शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय जनमोर्चाले गर्‍यो राजधानी केन्द्रित आन्दोलन घोषणा

शुक्रबार, २२ चैत २०८१, १५ : ५३
शुक्रबार, २२ चैत २०८१

काठमाडौं । गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले चैत्र २४ आइतबारदेखि ३० गतेसम्म साप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन घोषणा गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । 

कार्यक्रममा गणतन्त्र नेपाली जनताले ठूलो संघर्ष र बलिदानपछि स्थापित गरेको अध्यक्ष केसीले बताए । यसलाई ध्वस्त पार्ने षड्यन्त्र भइरहेकोले त्यसलाई परास्त गर्न निरन्तर संघर्षरत गर्ने धारणा राखे । 

‘संघीयता नेपालको राष्ट्रियता र आर्थिक स्थायित्वका लागि ठूलो बोझ बनेको छ, त्यसैले यसको खारेजी जरुरी छ’, केसीले भने ‘गणतन्त्र जोगाउन पनि संघियता खारेज गर्न जरूरी छ ।’

पत्रकार सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सन्देश, फागुन २५ गते आयोजित राजावादी शक्ति प्रदर्शन र चैत्र १५ गतेको हिंसात्मक घटनालाई प्रतिगमनको गम्भिर सङ्केतका रूपमा उल्लेख गरिएको छ । राष्ट्रिय जनमोर्चाले सम्पूर्ण गणतन्त्रवादी शक्तिहरूबीच सहकार्यको आवश्यकता औंल्याएको छ ।

कार्यक्रममा उपाध्यक्ष दुर्गा पौडेलले आन्दोलन कुनै व्यक्ति विशेष वा पार्टी विशेषको विरुद्ध नभएर आन्दोलन गणतन्त्र, राष्ट्रियता र जनताको आर्थिक हितको लागि भएको बताइन् । 

जनमोर्चाका नेता तथा राष्ट्रिय सभा सदस्य तुलप्रसाद बिश्वकर्माले संघियता व्यवहारी रूपमा असफल भएको बताए । उनले देश र जनताको हितका लागि संघियता खारेजीका लागि अनिवार्य भएको धारणा राखे ।

आन्दोलनअन्तर्गत प्रत्येक दिन राजधानीका विभिन्न स्थानमा जुलुस, सभा, सांस्कृतिक कार्यक्रम र प्रचारात्मक अभियान सञ्चालन गरिनेछ । सभा हुने प्रमुख स्थानहरूमा शान्तिबाटिका (रत्नपार्क), चाबहिल चौक, माइतीघर मण्डला, गोंगबु चौक, न्यूरोड ९भूगोल पार्क० र भृकुटीमण्डप रहेका छन् ।

 आन्दोलन प्रत्येक दिन दिउँसो २ बजे हुनेछ । आन्दोलनमा अध्यक्ष केसी, नेता बोमबहादुर खत्री, महासचिव मनोज भट्ट, नेकपा (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, सल्लाहकार आनन्द शर्मा तथा उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरूले सम्वोधन गर्नेछन् । राष्ट्रिय जनमोर्चाले सम्पूर्ण नागरिकलाई आन्दोलनमा सहभागी भई गणतन्त्र र राष्ट्रियताको रक्षामा योगदान दिन अपिल गरेको छ ।

Untitled-2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप