बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

महाप्रसाद भर्सेस कुलमान : कसको बिदाइ कति हार्दिक ?

शुक्रबार, २२ चैत २०८१, २२ : १५
शुक्रबार, २२ चैत २०८१

शुक्रबार नेपाल सरकार अन्तर्गतका दुई निकायका कार्यकारी प्रमुखको बिदाइ समारोह आयोजित थियो । मौद्रिक क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पाँचवर्षे कार्यकाल पूरा गरेर आज (शुक्रबार) बिदा भए । कार्यकक्षबाट बिदा भएलगत्तै उनले राष्ट्र बैंककै प्रांगणमा पत्रकार सम्मेलन गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय नीलम ढुंगाना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक, निर्देशक लगायत राष्ट्र बैंकका कर्मचारीहरू उपस्थित थिए । 

उनको बिदाइको सम्पूर्ण व्यवस्था राष्ट्र बैंकबाट नै भएको थियो । ‘नेपाल राष्ट्र बैंकद्वारा सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू (२०७७–२०८१) नामक पुस्तक समेत प्रकाशन गरियो । खासगरी यो उनको नियुक्तिदेखि अवकाशसम्मकै उपलब्धिको दस्तावेज हो । यस्तो अभ्यास पहिलोपटक भएको गभर्नर अधिकारी स्वयंले बताए । यी सबै कुरा हेर्दा उनको बिदाइ निकै हार्दिकतापूर्वक देखिन्थ्यो ।

त्यसको करिब डेढ घण्टापछि अर्को बिदाइ थियो, त्यो हो कुलमान घिसिङको । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रहेका घिसिङलाई मन्त्रिपरिषद् बैठकले चैत ११ गते बर्खास्त गर्यो । उक्त निर्णयविरुद्ध अदालत गएका घिसिङको पक्षमा अन्तरिम आदेश नआएपछि उनले बानेश्वरको इन्द्रेणी फुडल्यान्डमा पत्रकार सम्मेलन आयोजना गरे । यही कार्यक्रमलाई उनले ‘बिदाइको समारोह’ भनेर अथ्र्याए । त्यहाँ राष्ट्र बैंकको जस्तो सजावट थिएन, न त खानपानको व्यवस्था नै किनभने इन्द्रेणी फुडल्याण्डको खर्च प्राधिकरणले व्यहोर्दैनथ्यो, राष्ट्र बैंकको महाप्रसादले व्यहोर्नु पर्र्दैनथ्यो । संसारमा निजीकरण र उदारीकरणको सुरुवात त्यसै भएको होइन । 

राष्ट्र बैंकको बिदाइ समारोहजस्तो कुलमानको बिदाइमा न त कुनै कुनै उप कार्यकारी निर्देशक थिए, न त कुनै विभागीय प्रमुख र कर्मचारी नै । प्राधिकरणमा रहेर कुलमानलाई सघाएका कर्मचारी र उनको बर्खास्तीपछि खुलेरै विरोध गर्ने कर्मचारी युनियनका पदाधिकारीको उपस्थिति समेत त्यहाँ देखिएन । नियुक्ति मात्रै ठूलो कुरा होइन रहेछ, हार्दिक बिदाइ पनि अर्को उपलब्धि रहेछ ! 

यहाँ महाप्रसाद र कुलमानको फरक फरक छ, तर यसको मियो एउटै छ । अर्थात् दुबै पदबाट बिदा भएका छन्, यसको शैली भने फरक छ । तर, यो सन्दर्भ अहिले मात्रै लागु हुँदैन । अरु विभिन्न घटना छन् जसमा महाप्रसाद र कुलमानको अन्तरवस्तु मिल्दैन । 

महाप्रसाद अधिकारी २०७६ चैतमा गभर्नरको नियुक्ति पाए, उनलाई नियुक्त गरेको सरकार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै थियो । दुवैले राजनीतिक नियुक्ति पाउँदा दुई पात्रबीच नियुक्त गर्ने सरकार फरक छ । त्यसो त, महाप्रसादले कसैलाई हटाएर नेतृत्व लिएनन् । स्वभाविक रुपमा खाली भएको नेतृत्वका लागि लबिङ गरे, तर दोस्रो कार्यकालको लागि लबिङ पाएनन्, पाउने अवस्था भए सरकारले समयद नियुक्ति दिइसक्थ्यो । यसको विपरित कुलमानले कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई हटाउन लगाएर दोस्रो कार्यकालका लागि प्राधिकरणमा आएका थिए । 

दुवैको बिदाइ समारोहमा उपस्थित सञ्चारकर्मीको संख्या लगभग उस्तै थियो । तर, राष्ट्र बैंकका माइक र बुमहरू धेरै तेर्सिएनन्, तर ‘जेन्टलम्यान’ पत्रकारको बाक्लो उपस्थिति थियो त्यहाँ ।

दुई पात्रबीचको समानताको मियो भनेको बर्खास्ती हो । दुवैले सरकारबाट हटाइएको पत्र पाए । तर, नतिजा यहाँ पनि फरक देखियो । महाप्रसादको निलम्बन अदालतले उल्ट्याइदियो । कुलमानको बर्खास्ती सदर भयो । अर्थात् उनले अन्तरिम आदेश पाएनन् । सरकारले बदला लियो भनौ कि नियतिले, अरुलाई हटाएको सजाय उनले व्यहोरे, महाप्रसादले त्यस्तो व्यहोर्नुपरेन ।

अब लोकप्रियताको विषयमा जाउँ । 

यसमा पनि दुई जनाबीच आकाश जमिनको फरक देखिन्छ । कुलमानको बल भनेको लोकप्रियता हो । उनी जे लोकप्रिय हुन्छ जस्तो लाग्छ, त्यही गर्छन् । शुक्रबारको कार्यक्रमको सुरुमा नै उनले ‘मलाई काठमाडौंमा हटाउने निर्णय गर्दा चेपाङ बस्तीमा बत्ति पुर्याउने काममा खटिरहेको थिएँ’ भन्न भ्याए, किनभने त्यही बिक्थ्यो । 

यसको विपरित महाप्रसादको आधार लोकप्रियता होइन । अझ भनौ उनलाई लोकप्रियताको कतलब नै छैन । त्यसैले उनले शेयर बजारविरुद्ध कठोर नीति लिन सके । उद्योगी व्यवसायीको विरोधबीच चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन लागु गराउन सके । घरजग्गा व्यवसायमा कडा नीति लिए । आयातलाई कडाइ गर्ने नीति पनि बनाए । लोकप्रियताको पछि लागेको भए यी कुनै काम हुने थिएनन् । संसारमा नियामक निकाय भीडको पछि लाग्नु हुँदैन, यो मानेमा महाप्रसाद एकजना अब्बल नियामक थिए । 

अब शुक्रबारको प्रसंगतिर लागौं । दुवैको बिदाइ समारोहमा उपस्थित सञ्चारकर्मीको संख्या लगभग उस्तै थियो । तर, राष्ट्र बैंकका माइक र बुमहरू धेरै तेर्सिएनन्, तर ‘जेन्टलम्यान’ पत्रकारको बाक्लो उपस्थिति थियो त्यहाँ । यसको विपरित इन्द्रेणी फुडल्याण्डको सभाहलमा क्यामेराको ताँतीले छेकेर दर्शक दीर्घामा बस्नेले अगाडि देख्नै नसक्ने अवस्था थियो । 

अन्तिम समानता र फरक । महाप्रसाद र कुलमान दुवैले लिखित मन्तव्य पढे । दुवैको भाषण पट्यारलाग्दो थियो । पट्यारलाग्दो यो मानेमा कि कुनै पनि सम्बोधनमा पनि नयाँ कुरा केही थिएन । त्यसो त नयाँ सूचनाको अपेक्षा पनि सायद कसैसँग थिएन । राष्ट्र बैंकले सार्वजनिक गर्ने वित्तीय अवस्था सार्वजनिक भइसकेकै थियो । कुलमानले त झन् मन्त्रालयले सोधेको प्रष्टीकरणदेखि आफूले दिएको जवाफसम्म र अदालतको आदेशसम्म मिडियामा पठाइसकेकै थिए । 

तर, यहाँ के देखियो भने हार्दिकतापूर्वक बिदा भएका गभर्नर अधिकारीले मिडियाको प्रश्न फेस गर्न सकेनन् । उनी केही प्रश्नसँग डराइरहेको जस्तो देखिन्छ । खासगरी अर्थतन्त्रको वर्तमान अवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजदर, अधिक तरलताको अवस्था, नेपाल सम्पत्ति शुद्धीकरणको ग्रेलिस्टमा पर्नुपर्ने बाध्यता लगायतको साक्षी गभर्नर अधिकारी हुन् । राष्ट्र बैंकको गभर्नरको रुपमा उनको कुनै न कुनै भूमिका यसमा रहन्छ नै । त्यसैले होला आफ्नो मनतव्य सकिनेबित्तिकै उनले समारोह समापन गर्न लगाए । जीरो आवरमा पनि खासै खुलेर कुरा गरेनन् । 

त्यसको विपरित कुलमानले मञ्चबाटै सरकारमाथि सक्दो आलोचना गरे । सेन्टिमेन्ट बटुल्ने प्रयास गरे । सामान्यतया पत्रकार सम्मेलनमा ताली बज्दैन, किनभने पत्रकारले प्रश्न गर्छन्, विषवस्तु खोतल्छन् तर पक्ष वा विपक्षमा लाग्दैनन् । तर, इन्द्रेणी फुडल्यान्डमा उनको पक्षमा ताली बज्यो ।

भनिन्छ, कुनै विषयवस्तु वा परिस्थितिको तीनवटा प्रयोजन हुन्छ । पहिलो, यसले सूचना दिन्छ । दोस्रो, यसले ज्ञान दिन्छ । सबै दस्तावेजले सूचना वा ज्ञान दिनुपर्छ भन्ने अनिवार्य हुँदैन । त्यसले संज्ञान दिन्छ, अर्थात् त्यसबाट दर्शन वा बोध पाइन्छ । यी चर्चित दुई व्यक्तिबाट सूचना र ज्ञानको अपेक्षा कसैलाई थिएन । तर, जुन संज्ञानको खोजी थियो, त्यो कसैले दिएनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप