आइतबार, २४ चैत २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

बालबालिकालाई किन हुन्छ दम ?

शुक्रबार, २२ चैत २०८१, १३ : १९
शुक्रबार, २२ चैत २०८१

बालबालिकाको श्वासप्रश्वास नली सुन्निएको र खुम्चिएको अवस्था नै बाल दम हो । यस्तो अवस्थामा बालबालिकालाई श्वास फेर्न गाह्रो हुन्छ । बालबालिकामा हुने दम ९० प्रतिशत एलर्जीका कारण हुन्छ, जबकि वयस्कमा ५० प्रतिशत एलर्जी र बाँकी अन्य कारणले हुन्छ । बालबालिकामा लाग्ने दम नियन्त्रण गर्न सजिलो हुन्छ । केही समयपछि औषधि बन्द गर्न सकिने सम्भावना बढी हुन्छ, जबकि वयस्कमा त्यस्तो हुँदैन । 

  • किन हुन्छ बाल दम ? 

बाल दम वंशाणुगत तथा वातावरणीय गरी दुई कारणले हुन्छ । यदि आमाबाबुमा एलर्जीको समस्या छ भने सन्तानमा पनि त्यो समस्या देखिने सम्भावना बढी हुन्छ । वंशाणुगत कारणलाई परिवर्तन गर्न सकिँदैन । वातावरण कारण भने केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । 

कुनै बच्चा समयअगावै (प्रिम्याच्योर) जन्मिएको छ भने दम हुने उच्च जोखिम हुन्छ । यस्तै, आमाको तनावपूर्ण जीवनशैली तथा गर्भावस्थामा गरिएको धूपमानले बच्चामा दमको जोखिम बढाउँछ । 

आजकाल प्राकृतिक प्रसूति (नर्मल डेलिभरी) भन्दा सिजेरियन प्रसूतिको प्रचलन बढ्दै गएको छ । तर, सिजेरियन प्रसूतिले दम रोगको जोखिम बढाउँछ । बरु प्राकृतिक रुपमा हुने प्रसूति दम रोगका लागि सुरक्षित हुन्छ । यसैगरी, शिशुहरूलाई स्तनपान नगराई चाँडै नै ‘फर्मुला फिडिङ’ गराउने प्रचलन तथा चिकित्सकको परामर्शविना जथाभाबी एन्टिबायोटिकको प्रयोगले पनि बालबालिकामा दम रोगको जोखिम बढाइरहेको छ । 

यी त भए शिशु जन्मनुअघि र जन्मिएपछि हुने जोखिमपूर्ण अवस्था हो । 

यसबाहेक घरभित्र र बाहिरको वातावरणीय कारणले पनि दममा भूमिका खेलेको हुन्छ । घरमा कुनै सदस्यले धूपमान गर्छन् भने, दाउरामा खाना पकाउने गरिन्छ, भान्छा कोठा र बेडरुम एकै ठाउँमा छ भने, निर्माण, कलकारखाना तथा गाडीबाट निस्कने धुवाँलगायतका बाह्य कारणले बालबालिकामा दम रोगको जोखिम बढाइरहेको हुन्छ ।

  • लक्षण के हुन् ? 

दममा श्वासप्रश्वासको नली सुन्निएर खुम्चिने भएकाले श्वास फेर्न गाह्रो हुने प्रमुख लक्षण हो । यसका साथै, बारम्बार खोकी लाग्ने, घ्यारघ्यार हुने, घाँटी चुइँचुइँ गरेर सिट्ठी बजेजस्तो आवाज आउने, दम अलि बढी नै छ भने यस्तो आवाज बाहिरै सुन्निने हुन्छ । बच्चा कुरा गर्न सक्ने अवस्थाको छ भने श्वास फेर्न गाह्रो भयो भन्ने गर्छन् । 

यसबाहेक बिहान–साँझ खोकी लाग्ने, खेल्दा या जोडले हाँस्दा खोकी लाग्ने लक्षण पनि बालबालिकामा देखिन्छ । 

  • सामान्य रुघाखोकी र दममा के फरक छ ? 

५ वर्षमुनिका बालबालिकामा महिना–दुई महिनामा रुघाखोकी लाग्नु सामान्य कुरा हो । भाइरल इन्फेक्सन रहेछ भने यस्तो रुघाखोकी ४–५ दिनमा आफैँ निको हुन्छ । तर, रुघाखोकी लाग्दा अन्य लक्षणहरू जस्तै, श्वास फेर्न गाह्रो छ, स्याँ स्याँ हुन्छ र राति बढी खोकी लाग्छ भने दम हो कि भनेर शङ्का गर्नुपर्ने हुन्छ । 

यसका साथै, एक पटक रुघाखोकी लागेर निको भएदेखि अर्कोपटक रुघाखोकी लागेको बिचको अवधिमा बच्चाहरूको अवस्था कस्तो थियो भनेर पनि हामी हेर्छौँ । बिचको अवधिमा पनि हाँस्दा या खेल्दा खोकी लाग्छ, स्याँ स्याँ हुन्छ, उमेर समूहका साथीसँग खेल्न मन नगर्ने हुन्छन् भने दमको शङ्का गर्नुपर्ने हुन्छ । 

सामान्य रुघाखोकी लाग्ने समस्या ५ वर्षको उमेरसम्म आफैँ निको भएर जान्छ, धेरै नियमित औषधि दिनुपर्दैन । तर, दमसँग मिल्दोजुल्दो लक्षण भएका बालबालिकालाई रोग पहिचानपछि लामो समय उपचार गर्नुपर्ने हुन्छ । 

अर्को महत्त्वपूर्ण कुरा फेमिली हिस्ट्री हो । यदि बाबुआमा, दाजुभाइ या दिदीबहिनीलाई दम भएको छ र बालबालिकाको रुघाखोकी दुई सातासम्म लम्बिन्छ, दमको शङ्का गर्नुपर्ने हुन्छ । 

  • उपचार विधि के ? 

बालबालिकालाई रुघाखोकी लाग्दा श्वास फेर्न अप्ठेरो भएको अवस्थामा कतिपय अभिभावकले नेबुलाइजर लगाइदिन्छन् र ठिक भयो भन्छन् । नेबुलाइजरले खुम्चिएको श्वासप्रश्वासको नलीलाई फुलाइदिने हुनाले श्वास फेर्न सजिलो हुन्छ । तर, यदि नेबुलाइजर बारम्बार प्रयोग गर्नुपर्ने अवस्था छ भने दम हुन सक्छ । यस्तो अवस्थामा नेबुलाइजरमा भन्दा इन्हेलर थेरापीमा जानुपर्छ । पफ ट्रिटमेन्ट दुई खालको हुन्छ–एउटा रेस्क्यु ट्रिटमेन्ट र अर्को कन्ट्रोलर ट्रिटमेन्ट । 

यदि श्वास फेर्न गाह्रो छ, खोकी लागिरहेको छ भने त्यस्तो अवस्थामा रेस्क्यु थेरापी गर्नुपर्छ । यसले तत्काल राहत दिन्छ । तर यो सधैँका लागि होइन । मुख्य औषधि भनेको कन्ट्रोलर थेरापी हो, जसमा बढी स्टेरोइड प्रयोग हुन्छ । 

स्टेरोइड प्रयोग गर्ने भनेपछि धेरैजसो अभिभावकहरू डराउँछन् । तर, बुझ्नुपर्ने कुरा के छ भने यसरी बालबालिकामा प्रयोग गर्ने औषधि एकदमै कम डोजको हुन्छ । रेस्क्यु थेरापीमा श्वास नली फुलाइन्छ मात्र, त्यसले सुन्निएको समस्या समाधान गर्दैन  । सुन्निएको श्वासनलीको तत्काल उपचार नगर्ने हो भने यसको संरचना बिग्रँदै जान्छ । र, बिग्रिएपछि ठिक हुनुको साटो झन् रोग बिग्रँदै जान्छ । श्वासनलीको संरचना बिग्रिएपछि सामान्य कारणले नै दमको लक्षण देखिन्छ थाल्छ । 

त्यसैले सुन्निएको अवस्थालाई कम गर्न कन्ट्रोलर थेरापी प्रयोग गर्नुपर्छ, जुन स्टेरोइड थेरापी हो । यसले सुन्निएको अवस्थालाई बिस्तारै कम गदै लैजान्छ र रोग नियन्त्रण हुन्छ । 

  • बाल दमको जटिलता 

अभिभावकहरू रेस्क्यु थेरापी गरेपछि अलि सहज भएर उपचार गर्नै छाडिदिन्छन् । यस्तो अवस्थामा श्वासप्रश्वास नलीमा रहेको सुन्निएको अवस्था भने रहिरहन्छ । यस्ता बालबालिकालाई दमको जटिलता हुने 

 सम्भावना बढी हुन्छ र बालबालिकालाई आइसीयूसम्म भर्ना गर्नुपर्ने अवस्था हुन सक्छ । यो अवस्था आउन नदिन कन्ट्रोलर थेरापीको भूमिका हुन्छ ।

यदि रोग नियन्त्रणमा छैन भने श्वासप्रश्वास नली खुम्चिँदा त्यहाँ कीटाणुहरू उत्पन्न हुन्छन् र निमोनिया हुने सम्भावना हुन्छ । बच्चामा तत्काल सुधारजस्तो देखिए पनि केही अवधिपछि फेरि लक्षण देखिन्छ र पछि सीओपीडी अर्थात् श्वासप्रश्वासजन्य रोग देखिने सम्भावना हुन्छ ।

  • दम हुन नदिन अभिभावकले कस्ता कुरामा ध्यान पुर्‍याउने ? 

सबैभन्दा पहिले शिशुको जन्मको माहौल तनावरहित बनाउनुपर्छ । यस्तै, जस्तो समस्यामा पनि एन्टिबायोटिकको प्रयोग गरिहाल्ने प्रवृत्ति छाडिहाल्नुपर्छ । दमको उपचार प्रक्रिया अलि लामो हुन्छ, केही साता, महिना या वर्ष लाग्न सक्छ । त्यसैले डाक्टरले भनेको कुरा लागू गर्नुपर्छ, उपचार बिचमा छाड्नुहुन्न । अनि, स्टेरोइड भन्दैमा आत्तिनुहुन्न । स्टेरोइड प्रयोग गर्दा के हुन्छ, के हुँदैन बुझेर उपचार गर्नुपर्छ ।

(डा. बगारिया नर्भिक अस्पतालकी कन्सल्ट्यान्ट पिडियाट्रिसियन हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अन्जली बगारिया घिरैया
डा. अन्जली बगारिया घिरैया
लेखकबाट थप