नेपालमा वन डढेलोको चुनौती : बागमती प्रदेशले लिनुपर्ने रणनीतिगत मार्ग

अमेरिकाको लस एन्जलसमा हालै लागेको भीषण आगलागीको कहालीलाग्दो घटनाले नेपालमा पनि मनोवैज्ञानिकस्तरमा ठुलो असर प¥यो । जनवरी ७ देखि ३१ सम्म २३ हजार हेक्टर भूमिमा आगो लागेको पछिल्लो अध्ययनले देखाएको छ । सो आगलागीका कारण करिब १८ हजार घरसंरचना ध्वस्त हुनका साथै करिब दुई लाख मानिसलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आइपरेको थियो ।
सो आगलागीबाट कम्तीमा पनि २९ जनाको ज्यान गएको थियो । आगो कुनै दिन त एक सय माइल प्रतिघण्टाको दरमा फैलिएको अभिलेखसमेत छ ।
सुक्खा याममा संसारभरिमा प्रत्येक वर्ष करिब चार प्रतिशत वन क्षेत्रमा डढेलो लाग्ने गरेको एक अध्ययनले देखाएको छ । नेपालकै सन्दर्भमा विज्ञहरूको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरेअनुसार सन् २००१ देखि २०२० सम्ममा नेपालमा प्रतिवर्ष औसतमा एक लाख ७२ हजार हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको थियो । यसबाट प्रतिवर्ष ७० लाख टन जैवीय पीण्डको क्षति भएको र प्रतिवर्ष ३३ लाख टन कार्बन उत्सर्जन भएको उक्त प्रतिवेदनले उल्लेख गरेको देखिन्छ ।
यो २० वर्ष अवधिको मूल्याङ्कन गर्दा सन् २०१६ वन डढेलोको दृष्टिमा भयावह वर्ष थियो, जसमा नेपालभरिका वन–जङ्गलभित्र १० हजार ६५८ स्थानमा डढेलो लागेर पाँच लाख ५९ हजार ८७५ हेक्टर वन क्षेत्र सखाप पारेको थियो ।
२०८० साल (सन् २०२४) कै कुरा गर्दा पनि १ जनवरीदेखि जुन २५ सम्मको वन डढेलोको घटना केलाउँदा नेपालभरिका ७४ जिल्ला प्रभावित पार्ने गरी पाँच हजार एक सय २५ डढेलोका घटना भएको थियो । सबैभन्दा बढी १४ जिल्लामा वन डढेलो लागेको थियो । जिल्लागत रूपमा हेर्दा गत वर्ष सुर्खेत जिल्लामा सबैभन्दा बढी ३२८ वटा डढेलोका घटना भएको थियो । यसै वर्षको माघ महिनामा देशभरि नेपालमा कुल २०० वटा वन डढेलो लागेकोमा संरक्षित क्षेत्रमा ७६ वटा ३८ प्रतिशत र संरक्षित क्षेत्रबाहिर १२४ वटा (६२ प्रतिशत) लागेको देखिन्छ ।
सोमध्ये बागमती प्रदेशका धादिङ, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुलीमा गरी १५ वटा (७.५५ प्रतिशत) वन डढेलो घटना भएको देखिएको छ । आगामी दिनमा डढेलो घटना अझ बढेर जाने देखिन्छ । प्रस्तुत पृष्ठभूमिमा हेर्दा वन डढेलो नेपाल लगायत विश्वभरि नै एउटा बृहत्तर चुनौती र जोखिमको रूपमा बढ्दै गएको देखिन्छ ।
- डढेलो लाग्नुका प्रमुख पक्ष
वन डढेलो लाग्नका लागि मुख्यतया तीन पक्षले काम गरेको हुन्छ । वनमा आगो लाग्न पहिलो पक्ष इन्धनको रूपमा सुक्खा पातपतिङ्गर, हाँगाबिँगा, घाँस, खर, बाबियो जस्ता वस्तु हुन्छन् । आगोको स्रोत अर्को पक्ष हो र हावामा रहने अक्सिजन तेस्रो पक्ष हो जसलाई सरलताका लागि ‘अग्नि त्रिकोण’ भनेर नामकरण पनि गरिएको छ ।
वनमा लाग्ने आगलागीका लागि विभिन्न पक्षले प्रभाव पारिरहेको हुन्छ । पानी नपरी सुक्खामा ठुलो मात्रामा सुकेका पातपतिङ्गर र हाँगाबिँगा थुप्रिएर रहँदा आगलागीको ठुलो जोखिम सिर्जना हुन्छ । तीव्रतर चल्ने वायुको वेगले पनि आगलागीको फैलावट गर्नमा ठुलो सघाउ पु¥याउँछ । लामो समय पानी नपरी जमिनमा चिस्यानको मात्रामा कमी आउँदा पनि डढेलोको प्रकोपमा बढोत्तरी हुन्छ । चट्याङ पर्दा वा ज्वालामुखीको विस्फोटबाट लाग्ने प्राकृतिक कारणको वन डढेलो भए पनि नेपालको हकमा मान्छे नै आगलागीको प्रमुख कारण हो । गाईवस्तुका लागि चरण क्षेत्रमा घाँस पलाउने उद्देश्यले, जडीबुटीको खोजी गर्ने, सिकार गर्ने, मनोरञ्जन वा पिकनिक जाँदा प्रयोग गरिएको आगो ननिभाउँदा वा धुम्रपान गरी चुरोट वा बिँडीको ठुटो वन–जङ्गलमा फाल्दा वनमा डढेलो लाग्ने गरेको देखिन्छ ।
कतैकतै अवैध रूपमा बोटवृक्ष काटी सोको प्रमाण नष्ट गर्ने उद्देश्यले पनि वनमा डढेलो लगाउने गरेको देखिन्छ । मान्छेले जानीजानी वा लापर्बाही गरेर वनमा क्षेत्रमा आगलागी हुने गरेको देखिन्छ । वनमा डढेलो लाग्ने पक्षको तथ्याङ्कीय अवस्था केलाउँदा निम्नानुसार देखिन्छ–
नेपालको वनमा लाग्ने वन डढेकोको कारण, वन डढेलोबाट हुने क्षति (मानवीय तथा घरआवास), प्रदेशगत वन डढेलोको वितरण, नेपालको भौगोलिक अवस्था अनुसार वन–डढेलोको अवस्था तथा बागमती प्रदेश अन्तर्गतको रसुवा जिल्लामा भएको वन डढेलोको भीषण अवस्थाहरूलाई तलका चित्रहरूमा प्रकाश पारिएको छ–
- डढेलोका प्रतिकूल प्रभाव
हरेक वर्ष वन क्षेत्रमा लाग्ने आगलागीबाट हामीले बृहत्तर खालका वातावरणीय, आर्थिक तथा सामाजिक क्षति व्यहोरिरहेका छौँ । वनमा लाग्ने आगलागीबाट विभिन्न प्रकारका बोटबिरूवा, वन्यजन्तु र तिनका बासस्थानहरूमा क्षति पुग्दा स्थानीय पारिस्थितिकीय प्रणालीबाट प्राप्त हुने विविध प्रकारका सेवाको सतत् आपूर्तिमा व्यवधान पुग्दछ । सङ्कटग्रस्त, दुर्लभ र लोपोन्मुख प्राणी तथा वनस्पतिहरूको विनाश भएर उनीहरू यो पृथ्वीबाटै हराएर जान सक्ने अवस्था सिर्जना हुन्छ । यसबाट हामीले भविष्यमा ठुलो आर्थिक तथा वातावरणीय नोक्सानी समेत व्यहोर्नु पर्ने हुन्छ ।
वन डढेलोका कारण वायुमण्डलमा हरितगृह ग्यासको उत्सर्जनमा थप योगदान पुगी जलवायु परिवर्तनले ल्याउने जोखिमहरू बढेर जाने देखिन्छ र नेपालले सन् २०४५ सम्ममा लिएको शून्य कार्बन उत्सर्जनको लक्ष्यमा समेत व्यवधान पुग्न सक्दछ । जलवायु अनुकूलनका निमित्त लिइएका रणनीतिहरूमध्ये अधिकांश प्रकृतिमा आधारित सामाधानमा निर्भर रहेकाले डढेलोका कारणबाट यो अनुकूलनको लक्ष्य प्राप्तिमा समेत अवरोध पैदा हुन सक्दछ । नेपालसमेत पक्ष राष्ट्र रहेको सन २०१५ बाट कार्यान्वयनमा आएको सन् २०३० सम्मको १५ वर्षे दिगो विकास लक्ष्य प्राप्तिका लागि लिइएका रणनीतिहरूमध्ये अधिकांश जैविक विविधता क्षेत्रसँग सरोकार राख्ने रहेकाले नेपालका वन–जङ्गलहरूमा बर्सेनि लाग्ने डढेलोको प्रकोपबाट दिगो विकास लक्ष्य प्राप्तिमा समेत बाधा–व्यवधान खडा हुने देखिन्छ ।
डढेलोको कारण जमिन नाङ्गिन पुग्दा तत्कालै वर्षा भएमा सो क्षेत्रमा विशाल भूक्षय भई मलिलो माटो बग्ने, भूस्खलन हुने जस्ता प्राकृतिक विपत्ति आउन सक्छन् । यसको अतिरिक्त आगलागी भएको क्षेत्रमा माटोको संरचना र बनोटमा समेत परिवर्तन हुन पुगी कतिपय महत्त्वपूर्ण प्रजातिका बिरूवा उम्रन नसक्ने अवस्थासमेत सिर्जना हुन पुग्दछ । वनको आगलागीले गर्दा स्थानीय बसोबासका क्षेत्रमा समेत आगलागी भई ठुलो मात्रामा धनजनको क्षति भइरहेको छ । आगलागीबाट स्थानीय वायुमण्डलमा कुहिरो, तुवाँलोको कारणले स्थानीय जनजीवन प्रभावित हुने र वायु प्रदूषणका कारण श्वासप्रस्वाससँग सम्बन्धित विभिन्न प्रकारका रोगको सङ्क्रमण हुन पुगी मानवीय स्वास्थ्यमा प्रतिकूलता समेत सिर्जना हुने देखिन्छ ।
स्थानीय सुन्दर हरियाली परिवेशमा क्षति हुन पुगी पर्यापर्यटनसँग सम्बन्धित उद्यमशीलतामा समेत व्यवधान पुग्न जान्छ ।
- डढेलोको नियन्त्रण र व्यवस्थापन बागमती प्रदेशले चाल्नुपर्ने कदमहरू
वन विज्ञानमा डढेलोको अध्ययन अध्यापन गराउँदा एउटा महत्त्वपूर्ण भनाइ अनवरत भनिन्छ– ‘आगो असल सेवक तर खराब गुरु हो ।’ वन व्यवस्थापनमा डढेलो एउटा व्यवस्थापकीय साधनको रूपमा प्रयोग गर्न सकिन्छ । सुक्खा मौसमको सुरुवात अगाडि नै पातपतिङ्गर झरेर धेरै जम्मा हुनुभन्दा पहिला नै निर्देशित र नियन्त्रित रूपमा वनमा लागो लगाउनाले वनको पुनरोत्पादन चाँडै आउन सहयोग पुग्दछ र केही वन्यजन्तुका लागि अनुकूल बासस्थानको समेत सिर्जना हुन पुग्दछ । यस्तो नियन्त्रित आगो वन व्यवस्थापनको साधन बन्न पुग्दछ । यसका लागि विभिन्न वातावरणीय पक्षमा ध्यान पु¥याउनु आवश्यक छ ।
नेपालको सन्दर्भमा वनमा लाग्ने डढेलो मान्छेबाटै सिर्जना हुने हुँदा वनमा आगो लगाउँदा हुने क्षति र नोक्सानीप्रति आम जनसमुदाय संवेदनशील र सचेत हुनु नै डढेलोको रोकथाममा पहिलो सर्त हो । आगोको सानो झिल्कोले व्यापक विनाश ल्याउने र यस्तो आगो व्यापक रूपमा फैलिँदा नियन्त्रण गर्न अत्यन्त कठिन हुने तथा विशाल स्रोतसाधनको उपयोग गर्नुपर्ने अवस्था आउने हुनाले आगो लाग्नै नदिने उपायको रूपमा सार्वजनिक सचेतना यस सन्दर्भमा महत्त्वपूर्ण हुन्छ । वन–जङ्गलको महत्त्व र उपादेयता, यसको नोक्सानी हुँदा भोग्नुपर्ने आर्थिक, सामाजिक तथा वातावरणीय पीडाको विषयमा आम सर्वसाधारणलाई सचेत र जागरण गराउन सकिएमा वनमा आगो लाग्ने सम्भावना न्यून भएर जान्छ ।
नेपालको वन व्यवस्थापनमा समुदायमा आधारित व्यवस्थापन पद्धति अवलम्बन गरिएको र हाल ३० हजारभन्दा बढी स्थानीय वन समूहहरू गठन र क्रियाशील रहेकाले यस्ता समूहका समिति पदाधिकारीहरूले डढेलो लाग्न नदिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । बागमती प्रदेशकै कुरा गर्दा यस्ता वन समूह ८ हजारको हाराहारीमा छन् । डढेलो लाग्ने सिजन प्रमुखतः फागुनदेखि सुरू भएर जेठ महिनासम्म हुने हुँदा आगलागी सिजन सुरु हुने महिनाभरि नै सामुदायिक वन समूहहरू, स्थानीय वन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय प्रशासनिक निकायहरूले डढेलोको विषयमा व्यापक प्रचार–प्रसारको अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ । स्थानीय वन कार्यालयहरू, समूहहरू र सुरक्षा निकायहरूले आगलागी धेरै र बारम्बार भइरहने क्षेत्रहरूको पहिचान र नक्साङ्कन गरी त्यस्ता अत्यन्त जोखिम क्षेत्रहरूमा जनचेतना जगाउने व्यापक क्रियाकलाप सञ्चालन गर्न अत्यन्त जरूरी छ ।
स्थानीय वन कार्यालयहरूमा डढेलो नियन्त्रणका लागि चाहिने आर्थिक स्रोत र आवश्यक सवारी साधन तथा अन्य उपकरणहरू ज्यादै नै न्यून भएकाले प्रदेश सरकारले यस विषयमा ध्यान केन्द्रित गरी डढेलो नियन्त्रणका लागि यसमा संलग्न रही सरोकार राख्ने कार्यालय र संघ–संस्थाहरूलाई यथोचित बजेट र साधनस्रोतको व्यवस्था मिलाइदिनुपर्ने हुन्छ ।
केन्द्र सरकारबाट समेत वन डढेलो नियन्त्रणका लागि आवश्यक स्रोत–साधनको प्रबन्ध प्रदेश सरकार तथा स्थानीय सरकारलाई मिलाई दिनुपर्ने देखिन्छ । हरेक स्थानीय तहले आफ्नो पालिकामा रहेका वन–जङ्गलमा लाग्ने डढेलो नियन्त्रणका निमित्त आवश्यक स्रोत–साधनको प्रबन्ध गरी स्थानीय वन कार्यालहरू, सुरक्षा निकायहरू, स्थानीय सामाजिक संघ–संस्थाहरूसँग समन्वयात्मक ढंगले कार्यसम्पादन गर्नु पर्ने देखिन्छ ।
वन क्षेत्रमा लाग्ने कतिपय डढेलो नियन्त्रण गर्न नसक्नु र आगलागी भएमा फैलिन नदिने व्यवस्था गर्न नसक्नुमा वन क्षेत्रहरू प्रभावकारी व्यवस्थापनको मोडेलमा जान नसकेरसमेत हो । दिगो वन व्यवस्थापन पद्धति अनुसरण गरी वन क्षेत्रहरूलाई विभिन्न खण्ड, उपखण्ड र मिनीखण्डमा विभाजन गरी वनपथ र अग्निपथ निर्माण गरी सुरुवाती सिजनमा यस्ता विभिन्न वन पथहरूको किनारामा निर्देशित आगलागी गराउन सकिएमा डढेलो लाग्दै नलाग्ने तथा एउटा खण्ड वा उपखण्डमा आगो लागिहाले पनि अन्यत्र नफैलिने अवस्था सिर्जना हुन्छ । त्यसैले नेपालका सबै वनलाई दिगो वन व्यवस्थापनको पद्धतिमा रूपान्तरण गर्नु नै दीर्घकालीन रूपमा वनमा लाग्ने आगलागी नियन्त्रण गर्ने प्रमुख रणनीति हो । अर्को पक्ष वनमा लागेको आगो निभाउने क्रममा मानवीय क्षतिसमेत भएको छ ।
वनमा लाग्ने आगोको व्यवहार, स्थानीय भूपरिवेशको अवस्था र वायुको गति, दिशा र प्रभावको ज्ञान नहुनाले यस्तो क्षति पुगेको देखिन्छ । आगलागी नियन्त्रमा खटिने मानवीय स्रोतहरूलाई आगो नियन्त्रणका विषयमा पर्याप्त तालिम र प्रशिक्षण उपलब्ध गराउनु पर्दछ र अग्नि नियन्त्रणका आधुनिक उपकरणहरूले समेत सुसज्जित तुल्याउनु अत्यन्त आवश्यक छ ।
संक्षेपमा उल्लेख गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणको निमित्त आम सार्वजनिक सचेतना जागरण अभियान पहिलो सर्त हो भने वनको दिगो व्यवस्थापनको मोडेल अम्बलम्बन गर्नु अग्नि नियन्त्रणको दीर्घकालीन रणनीति हो । डढेलो नियन्त्रणका लागि पर्याप्त स्रोत–साधन र आवश्यक प्रशिक्षण तथा तालिमको व्यवस्थापन र केन्द्र, प्रदेश एवं स्थानीय सरकारहरू तथा स्थानीय वन समूहहरू, संघ–संस्थाहरूको बिचमा प्रभावकारी समन्वय र सूचनाको आदानप्रदान वन आगलागी नियन्त्रणका महत्त्वपूर्ण पक्ष हुन् ।
(लेखक बागमती प्रदेश सरकार अन्तर्गत वन तथा वातावरण मन्त्रालयका पूर्वसचिव हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपाङ्गताको पेन्सन थाप्न १६ वर्ष बोल्न नसक्ने अभिनय
-
सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
-
रजत विजेता दावा नगदसहित सम्मानित
-
शिक्षकहरूका माग सम्बोधन गर्न नेता साउदको आग्रह
-
सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस
-
विदेशी बैंकमा सरकारको सेयर लगानी ११ अर्ब ५२ करोड