बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय
विचार

पाँच ठाउँका माटो र म : गाउँको माटो मैले बेलायतमा किन ल्याएँ ?

शनिबार, २३ चैत २०८१, १४ : ३०
शनिबार, २३ चैत २०८१

माटो देख्दा साधारण लाग्छ तर यसले अन्तर्यमा विराटगाथा बोकेको छ, जो सम्पूर्ण चराचर र मानव जातिलाई प्राप्त प्रकृतिप्रदत्त बहुमूल्य उपहार हो । यसैको गरिमा र महत्ताकै कारण यस निधिमाथि आफ्नो हक–अधिकार स्थापित गर्न एकातिर राष्ट्र, समुदाय तथा व्यक्तिविशेष संघर्ष गरिरहेका भेटिन्छन्; अर्कातिर मानिसहरु यसैको हेरचाह तथा ममताविमुख भएका उदाहरण पनि छन् । विडम्बना भन्नुपर्ने हो कि के हो ! म अझै निष्कर्षमा पुगिसकेको छैन कि पछिल्ला वर्षमा यही बहुमूल्य सम्पदालाई हेर्ने नजर र व्यवहार गर्ने शैलीले कता–कता द्विगभ्रमित भएको या बनेको अनुभूति मैले गरेको छु । 

पछिल्लो समय विश्वमै माटोको अवमूल्यन भइरहेको देखिन्छ । नेपालका गाउँ तथा पहाडी भेगमा माटोको स्याहार हुन सकेको छैन । अतः माटो संरक्षण र सदुपयोग गर्न मानव जाति कहीँकतै चुकिराखेको छ कि भन्ने मलाई लाग्न थालेको छ । 

हरेक व्यक्ति जीवनका विविध कालखण्डमा माटोसँग जोडिएको हुन्छ नै, जसका कथा–व्यथा फरक–फरक होउन् । 

२०८१ कात्तिक २ गते अनलाइन खबरमा टंक ढकालको एउटा आलेख छापिएको छ, ‘माटोको स्वास्थ्य परीक्षण : सरकार वास्ता गर्दैन, किसानको पहुँचमा छैन’ शीर्षकको । 

यस आलेखलाई मैले रुचिपूर्वक पढेँ । यस सामग्रीमा पस्किएका विषयवस्तु मेरो मनमा उब्जिएका कतिपय प्रसंगसँग मेल खाने थिए । २०२४ नोभेम्बरमा म नेपाल जाँदै थिएँ । ढकालको त्यो आलेख पढ्नुअघि नै मैले योजना बनाएको थिएँ— पाँच विभिन्न ठाउँका माटो सङ्कलन गरेर ल्याउने र ती माटोले मलाई के दियो या मैले के लिन या दिन सकेँ भनी चिन्तन गर्ने । त्यसै मुताबिक ती ठाउँका माटो साना–साना प्लास्टिकका थैलीमा सङ्कलन गरिल्याएको थिएँ । ती माटोलाई जतन गरिराखेको छु । 

संसारमा सबैतिर माटो एकै प्रकारको पाइँदैन । माटोका फरक–फरक प्रकार वा गुण हुन्छन् । हामीकहाँ माटोको परीक्षण खासै हुन सकेको छैन । माटोको गुण अनुसारको खेती हुन त परै जावस्, जमिन बाँझिने क्रम बढेको छ । नेपालका सञ्चारमाध्यममा हेर्दा माटोबारे चासो र चिन्तन पनि बढेका छन् । 

माटो विशेषज्ञका अनुसार, माटोको उर्वराशक्ति ह्रास हुँदै गयो भने त्यसलाई केही समय आराम गर्न दिनुपर्छ । यसो गर्दा माटोको उर्वराशक्ति पुनः आर्जन गर्न सकिन्छ । यस्तो भएका मसँग दुईवटा उदाहरण पनि छन् । 

हाम्रो एउटा पाखोबारी केही समयदेखि बाँझिएको थियो । हामी (म र मेरा दाजु कृष्ण भट्ट, हाल दिवंगत)ले  नजिकैको मोदी खोलाबाट पाइपमा पानी ल्याएर त्यहाँ खेती गर्न सुरु गरेका थियौँ । त्यो अनुत्पादक भूमिले सोचेको भन्दा बढी उत्पादन दिएको थियो । तर अहिले श्रम शक्तिको अभावमा त्यो भूमि बाँझिएको छ । 

यस्तै, सन् २०१९ मा बेलायतमा हामी (म र मेरी अर्धांगिनी)ले एउटा घर किन्यौँ । त्यस घरको करेसाबारीले पछिल्ला निकै वर्ष स्याहार पाएको रहेनछ । हामीले झारपात उखल्नेदेखि सम्याउने गर्‍यौँ । पहिलो दुई वर्ष त्यहाँ यति अपत्यारिलो किसिमबाट सागसब्जी, गोलभेँडा लगायत तरकारी उत्पादन भए । गोलभेँडा छिमेकीलाई दिइयो, फ्रिजमा राखेर महिनौँ खाइयो । करिब दुई वर्षपछि बिस्तारै उत्पादनमा ह्रास हुँदै गयो । पछिल्ला वर्ष त विभिन्न खाले मल पनि प्रयोग गरियो तर त्यो बेलाको जस्तो उत्पादन भएको छैन । 

नेपालमा केही वर्ष बाँझिएका थुप्रै खेतबारी छन् । तिनमा बाली लगाउँदा सुरुका केही वर्ष प्रशस्त उत्पादन हुने सम्भावना छ । 

२०२८/२९ सालतिर जस्तो लाग्छ, त्यसताका सहकारी डिपो कि यस्तै के नाम भएको संस्थाबाट किसानलाई रासायनिक मल बिक्री–वितरण गरिन्थ्यो । किसानलाई सो मलको प्रयोग गर्न प्रोत्साहित गर्न डिपोले ऋण पनि दिने गर्थ्यो । अधिकांश किसानले ऋणस्वरूप नै लिएर प्रयोग गरे । त्यसताका म भर्खरै दुल्लभ माध्यमिक विद्यालयमा अध्यापन गर्न सुरु गरेको थिएँ । केही समयपछि तत्कालीन जेटीए (कृषि सहायक)लाई तत्कालीन दुई–तीनवटा गाउँ पञ्चायतको जिम्मा दिइन्थ्यो । मेरो गाउँका ऋण सहायक ऋण उठाउन भनी आए । रासायनिक मलको मात्रा मिलेन या माटोको आवश्यकता अनुसार भएन, त्यो गाउँ वरपरका सबै किसानको उब्जनी साबिकको भन्दा कम भयो । मेरो एकजना काका टिकाप्रसाद भट्ट (हाल दिवङ्गत) अलि खरो र प्रस्ट स्वभावको हुनुहुन्थ्यो । उहाँले जेटीएलाई भन्नुभयो— हामी किसानसँग ऋण उठाउने होइन, बरु हामीलाई हर्जना दिनुपर्‍यो । उहाँको तर्क थियो— त्यो मल प्रयोग गरेपछि त झन् हाम्रो छरेको बिउ बराबर पनि उत्पादन भएन । 

बिचरा जेटीए नतमस्तक भए । त्यो खालको स्थिति सिर्जना भए के जवाफ दिने भनी उनलाई प्रशिक्षित गराइएको थिएन होला । त्यतिबेला त्यहाँका किसानको नोक्सान भयो । यो एउटा नीतिगत कमजोरीले निम्त्याएको समस्या थियो, जुन सायद आजतक पनि कृषि लगायत क्षेत्रमा भेट्न सकिन्छ । 

माटो संकलन 

म माटो विशेषज्ञ होइन । यहाँ मैले माटोको वैज्ञानिक पक्षको चर्चा गर्दै छैन, सामान्य किसानको छोरो भएकाले माटोसँग जोडिएका मेरा केही अनुभूति र स्मृति यहाँ पस्कँदै छु । माटोसँग हरेक व्यक्तिको पारिवारिक, सामाजिक, आर्थिक, मनोवैज्ञानिक, संवेगात्मक आदि आयाम जोडिएको हुन्छ नै । त्यसैले मैले मेरो गाउँ–ठाउँको माटो संकलन गर्ने निधो गरेको थिएँ । 

२०८१ कात्तिक १६ देखि मंसिर १० सम्म करिब तिन साताका लागि म बेलायतबाट नेपाल गएको थिएँ । यसपटकको भ्रमण खास गरी चारवटा विषयमा केन्द्रित थियो— १) ब्रिटिस एकेडेमीको सहयोगमा नेपालमा ‘अन्तर्राष्ट्रिय प्राज्ञिक लेखन कार्यशाला’मा एक सहजकर्ताको भूमिकामा सहयोग गर्नु । २) दिदीबहिनीको हातको टीका र आशीर्वाद ग्रहण गर्नु । ३) नब्बेको दशक कटिसक्नुभएका पाँच भाइ बुबा र ६ वटी आमामध्ये बाँकी रहनुभएका कान्छोबुवा र माइलीआमा अनि मेरी पहिली अर्धांगिनीपट्टि कि सासुआमा लगायत अन्य परिवारजन र साथीभाइसँगको भेटघाट । ४) आफू जन्मेको थलो, खाइहुर्केको जमिन, शैक्षिक यात्राको आरम्भको थलो, शिक्षण पेसाको आरम्भको थलो र आफूमाथि सांघातिक हमला भएको ठाउँ गरी पाँच ठाउँका एक–एक चिम्टी माटो संकलन गरी बेलायत ल्याउनु । 

यहाँ यी पाँचै स्थानका माटो र तीसँगको मेरो सम्बन्ध क्रमशः प्रस्तुत गरेको छु ।     

माटो १ : मेरो जन्मथलोको प्रतीक 

हालको भिमसेन थापा गाउँपालिका वडा– २ आँपचौरस्थित तत्कालीन दुईतले र २०७१ को भूकम्पले आधा क्षति पुर्‍याई बाँकी आधा स्मृतिका लागि छाडेको घरमा मेरो जन्म भएको थियो । म मात्र नभई म माथिका मेरा काकाहरू, दाजु, दिदीहरू र ममुनिका भाइबहिनी, छोराछोरी, भतिजा, भतिजी सबैको जन्मथलो पनि त्यही घर थियो । मेरो जन्म भएको त्यही घरभित्रको कुनाको एक चिम्टी माटो संकलन गरिल्याएँ, जसलाई माटो नम्बर १ नामकरण गरेँ । 

घरको मूल ढोकाबाट पस्नेबित्तिकै बायाँपट्टि पानीका गाग्री राख्ने टाँण, त्यसको मुनि वस्तुभाउलाई दिने कुँडाका ताउला र आडमा अँगेनो थियो, जुन पछिल्लो समय स्थानान्तरण साथै परिमार्जित भए । दाहिनेपट्टि एउटा करिब दुई हात एक गज अग्लो आँट थियो । सायद त्यो आँट भान्छाको गोपनीयता र न्यानोका लागि राखिएको थियो । किनकि ढोकाबाट सिधा बाहिर खाट थियो, जहाँ जो–कोही पनि आगन्तुक बस्ने गर्नुहुन्थ्यो । भित्रका सबै कुरा देख्न सक्नुहुन्थ्यो, यद्यपि त्यसले फरक त केही पर्दैनथ्यो । साथै हाम्रो घरको सामुन्ने गणेश हिमाल भएकाले त्यहाँबाट बहने चिसो हावाले भित्र चिसो नहोस् भनी हजुरबुबाले सुझबुझका साथ त्यो आँट बनाउनुभएको पनि हुन सक्छ । यद्यपि त्यो आँट पछि म र मेरो दाजुको सल्लाहमै भत्काई समतल गरियो । त्यही आँटको सामुन्ने भान्छा या चुलो थियो र दाहिनेतर्फ दुईवटा बिछ्यौना पुग्ने लम्बाकारका पिँढी थिए, जो अहिले पनि रहेछन् तर सम्हारविहीन । त्यही कुनापट्टिको अँधेरो स्थानमा २००९ चैत्र ४ गते मेरो जन्म भएको हुनुपर्छ । 

माटोले बिउ ग्रहण गरिसकेपछि उमार्न र हुर्कन मद्दत गरेजस्तै मलाई पनि जन्माउन र हुर्कन योगदान गरेको मूल कारणले नै हो, मैले त्यही घरको कुनाको माटोसँगै लिएर आएको । 

