शिक्षण पेसाप्रति युवाको आकर्षण किन भएन ? (भिडियोसहित)

काठमाडौँ । कक्षाकोठामा हुनुपर्ने शिक्षक यतिवेला काठमाडौँका सडकमा छन् । हरेक दिन बिहानदेखि बेलुकासम्म कक्षाकोठामा बसेर विद्यार्थीलाई ज्ञानको ज्योति छर्नुपर्ने शिक्षक अहिले काठमाडौँको धुवाँ र धुलोमा आफ्नो अधिकार माग्न विवश छन् । उनीहरू अहिले अन्तिम लडाइँ भन्दै काठमाडौँ आएका हुन् ।
राज्यले पटक–पटक गरेको सम्झौता समेटेर विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने उनीहरूको माग छ । राज्यले गर्नुपर्ने कार्यमा ढिलाइ भइरहेका वेला उनीहरू तत्काल ऐन जारी गरेर विद्यालय, विद्यार्थी, शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन गर्न माग गरिरहेका छन् ।
आन्दोलनका लागि विभिन्न जिल्लाबाट काठमाडौँका सडकमा उत्रिएका शिक्षकहरूले शिक्षण पेसाका दुःखका विषयमा कुरा गरेका छन् । राज्यकै कारण शिक्षण पेसालाई अपमानित बनाएको उनीहरूको ठहर छ । जसले गर्दा यतिवेला ‘कि जितिन्छ, कि बितिन्छ’ भन्ने नारासहित उनीहरू सडकमा छन् ।
तनहुँको पवित्रा माध्यमिक विद्यालयका शिक्षक विजय आचार्य शिक्षण पेसाप्रति आकर्षण नहुँदा राजीनामा दिएर अन्य पेसातर्फ जाने गरेका बताउँछन् । समग्र युवालाई शिक्षण पेसामा आकर्षण गर्ने खालको नीति नहुँदा यस्तो समस्या भइरहेको उनको बुझाइ छ ।
त्यही नीति निर्माण गर्न राज्यलाई दबाब दिन आफूहरू काठमाडौँ केन्द्रित आन्दोलन गर्न बाध्य भएको उनले बतए । शैक्षिक पेसामा रहेका युवा र नयाँ पुस्तालाई यसतर्फ आकर्षित गराउनकै लागि नयाँ ऐन चाहिने उनको भनाइ छ ।
शिक्षकलाई दिने सेवा सुविधामा समेत विभेद छ । निजामती कर्मचारी र शिक्षकप्रतिको सम्मान तथा व्यवहारमा निकै भिन्नता रहेको उनको भनाइ छ । त्यस्तै अचेल कक्षाकोठामा हुँदा तीनै तहका सरकारबिच भएको अन्तरविरोधको सिकार शिक्षकहरू भइरहेका आचार्यले बताए ।
‘स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबिच अन्तरविरोध भइरहन्छ । त्यसको मार हामी शिक्षकहरूलाई पर्छ, कक्षाकोठामा पर्छ, विद्यार्थीमा पर्छ । यो सबै समस्या समाधानसहित शिक्षा ऐन आउनुपर्छ,’ उनले भने ।
मनोमानी ढंगबाट कार्यविधि बनाएर जाने गर्दा त्यसको प्रत्यक्ष मारमा शिक्षक परिरहेका समेत उनको भनाइ छ । ‘एकदम दुःख गरेर पढेर केही गरौँ भन्ने हुटहुटीका साथ कक्षाकोठामा प्रवेश गर्दैगर्दा त्यहाँको वातावरण परिवेशले शिक्षण पेसाप्रति कुनै रहेछ र भन्ने खालको भाष्य सिर्जना हुन्छ,’ उनले भने ।
विश्वविद्यालयमा पढिरहेका विद्यार्थी लाई शिक्षण पेसाप्रति आकर्षित गराउन सके शिक्षाको गुणस्तरमा समेत सुधार आउने उनले सुझाव दिए ।
उनलाई शिक्षण पेसा अँगालेकोमा कुनै पश्चात्ताप त छैन तर यसमा हुने सेवा सुविधाजस्ता विषयले भने अरूको नजरमा नै कमजोरजस्तो महसुस हुने गरेको बताए ।
तनहुँकै धर्म माध्यमिक विद्यालयका शिक्षक प्रकाश तिमिल्सिना सरकारले पटक–पटक शिक्षकसँग सम्झौता गरे पनि कार्यान्वयनमा आलटाल गरिरहेको बताउँछन् । त्यसैले सरकारलाई सुनाउन देशभरका शिक्षक काठमाडौँ आउनुपरेको उनले बताए ।
तमाम युवा शिक्षण पेसामा लागुन् भन्ने चाहना हुँदाहुँदै पनि यसप्रति आकर्षण बढ्न नसकेकोप्रति उनको चिन्ता छ ।
शिक्षण पेसा सबैको आकर्षणको पेसा बन्न सबैभन्दा पहिला २०२८ सालमा बनेको शिक्षा ऐन खारेज गरेर नयाँ ऐन आउनुपर्ने उनको भनाइ छ । ‘त्यो पुरानो ऐनमा शिक्षा र शिक्षकमा धेरै मुद्दा समेट्न सकेको छैन । ती मुद्दा समेटेर शिक्षा ऐन जारी गरियोस् भनेर सरकारलाई झक्झक्याउन हामी यहाँ आएका हौँ,’ शिक्षक तिमिल्सिनाले भने ।
तनहुँकै हिमालय माविका शिक्षक कमलकान्त सुवेदी शिक्षण पेसामा लागेको पाँच वर्ष पूरा भयो । उनी यो पेसाप्रति निकै गर्व गर्छन् । आफ्नो पेसामा रमाउँदै पढाउँदै आएका पनि छन् । तर अन्य शिक्षकले राजीनामा दिएर अरू पेसा रोज्ने, विदेश जाने क्रम बढेसँगै उनी चिन्तित भएका छन् ।
‘धेरै शिक्षक साथीहरू यो पेसाबाट पलायन भइरहेका छन् । जुन निकै दुःखको कुरा हो,’ शिक्षक सुवेदीले भने ।
सम्मानजनक व्यवहार, मर्यादाक्रम, आवधिक बढुवा, समसामयिक तालिमजस्ता विषयमा ध्यान दिन सके नयाँ युवा शिक्षण पेसाप्रति आकर्षित हुने सक्ने उनको बुझाइ छ । अहिले नयाँ विद्यालय शिक्षा विधेयकमा समावेश भएका विषयले नै शिक्षण पेसाप्रति वितृष्णा कम हुनेमा उनी विश्वस्त छन् । जसले गर्दा युवालाई यसप्रति आकर्षित गराउन सकिने उनको भनाइ छ ।
शिक्षण पेसा अनुभव र ऊर्जाको मिश्रण नै भएको र त्यसका लागि काम गरिरहेका शिक्षकलाई हौसला प्रदान गर्ने, सेवा सुविधा बढाउनुर्नेमा उनले जोड दिए । ‘पुराना शिक्षकलाई आकर्षक सुविधासहित बिदाइ गर्न सकिन्छ । अस्थायी राहत शिक्षकलाई स्थायी गराउन एकपटक उमेरहद नलागी परीक्षामा समोवश गराउनुपर्छ,’ उनले भने, ‘त्यस्तै विभिन्न थरीका शिक्षकहरूको व्यवस्था गर्नुभन्दा एकद्वारा नीतिअनुसार एकै खालको शिक्षकको व्यवस्था गर्नुपर्छ ।’
आफूलाई यो पेसाप्रति निकै गर्व लाग्ने गरेको र नयाँ पुस्तालाई समेत आकर्षित गराउने खालको ऐन आउनुपर्ने उनले बताए । आफ्नो कर्मले यही पेसातिर डोर्याए पनि पछुतो भने नलागेको उनको भनाइ छ ।
सीमित सेवा सुविधाबिच शिक्षाको ज्योति फैलाउने शिक्षकलाई काम र पेसाप्रति हीनताबोध हुने खालका वातावरण नबनाउन सरकारसँग उनले मागसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
‘अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने’
म्यान्मामा एक हप्तामा ८१ वटा परकम्प
१० बजे १० समाचार : ओली र मोदीको अठोटदेखि जनयात्रामा अन्तिम इच्छाको चर्चा
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी
राजनीतिक र नीतिगत स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा विज्ञहरुको जोड
अर्थतन्त्र विकासका लागि सरकारले जोखिम उठाउनैपर्छ – गगन थापा