शनिबार, २३ चैत २०८१
ताजा लोकप्रिय
कृषि

खेसरी : उपेक्षित कि पौष्टिक बाली ?

शनिबार, २३ चैत २०८१, १० : ०७
शनिबार, २३ चैत २०८१

नेपालमा खेसरीलाई ठाउँ वा समुदाय विशेषका आधारमा ‘मटरा’ वा ‘लतरी’ पनि भन्ने गरिन्छ । यसको अंग्रेजी नाम Grasspea हो भने वैज्ञानिक नाम हो,Lathyrus sativus L। । यो कोसेबाली वा दलहनबाली अन्तर्गत पर्छ । 

जात विशेषका आधारमा अन्य कोसेबाली भन्दा खेसरीमा प्रोटिनको मात्रा बढी वा करिब ३९ प्रतिशतसम्म पाइन्छ । जब कि भटमासमा ३७ प्रतिशत, मसुरोमा ३३ प्रतिशत, राजमामा २१ प्रतिशत, केराउमा २० प्रतिशत र चनामा प्रोटिनको मात्रा १९ प्रतिशत रहेको हुन्छ ।

खेसरीमा हामीलाई अत्यावश्यक पर्ने २१ वटा अमिनो एसिडमध्ये १७ वटा र विशेष गरी लाइसिन अन्य कोसेबालीमा भन्दा बढी पाइन्छ । त्यसैले यसलाई मानव पोषणयुक्त बाली पनि भन्न सकिन्छ । गरिब, निमुखा वा सीमान्तकृत कृषकले मनाउने विभिन्न रीतिरिवाज तथा चाडपर्वमा यसबाट बनाइएका विभिन्न परिकारको आफ्नो छुट्टै महत्त्व छ । यसको हरियो  मुनाबाट साग, दाना बन्छ भने गेडाबाट दाल, तरकारी र अचार बनाउन सकिन्छ । यस्तै यसको पिठोबाट अन्य विविध परिकार बनाउन सकिन्छ । साथै, यसलाई पौष्टिक पशु आहारका रूपमा पनि प्रयोग गर्न सकिन्छ । 

कम लगानीमा अर्थात् विनामलजल रुखो जमिनमा पनि लगाउन सकिने र रोग–किरा कम लाग्ने हुँदा खेसरीलाई बदलिँदो मौसम वा वातावरणीय अनुकूलन बालीका रूपमा लिने गरिन्छ । अन्य कोसेबालीको सफल उत्पादन हुन नसकेको जग्गा वा अवस्थामा यसको राम्रो उत्पादन हुन्छ, यही नै खेसरीको मुख्य गुण हो । वातावरण अनुकूलन बालीमध्ये खेसरीलाई २९औँ महत्त्वपूर्ण बालीका रूपमा लिइएको छ तर यो हामीकहाँ अपहेलित एवं सीमान्त बालीका रूपमै पर्छ । 

नेपालमा सरकारले खाद्य नियमावली (२०२७) का आधारमा खेसरी, खेसरीको दाल, खेसरीको पिठो तथा खेसरीयुक्त खाद्य पदार्थलाई दूषित, न्यूनस्तर वा हानिकारक खाद्य पदार्थ भनी बिक्री गर्न रोक लगाएको पाँच दशकभन्दा बढी भइसकेको छ, यद्यपि आजसम्म यसको उत्पादन तथा उपभोग रोकिएको छैन । 

छिमेकी देश भारतमा भने करिब ६ दशकपहिले (सन् १९६१ मा) यसको बजारीकरणमा प्रतिबन्ध लगाइएको थियो । पछिल्लो नेपालको कृषि तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा यसको खेती करिब ५,६४३ हेक्टरमा भएको देखिन्छ भने बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, सर्लाही, पर्सा, रौतहट, मोरङ, झापा आदि जिल्लाहरू खेसरी उत्पादन हुने प्रमुख जिल्ला हुन् । 

anil-pokharel

खेसरीको बजारीकरण वा बिक्री–वितरणमा प्रतिबन्ध लगाइए पनि यसको खेती गर्न रोकिएको देखिँदैन । यसको बजारीकरणमा रोक लगाइनुको मुख्य कारण भनेको यसमा पाइने न्युरोटक्सिन रसायनिक तत्त्व β-ODAP को मात्रा बढी हुनु हो । यसलाई लगातर खानाले घुँडाभन्दा तल्लो भाग दुख्छ भनिएको छ, तर त्यस खालको समस्या देखिएको पाइँदैन । भोकमरीको अवस्थामा खेसरी वा खेसरीबाट बनेका परिकार मात्र धेरै दिनसम्म खानाले यस्तो समस्या देखिएको केही रिपोर्टमा देखिन्छ । खेती गरिने स्थानीय जातहरूमा यसमा रासायनिक तत्त्वको मात्रा ०.५ देखि २.५५ प्रतिशतसम्म देखिएको छ । यी जात खानका लागि असुरक्षित हुने हुँदा खाद्य सुरक्षामा काम गर्ने वैज्ञानिकले उक्त रसायनको मात्रा घटाउने खोज गर्न थाले, जसअनुसार खेती गर्दा माटोमा खाद्य तत्त्व जिंकको प्रयोग गर्ने, दाना वा दाललाई भिजाएर पानी हटाएर पकाउने र अरु खाद्यवस्तुसँग मिसाएर खाने गर्नाले यसमा भएको हानिकारक तत्त्वमा कमी वा असर कम हुने वैज्ञानिकको निष्कर्ष छ । यसको दिगो समाधानको उपाय भनेको हानिकारक स्तरभन्दा कम उक्त रसायनको मात्रा भएका उन्नत खेसरीका जातहरूको विकास तथा तिनीहरूको प्रसार गर्ने नै हो । 

अन्तर्राष्ट्रिय अनुसन्धान संस्था इकार्डा र विभिन्न राष्ट्रियस्तरका अनुसन्धान गर्ने निकायहरूको संयुक्त अनुसन्धानबाट स्वास्थ्यलाई असर गर्ने उक्त तत्त्वको मात्रा अत्यन्त न्यून ०.१ प्रतिशतभन्दा कम भएमा खानका लागि सुरक्षित हुन्छ । यस्ता जातको खेसरी विकास समेत भएका छन् । अन्ततः स्वास्थ्यका दृष्टिकोणबाट उपयुक्त जातको विकासपश्चात् भारत तथा अन्य विभिन्न देशले यसको खेती तथा बजारीकरण पुनः सुचारु गरिसकेका छन् । भारतमा स्वास्थ्य विज्ञान परिषद्, कृषि अनुसन्धान परिषद् तथा खाद्य तथा पोषण सुरक्षा नियोगहरूले पनि खेसरीका उन्नत जातको विकास तथा तिनको खेती प्रविधिमा जोड दिँदै यसको प्रचार–प्रसारमा जोड दिएका छन् । 

नेपालमा खेसरीका स्थानीय तथा उन्नत जातहरूको अनुसन्धान कोसेबाली अनुसन्धान कार्यक्रम (खजुरा, बाँके)ले थालनी गर्न लागेको छ भने भारतले हालसम्म खानका लागि सुरक्षित अथवा β-ODAP को मात्रा न्यून भएका जातहरू जस्तै ः एलपी १४, रतन, प्रतीक, निर्मल, महातेवरा आदि र बंगलादेशले पनि बारी खेसरी १, बारी खेसरी २, बारी खेसरी ३, बारी खेसरी ४ आदि उन्नत जातलाई खेतीका लागि सिफारिस तथा तिनीहरूको विस्तारमा जोड दिँदै आइरहेका छन् । 

नेपालमा पनि सुरक्षित वा β(इम्ब्ए को मात्रा कम भएका खेसरीका जातहरूको विकास तथा प्रवर्द्धनमा ध्यान पुर्‍याउन जरुरी छ । यसको खेती बढाउने हो भने समग्र नेपालको खाद्य तथा पोषण सुरक्षाका साथै दालमा आत्मनिर्भर र बदलिँदो वातावरण अनुकूलन कृषि प्रणाली विकासमा मद्दत पुग्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अनिल पोख्रेल
डा. अनिल पोख्रेल
लेखकबाट थप