मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय
हिंसात्मक प्रदर्शन

तीनकुने काण्डपछि राजावादी समूह तितरबितर, प्रसाईंलाई कमाण्डर बनाएकोमा असन्तुष्टि

शुक्रबार, २२ चैत २०८१, १९ : ००
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी सम्मिलित विरोधसभा हिंसात्मक भएपछि आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं फरार छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई सुरक्षाकर्मीले घरमै कडा सुरक्षा निगरानीमा राखेको छ ।

त्यस दिनको हिंसात्मक घटनापछि राजावादी समूह कमजोर भएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ । राजावादी आन्दोलनलाई समर्थन गरेका बौद्धिक वर्गले पनि अभियानबाट हात झिक्दै गएका छन् ।

प्रसाईं फरार रहेको र सुवेदी नजरबन्दमा परेपछि संस्कृतिविद् डा. जगमान गुरुङलाई समितिको संयोजक बनाइएको छ । यद्यपि समितिले अहिलेसम्म आगामी आन्दोलनको ठोस कार्यक्रम सार्वजनिक गरेको छैन ।

समितिलाई नैतिक समर्थन गरेका राप्रपा र राप्रपा नेपाल, पूर्वमन्त्री केशरबहादुर विष्ट लगायतसमेत सन्तुष्ट देखिएका छैनन् । पूर्वराजा ज्ञानेन्द्र शाहको नजिक बन्ने दौडमा देखिएका राजावादी समूह दंगा भड्किएपछि तितरबितर भएका छन् ।

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ जनाविरुद्ध प्रहरीले राज्य विप्लव गरेको आरोपमा मुद्दा चलाएको छ । घटनामा संलग्न अन्य ५६ जानालाई पक्राउ गरी कसुर अनुसारको मुद्दा चलाइएको छ । फरार रहेका प्रसाईंको प्रहरीले खोजी गरिरहेको छ ।

सुरुमै आन्दोलन रक्षात्मक भएपछि आगामी योजना के–के छन् भन्ने विषयमा राजावादी समूहभित्र मत बाझिएको छ । राप्रपाले बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर घटनाबारे ध्यानाकर्षण गराएको छ ।

पक्राउ परेका आफ्ना नेताहरूलाई तत्काल छुटाउन राप्रपाले दबाब दिएको छ । चैत २६ गते काठमाडौँमा हुने विरोध प्रदर्शनको तयारीमा रहेको राप्रपाले पूर्वपञ्चहरूलाई समेटेर आन्दोलनको तयारी गरेको छ । राप्रपाले आफूहरूसँग कुनै छलफल नै नगरी प्रसाईंलाई कमाण्डर बनाएको, संयुक्त जनआन्दोलन समिति घोषणा गरेकोमा असन्तुष्टि जनाउँदै आएको छ ।

राप्रपाका नेता बुद्धिमान तामाङले मञ्चमा पूर्वराजा ज्ञानेन्द्रको भन्दा ठुलो फोटो प्रसाईंको देखेपछि आफूहरू त्यहाँबाट हिँडेको अभिव्यक्ति दिएका थिए । चैत २० गते सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तामाङले त्यस दिनको आन्दोलनलाई समर्थन गर्नु पार्टीको गल्ती भएको स्वीकारेका थिए । उनको यस अभिव्यक्तिले राजावादी आन्दोलनमा प्रसाईं हाबी भएको विषयलाई राप्रपाले नरुचाएको प्रस्ट पारेको छ ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले सो दिनको आन्दोलनमा आफूहरूको समर्थन नरहेको जिकिर गरे । पार्टीका शीर्ष नेता पक्राउ परेको विषयमा आफू जवाफदेही नहुने उनले बताए । उनले संयुक्त जनआन्दोलन समिति गठन प्रक्रियाप्रति पनि तीव्र असन्तुष्टि पोखे । अब समान विचार र पार्टीलाई समेटेर राप्रपाको अगुवाइमा आन्दोलनलाई अगाडि बढाउने उनको भनाइ छ ।

‘संयुक्त जनआन्दोलन समितिसँग कुनै सम्बन्ध छैन । समर्थन पनि छैन । पार्टीका नेताहरू क–कसले समर्थन गरे, त्यो उहाँहरूको कुरा हो । हामी आन्दोलनलाई सशक्त बनाउने तयारीमा छौँ । समग्र आन्दोलनको नेतृत्वकर्ता राप्रपा नै हो । समान विचार र लक्ष्य प्राप्तिका लागि लडाइँ भएकाले हामी सबैलाई मिलाएर आन्दोलनलाई थप सशक्त बनाउने तयारीमा छौँ’, उनले भने ।

राप्रपा नेपालका नेता राजाराम बर्तौलाले आफूहरूसँग सरसल्लाह नगरी समिति गठन भएकाले पार्टीले समर्थन नगर्ने बताए । यद्यपि राजसंस्था पुनर्स्थापना गर्ने अभियान शिथिल नभएको जिकिर गर्दै उनले पार्टीको नेतृत्वमा आन्दोलनलाई थप सशक्त बनाउने विषयमा आन्तरिक गृहकार्य भइरहेको जानकारी दिए ।

‘तीनकुने घटनापछि आन्दोलन केही शिथिल जस्तो देखिए पनि हामी चुप लागेर बसेका छैनौँ । पार्टीले आन्दोलनलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन गृहकार्य गरिरहेको छ’, उनले भने, ‘जहाँसम्म संयुक्त जनआन्दोलनको कुरा छ, त्यो कुनै सरसल्लाहविना गरिएको थियो । नीति, योजना, कार्यक्रमको विषयमा सम्बन्धित पक्षसँग सल्लाह नै नगरी घोषणा भएको समितिलाई समर्थन गर्ने कुरा हुँदैन ।’

यद्यपि समान विचार र लक्ष्य भएका दलहरू र समर्थकहरू एकठाउँमा आउनुपर्ने उनको भनाइ छ ।

तीनकुने घटना सरकारले लुकाउन खोजे पनि बिस्तारै पर्दाफास हुँदै गएको बर्तौलाको बुझाइ छ । पछिल्लो समय बाहिरिएका तथ्यले सरकारलाई बिस्तारै ‘ब्याक फायर’ भएको उनले भने । उक्त घटनामा गृहमन्त्री पूरै असफल भएकाले तत्काल राजीनामा दिन उनले सुझाव दिए ।

यता संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले हालसम्म समितिले कुनै कार्यक्रम घोषणा नगरे पनि राजावादी आन्दोलन कमजोर भएको हल्ला निराधार भएको बताए ।

उनका अनुसार यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्म राजाको स्वागत कार्यक्रम गरिएको र कोटेश्वर, तीनकुनेमा आयोजित कार्यक्रम पनि आन्दोलन नभएर अभियानका आफ्ना नीतिहरू घोषणा कार्यक्रममात्र थियो ।

‘आन्दोलन कमजोर बनेको भनेर देशविरोधी र निरंकुशतावादीहरूले सिर्जना गर्न खोजेको भाष्यमात्र हो,’ नेपालले भने, ‘सुरु नै नभएको आन्दोलन कमजोर हुने भन्ने प्रश्नै रहँदैन ।’

अहिले आन्तरिक छलफलमै रहेकाले भोलिसम्म जनआन्दोलनका चरणबद्ध कार्यक्रमहरू प्रचारात्मकदेखि अल्टिमेटम हुँदै अनिश्चितकालीन आमहडताल अकुपाइ नारायणहिटीसम्म घोषणा गर्ने नेपालले जानकारी दिए ।

उनले त्यसदिन आन्दोलनका कार्यक्रम घोषणा नै नभई निरंकुशतावादी र परचक्रीहरूको चङ्गुलमा फसेको सरकारले आत्तिएर आफ्नो सबै शक्ति प्रयोग गर्दासमेत पराजित भएर आफ्ना अपराध लुकाउन षड्यन्त्रपूर्वक अन्यत्र दोष थोपरेको आरोप लगाए ।

बिस्तारै सरकारले गरेको दमनको पर्दाफास हुँदै गएको प्रवक्ता नेपालको भनाइ छ । उक्त घटनामा मिडियाहरूले पनि निरंकुशताको पक्षमा पक्षपोषण गरेकोमा उनले असन्तुष्टि पोखे ।

आन्दोलनलाई सभ्य, सुसंस्कृत, शान्तिपूर्ण र दमनविरुद्ध प्रभावकारी बनाउनका लागि सबै जिल्लामा परिचालन समिति र विभिन्न देशमा जनआन्दोलन समर्थन समितिहरू गठन गरिने उनले जानकारी दिए ।

चैत १५ गते गणतन्त्रवादी चार दलीय समाजवादी मोर्चाको भृकुटीमण्डपमा विरोधसभा थियो । तर सभालाई चुनौती दिँदै विवादास्पद मेडिकल व्यवसायी प्रसाईंले सोही दिन आयोजना गर्ने गरी विरोधसभा आह्वान गरेका थिए । संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीसँग कुनै छलफल नगरी उनले गणतन्त्रवादी विरुद्ध उत्रिन आग्रह गरेका थिए ।

अघिल्लो दिन निर्मल निवास पसेर आन्दोलनको कमाण्ड आफ्नो हातमा लिएका उनले घटनास्थलमा प्रहरीलाई नै पेल्नेगरी फिल्मी शैलीमा गाडी चलाएका थिए । यद्यपि दंगा भड्किएपछि उनी फरार भए ।

प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको थियो । त्यसपछि प्रसाईंका समर्थकहरूले सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड गर्दा अर्का एक जना पत्रकारको ज्यान गएको थियो । हिंसा भड्किनुमा सरकार र आयोजक दुवै पक्षले एक अर्कालाई आरोप लगाएका छन् । राजावादीले उद्दण्डता मच्चाएपछि प्रतिरक्षाका लागि बल प्रयोग गर्न बाध्य भएको सरकारको दाबी छ । राजावादीहरूले शान्तिपूर्ण सभामा गोली प्रहार गरेर सरकार नै दमनमा उत्रिएको आरोप लगाएको छ ।

तर त्यसदिनको घटना नियोजित थियो वा सरकार र आयोजकको असंयमताको पराकाष्ट थियो भन्ने विषयमा अहिलेसम्म निष्पक्ष न्यायिक छानबिन हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप