सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

कर्मचारी सञ्चय कोषले बाँड्यो ५ अर्ब ३४ करोड नाफा

बिहीबार, २१ चैत २०८१, १९ : ३१
बिहीबार, २१ चैत २०८१

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिब ५ अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ ।

जसअनुसार, कोषका सञ्चयकर्ताहरूको खातामा करिब ५ अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताहरूको खातामा करिब ६ करोड ४३ लाख मुनाफा जम्मा गरिएको मुख्य प्रबन्धक तथा प्रवक्ता दामोदर प्रसाद सुवेदीले जानकारी दिए । 

उनका अनुसार कर्मचारी सञ्चय कोष सञ्चालक समितिको चैत १७ गते बसेको बैठकले कोषको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको शुरू मौजदात रकममा १.१० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरेको थियो । सोही बमोजिम मुनाफा सञ्चयकर्ता तथा योगदानकर्ताहरूको खातामा जम्मा गरिएको हो ।

कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कूल मुनाफाकोे ९२ प्रतिशत रकम सञ्चयकर्ताका लागि मुनाफा र कल्याणकारी प्रयोजनका लागि छुट्याई वितरण गर्ने गरेको छ भने बाँकी रकम विभिन्न जगेडा कोषमा राख्ने गरिएको छ ।

कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई चालु आर्थिक वर्षमा सञ्चित रकममा ५.५० प्रतिशतका दरले व्याज प्रदान गरेको छ भने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ता तथा योगदानकर्ताहरूले कोषबाट ६.६० प्रतिशत ब्याजमा सञ्चित रकमको ९० प्रतिशतसम्म विशेष सापटी पाउने गरेका छन् ।

यस परिप्रेक्ष्यमा कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूले पाउने ५.५० प्रतिशत ब्याजदरमा मुनाफा १.१० प्रतिशतसमेत जोड्दा जम्मा ६.६० प्रतिशत हुने र विशेष सापटीको ब्याजदर ६.६० प्रतिशत मात्र भएकाले सञ्चयकर्ता तथा योगदानकर्ताहरूले प्राप्त गर्ने प्रतिफल र तिर्नुपर्ने ब्याज समान रहन गएको उनले बताए । 

कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विगतदेखि नै विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटीसमेत उपलब्ध गराउँदै आएको छ ।

साथै, सञ्चयकर्ताले छुट्टै योगदान गर्नु नपर्ने गरी कोषले आफ्नै स्रोतबाट सञ्चयकर्ता दम्पतीलाई स्वास्थ्य उपचार शोधभर्ना सुविधा उपलब्ध गराउँदै आएको छ भने काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदानलगायत सामाजिक सुविधासमेत प्रदान गर्दै आएको छ ।

यस अन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा सुत्केरी तथा शिशु स्याहार सुविधावापत १९ हजार ५२५ जना सञ्चयकर्तालाई करिब १४ करोड ६५ लाख, काजकिरिया अनुदानवापत ७०६ जनालाई करिब २ करोड ८२ लाख, दुर्घटना क्षतिपूर्तिवापत १०७ जनालाई करिब २ करोड १४ लाख, स्वास्थ्य उपचार सोधभर्नावापत ५ हजार ७३६ जनालाई ३४ करोड ६५ लाख र विशेष आर्थिक सुविधावापत निजामतीतर्फ ४७ जना सञ्चयकर्तालाई करिब ७० लाख प्रदान गरिएको उनले बताए । 

हाल कर्मचारी सञ्चय कोषमा ५ लाख ७५ हजारको सङ्ख्यामा सञ्चयकर्ता र ८० हजार ४०० को सङ्ख्यामा निवृत्तभरण कोषका योगदानकर्ता रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप