२५ करोडका मालिक : खासा व्यापार, तिब्बतीसँग घरबार अनि सुन तस्करी

काठमाडौँ । टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर नारायण पोडैलको भएको राजस्व अनुसन्धान विभागको निष्कर्ष छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर भएका पौडेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरे भन्छन्, ‘उनलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेका छौँ ।’ तर, पौडेल भने फरार छन् ।
चैत ४ मा मध्यराति १० बजेतिर टोखास्थित झोर महाँकालबाट प्रहरीले ना७ख १६५२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको थियो । ट्रक कुसाङ लामाले चलाएका थिए । उनी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । उनी ‘फुच्चे’ उपनामले चिनिन्छन् ।
कुसाङले सो रकम ‘चिनियाँले दिएको’ भनेर ढाँटेको र मोबाइलको फरेन्सिक जाँच गर्दा पौडेलको ‘कनेक्सन’ देखिएको अनुसन्धान अधिकृतहरू बताउँछन् । उनले पैसा लगेर गाडीमा हालेको भिडियो अनुसन्धान अधिकृतहरूले फेला पारेका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘प्रहरीले ट्रकलाई नियन्त्रणमा लिनुभन्दा ठिक अगाडी ट्रक चालक र पौडेलको बिचमा सम्पर्क भएको देखिन्छ ।’
टोखा नगरपालिका–१० स्थित महादेवटार हाइटमा बस्दै आएका पौडेल पुराना ‘खासा ब्यापारी’ हुन् । नेपाल–तिब्बत सिनाना स्थित न्यालम काउन्टीमा अवस्थित खासा बजारबाट सामान आयात गर्नेहरूलाई ‘खासा व्यापारी’ भन्ने चलन छ । यसअघि तातोपानी नाकाबाट त्यस्ता व्यापारीहरूले सामान ल्याएर व्यापार गर्थे ।
व्यापार गर्दागर्दै उनले तिब्बतियन महिलासँग विवाह गरे । गत वर्ष पौडेलले पत्नी गुमाए । सिन्धुपाल्चोकस्थित भोटेकोशीका एक स्थानीय अगुवा भन्छन्, ‘उहाँकी पत्नीको घेवा हुँदा म बौद्धस्थित शेर्पा गुम्बामा गएको थिएँ ।’
खासा व्यापार गर्ने अरूले पनि तिब्बतियनसँग घरबार गरेका छन् । खासाबाट सामान ल्याएर व्यापार गर्दा नै पौडेल सिन्धुपाल्चोकमा नाम चलेका व्यापारीका रूपमा चिनिन्थे । फुल्पिङकट्टीको झिर्पु गाउँका पौडेललाई चिन्नेहरू उनी खासाको व्यापार गर्दागर्दै तस्करीमा लागेको बताउँछन् ।
उनको गाउँबाट चीन छिर्ने तातोपानी नाका करिब १२ किलोमिटर दूरीमा पर्छ । नाकाछेउ घर भएको फाइदा उनले उठाए । बाह्रबिसेका एक जना स्थानीय भन्छन्, ‘उहाँ बाह्रबिसे क्षेत्रमा शक्तिशाली भनेर चिनिनुहुन्थ्यो ।’
खासा व्यापार गर्दागर्दै तिब्बतीसँग विवाह गरेका पौडेलले पछि सुन तस्करी सुरु गरे । २०७२ सालपछि तातोपानी नाका बन्द भयो । त्यसपछि सुन तस्करले रसुवाको केरुङ रुटलाई प्रयोग गर्न थालेका हुन् ।
पौडेलले दिएको २५ करोड बराबरको डलर र युरो लिएर फुच्चे झोर महाँकाल हुँदै केरुङ जाँदै थिए । केरुङ नाकाबाट सुन ल्याउने उनीहरूको योजना रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । तीमध्ये एक अधिकृत भन्छन्, ‘२५ करोड रकम सुन खरिद गर्न केरुङ लगिँदै थियो ।’
यसअघि पौडेल हुन्डी कारोबार र जुवामा जोडिएका व्यक्ति हुन् । २०७७ साउनमा महाराजगञ्ज चोकमा रहेको पौडेलको घरमा सञ्चालित जुवा खालबाट १३ जना व्यपारी पक्राउ परेका थिए । २०८० सालमा पौडेल जुवाखालबाट पक्राउ परे । ३५ वर्षीय पौडेलले टोखास्थित महादेवटार हाइटमा पनि घर बनाएका छन् । पछिल्लो समय उनी महादेवटारमा बस्दै आएका छन् ।
को हुन् उनी ?
अस्वाभाविक रकमको कारोबार गरेको र सुन तस्करीमा संलग्न रहेको भेटिएका पौडेललाई धेरैले नेकपा (माओवादी) केन्द्रमा आबद्ध रहेको भन्ने गरेका छन् । उनका चार भाइ छन् । दाइ ध्रुव पौडेल नेकपा (एमाले) सिन्धुपाल्चोकका जिल्ला नेता हुन् । ध्रुव फुल्पिङकट्टी गाविसका पूर्वअध्यक्षसमेत हुन् । उनले २०५४ सालमा भने एमालेबाट चुनाव जितेका थिए ।
उनका दुई भाइ छन् । एक जना बच्चु पौडेल दरबारमार्गमा ‘लन्डन पब’ नामको रेस्टुरेन्ट चलाउँछन् । बच्चु हिमालय सीमापार व्यापार संघका पूर्वअध्यक्ष पनि हुन् । बच्चु भने कांग्रेस निकट छन् ।
उनका कान्छा भाइ राजकुमार पौडेल माओवादी (केन्द्र)मा आबद्ध छन् । २०७४ मा भोटेकोशी गाउँपालिकाको अध्यक्षमा निर्वाचित राजकुमार १५ किलो सुन तस्करीमा मुछिए, निलम्बनमा परे । सीआईबीले दायर गरेको सुन तस्करी मुद्दामा धरौटीमा रिहा भएर उनी २०७९ सालमा पनि गाउँपालिका अध्यक्षमा चुनाव लडेका थिए । तर, पराजित भए ।
राजकुमारलाई हाल माओवादी (केन्द्र) बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले पार्टीमा ल्याएको सिन्धुपाल्चोकका स्थानीय बताउँछन् । पहिले राजकुमार पनि कांग्रेसमा आबद्ध थिए ।
तीन जना दाजुभाइ फरक पार्टीमा देखिए पनि नारायणको चाहिँ राजनीतिक दल खुलेको छैन । उनको अहिलेसम्म राजनीतिक दलमा आबद्धता नदेखिएको सिन्धुपाल्चोक जिल्लामा राजनीति गर्नेहरू बताउँछन् । नारायण माओवादीमा आबद्ध नभएको नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द पराजुलीले बताए । उनले भने, ‘नारायण पौडेल हाम्रो पार्टी कमिटीमा छैनन्, हाम्रो समर्थक पनि होइनन् ।’
यो पनि पढौँ...
२५ करोड बराबरको युरो र डलर बोकेर सुन किन्न केरुङ जाँदै थिए ‘फुच्चे’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाली डे’ मनाइँदै