माटो २ : लालन–पोषणको प्रतीक 

आफू जन्मे–हुर्केको घरको पश्चिमपट्टिका दुईवटा गराले मेरो बाल्यावस्थाको ध्यान झट्ट खिचेँ । जहाँ दुध दिने गाई–भैँसीका गोठ र परालको टौवा थिए । हिउँदको बेला हामीलाई खेल्ने ठाउँ र बाँकी महिना खाने मकै तथा सागसब्जी समेत उत्पादन गरिदिन्थे । यिनका अलाबा पाखा बारीमा सुन्दरी, कोटापानी (खासमा कोटको पानी हुनुपर्छ किनकि बारीको सिधा माथि वर्षाको बेलामा पानीको मूल र त्योभन्दा माथि डाँडाको टुप्पामा सिद्धकाली माइको मन्दिर छ, जसलाई कोट पनि भनिन्छ), दयारामे (यो पनि कुनै बेला हाम्रो स्वामित्वमा आउनुअघि दयाराम नाम गरेका कुनै व्यक्तिको हुनुपर्छ), ओख्ले खेत (जहाँ खेत तथा पाखो समेत थियो) र कयापानी गाउँको नजिक र लगभग घर भएको सतहकै उचाइमा थिए । 

गाउँदेखि तल बेँसीतिर मोदी खोलाको आसपासमा क्रमैसँग सम्म खेत, कामिरौटो (खेत), काफ्ले (खेत तथा पाखो), ठाडो स्वाँरा (पाखो), डिही (पाखो), क्यामुने (पाखो तथा बनेली) र अम्बोटे (खेत, पाखो तथा बनेली) थिए । यी सबै जग्गा जमिनमा धान, मकै, कोदो, गहुँ, फापर, तोरी, उखु, काच्चापात (तमाखु), आलु, पिँडालु, सागसब्जी, केरा, भुइँ कटहर, खरबुजा आदि खाद्यान्न, फलफूल तथा नगदे बालीको उत्पादन गरिन्थ्यो । साथै बनबनेली वस्तुभाउलाई घाँस तथा चरनको रूपमा प्रयोग गरिन्थ्यो । 

उपरोक्त जग्गा–जमिनको उत्पादनबाटै मेरा पाँच भाइ बुबाहरू र उहाँहरूका अधिकांश सन्तान पालिनुुभएको थियो । विडम्बना, यी सबै खेत प्रायः सबै बाँझै र उत्पादनविहीन छन् । 

माटो ३ : मेरो शैक्षिक यात्राको प्रतीक 

दौड जति लामो दूरीको भए पनि आरम्भ बिन्दु भनेको आरम्भ बिन्दु नै हो । सगरमाथाको चुचुरो चुम्न पुगे पनि सुरुआती कदमको अवश्य महत्त्व हुन्छ, किनकि त्यो बिन्दुबाट आरोहण यात्रा आरम्भ नभएको भए शिखरमा निश्चय नै पुगिने थिएन । मैले पीएचडी बेलायतस्थित एंग्लिया रस्किन विश्वविद्यालय गरे पनि मेरो अध्ययन यात्राको पहिलो पाइला आफ्नै गाउँको श्री सिद्धकाली माध्यमिक (तत्कालीन प्राथमिक) विद्यालयबाट भएको हो । त्यसैले मैले त्यही स्कुलको माटो उठाएँ र माटो नम्बर ३ नाम दिएँ ।

प्राथमिकदेखि उच्च तहसम्मको शिक्षा लिँदा तत्तत् स्थानका माटोसँग मेरो शारीरिक, मानसिक र भावनात्मक सम्बन्ध जोडिएको छ नै । मेरो शैक्षिक यात्राको आरम्भदेखि देश–विदेशका विद्यालयदेखि महाविद्यालयसम्मका सम्पूर्ण शैक्षिक संस्था सबैको विम्बको रूपमा मैले यस माटोलाई लिएको छु ।

माटो ४ : मेरो शिक्षण यात्राको प्रतीक

यस खण्डमा लिइएको माटोसँग मेरो शिक्षण पेसाको यात्रा जोडिएको छ । अघिल्ला प्रकारका माटोमा जसरी बालीनाली, मेरो जन्मस्थान र आहारको तादात्म्यता थियो, त्यसै गरी माटो नम्बर ४ मा मैले पाँच दशकअघि अङ्गीकार गरी हालसम्म संलग्न हुँदै आएको शिक्षण पेसासँग जोडिएको छ ।

मैले झन्डै ५५ वर्ष अल्प र दीर्घकालीन गरी नेपालमा सात र बेलायतमा २५ वटा विद्यालय वा महाविद्यालयमा अध्यापन गर्ने अवसर पाएँ । मेरो शिक्षण पेसाको सुरुवात भने गाउँकै दुल्लभ माध्यमिक विद्यालयबाट भएको थियो । हुन त यसअघि नै मैले स्वयंसेवक शिक्षक भएर दुई वर्ष पढाएको थिएँ, श्री सिद्धकाली माध्यमिक विद्यालय, ताराखासे गोरखा (२०२५)मा । यद्यपि मेरो व्यावसायिक अध्यापन सुरु भएको शिक्षणा संस्था दुल्लभ नै हो, त्यसैले त्यस स्कुल रहेको स्थानको माटो मेरा लागि विशेष छ, यससँग मेरो धेरै भावना र संवेदना गाँसिएका छन् । यहीँको माटो उठाएर ल्याएँ । 

अर्थशास्त्रीय सिद्धान्त अनुसार उत्पादनका आधारभूत साधन भनेका जमिन, श्रम, पुँजी र उद्यमशीलता हुन् । मैले माटोलाई जमिन र शिक्षकलाई श्रमिक साथै उद्यमशील पात्रका रूपमा लिने गरेको छु । मेरो विश्वास र मान्यता पनि यही हो । खेतबारीमा बीजारोपण गर्ने, बालीको स्याहार–सुसार गर्ने आदि काममा संलग्न श्रमिकलाई किसान भनिन्छ । त्यस्तै, शिक्षकले पनि विद्यार्थीमा ज्ञानको बिउ रोप्ने, उनीहरूको रेखदेख, स्याहार–सुसार, प्रगतिमा सहयोग पुर्‍याउने आदि जिम्मेवारी बोकेको हुँदा उनीहरूलाई शिक्षक मात्र नभई शिक्षाकर्मी पनि भनिन्छ । मैले यसै अनुसार लिने गरेको छु । किसानको कार्यथलो खेतबारी भएजस्तै शिक्षकको कार्यथलो विद्यालय हो । खेतबारी तथा विद्यालय दुवै आखिर माटोसँग नै जोडिएका हुन्छन् । दुल्लभको माटोलाई मैले अध्यापन गरेका र गरिरहेका विद्यालय र महाविद्यालयहरूको त्यही विम्बका रूपमा लिएको छु । मैले अध्यापन गरेका संस्था सबैको नाम लिन चाहन्छु — 

१) श्री सिद्धकाली माध्यमिक विद्यालय, ताराखासे, गोरखामा स्वयंसेवक शिक्षक (२०२५ सालमा) । 

२) श्री दुल्लभ माध्यमिक विद्यालय, घ्याम्पेसाल, गोरखा (२०२७ देखि २०५१ सम्म शिक्षक तथा प्रधानाध्यापक) । 

३) श्री निर्मल माध्यमिक विद्यालय, दमौली, तनहुँ (२०३३ मा अभ्यास शिक्षक) । 

४) श्री इन साइट भिजन माध्यमिक विद्यालय, काठमाडौ (२०५० सालमा संस्थापक प्राचार्य) ।

५) श्री सिद्धार्थ वनस्थली इन्स्टिट्युट, वनस्थली, काठमाडौँ (२०५४ मा इन्चार्ज तथा लेक्चरर)

६) संस्थापक तथा प्राचार्य श्री रेडन कलेज, सामाखुसी, काठमाण्डौ, नेपाल ृ२०५६े 

७) विभिन्न १३ वटा विद्यालयहरू, बेलायतको लण्डन वरिपरि (२०६२/६३ मा सप्लाई टिचर) ।  

८) विलियम्स कलेज, लन्डन (२०६३ मा लेक्चरर, अहिले बन्द) ।

९) साउथ वेस्ट कलेज, लण्डन (२०६३ मा लेक्चरर) । 

१०) लन्डन स्कुल अफ बिजनेस एन्ड फाइनान्स एलएसबी एफ बेलायत  (२०६९ मा लेक्चरर, अहिले बन्द ।) 

११) एपेक्स कलेज, लन्डन (२०६९ मा लेक्चरर, अहिले बन्द) । 

१२) क्यानटरबेरी कलेज, क्यानटरबेरी बेलायत  (२०६९ मा लेक्चरर) । 

११) ग्रिनविच स्कुल अफ म्यानेजमेन्ट जीएसएम, बेलायत (०६९ मा लेक्चरर, अहिले बन्द) । 

११) कवेन्ट्री युनिभर्सिटी ग्रुप, लन्डन (२०७५ देखि हालसम्म लेक्चरर) । 

माटो ५ : ममाथि साङ्घातिक हमला भएको थलोको प्रतीक

सबैतिरको माटो एकै गुण स्वभाव र उत्तिकै उर्वरामय हुन्छन् भन्ने छैन । २०४८ सालको प्रजातन्त्र पुनस्र्थापना पछिको पहिलो आम निर्वाचनको पूर्वसन्ध्यामा ममाथि अप्रत्याशित रूपमा सांघातिक हमला मेरै गाउँ र मैले स्थापनाकालदेखि काम गर्दै आएको विद्यालय नजिकै भएको थियो । यो हमलालाई मैले विभिन्न कोणबाट हेरेँ र हेरिरहेको छु । म प्रजातन्त्रवादी हुँ । विचारमा बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद भट्टराई तथा गान्धीको अनुयायी । शिक्षा र पेसागत मामिलामा थमस वर्गिस, एलेनोर एल्किन, भीमप्रसाद कट्टेल, गोपालदत्त देवकोटा, केशव खनाल आदि सैयौँ गुरु तथा गुरुआमाहरूबाट दीक्षित । इमानदारिता, संस्कार र सहिष्णुतामा मेरा पिता चुडामणि भट्ट र ममतामयी आमा धनकुमारी भट्ट साथै दाज्यु कृष्णप्रसाद भट्टबाट प्रभावित । आफूलाई हमला हुनुको कारण म खोजिरहेको छु, तर चित्तबुझ्दो जवाफ पाउन सकिरहेको छैन । हमला भएको १०–१५ मिनेटभित्रै हजारौँको संख्यामा आसपासका गाउँबाट मानिसहरू आउनुभयो । उहाँहरू सबै अत्यन्तै आक्रोशित हुनुहुन्थ्यो । उहाँहरूले मलाई आक्रमण गर्ने को हो भनी सोध्नुभयो । को को त्यस हमलामा संलग्न थिए भन्ने मलाई थाहा छ । तर त्यस बेला मैले उनीहरुको नाम लिइनँ । मैले व्यक्ति चिनाएको भए आक्रोशित गाउँलेले जे पनि गर्न सक्थे । 

द्विविधामा पर्‍यौ भने देशको एक चिम्टी माटो लिएर सोध, त्यसले जे भन्छ त्यही गर भन्ने महामानव बीपी कोइरालाको भनाइ सम्झेँ र त्यही माटोसँग सोधेँ । त्यसैले मैले आक्रोशित भीड समक्ष हात जोडेर भनेँ, ‘मलाई आक्रमण गर्ने को को हुन् भन्ने सबैको अनुहार म सम्झन्छु । तर उनीहरूको नाम म सम्झन सक्दिनँ  ।’

ती आक्रमणकारी टाढाका थिएनन् । आफूलाई पीडा भएको बताएर मैले त्यस दिन आराम गरेँ, गाउँलेहरुसँगै उनीहरुलाई खोज्न निस्किनँ । मलाई लाग्छ, एक शिक्षकको नाताले मैले पूर्वीय दर्शन अनुसार गुरु देवो भवः, मातृ देवो भवः, पितृ देवो भवः, अतिथि देवो भवः भनी सिकाउन सकिनँ कि ! त्यसैले अल्पज्ञानीहरूले ममाथि आक्रमण गरे । 

त्यही घटनामाथि चिन्तन गर्न मैले जहाँ घटना भएको थियो, त्यहीँको माटो उठाएर ल्याएँ र माटो नम्बर ५ नामकरण गरेँ । 

अन्त्यमा, मानिस लगायत समस्त जीवहरूको जन्मदाता, अन्नदाता,आश्रयदाता, प्राणदाता, शिक्षादाता, चेतनादाता हो माटो । माटो हाम्रो साथी हो, माटो पनि हामीजस्तै जीवित छ । माटोले मानिसलाई बाँच्न मद्दत गर्छ । त्यसैले माटोको हेरचाह गर्नुपर्छ । यसको स्वास्थ्यलाई जोगाउनुपर्छ । माटोले हाम्रो विगत, वर्तमान र भविष्यको कथा बोकेको हुन्छ । हामीले यसलाई सम्झन सक्यौँ भने एक दिन यसले पनि हामीलाई सम्झनेछ । त्यसैले माटोको संरक्षण र स्वास्थ्यका लागि हाम्रो गहन भूमिका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. चण्डिका भट्ट
डा. चण्डिका भट्ट
लेखकबाट थप