बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन कविता

शुक्रबार, २२ चैत २०८१, १५ : ५५
शुक्रबार, २२ चैत २०८१
  • १) परिवर्तनको युद्ध

हामीले स्वतन्त्रता माग्यौँ
हामीले मुक्ति माग्यौँ
हामीले परिवर्तनको युद्ध माग्यौँ 
माग्नु अपराध ठहरिन्छ भने
हामी अपराधी करार नै हुनेछौँ ।

परिवर्तन हिँडेर हुन सक्छ
परिवर्तन बोलेर हुन सक्छ
परिवर्तन युद्ध लडेर हुन सक्छ
परिवर्तनको युद्धलाई कमजोर ठानी
बिच्क्याउने कोसिस नगर्नु
त्यो आगोजस्तो दन्केर
जुलुसहरू विस्फोटित हुन सक्छन् । 

छातीभरि देश सजाएर 
आमाको आशीर्वाद थापी
उकालीहरू चढ्नुपर्ने
ओरालीहरू झर्नुपर्ने
पानी बाल्दै
आगोका जङ्घारहरू तर्नुपर्ने ।

मैदान खुला भएरै पनि 
लुकिछिपी हमला गर्छौ किन ?
तिम्रो हमला परास्त गर्दै
हामीले नै विजयको झन्डा फहराउनुपर्ने
कठोर युद्ध हो हाम्रो
हामी प्राणाहुति गर्न तयार छौँ 
देश परिवर्तनको सङ्घारमा छ
हामी परिवर्तनका लागि तयार छौँ 
दासत्वको दलदलमा कहिलेसम्म फसी बस्ने ?
परिवर्तनको युद्धमा सामेल बनौँ हामी 
उज्यालो क्रान्ति छर्ने गरी ।
००

  • २) जिन्दगी

जिन्दगी
आज पनि
कोरम नपुगेको जुवाको खालजस्तै भएको छ
कति थाप्नु च्याँखेहरू ?
न त च्याँखे बल्झिएकै छ
जीवन नै च्याँखे दाउ भएको बेला
खालमा बसी दाउ को हान्ला ?
साँच्ची प्रिय पाठकहरू
जिन्दगीको परिभाषा गर्ने कसरी ?
तपाईंहरू त जीवनको परिभाषा खोज्ने मान्छे
साँच्ची, जिन्दगी फूलजस्तै छ 
या नमिठो शूलजस्तै छ 
जवाफ पाउँ न महाशय
मौनता साँधी चुपचाप बस्नुहुन्छ किन ?
ए हजुर !
म पनि जिन्दगीको अर्थ खोज्ने मान्छे
कहिले आफैँमा हराउँछु
कहिले तपाईंहरूमा नै समाहित हुन्छु
तपाईंहरूको कुरो मानुँ या न मानुँ ?
न फूल भन्नु भो
न शूल भन्नु भो
बेतुकको परिभाषा गर्दै
तपाईंहरू भन्नुहुन्छ
जिन्दगी– जहरको समुद्र हो
जिन्दगी– डलरको सेमिनार हो
र जिन्दगी– जुवाघरको करामत हो ।

महाशय,
फरक मत राख्नुपर्छ मैले
तपाईं जेसुकै भन्नुस्
यो बजारमा त जिन्दगी
केवल माथिकै आशीर्वाद हो
कहिले चाकडी गर्छ
कहिले चाप्लुसी घस्छ ।
००

 

  • ३) क्रिस हनी


आज म रोएको छु
र मेरो क्रिस हनी पनि
शोकाकुल छन् मान्छेहरू
धैर्यताको बाँध टुटेको छ
एउटा आस्था ढालेर
सैतान अट्टहास गरिरहेछ ।

भवष्य पर्गेल्ने हातहरू
जञ्जिरले बाँधिएको छ
आकाशमा वेग मार्दै फुरुङ्ग उडेको मन पनि
हठात् एउटा बल्छीमा फसाइएको छ
मेरो आस्थाको क्रिस हनीलाई
मेरै आँखा अगाडि ढालिएको छ ।


म हेर्न सक्तिनँ यो विभत्सता
क्रान्ति बाँकी नै छ
तिमी ढल्यौ
तिम्रो आस्था ढलेको छैन
महान् सपुत
तिमीलाई मेरो सलाम छ ।

सपनाको महलबाट
एउटा सुन्दर सपना खोसिएको छ
वर्तमान टेकेर हिँड्ने पाइतालालाई
मूल बाटोमै अवरोध हाली
विषालु काँडा बिछ्याइएको छ
मेरो क्रिस हनी
मानवतावादको बहस गर्दै
जोडजोडले चिच्याइरहेकै छ 
मेरो मनको कोठामा फुलेको फूल
अनायसै खडेरीले मुर्झाएको छ
मेरो गतिशील यात्रालाई
विखण्डित गर्न
अवरोधका पर्खाल ठड्याइएको छ 
मेरो आस्था र विश्वासलाई गर्ल्याम्म ढालिएको छ 
समय सावधान !
मलाई मेरो क्रिस हनी चाहिएको छ ।
०००
(दक्षिण अफ्रिकाको कम्युनिस्ट पार्टीका महासचिव हुन् क्रिस हनी ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाशचन्द्र खतिवडा
प्रकाशचन्द्र खतिवडा
लेखकबाट थप