कवितासङ्ग्रह ‘रगतको तर्पण’माथिको छोटो तर्कना

राजधानीमा एउटा जबर्जस्त हल्ला छ, ‘रोल्पा एउटा पीडा हो, चित्कार हो, बर्बराहट हो र चिच्याहट हो ।’ उनीहरूको एउटा मात्र अपेक्षा छ कि लेख्नेहरूले त्यही चिच्याहट मात्र लेखुन् । हल्ला मात्र लेखुन् र त्यही हल्ला र चिच्याहटको सिरानी लगाएर मस्त निदाउन सकोस् राजधानी ।
निश्चय पनि रोल्पासँग आफैँ आगोमा हिँडेको पाइतला छ । आफ्नै रगतको नदी तर्दै गरेको विगत छ । आफ्नै आँसुको तालमा पौडेर बाँचेको इतिहास छ । आफ्नै लासको ओछ्यानमा सुतेको लामो रात छ ।
आफ्नै पाइतलाको डोबमा विचारको पहाड लेखिएन भने, रगतको नदीमा नयाँ युगको छाल लेख्न सकिएन भने, आँसुका तालहरूमा सुन्दर देशको अनुहार लेखिएन भने, रातको अग्ला लासका थुप्रा माथि बिहानका घामको धर्साहरू लेखिएन भने निश्चय पनि उनीहरूको अपेक्षा पूरा हुनेछ । हामीलाई स्थापित हुनु छ, चिच्याहट पानीको फोका हो, हामी चिच्याहट होइनौँ, बर्बराहट निदको चेतनाहीन सपना हो, हामी चेतनाहीन सपना होइनौँ । हामी विचारको फराकिलो आकाश हौँ । हाम्रै साँगुरो झ्यालबाट त हेर्यो भने दखिन्छ वास्तविक देश र देशको भविष्य । यही महान् अभियानमा अभियानरत छन् — यो समयका उम्दा कवि प्रेम प्रकाश । उनको पछिल्लो कविता संग्रह रगतको तर्पण यसै अभियानको एउटा बल्दो उदाहरण हो ।
उनको यस कविता संग्रह तीनवटा खण्डका फूलका थुँगामा उनिएका र ४२ वटा कविताका पुष्पपत्र रहेका छन् ।
‘माटोमाथिको केही अधिकार’ नामक पहिलो खण्डमा जम्मा १२ वटा कविता छन् । ती १२ कविताहरूमध्ये आदिवासी चेतनाको मुहान, उल्टो यात्रा, भूमिका पूजा, छिट्टिझ्याम जस्ता कविताहरू आदिवासी संस्कृति, जीवनशैली र सौन्दर्यसँग सम्बन्धित छन् । रोल्पा, मगर बाहुल्य भएको जिल्ला हो । यहाँका आदिवासी मगरहरूको आफ्नै संस्कृति, परम्परा र जीवनशैली छ र ती संस्कृति र जीवनशैलीमा आफ्नै सौन्दर्यमूल्य छ । ती सौन्दर्य मूल्यलाई राज्यले योजनाबद्ध रूपमा कुरूप देखाई उनीहरूको राष्ट्रिय पहिचान सिध्याउने प्रयत्न भइरहेको छ । ती आदिवासी पहिचानहरूलाई कवितामार्फत कविले लेख्छन् :
ती बाटाहरू सबैभन्दा पहिले
हाम्रै पाइतलाहरूले हिँडेका हुन्
हाम्रो विवेकले ठम्याएको हो — अन्नको बिउ
हाम्रै आँखाहरूले ठम्याएका हुन्
आकाशका इन्द्रेणीका रङहरू
विडम्बना
राज्यले हामीलाई देखेको छैन अहिलेसम्म ।
र सबैभन्दा पहिले हामीलाई
लागिरहेछ लाज ।
(आदिवासीः चेतनाको मुहान)
आदिवासी जनजातिहरू लैङ्गिक समानतामा विश्वास गर्छन्, नारी अधिकारमा विश्वास गर्छन्, समानतामा आधारित मातृसत्तामा विश्वास गर्छन् । त्यसैले त विधुवा विवाहलाई सामान्य मानिन्छ । विवाह नभए पनि उनीहरू अपमानित भएर बाँच्नुपर्दैन । योभन्दा सामाजिक सौन्दर्य अरु के हुन सक्छ । यही वास्तविकतालाई आमाको सत्ता कवितामा कवि लेख्छन् ।
यद्यपि कवि निराश छैनन्, आशा छर्न चाहन्छन् जहाँतहीँ । राजनीति, समाज र धर्मले वितृष्णा र निराशा छरिरहेको समयको परिवेशमा कवि उत्साह उमार्न चाहन्छन् ।
आमाहरूले
मेलामा पुगेर ठाँडीभाका गाए
राँके र मारुनी नाचे
दुःखहरूलाई काखैमा राखेर
आमाहरूले चाड मनाए
बाबाआमाहरूले गरेको सम्झँदै
देउता र कुलदेवतालाई अक्षता चढाए
देउताथान र देउरालीलाई खुसी बनाए
मादल र झ्याम्टा बजाए
यसरी आमाहरूले
बुझे बाँच्ने कला ।
छिट्टिझ्याम मगरहरूको बाँच्ने कला हो । आस्थाको पुञ्ज हो । मौलिक संस्कृतिको सुगन्ध हो । उनीहरूको सांस्कृतिक जीवनको खम्बा हो तर देशले चिन्दैन, बुझ्दैन वा बुझेर पनि बुझ पचाउँछ । कविले यो पहिचानलाई कवितामार्फत उजागर गरेका छन् ।
प्रकृति
हामीले मान्दै आएको भगवान्
हामीलाई अडिनुपर्ने आस्थाको अन्तिम क्षितिज
थाहा छैन
समयको आदिम ओडारबाट अहिलसम्म
कति नाचिए होलान्
उठाउनी, पल्टाउनी, सप्काउनी, ढल्कनी, खर्गै कोने, बाच्छा पेने, साङ्गल बाटे, एकसरो बटोवा, दोस्रो बटोवा
र अझ्झ यो झिट्टी झ्याम ।
(झिट्टीझ्याम)
यही उत्पीडित आदिवासीको उर्भरभूमिबाट महान् जनयुद्धको सुरुवात भयो, एउटा सपना जन्मियो । एउटा विचार जन्मियो र हुर्कियो यही आदिवासी छातीमा तर आजतक ती सपनाहरू पूरा भएका छैनन् । सपनाहरू लिएर गएकाहरू कहिले फर्कने हुन् सुन्दर विपना लिएर । कवि रोल्पालीको चिन्ता बोल्छन्—
हिजोआज
म केवल एउटै चिन्तामा छु
आगो लिन गएकाहरू
आगो भएर आगोसँगै फर्किएलान्
वा उतै निभिजालान् ?
(आगो लिन गएकाहरू)
कविता संग्रहको दोस्रो खण्ड ‘जीवनसँग जहिल्यै पनि’मा जम्मा १६ वटा कविता रहेका छन् । ती कविताहरू कविका समय परिवेशसँगको संघर्षले जन्माएका व्यावहारिक अनुभव र ती अनुभवले उत्पादन गरेका सोच र चेतनाका विम्ब हुन् । समयलाई मान्छेले कसरी सामना गर्छ र बुझ्छ र त्यही बुझाइले उसमा नयाँ चेतनाको जन्म हुन्छ । ती सबै चेतना सबैको एक हुँदैनन् । हेराइ एक भए पनि बुझाइ फरक हुन्छ । कविको बुझाइमा अहिले सबैमा स्खलन आएको छ । जो देखिन्छ, त्यो छैन ।
भन्न त भन्थे उनीहरू
अब कसैलाई कहिले रुनुपर्ने छैन
तर अपशोच
यतिबेला उनीहरू नै चोकमा चिच्याउँदै रोइरहेछन्
(एउटा आदर्शको च्यूत)
यद्यपि कवि निराश छैनन्, आशा छर्न चाहन्छन् जहाँतहीँ । राजनीति, समाज र धर्मले वितृष्णा र निराशा छरिरहेको समयको परिवेशमा कवि उत्साह उमार्न चाहन्छन् ।
समयले कसरी गर्छ राजनीति ?
धर्मले कसरी बनाउँछ दास ?
समाजले कसरी बनाउँछ नोकर बन्न ?
बुझाउनु छ उनीहरूलाई
कसरी बन्छन् सिमानाहरू ?
पानी किन उँधो बग्छ ?
भौतिक शास्त्रका सारा नियमहरूसँगै बुझाउनु छ
आकाश फराकिलो की मान्छेको मस्तिष्क ?
धेरै धेरै थोक सिकाउनुछ
असारे ब्याड जस्ता नानीहरूलाई
(अक्षरहरूको आयतन)
कविता संग्रहको अन्तिम भाग ‘भावहरूको भव्य भग्नावशेष’मा १० वटा प्रेमिल कविताहरू समावेश रहेका छन् । रोल्पाले बन्दुकसँग मात्र प्रेम गरेन । युद्धसँग मात्र माया साटेन । मनसँग प्रेम गर्यो । मान्छेसँग प्रेम गर्यो । विचारसँग प्रेम गर्यो । समाज देशसँग प्रेम गर्यो । जुत्ताको तुनामा झुन्डिएर मर्ने प्रेमको मूल्य सिकाएन । मेटासिटको बोतलमा बन्द प्रेमको अर्थ सिकाएन । असमानताको जञ्जिरमा बाँधिएको सिन्दुर र पोतेको सम्बन्ध सिकाएन । समानताको यात्रामा हिँड्ने महायात्राको बाटो सिकायो ः
तर अन्तिमपटक
रगतले भिजेको कम्ब्याट पोसाकभित्र
तिमीले फेरेको चिसो श्वासको झोँक्का लिएर
म बाँचिरहेछु
र लेखिरहेछु लेख्न अधुरै रहेको
युद्धको प्रस्तावना ।
(अनुस्मृतिः एक छापामार)
यो कवितासंग्रह एक पठनीय कविता संग्रह हो । रोल्पालाई चिन्न, बुझ्न र अध्ययन गर्न सधैँका लागि र सबैका लागि उपयोगी छ । रोल्पालाई राष्ट्रिय रूपमा चिनाउन सफल यो कवितासंग्रह अन्य लेखकका लागि प्रेरणादायी अनुन्धानमुलक बन्नेछ ।
निश्चय पनि आजका बल्दा कवि प्रेम प्रकाशले जुन प्रयास गरेका छन् त्यो आफैँमा सम्मानयोग्य काम हो । तर पनि समग्रमा रोल्पा चिनाउन उहाँको कविता मात्र पर्याप्त अवश्य छैन । चाहे विचारको तहमा होस्, चाहे मौलिक पहिचानको तहमा — उहाँ लगायत अन्य कवि तथा लेखकहरूले रोल्पाको विचार र पहिचानलाई बोल्न र लेख्न अझै पनि आवश्यक छ । रोल्पामाथि केही भ्रम छन् । केही आरोप र आक्षेप छन् । केही अतिरञ्जित भावना छन् । ती सबैबाट रोल्पालाई बचाएर रोल्पाको विचार र पहिचानलाई सही मार्गमा स्थापित गर्न कवि प्रेम प्रकाशबाट अझै सशक्त कविता आउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक