सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

नाकबाट रगत बग्यो ? वायु प्रदूषणले गर्दा पनि हुन सक्छ

शुक्रबार, २२ चैत २०८१, ११ : ०५
शुक्रबार, २२ चैत २०८१

कार्यालयबाट फर्कंदै थिए । गर्मी भएकाले गाडीको झ्याल खोलेँ तर अचानक आँखा पिरो भएको महसुस भयो । वायु प्रदूषणको स्तर केही दिन यता बढ्दै गइरहेको जानकारी आइरहेका थिए । घरमा पुगेर स्विजरल्याण्डमा अवस्थित ‘एयर क्वालिटी टेक्नोलोजी कम्पनी’ले देखाउने ‘एयर क्वालिटी इन्डेक्स’ अर्थात् ‘एक्युआइ’ को मापन हेर्दा काठमाडौँको इन्डेक्स भ्यालु ३०० भन्दा बढी पुगेको देखाइरहेको थियो । यो अवस्था भनेको वायु प्रदूषणले ‘रेड लाइन’ पार गरेको भनेर बुझ्नु पर्दछ, अर्थात् स्वास्थ्यका लागि अत्यन्त जोखिमपूर्ण वा हानिकारक छ भनेर बुझ्नु पर्दछ । यतिमात्र होइन, ठाउँ अनुसार पनि वायु मापन यन्त्रले फरकफरक ‘एक्युआइ’ देखाइरहेको छ । जस्तैः चैत २१ गते राति झन्डै १० बज्ने बेला (यो लेख लेख्दै गर्दा)को मापन हेर्दा ललितपुर जावलाखेलको ‘एक्युआइ’ को स्तर ४५५ पुगेको देखाइरहेको थियो । यद्यपि यो बढ्ने घट्ने क्रम भने रहिरहने छ ।

अमेरिकी एयर क्वालिटी इन्डेक्सका अनुसार ‘एक्युआइ’ ३०० भन्दा बढी देखिए स्वास्थ्यका लागि ‘वार्निङ सङ्केत’ को रूपमा लिनुपर्दछ । यो स्तरको प्रदूषणले जो–कोहीलाई अस्वस्थ गराउन सक्ने जोखिम अत्यधिक हुने गर्दछ । यसर्थ पनि अहिलेको समय सम्बन्धित निकायले सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै विशेष उपाय र योजना ल्याउन जरुरी हुन्छ ।

सन् २०२१ मा नेपालमा वायु प्रदूषणको स्तर अति उच्च हुँदा विद्यालयहरू चार दिनका लागि बन्द गरिएको थियो । त्यो बेला पनि यही समयतिर अर्थात् मार्च ३० देखि अप्रिल २ सम्म देशभरिका विद्यालय बन्द गरिएका थिए ।

अमेरिकी एयर क्वालिटी इन्डेक्सको अनुसार ‘एक्युआइ’ लाई ६ भागमा विभाजित गरिएको छ । ‘एक्युआइ’ ०–५० इन्डेक्स भ्यालु भएमा त्यो स्वास्थ्यको दृष्टिकोणले सन्तुष्ट नै मानिन्छ । त्यस्तै ‘एक्युआइ’ ५१–१०० इन्डेक्स भ्यालु भएमा स्वास्थ्यको दृष्टिकोणले सन्तोषजनक माने पनि कोही–कोहीलाई भने छालाको एलर्जी हुन सक्छ । ‘एक्युआइ’ १०१–१५० सम्मको इन्डेक्स भ्यालु भएमा केही स्वास्थ्य संवेदनशील भएकालाई स्वास्थ्य समस्या देखिन सक्ने भएता पनि समग्रमा अरुलाई भने समस्या देखिने छैन । त्यस्तै ‘एक्युआइ’ १५१–२०० सम्मको इन्डेक्स भ्यालु भएमा समुदायका केहीलाई स्वास्थ्य समस्या देखिन सक्नेछ भने स्वास्थ्य संवेदनशील भएकालाई थप जोखिम हुन सक्नेछ । तर २०० देखि माथि देखिन थालेमा भने जो–कोहीलाई स्वास्थ्य समस्याको जोखिम बढ्न सक्ने छ । यदि ३०० भन्दा माथिको ‘एक्युआइ’ देखिए जो–कोहीलाई जटिल स्वास्थ्य समस्या हुन सक्ने ‘वार्निङ सङ्केत’ को रूपमा लिनुपर्ने हुन्छ ।

वायु प्रदूषण भन्ने बित्तिकै पीएम २.५ जोडेर आउने गर्दछ । वायु मण्डलमा देखिने÷तैरिन सक्ने तरल वा ठोस पदार्थको व्यास २.५ माइक्रो मिटर वा सोभन्दा सानो भए पीएम (पार्टीकुलेट म्याटर) २.५ भन्ने गरिन्छ । यो आकारको पदार्थ प्राकृतिक वा मानिसबाट उत्पन्न हुन सक्दछ । जस्तै धुलो, धुवाँ, यातायातमा प्रयोग हुने इन्धन, कलकारखाना प्रयोग भएका रसायन आदि पीएम २.५ का स्रोत हुन् । यसबाट विशेष गरेर श्वास–प्रश्वास तथा मुटुसँग सम्बन्धित समस्या देखिने गरेका विभिन्न अध्यन अनुसन्धान देखाएका छन् ।

पीएम २.५ हाम्रो श्वास प्रश्वास नालीबाट सहजै प्रवेश गर्दै फोक्सो अनि रगतसम्म मिसिन सक्ने भएकाले फोक्सो र मुटुमा समेत समस्या देखिन सक्दछ । विशेषतः ज्येष्ठ नागरिक तथा बालबालिका वायु प्रदूषणबाट सबैभन्दा बढी प्रभावित हुने गर्दछन् । ब्रिटिश हर्ट फाउन्डेशनका अनुसार पीएम २.५ प्रभावित क्षेत्रमा एक वर्ष रहनु भनेको वर्षमा १५० वटा चुरोट अर्थात् महिनामा १२.५ वटा चुरोट पिउनु बराबर हो भनेका छन् । चाखलाग्दो तर नेपालमा खासै बहस नभएको भनेको वायु प्रदूषणको कारणले नाकबाट रगत बग्ने अवस्था हो ।

हाल वायु प्रदूषणको स्तर उच्चतम बिन्दुतिर बढ्दै जाँदा कतिपयले नाकबाट रगत बगेको अनुभव समेत सुनाउने गरेको पाइन्छ । चीन तथा कोरियामा गरेका अनुसन्धानहरूले विशेषतः बालबालिकामा वायु प्रदूषणको कारणले नाकबाट रगत बग्ने समस्या उत्पन्न हुने देखिएका थिए । यद्यपि नाकबाट रगत बग्ने अवस्था अरु विभिन्न कारणले पनि हुने भएकाले चिकित्सकको परामर्श लिन उचित हुनेछ ।

वायु प्रदूषणको कारणले स्वास्थ्यमा विभिन्न समस्या देखिने गर्दछ । टाउको दुख्ने, थकित महसुस गर्ने, हाछ्युँ वा खोकी लाग्ने, नाकबाट पानी आउने वा बन्द हुने, नाक पोल्ने, घाँटी खसखस गर्ने, आँखा पोल्ने, पिरो हुने, रातो हुने वा आँशु आउने, श्वास प्रश्वासमा असहज महसुस हुने, छालामा एलर्जी हुने, नाकबाट रगत बग्ने आदि समस्या वायु प्रदूषणका कारणले देखिन सक्दछ ।

दीर्घकालीन रूपमा भने फोक्सो, मुटु तथा मष्तिस्कमा समस्या देखिने गर्दछ । नेपालमा वायु प्रदूषण तथा त्यसबाट सिर्जित दीर्घकालीन स्वास्थ्य समस्या वा असरको बारेमा खासै चासो वा पर्याप्त अनुसन्धान भएको पाइँदैन ।

वायु प्रदूषणबाट पूर्ण रूपमा बच्न व्यावहारिक रूपमा विभिन्न कारणले गर्दा त्यति सहज भने छैन तर पनि केही हदसम्म बच्नका लागि विभिन्न उपाय अपनाउन सकिन्छ । छिमेकी देश भारत पनि बेला–बेलामा वायु प्रदूषणको चपेटामा पर्ने गरेको र त्यसबाट बच्ने उपायहरू अवलम्बन गरेको पनि देख्छौँ । जस्तो गत साल भारतको नयाँ दिल्ली सहर वायु प्रदूषणबाट प्रभावित हुँदा त्यहाँ निर्माण कार्यहरू केही दिनका लागि स्थगन गरेको, सडकमा पानी छर्कने गरिएको, निजी सवारी साधनको प्रयोगलाई निरुत्साहित गर्दै सार्वजनिक बसमा यात्रा गर्न सुझाएको, बालबालिकालाई वायु प्रदूषण उच्च हुने समयमा घर बाहिर नखेल्न आग्रह गरिएको आदिजस्ता उपाय अपनाइएका थिए ।

नेपालमा भने विगतमा वायु प्रदूषण हुँदा मुख्यतय यातायातमा जोर–बिजोर प्रणाली लागु गरिएको अनि विद्यालय केही दिनका लागि बन्द गर्ने गरिएको इतिहास छ । तर यी बाहेक आफू रहने÷बस्ने घर वा कार्यालय क्षेत्रको वायु प्रदूषणको जानकारी लिँदै अति आवश्यक नभई बाहिर नजाने र जानै पर्ने अवस्था भए मास्क लगाएरमात्र जाने जस्ता उपाय पनि उपयुक्त हुन सक्दछ ।

(लेखक पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप