढेर मात्रै पनि काम लाग्दैन । गाईगोरुले घाँस खाएर गोब्राएर मात्र हुन्छ र ? घाँस मात्रै होइन खोले, पानी जे जे चाहिने हो सबै खाउन् तर त्यसको प्रयोजन होस् । गोरुले जोत्न सक्नुपर्‍यो, गाईले दुध दिनुपर्‍यो । पाठकले हुरुक्कै भएर पढ्नुपर्‍यो किताब । म त भन्छु, आफ्नो आयस्थाको १० प्रतिशत किताब किन्न खर्च गर्नु । हरेक घरमा एउटा सानो पुस्तकालय हुनुपर्छ । मैले त मेरा आफन्तलाई भनिदिएको छु, जसको घरमा पुस्तकालय छैन, म त्यो घरमा चिया पनि खान्नँ । पाठकहरूलाई पनि म घरमा पुस्तकालय बनाउन र पढ्न प्रेरित गर्छु । पुस्तकालय घरको शोभा हो, यो शक्ति र सभ्यताको प्रतीक पनि हो, अरु रमझम नगर्नु । पढ्नु, पढ्नु अनि बस् पढ्नु तर पढेर मात्रै हुँदैन, लेख्नु पनि । सुरुमा अरुको नक्कल गरेर भए पनि लेख्न खोज्नु । 

हामीले सिर्जना गर्नुपर्छ । अमर रहने चिज भनेको सिर्जना नै हो । सिर्जना कहिले पनि मर्दैन । सिर्जना गरिएन, रमाइलो मात्रै गर्ने हो भने जीवनसँगै यहाँको खेला पनि खत्तम हुन्छ । परिवार, आफन्त र साथीभाइले केही दिन वा केही हप्ता सम्झिएलान् । आफ्नो जीवनोत्तर पनि केही रहोस् भन्ने चाहनुहुन्छ भने कृति लेख्नुस् । अहिले पनि विलियम सेक्सपियर, भानुभक्तलाई हामी सम्झिरहेका छौँ । यो सबै उनीहरूको कृति वा सिर्जनाकै कारण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप