सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
तानातानको स्थिति

कुलमानको राजनीतिक यात्रा : पार्टी रोज्लान् कि स्वतन्त्र बस्लान् ?

शुक्रबार, २२ चैत २०८१, १८ : ००
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ तत्काल प्राधिकरण फर्कने बाटो बन्द भएसँगै अब उनी के गर्लान् भन्नेबारे सर्वत्र चासो छ । कुलमानले राजनीति गर्लान् कि नगर्लान् ? कुनै पार्टीमा सामेल हुन्छन् कि स्वतन्त्र (बालेन र हर्ककै शैली) भएर अघि बढ्लान् भन्नेबारे चासो बढेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै कुलमानले आफूलाई सरकारले प्राधिकरणबाट अपमानपूर्वक हटाए पनि आफू अबको समय जिम्मेवार नागरिकको हैसियतमा जुनसुकै जिम्मेवारी लिन तयार रहेको बताए । यसको प्रस्ट संकेत हो– कुलमान अब रिटायर्ड कर्मचारीका रूपमा मात्र बस्ने छैनन् ।

त्यतिमात्र होइन, उनले आफूमाथि अहिलेको सरकारले गरेको व्यवहारप्रति जनता स्वयं जानकार रहेको बताएर राजनीतिक यात्रा सुरु गर्ने र जनताकै साथ लिएर वर्तमान सरकारलाई जवाफ दिने योजनामा छन् भन्ने सहजै बुझ्न सकिन्छ ।

‘नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खटिएको थियो, कसको स्वार्थको विषयमा ममाथि जाइलागेको थियो भन्ने नेपाली जनता आफैँ जानकार छन्’, कुलमानले भनेका छन्, ‘आम उपभोक्ता, सर्वसाधारणले मप्रति देखाउनुभएको माया, प्रेम र विश्वास मेरा प्रेरणाका स्रोत हुन् ।’

पत्रकार सम्मेलनमा आफ्नो कार्यकालमा गरेका काम–कारबाहीसहित नौ पेज लामो विज्ञप्ति बाचन गरेका कुलमानलाई धेरै सर्वसाधारणको जिज्ञासा बनेको उनको भावी रणनीति र राजनीतिक यात्राबारे सञ्चारकर्मीले प्रश्न पनि गरे । तपाईंको भावी रणनीति के हो ? आगामी दिनमा राजनीति गर्ने कि नगर्ने ? गरे कुन पार्टीबाट राजनीति गर्ने ? यस्ता प्रश्नले घेरिएका कुलमानको सटिक जवाफ थियो, ‘राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ योगदान दिन म सदैव तयार छु ।’

त्यसो त कुलमान राजनीतिक रूपमा नेकपा माओवादी निकट छन् भन्ने धेरैको बुझाइ छ । उनलाई माओवादी केन्द्रले नै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएको सत्य हो । त्यसैले उनी अबको राजनीति पनि माओवादीबाटै गर्न सक्छन् भन्ने केहीको बुझाइ छ । यो बुझाइ केही हदसम्म सत्यनजिक भए पनि उनले अहिले नै यो पार्टी त्यो पार्टी नभनेकाले यसै भन्न सक्ने अवस्था छैन ।

त्यसो त नेकपा माओवादी केन्द्रले २०७९ को निर्वाचनमा आफ्नो चुनावी सामग्रीमा कुलमानको तस्बिर नै राखेको थियो । तर आलोचना भएपछि माओवादीले कुलमानको तस्बिर हटाएको थियो । सरकारले पछिल्लो समय कुलमानलाई प्राधिकरणबाट हटाउन खोजेपछि सबैभन्दा पहिला प्रतिरक्षामा उत्रिएको पनि माओवादी नै हो । उसले संसददेखि सडकसम्मै कुलमानप्रति सरकारले अन्याय गरेको भन्दै आवाज उठाउँदै आयो ।

कुलमानबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद नै चल्न नदिने भनेर माओवादीले संसद बैठकमा अवरोध गर्‍यो । कुलमान अदालत गएसँगै प्रधानमन्त्री पनि विपक्षीको माग अनुसार जवाफ दिन संसदमा पुगे । तर अदालत पुगेको विषयमा बहस गर्न जरुरी नभएको भन्ने जवाफ दिएर उनी पन्छिए ।

प्रधानमन्त्रीको जवाफलगत्तै अदालतले समेत कुलमानको पुनर्वहालीको मागसहितको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्‍यो ।

सायद अदालतको उक्त आदेशसँगै कुलमानले अब आफू प्राधिकरण फर्कन सम्भव छैन भन्ने ठानेरै शुक्रबार पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन सक्छन् ।

माने पनि, नमाने पनि अँध्यारो नेपाललाई उज्यालोमा परिणत गर्ने श्रेय धेरैजसो नागरिकले कुलमानलाई नै दिन्छन् । यद्यपि उज्यालो नेपाल बनाउने काम कुलमान एक्लैबाट सम्भव भएको भने होइन । विगतका ऊर्जामन्त्री र प्रधानमन्त्रीहरूको सहयोगबाटै कुलमानले त्यो श्रेय पाउन सम्भव भएको हो । जनताको सेन्टिमेन्ट बुझेका र कूटनीतिक शैलीमा कुरा गर्न जान्ने कुलमानले राज्यले दिएको जिम्मेवारी इमानदारी र निष्ठाका साथ पूरा गर्दा केही स्वार्थी समूहबाट आफ्नो मान, प्रतिष्ठा र इज्जतमाथि आघात पुग्नेगरी विगतबाटै प्रत्यक्ष–अप्रत्यक्ष चौतर्फी प्रहारका प्रयास भएको बताए ।

त्यतिमात्रै होइन, उनले आगामी दिनमा पनि सोही किसिमका प्रहार हुनेमा आफू सतर्क र सजग रहेको सार्वजनिक गरे ।

‘राज्यले दिएको जिम्मेवारी इमानदारी र निष्ठाकासाथ पुरा गर्दा मलाई केही स्वार्थी समूहबाट मेरो मान, प्रतिष्ठा र इज्जतमाथि आघात पुग्नेगरी विगतबाटै प्रत्यक्ष–अप्रत्यक्ष चौतर्फी प्रहारका प्रयास भएका थिए’, कुलमानले भनेका छन्, ‘मलाई कमजोर बनाउन आगामी दिनमा समेत सोही किसिमका प्रहार हुनेमा म सतर्क र सजग रहेको पनि सार्वजनिक गर्न चाहन्छु ।’ कुलमानको यो अभिव्यक्तिबाट पनि आगामी दिनमा आफूमाथि प्रहार हुनेमा उनी सतर्क र सजग छन् भन्ने बुझिन्छ ।

  • तानातानमा पर्न सक्छन् कुलमान

धेरै नागरिकको मन जित्न सफल भएका कुलमान राजनीतिमा प्रवेश गरे जुनसुकै पार्टी उनको स्वागत गर्न तयार देखिन्छन् । अहिले नै कुलमानबारे पार्टी र तिनका नेताहरूले सार्वजनिक रूपमा मुख नखोले पनि माओवादी, रास्वपादेखि कांग्रेस लगायतका दल उनलाई पार्टीमा भित्र्याउन चाहन्छन् । यसको संकेत रास्वपाकी नेतृ ज्वाला संग्रौलाले शुक्रबार पार्टी सभापति रवि लामिछाने र कुलमानको तस्बिर सार्वजनिक गरेरै दिइसकेकी छन् ।

अहिलेसम्म आफ्नो राजनीतिक लाइन ‘क्लियर’ नगरेका कुलमानले कुन दल रोज्लान् भन्नेबारे उठिरहेका जिज्ञासालाई निराकरण गर्न बाँकी छ । स्थानीय तह निर्वाचनमा बालेन शाह, हर्क साम्पाङ लगायतले हासिल गरेको सफलता हेर्ने हो भने राजनीतिमा कुनै दलको सहारा नभए पनि जनताको रोजाइमा पर्न सकिन्छ भन्ने उदाहरण स्थापित भएको छ । कुलमानका सामु यो विकल्प पनि छ । त्यसैले उनको राजनीतिक जीवन कता जोडिन्छ र कसरी अघि बढ्छ भन्नेबारे जान्न केही समय कुर्नैपर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप