क्रान्ति घर फर्कियो

जीवनको पुनः सिर्जनको गर्भबाट नेपाली राजनीतिमा उदाएको नयाँ शब्द हो— ‘क्यान्टोन्मेन्ट’ । यो शब्दको बुई चढेर छापामारको तस्बिर हाम्रा आँखाअगाडि आउँछ । आङमा बाघे बर्दी, हातमा राइफल, निधारमाथि रातो तारो । यो राज्यको सनातन सिपाही होइन । यो त दसवर्षे जनयुद्धको सानदार सन्तान पो हो । नवीन चेतनाको स्रष्टा, उथलपुथलकारी क्रान्तिको प्रतीक, परिवर्तनको दृढ संवाहक, युगको जाज्वल्यमान् विम्ब । अबको लगभग डेड–दुई महिनापछि यो छापामार क्यान्टोन्मेन्टमा देखिनेछैन । ऊ कतै विलुप्त हुनेछ । र हामीसँग केवल उसको सम्झना बाँकी रहनेछ ।
उजाड हुँदै गएको क्यान्टोन्मेन्ट अहिले उदास छ । त्यहाँ कोही अनिश्चित र भयमिश्रित भविष्य अघि लाएर नेपाली सेनामा भित्रिने साइत कुरी बसेका छन् । कोही आनासुकी रकम हात थापेर उही पुरानो घर जाने तर्खरमा छन् । त्यहाँ कुनै उमङ्ग छैन, कुनै उल्लास छैन । मानौँ क्रान्तियोद्धा आफ्नै क्रान्तिका मलामीमा फेरिएका हुन् । गढेर हेर्दै गम खाँदा क्यान्टोन्मेट कसोकसो क्रान्तिको सपना मारिएको उराठलाग्दो मसानघाटजस्तो लाग्छ मलाई ।
टेलिभिजनको काँचको पर्दामा मनै भरङ्ग हुने एउटा दृश्य दोहोरिइरन्छ । दृश्यमा बर्दीधारी युवा क्यानटोन्मेटमा लाइन लागेर उभिएका छन् । अनुहारको भाव हेर्दा ती सबै दिग्भ्रमितझैँ लाग्छन् । तिनका आँखामा उज्यालो छैन, न त तिनका अनुहारमा कान्ति छ । मानौँ तिनका हृदयमा पराजय र अपमानको उदास भाव मात्र छ । लामको अगाडि एउटा युवक किन हो कुन्नि हातमा सय रुपैयाँको नोट बोकेर उभिएको छ । छेउको टेबुलमा एउटा कर्मचारी केही लेख्दै छ । युवक घरीघरी हात लम्काउँछ, तर केही नपाएर उसको निराश हात त्यत्तिकै फर्किन्छ । त्यो जनयुद्धको ज्याला थाप्ने लाम हो ।
राजतन्त्र नाउँको अगस्ती अजिङ्गर इतिहासको बाटोबाट पन्छिएको छ । म खाउँ, मै लाउँ, सुख–सयल वा मोज म गरुँ भन्ने सम्भ्रान्तहरूले टेकेको धर्ती हल्लिएको छ । जनचेतनाको प्रवाहसँगै परिवर्तनको आँधी उठेको छ ।
राज्य जितेर संसार फेर्न हिँडेका थिए ती युवाहरू । तिनका मनमा कि गरी छाड्यो कि मरी छाड्यो कमरेडको इरादा भन्ने दृढ सङ्कल्प थियो । तर यात्राका बिच बाटोमा इतिहासको अवरोधकारी पहरो खडा भयो । ती हठात् रोकिए । बाह्रबुँदे समझदारीको लहरोमा झुन्डिँदै ती क्यान्टोन्मेटको अघोषित कैदखानामा पुगे । तिनले त्यहाँ ६ महिना बस्ने र ससम्मान नेपाली सेनामा भित्रिने आश्वासन पाएका थिए । तर कैदखानाको निसासलाग्दो वातावरणमा तिनका उच्चाटलाग्दा पाँच वर्ष बिते ।
राजनीतिको दिशा र गतिको प्रश्नमा जुध्दै तिनको नेतृत्व चिरा पर्यो । परिवर्तनका बैरीहरू एकगठ भए । क्रान्तिको नेतृत्व गुटगुटमा विभक्त भयो । गुटको संकीर्ण मनोवृत्तिको नशामा लट्ठिएर गुटियारहरू दुच्छर भनाभनमा लागे । जो पार्टीको चुलीमा थिए, तिनको जीवनशैलीमा विलासिताको रोग सल्कियो । जो हिजो केवल त्याग र समर्पणका कुरा गर्थे, ती पद र प्रतिष्ठाको लुछाचुँडीतिर लहसिएर । बिस्तारै आदर्श ओझेल पर्दै गयो । अभीष्ट धमिलिँदै गयो ।
हिजो मेरो गर्धन माथि, तेरो गर्धनमुनि, सुखमा सँगै, दुःखमा सँगै भन्ने आदर्श भावनाको ठुलो इज्जत थियो । आज त्यो भावना ओइलाउन थाल्यो । माथिको विग्रह र कलहको अनिष्टकारी प्रभाव तल क्यान्टोन्मेन्टसम्म फैलियो । र नै अहिले क्यान्टोन्मेन्टमा चेक खोसाखोस छ । सुराकी सञ्चार भन्छ, छापामारका भागमा परेको ज्यालारूपी चेक खोस्न तिनको कमान्डर नै तम्सियो । आफ्नो चेकको बचाउ गर्न छापामार प्रहरीको शरण पर्यो । क्यान्टोन्मेटको विद्रूत यथार्थ यस्तो छ । परिवर्तनका शत्रु धुमधाम प्रशन्न छन् ।
हाम्रा आँगनमा अहिले गणतन्त्रको सुन्दर विम्ब छ । यो ल्याएको मुख्यतः यिनै छापामारहरूले लडेर हो । हाम्रा आँगनमा अहिले सङ्घीयताको चित्र छ । यो ल्याएको मुख्यतः यिनै छापामारले रगत बगाएर हो । अन्धाहरूका आँखा खुलेका छन् । बहिराका कान टाठा भएका छन् । दिमाग बोधा हुनेहरूका दिमागका द्वार खुलेका छन् । काँतरहरू सुरा भएका छन् । सुस्तहरू गतिमान् बनेका छन् । चारैतिर चहलपहल छाएको छ, चारैतिर हलचल मच्चिएको छ । आपूmलाई भूपति, धनपति, अख्तियारपति र ख्वामित् ठान्नेहरूको हंस हल्लिएको छ । यो सारा परिवर्तनमा यी छापामारहरूको हात छ । यी उठे, यी जुटे, यिनले हतियार उठाए, यी बलिवेदीमा लाम लागे र यिनले चमत्कार गरे । तर अहिले यिनै छापामार रुँदै घर फर्किरहेका छन् । यीसँगै क्रान्तिको दमित उभार घर फर्किरहेको छ ।
ज्याला थापेर घर जान लाग्दा एक छापामार महिलाले आँसुमा भिजेको स्वरमा भनिन्— ‘पन्ध्र वर्षको कोसिस व्यर्थ भयो । गाउँ उस्तै पुरानो छ । म उही पुरानो गाउँमा फर्किन विवश छु । गाउँलेले सोध्लान्— के गर्न हिँडेकी थिइस् र के गरेर आइस् ? मैले जवाफ के दिने ? जोरीपारीले के नापिस् भन्लान् ? मैले जवाफ के दिने ?’
परिस्थितिको कठोर सीमाले क्रान्तिको बाटो छक्योे । चिताएको सिङ्गो फल हात लागेन, यो सत्य हो । तर यी विचलित छापामारले भनेझैँ केही भएन भन्ने किमार्थ होइन । राजतन्त्र नाउँको अगस्ती अजिङ्गर इतिहासको बाटोबाट पन्छिएको छ । म खाउँ, मै लाउँ, सुख–सयल वा मोज म गरुँ भन्ने सम्भ्रान्तहरूले टेकेको धर्ती हल्लिएको छ । जनचेतनाको प्रवाहसँगै परिवर्तनको आँधी उठेको छ । केवल त्यसलाई संविधानमा लेखेर व्यवहारमा उतार्न बाँकी छ । तर नेतृत्वले क्यान्टोन्मेटमा धाएर छापामारलाई यो कुरो बुझाउने लेठो कहिल्यै गरेन । त्योमाथि आफू–आफैँ लडिरह्यो । त्यो आत्मकेन्द्रित र अहंकारी गुटबन्दीमा अल्झिरह्यो । जनवादको झन्डा धमिलो भयो, पार्टीमा धनवादले शनैःशनैः मुन्टो उठायो । र, जसले ज्यान हत्केलामा राखेर क्रान्तिलाई आवेग दियो, नेतागणलाई पहिचान दियो र जनगणलाई आशा र उमङ्ग दियो, त्यो छापामार अहिले हतास मुद्रामा सुस्केरा हाल्दै गाउँ फर्किंदै छ । ऊसँग क्रान्ति स्वयं घर फर्किंदै छ । नेता सहरमा छ, बस्ती सुनसान छ । छापामार गाउँ फर्किंदै छ र क्रान्ति घर फर्किंदै छ । तर घर कहाँ हो थाहा छैन । यो इतिहासको विद्रूप त्रासदी हो !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : श्रेष्ठ भन्दा मिश्र करिब दोब्बर मतले अगाडि, महासचिवमा केदारप्रसादलाई पछ्याउँदै यज्ञमणि
-
कर्णालीका मुख्यमन्त्री भन्छन्ः जनताको आयु बढेको छ, यो परिवर्तन हैन र ?
-
रविन्द्र मिश्र र धवल शमशेरसहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रावणहरुको शासन मास्नु पर्छ : डा. प्रकाशचन्द्र लोहनी
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?