मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय
पुस्तक

हेमप्रभासको साँझमा सेल्फी र त्यसैमाथि गोधुली प्रतिविम्ब

शनिबार, २३ चैत २०८१, ११ : ४०
शनिबार, २३ चैत २०८१

मार्पाकको अग्लो चुचुरो र त्यसभन्दा माथि टिमटिमाइरहने ताराहरूलाई एउटा अबोध शिशुले कतिपल्ट हेरेर हृदयमा सेल्फी खिच्यो होला ? अथवा सखारै आफू ब्युँझनुभन्दा अगाडिदेखि एकोहोरो सुलेली उरालिरहने नेत्रावती जाडो लाग्न नभ्याउँदै ११ बजेसम्म सफेद सिरकमा गुटमुटिएर तन्नेरी घामसँग लुकामारी खेल्न आउने आँखुको सफेद स्निग्ध बर्काेविहीन शरीर देखेर कति कल्पिँदो हो ?

साँझको नेत्रावतीको अतुल सौन्दर्य र त्यसलाई बाँड्न नसकेको तिर्खा बोकेर कैयौँ सहस्राब्दी उस्तै बगिरह्यो जसरी बग्छ आज पनि । बगर–बगर साँझबिहान कुदिहिँड्ने भुँइकुहिरोले छपक्कै छोपेपछि निसासिएकी नेत्रावतीसँग मनले सेल्फी खिच्न नपाएपछि भौँतारिएको ठिटो काठमाडौँ छिरेको २०औँ वर्षपछि बल्ल अक्षरहरूमा आएको सेल्फी कस्तो रहेछ ! हामी पनि नियालौँ न ।

कवि र लेखकहरू करेन्टजस्तै छोइने र झट्का दिने प्रकृतिका हुन्छन् । थाहा छैन त्यो झट्काले कता–कता राम्रो कि वा नराम्रो पनि गर्न सक्दो हो, जसरी पानी र त्यसबाट निस्कने विद्युतीय झट्काले ऊर्जा वा विनाश दुवै निम्त्याइदिन सक्छ । खहरेमा माध्यमिक विद्यालय पढ्दै गर्दा एउटा प्यासी केटो कहिले पत्रिका निकाल्ने र कहिले कवि गोष्ठी गर्ने हुटहुटी सँगालेको धमिलो सम्झना छ । हेमप्रभासले नै गणेश हिमालको पिँधदेखि सङ्गठित साहित्य अभियानको प्रारम्भ गरेका थिए । चाहे नेत्रावतीका नाममा पत्रिका निकालेर होस् वा मधुवन श्रोता क्लबका नाममा होस् वा मधुवन साहित्य प्रतिष्ठान बनाएर नै किन नहोस्, हेमप्रभास नेतृत्वमै छ, जसरी आज कवितामा एउटा तन्नेरी पुस्ताको भिन्न धारमा रहेर ऊ कविताको प्रवाह बगिरहेको छ, जसरी भुइँ कुहिरोमा लुके पनि वैशाख–जेठको प्रचण्ड घामले सुकाउन खोजे पनि उस्तै बगिरहन्छ नेत्रावती ।

नदीको प्रवाह छेकिँदैन र रोकिँदैन । सिर्जनाको उभार उठ्दै गर्दा पत्रिका निकाल्ने र साहित्य गोष्ठीहरू गर्ने हुटहुटीमा केही उत्तरी धाादिङका नवसिर्जनाका मुनाहरू आफूसमक्ष आइपुगेका थिए तर ती विद्यार्थीमा हेमप्रभास थिए कि थिएनन्, म थाहा पाउँदिनँ । परोक्ष रूपमा भने उनीसँग चिनजान थियो होला । उनीसँगको प्रत्यक्ष चिनजान भने निकै पछि भएको हो । स्नातक तहको प्रथम वर्ष अध्ययन गर्ने विद्यार्थीलाई प्रत्यक्ष रूपमा नाटक हेर्न लैजाने कार्यक्रम थियो । काठमाडौँमा यसको बन्दोबस्ती नवराज लम्सालले गर्नुभएको थियो र नैकाप भञ्ज्याङमा जहाँ पुग्नासाथ कवि नवराज लम्सालको बास्ना हर्हराउँछ, त्यहाँ नवराजजीसँगै हेमप्रभासलाई भेटेको सम्झना छ । 

कविले किन यो शब्दमा ज्यादा मोह र आग्रह राखे ? त्यस विषयमा चर्चा हुँदै गर्ला । साँझको सौन्दर्यमा फिदा कविले यस खण्डमा १५ कविताहरूको बिस्कुन छ ।

मार्पाकदेखिका गौँडा–गल्छेडा टेक्दै सम्भावना खोज्न सहर छिरेका हेमप्रभासले देखेका सम्भावना पाए पाएनन् त थाहा छैन, उनी सहरमा कति दुखे ? कति बास्ना आए ? कति चोइटिए र कति पलाए ? त्यसको हिसाब–किताब त भविष्यमा समयले गर्ला, यति थाहा छ कि उनले साँझ–बिहान देखेको वा भोगेको सहरलाई नजिकबाट अक्षर विम्बमा उतार्न भ्याएका छन् । तेस्रो कृतिमा अर्थात् साँझमा सेल्फी खिचेर । 

मध्यसाँझको धिमा प्रकाशमा प्रतिविम्बित साँझको रङ 

यस वर्ष अर्थात् २०८१ सालमा कवि हेमले साँझमा सेल्फी कविता सङ्ग्रह प्रकाशित गरेका छन् । यसभित्र ७५ कविताहरूको सँगालो छ । विवेच्य सङ्ग्रहको आवरण पृष्ठको तस्बिर नै काव्यात्मक चेतयुक्त छ । मध्यसाँझको धिमा प्रकाशमा परावर्तित नदीको मझधार टेक्दै गरेकी एक अज्ञात महिलाको तस्बिर जसको पाश्र्वमा देखिने ग्राम्य वनकुञ्जको दृश्य आवरणमा सिङ्गो कविता बनेको छ, जसले पाठकको आँखामा चुम्बकीय आकर्षक जोड्छ ।

प्रस्तुत कविता सङ्ग्रहका काव्य पुष्पिकालाई चार भिन्नभिन्न पयोमा वेष्ठित गरेर सग्लो साँझमा सेल्फीको मुठो कसिएको छ । प्रत्येक खण्डहरूका पहिलो शब्द ‘साँझ’ जुराइएको छ ।

साँझ अर्थात् दिन ओर्लिएर रात खस्दै गरेको मधुरो प्रकाशमय अवस्था । गाई वनबाट घर फिर्ता गर्दै गर्दा साँझको धमिलिँदै गरेको सूर्यरश्मीसँग मिसिएर गाईको खुरबाट उडेको किरणले रङ्गमय बनाएको अवस्था । साँझ अर्थात् सन्धिकाल पनि ।

कविले किन यो शब्दमा ज्यादा मोह र आग्रह राखे ? त्यस विषयमा चर्चा हुँदै गर्ला । साँझको सौन्दर्यमा फिदा कविले यस खण्डमा १५ कविताहरूको बिस्कुन छ ।

प्रेम, प्रकृति र आन्तरिक संवेदना सुसाएका उनका कविताहरू जीवनजस्तै लाग्छन् । कतै पीडाका आहट दुख्छन् र फूलबाट शीतका आसु बुँद बनेर कविता वर्षन्छ तर त्यहाँ कवि आँसु नहोस् है भनेर सचेत गराउन यसरी बर्सन्छन् :

आँगनको डिल डिलमा ओइलिन लागेको

जुहीजस्तो तिमी मलिन नहुनु

हृदयको दराजभित्र थुनिएका

बैजनी सपनाहरूलाई

आँखामा ल्याएर नपोख्नु

तीआँखामा आँसु सुहाउँदैन ।

‘आँसु नसुहाउने आँखा’ शीर्षकबाट प्रारम्भ काव्य सरिता बन्दुक सिरानी हालेको योद्धासम्म पुगेर विश्राम लिएको छ । यसमा ‘नदीझैँ बग्न’ तिमी, प्रेमको तिलाञ्जली, हजुरआमालाई प्रश्न, सिमेन्टका रुखहरू, कलेजको नियति, सूर्य जन्मने बेला, सपनाको सर्कल, मन्दिर अगाडि तमसुक पढ्दै, स्कुल जान लागेको छोरालाई, एक अञ्जुली गीत, चाहनाको उचाइ शताब्दीको अन्तिम रात, ऐना फुटेपछि’ लगायत कविता समेटिएका छन् । कविताका आयाम मध्यमस्तरीय छन् । न लामा न छोटा चोटिला कवितामा धारिला र तिखारिएका विम्बहरूको रहरलाग्दो कलाकारिता यसरी कुँदिएका छन् ।

दुःखको भिरजस्तो निधार, मान्छे विरुद्धको तमसुक, गोधुलीमा मुस्कुराउने मायाको चरी, आँसुको थुङ्गा उपहार, रङ्गहरूको माला आदि छिरबिरे विम्बका बुट्टाहरू कुँदेर कविताका कलात्मक बाटिका सजाइएका छन् ।

छिर्बिरे चहकमा स्वादिलो साँझको स्वरूप

साँझ उसै पर्दैन । दिन भरका थकानले शिथिल शरीरको विश्रामको समय लिएर फर्कन्छ । प्रेमी–प्रेमिकाको मधुर मिलनको आतुरता लिएर फर्कन्छ । साँझ मधुर सौन्दर्यको चहक मात्रै पनि होइन सायद ! वृद्धवृद्धा, रोग र आर्तनादको दारुण पीडाको अभिव्यक्ति पनि हो । संवेदनाका अनेक पत्र–पत्रमा दुर्बाेध्य हरक फ्याँकेर ओकलिन्छन् — भावका छाल उछालहरू । कतै काव्यका बान्किला उपमा, रूपक, दीपकादिका चहमा टल्किएर । कतै सुमधुर शृङ्गार, वेदनाका हिक्का बोक्ने करुणा, आगो ओकल्ने वीरता, दाँत कटकटाउने रौद्रता पनि कविता नै हुन् तर साँझको सौभ्यताको प्रतिविम्बन खिचिएका कोमलकान्त हेमका कविताभित्र रौद्रता, भयाक्रान्त परिवेश र घृणाका दुत्कार कमै भेटिएका छन् ।

साँझको सेल्फीको दोस्रो चौतारी साँझको स्वरूपको रूपमा बिटो कसिएको छ । यसभित्र पनि १५ शीर्षकका कविता छन् । यस खण्डमा एकान्तको सौन्दर्यबाट प्रारम्भ भएर तारमा झुन्डिएका टोपीहरूमा अन्त्य भएको छ । कहाँ छु, यतिखेर ? परदेशीलाई पत्र, परिजात फुलेको रात, चिहानघारीमा रातो फूल, आँधीको झुल ओढेर, उज्यालो खोजिरहेको मानिस, भरियाको आलाप, नाभि गाडिएको ठाउँ, राजा, अब म पनि घर जान्छु, भगवान्हरू रोएको साँझ, साँझमा अतीत, सुकेको हाँगामा अड्किएको फूलजस्ता शीर्षकमा काव्य सुसेलिएका छन्, जहाँ कविले पल्लवित काव्यद्रुमको शाखान्तरमा लुकामारी गर्दै यसरी दीपक रागको आलाप छाडेका छन् ः

म आफ्नै पहाडमा पाइला बजाएर

जीवनको धुन खोज्छु

भेट्छु बालकहरूलाई

जो कोरिरहेका छन गोठालो जाँदा

हरिया पातहरूमा देशको नक्सा !

(अब म पनि घर जान्छु)

पहाडलाई सिगार्ने सपना सहर झरेका प्रत्येक युवाका भार व्यहोर्ने सङ्गिनीहरू रहरका कोसेली मुटुभर ओइलाउँदै हुन्छन् । तिनका सुसेलीले सङ्क्रमित कवि यसरी उराल्छन्, तिनका प्रेमी भएका आवाजहरू ः

आमाको याद

पिठ्युँमा बोकेर हिँडेको छु

अहो ! आमाको स्याहार गर्दै

जुनीभर मलाई पर्खेर बसेकी उनी

कस्ती भइन् होली ?

(अब म पनि घर जान्छु)

हेमप्रभासका कविताका विशेषता नै माधुर्यको महकमा डुब्नु र रहरलाग्दा विम्बको बुट्टा भर्नु पनि हो । भावका तरेलीले तरङ्गित बनाएपछि कवि हेम यति सौन्दर्यपूर्ण कविता हार सिर्जन्छन् ः

खिया लागेका छन्

जीवनका पातहरूमा

औँसी फुलेको छ

जीवनका रातहरूमा

मेरो भाग्य भन्नू

लाखौँ बत्तीहरूको भीडमा

धिपधिप बलिरहेको टुकी

(उज्यालो खोजिरहेको मानिस)

यसभित्र पनि प्रेम, माटोको महक, संवेदना र सामजिक सम्बोधनका छिटाहरू सुटुक्क मिसाएर निजी अनुभूतिका रङहरूको इन्द्रेनी बनाइएको छ ।

किरिङिमरिङ साँझका रेखाहरूमा अक्षरहरूका तरेली

तेस्रो खण्डलाई साँझको रेखा नामकरण गरिएको छ । यसभित्रको पहिलो कविता ‘जान लागेकी तिमीलाई’ रहेको छ र १५औँ कविता झोलुङ्गे पुलमा दुई जोर पैताला शीर्षकमा लेखिएको छ । यसमा प्रेमको गहिराई, दिलमा प्लावित हुने सम्बन्धका आयामहरू, व्यावहारिकताका छालउछालहरू जीवनका अनेक चिसा–ताता सम्बन्धका तन्तुहरूको चर्चा गरिएको छ । यस खण्डमा पनि १५ सिर्जना छन् । तिनीहरूको प्रतिविम्बन निम्न शीर्षकमा गरिएका छन् ः अनुरोध, तिमीलाई सम्झन सकुँ, तिमी मसँग नहुँदैमा, थामिदेऊ यी हातहरू, निदाउन देऊ फूलहरू, आधा रङ, प्रेमको युद्ध, स्कार्फमा तुषारो, कागजको फूल, बतास रपातहरू, म स्वर्ग जान चाहन्नँ, एउटा यस्तो प्रार्थना ।

साँझका आकारहीनतामाथि आकार दिने प्रयत्न

साँझ धमिलिँदै गएर रातको गर्भगृहमा धर्ती छोपिने समय हो । उसै खस्दैन साँझ, यसका लागि सूर्य बिस्तारै कमजोर बन्दै पश्चिमतिर छिप्नुपर्छ र चाँदनीले आफूलाई उजिल्याउँदै देखिनुपर्छ । त्यो मधुरो प्रकाशमा कतै शीत पोखिन्छ, कतै जूनकिरीको जुलुस निस्कन्छ र कतै निराशाले लाटोकोसेरा चकमन्न रात आउनुअघि नै स्वर उराल्छ । कविका यस्तै जीवनका अनुभूतिको उरुङ्खात निजी भोगाइका टिमटिमाहटलाई मसिनो र भावात्मक किसिमले प्रस्तुत गरेका छन् । यसभित्र पनि प्रेम, संवेदना, मानवीय चेतको प्रभाव, दुःखका पर्खाल, व्यथा, वेदनाका अनेक कहर यस खण्डका कविता छन् तर सबै एक ठाउँमा मिसमास बनेका छन् । संयोग र वियोगको मूलधार उनको काठमाडौँ सेल्फी कविता हो । बाँकी सबै विषय मिसमास भएर आएका छन् । जहाँ यस किसिमका शीर्षकहरू छन् — लालटिनको छायामा, तिमी नआएको पल, चित्रको घर, मान्छेको मन पत्थर हुन सक्दैन, फूल बेच्ने किशोरी, तिमी फर्कने बेला, प्रेमको नाममा, म रोएको छैन, ममता, रातो क्यानभास, प्रार्थनाको गीत, शोकको अनुष्ठान, हरियो मुस्कान, डेट एक्सपायर्ड प्रेम, छायासँग बातचित ।

  • साँझको स्पेसमाथि कलाका आलेखहरू

यस उपखण्डमा पनि १५ कविताहरू छन् । काठमाडौंलाई ट्रान्जिट बनाएर कसैका प्रेम पश्चिमतिर हान्निएका छन् । यता एक छटपटाएका छन्, उता अर्काे प्यासले तड्पिएका छन् । कसैका भविष्य हराएका छन्, कसैका टेक्ने लौरो अस्ताएका छन् । परिस्थिति यस्तो छ कि वर्तमान भविष्यको उज्यालो कल्पनेहरूका हात, गोडा, मस्तक लुलिएको छ । कमजोर बनेको छ र जीवन यात्राका लागि गरिने तयारी मन्द भएको चिन्ता व्यक्त गरिएको छ । कमजोर वर्तमानले सुदृढ भविष्यको मार्गनिर्देश गर्न सक्दैन, त्यसैले कवि मन जोड्ने पृथ्वीनारायण शाहको पुनर्जन्मको परिकल्पना गर्छन् । 

यसरी 

तिमीले चिनेनौ 

कतै स्कुलहरूमा अक्षर सिकाउँदै छु

कतै विपद्हरूमा काँध थाप्दै छु

कतै सडकहरूमा बढार्दै छु

वर्षाैंदेखि थुप्रिएको फोहोर कसिङ्गर ।

(पृथ्वीनारायण शाहको पुनर्जन्म)

यस खण्डमा काठमाडौँ ट्रान्जिट लगायत अब म बहुलाउँछु, फोटो खिच्ने मान्छे, आगोमाथि हिउँ, पृथ्वीनारायणको पुनर्जन्म, युद्धमा हिँडेको सिपाही, बालकको हातमा बन्दुक, यहाँ उभिएर नहाँसिदिनु, हतारमा हामी, ध्यानमुद्रामा बुढो पीपल, भो मलाई केही नसोध, म रित्तै जानेछु, मेरो भन्नु केही छैन, चौतारामा बुढाबुढी लगायत कविता समेटिएका छन् ।

अन्त्यमा, 

हेमप्रभास अधिकारी नेपाली कविताको प्रेमिल वाटिकामा विशिष्ट स्थान बनाउन सक्षम कवि हुन् । उनका कविताहरूमा आधुनिक चेतनासहित सामाजिक यथार्थ, सांस्कृतिक मूल्य, दार्शनिक गहनता, प्रेम, प्रकृति, मानवीय संवेदना उजागर भएका छन् । उनका सिर्जनामा नेपाली समाजका विविधा सम्बोधन भएका छन् । शोषण, गरिबी र विभेदलाई कलात्मक रूपमा अभिव्यक्त गरेका छन् । उनका कविताहरू समाज सुधारको अभियानजस्तै लाग्छन् । 

उनका कविताहरू प्रकृतिप्रेमी भावनाले भरिपूर्ण छन् । प्रकृतिका विविध रूपहरूलाई उनले मानवीय जीवनसँग दाँजेर कवितामा उतारेका छन् । प्रकृतिको सौन्दर्य, परिवर्तनशीलता र शक्तिलाई मानवीय संवेदनासँग जोडेर चित्रण गरेका छन् । दार्शनिक गहिराइ बोकेका हुन्छन् । अस्तित्ववाद, मानव जीवनको अस्थायित्व, कर्म र चेतनाको खोजीजस्ता विषय उनका सिर्जनामा प्रस्ट झल्किन्छन् । जीवन र मरणको सम्बन्ध, आत्माको शुद्धता र सत्यको खोजी उनका कविताको मूल तत्त्व हुन सक्छन् । उनी प्रेम, आत्मीयता र प्रकृतिका त्रिवेणी हुन् । सुन्दर अभिव्यक्तिहरूले भरिपूर्ण छन् । प्रेमलाई केवल व्यक्तिगत भावना होइन, सामाजिक र सांस्कृतिक परिवेशसँग गाँसेर हेर्ने उनको दृष्टिकोण प्रस्ट देखिन्छ । प्रेमको उदात्तता, बिछोडको पीडा र पुनर्मिलनको आशा उनका कविताहरूमा गहिरो रूपमा अभिव्यक्त भएको पाइन्छ ।

भाषिक रूपमा उनका कवितामा सरलता छ, माधुर्य छ, गहिरो अर्थ बोकेका हुन्छन् । उनका कविताहरूमा इतिहासप्रतिको गहिरो चेतना झल्किन्छ । नेपाली समाज, परम्परा, संस्कृति र पुरातन दर्शनलाई उनले आफ्ना कवितामा समेटेका छन् । संस्कृतिको महत्त्व, इतिहासबाट सिक्नुपर्ने शिक्षा तथा परम्परा र आधुनिकताको अन्तद्र्वन्द्व उनका कवितामा देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. नवीनबन्धु पहाडी
डा. नवीनबन्धु पहाडी
लेखकबाट थप