शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हेटौंडा सिमेन्ट उद्योग चैत २३ देखि नियमित सञ्चालनमा आउने

बिहीबार, २१ चैत २०८१, १९ : ३६
बिहीबार, २१ चैत २०८१

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने भएको छ । आर्थिक अभावका कारण थलिए पनि अघोषित लोडसेडिङका कारण देखाउँदै बन्द रहेको सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको हो ।

गत असोजबाट बन्द रहेको उद्योगमा विद्युत् नियमित गरेर सञ्चालनमा ल्याउने तयारी भएको उद्योगका निमित्त महाप्रबन्धक नविन कर्णले जानकारी दिए । उद्योग चैतको अन्तिम साताबाट पुनः सुचारु हुने उनले बताए । उनका अनुसार चैतको २३ गतेबाट उद्योगको किलमा फायर गरेर उत्पादन थाल्ने तयारी भएको छ ।

उद्योगलाई उपलब्ध गराइएको ग्रिडमा गत मंसिरदेखि बिहान र बेलुका गरी ६ घण्टा लोडसेडिङ भएपछि उद्योग सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमित गर्नेभएसँगै उद्योग पुनः सञ्चालनमा आउन लागेको उनले बताए ।

उनका अनुसार गत मंसिरदेखि विद्युत् प्राधिकरणले अघोषित रूपमा बिहान र बेलुका ३/३ घण्टा विद्युत् अवरुद्ध गर्दै आएको थियो । यसअघि पनि उपकरणमा समस्या आएपछि उद्योग दसैँ अघिदेखि नै बन्द थियो । बिग्रिएका मेसिन मर्मत गरेर तिहारलगत्तै सञ्चालन गर्ने भनिएको उद्योग विद्युत् आपूर्ति नियमित नभएको भन्दै बन्द गरिएको थियो ।

विद्युत नियमति भएपछि चैत २३ गतेबाट किलमा फायर गर्ने र उद्योग सञ्चलन गरिने उद्योगका निमित्त महाप्रबन्धक कर्णले बताए । यस पटक उद्योग सञ्चालन गरेपछि नियमित चल्ने उनको दाबी छ ।

‘एक दुई दिनमा उद्योग प्लान्टको किलमा फायर गर्ने तयारी भइरहेको छ । त्यसपछि उद्योग नियमित चल्छ,’ उनले भने, ‘कुनै भैपरी नआए अब उद्योग बन्द हुँदैन ।’

निमित्त महाप्रबन्धक कर्णले एक महिनालाई पुग्ने कच्चा पदार्थ मौज्दात रहेको बताए । उनले उद्योगले उत्पादन थालेपछि त्यही सिमेन्ट बेचेर समस्या टार्दै जाने दाबी पनि गरे । गत असोजमा उद्योग बन्द हुँदा मौज्दात रहेको करिब १ लाख ५० हजार बोरा सिमेन्ट बेचेर केही समय उद्योगका कर्मचारी र मजदुरलाई तलब भुक्तानी गरेको उद्योगमा पछिल्लो समय तलब खुवाउन नसकेपछि मजदुरहरू आन्दोलित भएका थिए । निमित्त महाप्रबन्धक कर्णले मजदुरसँग उद्योग सञ्चालनमा आएपछि तलब उपलब्ध गराउने सहमति भएको दाबी गरे ।

हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले सरकारबाट खासै ठोस निष्कर्ष नआएको जानकारी दिँदै भारतबाट बिजुली आउन थालेसँगै अब उद्योग सञ्चालन गर्ने तयारी गरिएको बताए । उनले विद्युत आपूर्ति भएसँगै औधोगिक क्षेत्रमा रहेकोे लोडसेडिङ अन्त्य भएको र हेटौंडा सिमेन्ट उद्योग पनि चलाउन तयारी गरिएको जानकारी दिए । उनले यही २३ चैतबाट उद्योग सञ्चालन हुने दाबी गरे । यसपटक उद्योग सञ्चालन गरेपछि नियमित चल्ने उनले पनि दाबी गरे ।

छिमेकी मुलुक भारतबाट ४०६ मेगावाट बिजुली आएसँगै हेटौंडा सिमेन्ट उद्योग लगाएत औद्योगिक क्षेत्रहरूमा विद्युत् आपूर्ति नियमित भएको प्राधिकरण हेटौंडा वितरण केन्द्र जानकारी दिए ।

‘भारतबाट नेपालमा थप ४०६ मेगावट विद्युुत् आउन थालेको छ । केही समयअघि भारतबाट प्रत्येक दिन बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै विद्युत् आयात हुने गरेकोमा अब राति ११ बजेदेखि बिहान ४ बजेसम्म पनि विद्युत् उपलब्ध हुुने छ,’ प्रधिकरणको भनाइ छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले गत शुक्रबारदेखि १६ घण्टासम्म आयात गर्न पाउने भएको हो ।

७ महिनामा २६ दिन उद्योग सञ्चालन

अपरेटिङ खर्च धान्न नसक्दा र पुराना उपकरण बिग्रिरहँदा बारम्बार बन्द हुने गरेको हेटौंडा सिमेन्ट उद्योग चालु आर्थिक वर्षमा जम्मा २६ दिन चलेको छ । चालु आर्थिक वर्षको ७ महिनामा साउनमा १ दिन, भदौमा १८ दिन र असोजमा ७ दिन गरि जम्मा २६ दिन चलेको हो ।

चालु आर्थिक वर्षमा साउनमा एक दिन चलेर बन्द भएको उद्योग १४ भदौबाट सञ्चालनमा आएको थियो । तर ७ असोजमा किलमा समस्या आएपछि बन्द भएको उद्योग अहिलेसम्म चलेको छैन ।

सरकारले केही समयअघि निजीकरणका लागि सिफारिस गरेका ९ वटा सरकारी उद्योगमा हेटौँडा उद्योगलाई समेत समेटेको थियो । पटक–पटक बन्द हुँदै आएको हेटौंडा सिमेन्टले उद्योग सञ्चालनका लागि ठूलो रकम निकासा मागेपछि सरकारले निजीकरण गर्ने निर्णय गरेको थियो । तर अहिलेसम्म पनि हेटौंडा सिमेन्ट उद्योगबारे कुनै निर्णय हुन सकेको छैन ।

संघीय सरकारका उद्योग वाणीज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समेत गत असोजमा उद्योगको निरीक्षण गर्दै हेटौँडा सिमेन्टलाई सरकारले चलाउन नसक्ने तर निजी क्षेत्रलाई भाडामा दिनसक्ने आसय व्यक्त गरेका थिए । उनले उद्योग सञ्चालनको विभिन्न मोडेलको विषयमा छलफल भइरहेको र छिट्टै निष्कर्षमा पुग्ने दाबी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप