रोनाल्डोको दुई गोलमा साबिक विजेता पराजित

रियाद । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले साउदी प्रो लिगमा अल नासरले साबिक विजेता अल हिलाललाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा अल नासर ३–१ गोलले विजयी बनेको हो ।
खेलको पहिलो हाफमा अल हिलालले नियन्त्रण राखे पनि अग्रता भने पाहुना टोलीले लियो । निकै प्रतिस्पर्धात्मक खेलपछि पहिलो हाफको इन्जुरी समयमा अली अलहसनले अल नासरका लागि पहिलो गोल गरे ।
दोस्रो हाफको सुरुवातमा नै रोनाल्डोले साडियो मानेको पासमा टोलीको अग्रता दोब्बर बनाए । ६२ औँ मिनेटमा अली अलबुलाहीले गोल गर्दै अल हिलाललाई फर्काउने प्रयास गरे ।
तर, ८८ औँ मिनेटमा पाँच पटकको बालोन डी ओर विजेता खेलाडीले पेनाल्टीबाट गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । अल हिलालका डिफेन्डर अल हाब्रीले ह्यान्डबल गरेपछि अल नासरले पेनाल्टी पाएको थियो ।
जीतका बाबजुद २६ खेलपछि अल नासर ५४ अंकसहित तेस्रो स्थानमा सीमित छ । अल हिलालको समान खेलबाट ५७ अंक छ । शीर्ष स्थानमा रहेको अल इतिहादले एक खेल कम खेल्दै ६१ अंक बटुलेको छ ।
अब अल नासरले लिगमा अल रियादको सामना गर्नेछ ।