कमल कोइरालासँग सात दशकको अवधिमा पाँचवटा प्रत्यक्ष भेटको सम्झना

लोकतान्त्रिक तथा गणतान्त्रिक विकृतिका कारण ‘कम्युनिस्ट’ र ‘कमरेड’ शब्द बदनाम भएको आजको दुःखद, दुर्भाग्यपूर्ण अवधिमा पनि ती विशेषणलाई सार्थकता दिने स्वनामधन्य सज्जन व्यक्ति, इमानदार, निर्भीक, प्रतिबद्ध, सहृदयी, आफू मान नखोजी अरुलाई मान दिने विनम्रतायुक्त सद्पुरुष हुन् कमलप्रसाद कोइराला ।
कमलसँग मेरो पहिलो भेट २०११ सालको माघ ४ गते इन्द्रचोक डबलीनिर मकबुल शाहमार्फत भएको हो । यो त्यही ठाउँनिरको कुरा हो, जहाँबाट सहिदद्वय शुक्रराज शास्त्री एवं गङ्गालालले राणाकालीन समय (१९९५ साल) मा नागरिक अधिकारका लागि वीरोचित सम्बोधन गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्धित भएकाले उसको राजनीतिलाई सार्वजनिक रूपमा ल्याउन पार्टी नेता पुष्पलालको अग्रसरतामा गठन भएको जनाधिकार सुरक्षा समितिले यसबिच अनेक जनसंघर्ष चलाइसकेको थियो ।
यस्तै आन्दोलनका क्रममा इन्द्रचोक डबलीमा प्रतिबन्धित आमसभा गर्ने तय भएकै बेला काठमाडौँ पार्टी जिल्ला समितिका सचिव निर्मल लामा र हामीले कमल कोइराला तथा मदन रेग्मीलाई संघर्षमा ल्याउने ठहर गरी उनीहरूलाई के बोल्ने भन्ने ‘लाइन’ दियौँ, जसको जस मलाई कमलले अनेकपटक सार्वजनिक रूपमा दिइरहे । उनको आफ्नै कर्मद्वारा कम्युनिस्ट हुने निर्दिष्ट भएको दिनको जस अरूलाई दिने यी यस्ता सद्पुरुष हुन् ।
‘नेपालखबर डटकम’मा २०८१ असोज २० मा प्रकाशित ‘कमल–मदन मित्रता कथा’ शीर्षकको आलेखमा सीताराम बरालले यस घटनाको पूरा विवरण प्रामाणिक रूपमा र बडो रोचक तवरले दिएका छन् । जसको स्थान विशेषलाई मैले आफ्नो प्रत्युत्तरमा सच्चाएको छु । कमललाई आज समुचित तवरमा श्रद्धासुमन अर्पण गर्दा त्यो घटनाबाट प्रजातन्त्रवादीका नाममा स्वेच्छाचारी हुन गइरहेको त्यस बेलाको भारत वशीभूत नेपाली राजकीय सत्तालाई कम्युनिस्टहरूको एउटा जब्बर राजनीतिक प्रहार भएको उल्लेख हुनैपर्छ ।
नेपालमा राजनीतिक शासकीय एवं फौजी मामलामा भारतीय राजको निरन्तर हस्तक्षेपको विरोधमा आयोजित कम्युनिस्ट सभामा नेपालका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका छोराहरू समातिएर थानामा थुनिनु भारतीय सत्तासँग कम्युनिस्टहरूको राजनीतिक प्रतिरोध पनि थियो यो । त्यतिबेला काठमाडौँमा हिन्दुस्तान समाचार तथा पीटीआईका संवाददाता भएकाले र द स्टेट्सम्यान दैनिकको पनि विशेष प्रतिनिधि भएकाले यो खबरले भारतभरि निकै प्रचार पायो । त्यस दैनिकका प्रतिनिधि सक्सेना मेरा छिमेकी भएकाले उनले आफ्नो अखबारमा छापेको त्यो खबर मलाई देखाएको सम्झना छ । वास्तवमा यो खबर विश्वभरि नै फैलिएको रहेछ ।
गौरवशाली अविभाजित कम्युनिस्ट आन्दोलन ‘सिद्धान्त’ र ‘विचारधारा’को नाममा टुक्रिएर भताभुङ्ग भयो । यस्तो विकराल परिस्थितिमा पनि ‘एकला चलो, एकला चलो’ वा ‘चरैवेति, चरैवेति’को मार्गमा अग्रसर हुने भएका बिरलाकोटी कम्युनिस्टहरूमा एक उज्याला, निष्ठावान परिव्राजक हुन् कमल कोइराला ।
यो घटनालाई मातृका सरकारले कम्युनिस्ट अध्यक्ष भएको काठमाडौँ नगरपालिकालाई अनेक निहुँ पारेर भंग गरेको बदला स्वरूप भएको रूपमा पनि लिन सकिन्छ ।
कम्युनिस्ट राजनीति त बढ्दै गयो, कतिपटक कतिपटक, त्यो राजनीतिलाई चलाउने भन्नेहरू सत्तामा पनि आए तर नेपाली जनताको मङ्गल कल्याणमा तथा विदेशी शक्ति केन्द्रबाट नेपालको स्वाधीनता र सार्वभौमसत्तामाथिको आघात तथा हमलाविरुद्ध लक्षित पुष्पलालको ध्येय र अवधारणाले नेपाली माटोमा मलजल पाउने र फल फल्ने फुल्ने कहिले हो, त्यो इतिहासको अहिले पनि विकट प्रश्न छ । यसपछि वागमती एवं कोशीबाट धेरै पानी बगिसकेका थिए । गौरवशाली अविभाजित कम्युनिस्ट आन्दोलन ‘सिद्धान्त’ र ‘विचारधारा’को नाममा टुक्रिएर भताभुङ्ग भयो । यस्तो विकराल परिस्थितिमा पनि ‘एकला चलो, एकला चलो’ वा ‘चरैवेति, चरैवेति’को मार्गमा अग्रसर हुने भएका बिरलाकोटी कम्युनिस्टहरूमा एक उज्याला, निष्ठावान परिव्राजक हुन् कमलभाइ ।
दोस्रो भेट । त्यही घटनापूर्ण सालको एक दिन मैले मेरी आमालाई घरमा भात खान कमलभाइलाई बोलाउने कुरा उठाएँ । पुष्पलाल र अरु अनेक कमरेडहरूले भात खाएका हुन्, मकबुल र भूपीले खाजा खाएका हुन् ।
कमल आए । बुवा–आमालाई चिनाएँ । मेरी पत्नी उर्मिलासँग अघि नै नमस्कार आदान–प्रदान भइसकेको थियो । आमाले भान्सामा हामी दुवैलाई सँगै बसालेर कमललाई चाँदीको खण्डेथालमा, चाँदीको गिलासमा पानी भरेर आफैँ पस्केर ख्वाउनुभयो । कलिलो कमलले लाज मानीमानी खाएको र घुम्टो हालेकी उर्मिला यो देखेर मुसुमुसु हाँसेको सम्झिन्छु म । कमलले यो भेट र खानाबारे कसलाई बताए, मलाई थाहा छैन । तर आफ्नो ममतामयी आमालाई त उनले अवश्य बताए भन्ठान्छु ।
त्यसपछिको तेस्रो भेटमा त नेपालको राजनीतिक नदीनालामा कति पानी बगिसकेका थिए, कति ! कम्युनिस्ट दलीय राजनीति छाडेर स्वतन्त्र बस्दा पनि पुराना धेरै ‘कामरेडहरू मलाई ‘रायमाझीवादी’ भनेर तर्किएर हिँड्दा २०४६ तिर कमल कुनै काममा यतातिर आउँदा मकहाँ पसे । बडो खुसी भई कुराकानी (खानपान गर्यौँ । एकछिन कौशीमा उभिई कुरा गर्दा कमलले मेरो घरजग्गा देखेर त्यसको वाणिज्यीय मूल्य औँल्याएको सम्झिन्छु । आज त न कमलले भात खाएको बुवाको घर, न मेरो त्यो घर नै अस्तित्वमा छन्, दुवै धराशायी भए र म एवं उर्मिला त्यसै परिसरको एकान्त कुनामा श्वान्तसुखाय जीवन बताइरहेका छौँ ।
चोथौ भेट ! त्यसताकाको ‘सगरमाथा’ टीभी ख्यातिका जीवराम भण्डारीले डिल्लीबजार गुर्जुघरको ‘भान्साघर’मा कुनै सार्वजनिक विषयमा सामूहिक विचार विमर्श कार्यक्रममा कमलभाइसँगै एक–दुई घण्टासँगै थिएँ म । अस्वस्थ थिएँ, भण्डारीको निम्ता हार्न नसकेर गएको थिएँ । कमलभाइ पनि अलि खोच्याउँदै आएको देख्दा नरमाइलो लाग्यो । आखिर हामी बुढा भइसकेका थियौँ ।
पाचौँ र अन्तिम भेट गोविन्दप्रसाद लोहनीसम्बन्धी पुुस्तक लोकार्पणका दिन । गोविन्दजीका कान्छा छोरा कपिल लोहनीको हार्दिक निम्तामा प्रज्ञा प्रतिष्ठान डबलीमा भएको थियो । सभा मञ्चमा कृष्णप्रसाद भण्डारी, भैरव रिसाल तथा पुष्कर लोहनीसहित हामी दुई–दुई घण्टा जति सँगै थियौँ । सबले गोविन्द प्र. लोहनीलाई सम्झँदै भाषण गर्यौँ ।
कमलभाइ र म नेट सम्पर्कमा रहन छुटेनौँ । हामी आ–आफ्ना पोस्टहरूमा ‘लाइक’ साथै केही टिप्पणी पनि गर्दथ्यौँ, बढीचाहिँ म नै गर्दथेँ । कमलभाइमा जोसिला, रसिला, चोटिला तथा सकारात्मक तवरले पारिवारिक राजनीतिक चित्रहरूमा समुचित टिप्पणी गर्दा मप्रति प्रशन्न रहन्थे । मदन रेग्मीको आश्चर्यजनक प्रशन्नता त सीतारामको उपरोक्त कथामा व्यक्त नै छ ।
एक दिन एक्कासि भाइ तीर्थ कोइरालाको पोस्टबाट खङ्ग्रङ्गै भएँ, कमल लडेर पक्षघात भएको खबरबाट । मन भरङ्गै भयो । दुई दिनपछि ऋचा छोरीसँग मेसेन्जर सम्पर्कमा आफ्नो पीडा जनाएँ । भोलिपल्ट उनको आशाजनक सन्देशबाट मन रमायो तर त्यो क्षणिक साबित भयो । भाइ एकराज पाण्डेको पोस्टको खबरबाट मर्माहत नै भएँ । यस अपार शोकपूर्ण खबर उर्मिलालाई सुनाउँदै उनी पनि साह्रै व्यथित भइन् । दिनभर बेसुरजस्तै भएँ, परिणाम स्वरूप नेपालको इतिहासको एउटा सङ्क्रमण कालखण्डको पुस्तकमा आफ्नो विचार पोखेको लेख नै ट्याबलेटबाट हराउन पुगेँ । कमलभाइप्रति आफ्ना श्रद्धासुमन र त्यस पुस्तकमा टिप्पणी आफ्नो अनिवार्य दायित्व थियो । बल्लबल्ल तीन लगाएर सो दायित्व निर्वाह गर्न त सकेँ तर शारीरिक बल सामथ्र्यले अब विशेष केही भ्याइएला जस्तो लाग्दैन । यता देशीय एवं क्षेत्रीय तथा विश्व परिस्थिति झनै बिग्रँदो छन् । हाम्राका दशाहीन त छँदै छन्, अरू अराजक हुँदै छन् ।
छोरी ऋचालाई छोटो शोक सन्देश पठाएँ, जसको फोटोचित्र प्रस्तुत गरेको छु । यस्तो शोक सन्तप्त वातावरणमा म कमलका आजीवन प्यारो साथीभाइ मदन रेग्मीलाई यस गहन पीडा एवं शोक सहन गर्न सक्ने धैर्य एवं शक्तिको कामना नगरिरहन सक्दिनँ ।
अलबिदा कमलभाइ, अनन्तताको तिम्रो यात्रा निर्विघ्न रहोस्, तिम्रो पुण्यात्मालाई सदा शान्ति प्राप्त होस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माग पूरा नहुँदासम्म आन्दोलन नछोड्न शिक्षकलाई प्रचण्डको आह्वान
-
राम मन्दिरमा तीन लाख भक्तजनले गरे पूजाअर्चना
-
दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु
-
छैटौं दिनमा सकियो नेकपा एस मोरङको अधिबेशन, अध्यक्षमा दोहोरिए चन्द्रवीर
-
प्रधानन्यायाधीश राउत भारत प्रस्थान
-
आन्दोलनरत शिक्षकका मागप्रति एकीकृत समाजवादीले जनायो ऐक्यबद्धता